अन्तर्वार्ता

अञ्चलाधीशले ६ महिना पत्रिका बन्द गरिदिए

आइतबार, ०७ माघ २०७४, ०९ : ०२ नागरिक


जमाना होहल्लाको छ, आत्मविज्ञापनको छ। यसो भन्नु अतिशयोक्ति होओइन, किनभने तपाईं यहाँ एक यस्ता ‘संस्थागत व्यक्ति’सितको अन्तर्वार्ता पढ्दै हुनुहुन्छ जो पत्रपत्रिकासम्बन्धी हाम्रा इतिहासका ठेलीमा भेटिँदैनन् । तर यी हुन्, सन् १९५७ देखि १९८० सम्म २३ वर्ष मासिक रूपमा छापिएको ‘वसुधा’ पत्रिका/जर्नलका प्रकाशक तथा सम्पादक टंकलाल श्रेष्ठ । सन् १९६० मा राजा महेन्द्रको कूका कारण ५ वर्ष यो प्रकाशन बन्द भयो । साहित्यिक पत्रिकाको बाक्ल्याइँमा यो समाजविज्ञानका सबैजसो विधामा अनुसन्धानात्मक लेख छाप्ने नेपालबाट छापिएको अंग्रेजी भाषाको सम्भवतः पहिलो र प्रभावशाली प्रकाशन हो । यसमा डोरबहादुर विष्ट, यदुनाथ खनाल, कमलप्रकाश मल्ल, इमानसिंह चेमजोङ, हर्क गुरुङ, हृषीकेश शाह, शिवराज आचार्य, देवेन्द्रराज पाण्डे, जयराज आचार्यजस्ता ‘अभूतपूर्व’ बौद्धिकदेखि पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता ‘भूतपूर्वबौद्धिक’ नेताका लेख छापिएका छन् । लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, भूपी शेरचन, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, वासु शशिजस्ता साहित्यकारका अनूदित रचना पनि यसमा छन् । अर्नेस्ट गेल्नर, माइकल विट्जेल, फ्रेडरिक गेजजस्ता विदेशीहरूका लेख पनि छापिएका छन् । कीर्तिनिधि विष्टको पहिलो लेख नै ‘वसुधा’मा छापिएको थियो भने शासकको हल्का आलोचना गरिएको प्रकाशचन्द्र लोहनीको लेख छापिएपछि ‘वसुधा’ छ महिना कारबाहीमा परेको थियो । कमलप्रकाश मल्लको बहुचर्चित लेख ‘द इन्टेलेक्चुअल इन नेप्लिज् सोसाइटी’का दुई भाग पहिलोपटक ‘वसुधा’मै छापिएका हुन् । साझा प्रकाशनले छापेको मल्लको पुस्तक ‘रोड टु नोह्वेर’का १९ वटामध्ये १३ वटा लेख ‘वसुधा’मै छापिएका हुन् । जीवनको ८१ औँ हिउँदमा घाम तापिरहेको अवस्थामा ‘वसुधा’का सम्पादक अर्थात् पर्दा पछाडिका हिरो टंकलाल श्रेष्ठ जोसिलै मुद्रामा गफिए । ज्येष्ठ सम्पादक श्रेष्ठसित विमल आचार्यले गरेको संवादको सार :

हामी वसुधाबारे नै धेरै कुरा गर्नेछौँ, तर त्यसभन्दा अघि यहाँकै बारे केही जानौँ न, सर ?
म महान् र प्रेरणादायी आत्मकथा भएको, मेरोबारे अरूले पढ्नैपर्ने, जान्नैपर्ने लेभलको होइन । म साधारण मान्छे हुँ । आज यत्रो वर्षपछि, वसुधा बन्द भएको ३६ वर्षपछि वसुधाको नाम लिएर, खोजबिन गरेर यति धेरै कुरा सुनाएपछि म आफैँ छक्क परेँ । मलाई त लाग्थ्यो, वसुधा मैले त बिर्सें, अब कसले सम्झेको होला र ? तर, मैले नै भुलिसकेका कुरा करिब एक घन्टा जति जे जे सुनाउनुभयो, केही त गरिए छ कि जिन्दगीमा भनेर म मुग्ध भएँ ।

