१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

काठमाडौं- दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सोमबार नागरिकलाई बताए ।

केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबर नोट साट्न पाइनेछ । यसैगरी, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको निरौलाले जानकारी दिए । ‘सर्वसााधारण नागरिकले सहज रुपमा नयाँ नोट सटही गर्न सकून् भन्ने उद्देश्यले राष्ट्र बैंकको थापाथली बाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्ने पाउने व्यवस्था मिलाएको हो,’ उनले भने, ‘यसले गर्दा विगतमा जस्तो भीडभाड हुने छैन ।’

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ ।

यता, संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई भने सम्बन्धित संस्थाको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट भदौ २१ गतेदेखि ३० गतेसम्म नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकको भनाइ छ ।

उपत्यकाबाहिरका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको निरौलाले जानकारी दिए । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत २८ गतेदेखि सर्वसाधारणलाई नयाँ सुकिला नोट साटिदिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण गरिने छ ।’

राष्ट्र बैंकले सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सूचना जारी गरेको छ । ‘सटही सुविधालाई सहज ढंगबाट सम्पादन गर्न प्रत्येक दरका नोटको खुद्रा संख्या १०० को प्याकेटका आधारमा मात्र सटही गरिने भएकाले सोही बमोजिम नाट सटहीको माग गरी नोट सटहीको कार्यलाई सहयोग पु¥याउन सर्वसाधारणबाट यस बैंकले अपेक्षा राखेको छ,’ जारी सूचनामा उल्लेख छ ।

विगतमा बैंक तथा वित्तीय संस्थाले पनि केन्द्रीय बैंकबाट नयाँ नोट साटेर पनि ग्राहकलाई वितरण गरेका थिए । यसपटक पनि त्यस्तो व्यवस्था गर्ने एक बैंकरले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई मात्र नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएबापत अतिरितm आम्दानी हुँदैन तर उनीहरुले सम्बन्ध सुधारका लागि नयाँ नोट साटिदिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन् ।

गत वर्ष दसैंका लागि नयाँ नोट साट्ने व्यक्तिको भीडलाई ध्यान दिँदै केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले कुपन व्यवस्था मिलाएको थियो । कुपन नम्बर वितरण भए पनि सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न नपाएको गुनासो गरेका थिए ।

नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय खाद्यान्न, लताकपडा र यातायात खर्च बढेसँगै साना दरका नोटभन्दा मध्यम खालका नोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन् । टीका लगाएर ५ र १० को एउटा नोट दिन नसुहाउने समय आएको उनीहरुको भनाइ छ ।

मूल्यवृद्धिको चाप दसैंको दक्षिणामा पनि परेको विज्ञ बताउँछन् । ‘निधारको मूल्य पनि बढेको छ,’ एकजना विज्ञले ठट्यौली पारामा भने, ‘मूल्यवृद्धिको मार नुनदेखि सुनसम्ममा परेको छ ।’ दसैंमा नयाँ नोटको दक्षिणा आदानप्रदान, शीरदेखि पाउसम्म नयाँ लुगा लगाउने, नयाँ सामान किन्ने र नयाँ घर सर्ने प्रचलन छ ।

प्रकाशित: २० भाद्र २०७४ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App