१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवा चुनावी दौडाहामा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारका लागि मंगलबार पश्चिम नेपाल भ्रमणमा निस्कने भएका छन् । निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा निस्कन लागेको जानकारी गराएका हुन् ।  
पार्टी केन्द्रीय सदस्यसमेत रहेका निर्वाचन परिचालन समिति संयोजक खाँणका अनुसार देउवा मंगलबार चुनावी प्रचारका लागि नेपालगन्ज पुग्नेछन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले मंगलबार नै त्यहाँ सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुसँग निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् भने दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेतासँग भेटघाट गर्नेछन् ।
देउवाले बुधबार धनगढीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै उनले सुदूरपश्चिमका सुरक्षा निकायका प्रमुखहरुसँग त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा छलफल गर्नेछन् । देउवा ३० गते गृह जिल्ला डँडेलधुरा पुग्नेछन् ।  सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्ने छन् भने २ गते बझाङ र बाजुराका आमसभामा सहभागि हुने कार्यक्रम छ ।
त्यसपछि देउवा रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभामा सहभागी भएर काठमाडौं फर्कने खाँणले जानकारी दिए । ‘प्रधानमन्त्रीको प्रचार अभियानले स्थानीय जनताका समस्याको सम्बोधनलाई सहज बनाएको छ,’ उनले भने, ‘मतदातासँगको साक्षात्कारले पार्टीप्रतिको विश्वास अभिवृद्धि हुन्छ ।’
यसअघि देउवाले ताप्लेजुङसहितका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।
 

 

प्रकाशित: २८ कार्तिक २०७४ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App