वसुधा यहाँले फुलाएको फूल हो । त्यो फूलको बोट र त्यसका बीउ–बेर्ना–जरा–मलजल–गोडमेलबारे सुन्न चाहन्छौँ । फूलको प्रोफेसनल लाइफमा बोटको पर्सनल लाइफको पनि त महत्व हुन्छ नि ?
हो, सुन्दा अचम्म लाग्ला । तर, खास कुरा के हो भने मैले पहिलोपल्ट धरती टेकेको, लडिबुडी खेलेको माटो अर्थात् जमिन नै अब कहीँ छैन । जन्मिन त म जमिनमै जन्मिएको हुँ तर अहिले त्यो जमिन ठूलो तलाउ भइसक्यो । मेरो पुख्र्याैली घर काठमाडौँमै हो । मेरो बाजे झमकलाल श्रेष्ठले कुलेखानीमा होटेल चलाउनुभएको रहेछ । म त्यहीँ होटेलमै जन्मिएँ । अहिले ती होटेल भएको बस्ती इन्द्रसरोवर भनिने पानीमुनि पर्छन्, कता हो कता ! तर, मलाई खेद छैन, किनकि म जन्मेकै माटोले अहिले बिजुली, उज्यालो दिएको छ नि त । (हाँसो)

त्यो कुलेखानी, त्यो होटेल, त्यो बस्तीको अरू कुनै सम्झना छ यहाँलाई ?
छ । मलाई लाग्छ, नेपालमै होटेल अर्थात् भनौँ न तत्कालीन समयमा आजका लजजस्ता होटेल चलाउनेहरू हाम्रा पुर्खाहरू नै हुनुपर्छ । यो छुट्टै अनुसन्धानको विषय होला । त्रिभुवन राजपथ बन्नुअघिसम्म त्यो बाटो काठमाडौँको मुख्य प्रवेशद्वार हो । काठमाडौँबाट जानेहरू खाना खान पुग्ने र तराईबाट आउनेहरू बास बस्ने बिछट्टै गुलजार बस्तीको रमाइलो होटेलमा जन्मेँ म । मलाई सम्झना छ, जनै लगाएका बाहुनले खाना पकाउँथे । लुगा फुकालेर पिर्कामा बसेर खान्थे मान्छेहरू । होटेलको त्यो दृश्य, त्यो गफगाफ, त्यो समय अब यो समयमा सब किंवदन्ती जस्तो भइसक्यो।

(लेखक ध्रुवचन्द्र गौतमको मदन पुरस्कारप्राप्त उपन्यास ‘अलिखित’को बिरहिनपुर बरेवा गाउँ सम्झना भयो मलाई । उपन्यासमा बिरहिनपुर बेरवा गाउँ नै अचानक अलप भएको प्रसंगलाई स्वैरकल्पना भन्ठान्यौँ तर टंक जन्मेको बस्ती हराएको चाहिँ यथार्थ नै रहेछ । संस्कृतज्ञ महेशराज पन्तका अनुसार कुलेखानीमा जिउँदो सहिद टंकप्रसाद आचार्यको पनि होटेल थियो । कुलेखानी–मार्खुको २०११ साल पहिलेको गुलजार बजारबारे अनुसन्धान भएको छ कि छैन कुन्नि, तर यो समाजशास्त्रीय अध्ययनको महत्वपूर्ण विषय हुनसक्छ ।)

