१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

काठमाडौं- सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् । जुनकिरी आर्टस्को ब्यानरमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ शीर्षकको फिल्म घोषणा गर्दै केकीले आफूलाई फरक भूमिकामा समेत प्रस्तुत गर्न लागेकी हुन् ।
राजधानीमा पत्रकारमाझ केकीले आइतबारसम्म आफू व्यक्तिगत रुपमा मात्र दर्शकमाझ चिनिए पनि सोमबारदेखि जुनकिरी आर्टकी केकीको रुपमा चिनिने बताइन् । ‘मैले बाहिरको कुरा बुझ्न थालेपछि फिल्म के हो भन्ने थाहा पाएँ । फिल्मप्रति मेरो सानैदेखिको लगाव थियो,’निर्देशक बद्री अधिकारीकी छोरी केकीले भनिन्,‘फिल्ममा एक किसिमको शक्ति र आनन्द हुन्छ । फिल्ममा योगदान दिएरै मर्न पाउँ भन्ने मेरो इच्छा हो ।’ केकीले आफू फिल्म क्षेत्रमा लागेदेखि नै निर्माणमा सोच बनाए पनि अहिले आएर त्यो सपनालाई पूर्णता दिन पाएको बताइन् ।
दर्जनौं म्युजिक भिडियोको निर्देशन गरिसकेका निर्देशक विशाल भण्डारीले यसै फिल्मबाट फिल्म निर्देशकको रुपमा डेब्यु गर्दैछन् । ‘फिल्मले एउटा सपनाको कथा बोल्छ । भिडियो निर्माणमा आउँदा मेरो पनि फिल्म निर्देशन गर्ने सपना थियो । केकीले पनि निर्माणको सपना बुनेकी थिइन्,’विशालले भने,‘फिल्मले पनि तीन युवतीको कथालाई देखाउनेछ । एउटी युवतीले तीन युवालाई लगाएर ठूलै काम गर्न खोज्छे । अर्की चाहिँ युवाको गोलचक्करमा फस्छे र आफूलाई प्रमुख पात्रको रुपमा पाउँछे । तेस्रो चाहिँ ठूलो भाग पाउने लालचमा आफैलाई संलग्न गराउँछे ।’ विशालले फिल्म पूर्ण रुपमा कमेडी जनरामा निर्माण हुने भएकाले दर्शकले मनपराउनेमा विश्वास व्यक्त गरे । केकीले विशालको निर्देशनमा बनेको धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
फिल्मकी नायिका प्रियंका कार्कीले केकीले यति छिटो फिल्म बनाउने कुरा आफूले नसोचेको बताइन् । ‘केकीले फिल्म बनाउने कुरा चाहिँ गरिरहन्थिन् । उनको नम्र स्वभाव र सबैलाई आदर सम्मान गर्ने बानीले मलाई निकै प्रभावित गरेको थियो,’प्रियंकाले भनिन्,‘अहिले केकीले नै बनाउन लागेको फिल्ममा कलाकार हुन पाउँदा खुशी लागेको छ ।’
कार्तिकको तेस्रो हप्ताबाट फ्लोरमा जाने फिल्म नेपालगञ्ज वरपर खिचिनेछ । फिल्ममा प्रियंका र केकीसँगै ऋचा शर्मा, विनोद न्यौपाने, रविन्द्र झा, बुद्धि तामाङ, सुजन कार्की र बाल कलाकार कुसाग्र भट्टराईको पनि अभिनय रहनेछ ।
फिल्म निर्माणमा केकीलाई भद्रबहादुर शाही, देवीलाल न्यौपाने(पण्डित) र शिवप्रसाद चौलागाईले साथ दिएका छन् । फिल्ममा शान बस्न्यातको लेखन, राजनराज शिवाकोटी, अर्जुन पोखरेल, कालीप्रसाद बास्कोटाको संगीत, लोकेश बज्राचार्यको सम्पादन, गम्भीर विष्टको नृत्य र अर्जुन तिवारीको छायांकन छ । फिल्म यसै वर्ष रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App