१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साझाकी शाक्यको यात्राः विहारदेखि उपमेयर दौडसम्म

ललितपुर महानगरपालिकामा साझा पार्टीकी उपमेयर उम्मेदवार शोभा शाक्य। तस्विरः दीपक

काठमाडौं– काठमाडौं उपत्यकाका शाक्यहरुका पुर्खाको लहरो गौतम बुद्धसम्मै पुग्छ भनिन्छ। त्यसैले आफ्नो कुलमा बुद्ध जन्मिएकोमा उनीहरु गर्व गर्छन्। र, सकेसम्म बुद्धको मार्गमा हिँड्न प्रयास गर्छन्। शोभा शाक्य त्यसबाट टाढा रहने कुरै थिएन। लोककृति विहार पाटनको निर्वतमान अध्यक्ष उनले त्यो बिहारलाई १० वर्षसम्म नेतृत्व दिइन्। युवक बौद्ध मण्डलको नेतृत्वमा रहँदा उनले बुद्धको जीवनोपयोगी शिक्षा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याइन्। त्यो एउटा समर्पणपको समय थियो– बुद्ध, धर्म र संघप्रति।

शाक्यको सेलरोटीले माओवादी केन्द्रलाई उछिन्दै दोस्रो स्थान लिइरहेको छ। शाक्यले २५ वडामा मतदान भएको संख्याको औषत ४० प्रतिशत मत प्राप्त गरिरहेकी छिन्।

२०७२ असोजमा जारी भएको नयाँ संविधानले नेपालको स्थानीय तहको नक्सा परिवर्तन गर्‍यो। व्यवहारमै देश संघीयताको चरणमा प्रवेश गर्‍यो। बौद्ध साहित्यमा एउटा भनाइ छ— संसारका सबै विषय परिवर्तनशील छन्। शोभा शाक्य परिवर्तन नहुने कुरै थिएन। उनको जीवन यो पटक राजनीतितिर घुम्यो। बहुजन हिताय, बहुजन सुखायका लागि काम गर्ने उनले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी रोजिन्। ललितपुर महानगरपालिकाको उपमेयर प्रत्यासी उनको मतगणना यतिबेला स्टाफ कलेज जाउलाखेलमा जारी छ। सेलरोटी चुनाब चिन्हमा मतदाताले लगाएका स्वस्तिक चिन्हका कारण उनको चर्चा चुलिएको छ।

उपमेयरमा उनको उपस्थितिले स्थापित पार्टीलाई चुनौती दिएका कारण पनि त्यो चासो स्वभाविक हो। साझाकी शोभाले पहिलो स्थानकी काँग्रेस प्रत्यासीलाई टक्कर दिइरहेकी छिन्। अझै केही मतपेटिकाको सिल खोल्न बाँकी रहँदा उनी दोस्रो स्थानमा छिन्।

ललितपुर महानगरपालिकाको मुख्य निर्वाचन कार्यालयमा सोमबार भेटिएकी शाक्य हतारमा थिइन्। अनुहारमा खासै तनाव थिएन। १८ हजार ५८७ मतका साथ अघि रहेकी काँग्रेसकी गीता सत्यालभन्दा दोस्रो स्थानमा रहेकी उनले अहिलेसम्म १३ हजार २७४ मत पाएकी छिन्। ‘हामीले जित वा हारका लागि उम्मेदवारी दिएका होइनौं, हाम्रो अजेण्डामा जनमत जुटाउनु थियो, अपेक्षा गरेअनुसार मत आइरहेको छ,’ शोभाले भनिन्।

राजनीतिक नेता हुनु अगाडि शोभाको परिचय ललितपुर क्षेत्रका मतदाताका लागि विहार, ब्यापार र महिला सहयोगीको हो। समूहमा रहेर १४ वर्षसम्म महिला सशक्तिकरणमा गरेको कामको मूल्यांकन मतदाताले चुनाबमा गरेको उनको बुझाइ छ। शोभाको कपडा उद्योगले ललितपुरका करिब पाँच सय महिलालाई रोजगारी दिइरहेको छ।

‘हामीसँग चुनाबका लागि धेरै समय भएन। कतिपय वडामा पुग्नै भ्याएनौं। सबैलाई भन्न पाएको भए जाती हुने थियोे,’ शोभाले भनिन्। 

काँग्रेसबाहेक मुख्य दलले मेयर र उपमेयरका लागि पालैपालो प्रस्ताव राखेको उनले खुलाइन्। ‘ती दलहरु मेरो रोजाइमा पर्न सकेनन्। मतपरिणम जे आए पनि गरेका वाचा पूरा गर्न म लागरिहने छु’, उनले सुनाइन्।

सांस्कृति, धार्मिक, पर्यटन, पुरातत्व र कलाकै भरमा ललितपुरलाई आर्थिक रुपमा सम्वृद्ध पार्न सकिने उनको बुझाइ छ। पाटन भित्रको धातुकला, काष्ठकला, चित्रकला उत्कृष्ट छ। ती विषयलाई महानगरको अवधारणा र योजनामा राखिनु पर्ने उनको भनाइ छ। ‘स्थानीय उत्पादनको संगठित बजारीकरण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर मात्रै अबको ललितपुर महानगर अघि बढ्न सक्छ’, उनले सुनाइन्।

स्थापित राजनीतिक दलका उम्मेदवारले पाउन नसकेकेको मत उनले कसरी पाइन् त?

‘दूषित राजनीतिबाट जनता पीडित भइसकेका छन्। बारम्बार दोहोरिने एउटै अव्यवस्थाका कारण उनीहरुले उत्कृष्ट विकल्पमा हामीलाई रोजेका हुन्’, शोभाले सुनाइन्, ‘हाम्रो उम्मेदवारी विकल्पका लागि हो। राजनीतिमा सबै भ्रष्ट छैनन्, सबै अविवेकी छैनन्। राम्रा मान्छे छन् भन्नका लागि हो।’ दूषित राजनीति सफा गर्ने शोभाको अभियानमा उनका श्रीमान् र परिवारले पनि सघाइरहेका छन्।

चुनाब चिन्ह चिनाउन समय नपाएको उनको भनाइ छ। ‘हामीले निकै छोटोसमय पायौं। चुनावचिन्ह चिनाउन नै सकेनौ। अहिले थुप्रै साथीहरु फोन गरेर भोट दिन नपाएको भन्दै गुनासो गर्दैहुन्छ,’ शाक्यले भनिन्।

ललितपुर महानगरपालिकामा रहेका २९ वडामध्य मंगलबार दिउँसोसम्म २५ वटा वडाको औपचारिक घोषणा भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार रहेकी शाक्यको सेलरोटीले माओवादी केन्द्रलाई उछिन्दै दोस्रो स्थान लिइरहेको छ। शाक्यले २५ वडामा मतदान भएको संख्याको औषत ४० प्रतिशत मत प्राप्त गरिरहेकी छिन्।

प्रकाशित: ९ जेष्ठ २०७४ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App