वसुधाको पृष्ठभूमि कसरी तयार भयो ?
कुलेखानीमा जन्मे पनि त्यहाँ पढाइ नहुने भयो । मेरो फुपाजु सत्यनारायणबहादुर श्रेष्ठ कलकत्ता निर्वासनमा हुनुहुन्थ्यो । पछि उहाँ हाम्रा घरमा आएर बस्नुभयो । मेरो काकाको छोरा र मलाई पढाउन दार्जिलिङ पठाउने कुरा हुन थाल्यो । तर, सत्यनारायणबहादुरले कहीँ पठाउनुपर्दैन म यहीँ स्कुल खोल्छु भन्नुभयो । त्रिभुवनबाट जग्गा बक्सिस पाएर उहाँले स्वर्गको बगैँचा भनिने फर्पिङमा राजाकै नाममा त्रिभुवन आदर्श स्कुल खोल्नुभयो । मलाई लाग्छ, त्यो अंग्रेजी माध्यममा पढाइ हुने नेपालीले खोलेको पहिलो निजी विद्यालय हुनुपर्छ । म त्यहीँ स्कुलको पहिलो ब्याचको विद्यार्थी हुँ । २०११ मा मैले एसएलसी पास गरेँ । हामी छ जना थियौँ, सहपाठी । त्यही स्कुलमा म ९ कक्षामा पढ्दा हाम्रा एक जना गुरु ‘आर. वि. पार्थेभा, एमए’को नाममा हस्तलिखित पत्रिका ‘वसुधा’ निस्कियो । यो सन् १९५३ को कुरा हो । वसुधामा विद्यार्थीका रूपमा अखबारका, विशेषतः भारतीय पत्रिकाका कटिङ टाँस्ने, कविता टाँस्ने, अनुवाद गरेर टाँस्ने गरेको याद छ मलाई । त्यो अतिरिक्त क्रियाकलापअन्र्तगतको उत्साहजनक अन्जान कर्म थियो।

पछि त्यही हस्तलिखित वसुधा नै क्रमशः गर्नुभयो ?
होइन, म भन्दैछु । त्रिचन्द्र कलेजमा आइएमा भर्ना भइयो । मलाई कलेजको राजनीतिले छोयो । लामो समयको निरंकुशता र अँध्यारोबाट भर्खरभर्खर खुला राजनीतिमा आएको उल्लास र उमंगको, अब केके न हुन्छ भने जस्तो माहोल थियो । मलाई त्यसबेलाको वामपन्थी पार्टी कांग्रेसको राजनीतिले छोयो । आर्टस्, कमर्स र साइन्स गरी तीन ग्रुपबाट उम्मेदवारी दिने चलन थियो, तिनताका । साइन्सबाट उठेका कम्युनिस्ट गणेशलाल श्रेष्ठले जिते । कमर्सबाट उठेका सीपी लोहनी (पछि माइतीघरमा हिरो हुनेवाला लोहनी) र आर्टस्बाट उठेका मैले हा¥यौँ । हर्क गुरुङ र म क्लासमेट थियौँ । त्यहीँ आइए पढ्दापढ्दै खै के सोच आयो, सहपाठी बालाप्रसाद श्रेष्ठ, त्रिरत्न मानन्धर (इतिहासकार होइनन्) र म मिलेर पत्रिका निकालौँ न भन्ने सोच्यौँ । पत्रिकापट्टि खासै लगाव भएको पनि होइन, तर कसरी कसरी त्यो सोच आयो । मलाई लाग्छ, स्कुले–केटौले उमेरमा राम्रो–नराम्रो जे देखिन्छ, त्यसको प्रभाव पछिसम्म पर्छ होला नै।

त्यसबेला हामीकहाँ साहित्यिक पत्रिका केही थिए । यहाँहरूले कसरी गैरसाहित्यिक, त्यो पनि अंग्रेजीमा निकाल्ने सोच्नुभयो ?
नेपालबाट साहित्यिक अर्थात् काल्पनिक कुरा छाप्ने पत्रिका त थिए, तर हामीले वास्तविक कुरा छाप्ने अलि खोजमूलक पत्रिका निकालौँ न त भन्ने सोच्यौँ । अंग्रेजी माध्यममा पढेर आएको फुर्तिफार्ती पनि थियो होला अनि त्यसमाथि संसारमा नेपाल चिनाउने अन्तर्राष्ट्रिय भाषाको गतिलो पत्रिका खै त ? हामीले संस्कृत ‘वसुधा’ नाममा अंग्रेजीमै छाप्ने सोच्यौँ । यसरी १९५३ मा स्कुलबाट निस्केको ‘वसुधा’कै नाममा हामीले १९५७ अक्टुबरमा ‘वसुधा’को पहिलो अंक छाप्यौँ, ख्यालख्यालमै । नामबाहेक अरू साइनो केही थिएन।

सुरुमा यहाँहरूले थर लेख्नुभएको देखिँदैन नि ?
त्यो सोचविचार गरेर गरिएको थिएन । सत्यनारायणबहादुरले पनि श्रेष्ठ लेख्नुहुन्थेन । हामीलाई त्यसकै प्रभाव पर्याे होला । अहिले विश्लेषण गर्नेले जात–थरबाट माथि उठेको भनेर हाम्रो मनोवैज्ञानिक सोच पहिल्याए पनि अन्यथा नहोला कि !

कसरी छाप्नुभयो ? खर्चपर्च–मुद्रण–वितरण ?
सत्यनारायणबहादुरको आफ्नै प्रेस थियो, न्युरोड पाकोमा । त्यहीँ छाप्यौँ । घरबाट खाजा खान दिएको पैसा जोगाएरै खर्च धानेको हो । पत्रिकाको मोल सुरुमा ५० पैसा थियो । पछि १ अनि ५ रुपियाँ राखियो । त्यही ५०–१०० कपी जति छापियो । बढीमा १५ सय कपीसम्म छापेको सम्झना छ । वितरण त्यस्तो केही थिएन । झोलामै अफिस थियो । तत्कालीन समयमा अंग्रेजी पढ्ने एलिट इन्टेलेक्चुअलले रुचाए, किनिदिए । दूतावासमा पठायौँ, बेच्यौँ ।

लेख कसरी जुटाउनुभयो ?
सुरुका धेरै अंकमा त्रिचन्द्रका हाम्रै गुरु र सहपाठीहरूका लेख बढी छापिएका छन् । यदुनाथ खनाल, सूर्यबहादुर शाक्य, बीसी मल्ल, लोकराज बराल, हर्क गुरुङ यहाँहरूले देख्नुहुन्छ । पछि हामीलाई दूतावासहरू खुलेपछि र नेपाल अध्ययन गर्न आउनेहरू बढेपछि तिनका लेख पनि प्राप्त हुन थाले । हाम्रोमा यो विषयको मात्र छाप्ने भन्ने त्यस्तो केही थिएन । हामीले आर्थिक, सामाजिक, पुरातात्विक, ऐतिहासिक महत्वमा छाप्ने सोच बनाएको भए पनि हामीले साहित्य पनि छाप्यौँ, अनुवाद गरेर।

राजा महेन्द्रको ०१७ सालको काण्डबारे यहाँको सानो संस्मरण–लेख छापिएको रहेछ, हाम्रा पाठकलाई अलिकति बताइदिनुस् न ।
म तरुण दलको संस्थापक सदस्य थिएँ । हाम्रै कार्यक्रममा बोल्दाबोल्दै प्रधानमन्त्री बीपीलाई पक्रिएको हो । म त्यो सांस्कृतिक कार्यक्रमको संयोजक पनि थिएँ । त्यसपछि म पनि पक्रिइएँ । १७ सालकै सरोफेरोमा म तीनचोटि जेल परेँ । सम्पादक सरकार विरोधी भएपछि पत्रिका पनि विरोधी हुने भइहाल्यो । मेरा साथीहरूलाई समातेर पत्रिकाबाट मेरो नाम हटाइयो भने पत्रिका निकाल्न दिने भनियो । तर, साथीहरूले मेरो नाम हटाएर पत्रिका छाप्नुभन्दा नछाप्ने भने । पत्रिका नै बन्द भयो । यसरी १७ सालपछि पाँच वर्ष पत्रिका बन्द भयो । म कांग्रेसको समर्थक भए पनि मैले पत्रिकालाई पार्टीको हुन चाहिँ कहिल्यै दिइनँ । यो, त यहाँहरूले कन्टेन्ट एनालिसिस गरेर भनिसक्नुभयो।

यहाँले बीपीको अन्तर्वार्ता किन अर्काेमा छाप्नुभयो ?
अँ, यसै प्रसंगमा अर्काे कुरा । मैले २०१६ सालमा बीपी कोइरालाको लिखित अन्तर्वार्ता लिएर ‘द विकेन्ड’ साप्ताहिकमा छापेको हो । साप्ताहिक रूपमा छाप्ने भनेर ‘द विकेन्ड’ अंग्रेजी सुरु गरियो तर दुई अंक मात्र छापियो । मसँग त यसको एक कपी पनि छैन । कोसँग कहाँ होला है ?

बन्द, जफत, कारबाही, अवरोधका अरू तीता घटना पनि छन् कि ?
छन् नि । राप्रपाका नेता हुनुहुन्छ नि अहिले प्रकाशचन्द्र लोहनी, उहाँको एउटा लेख छापियो । वास्तवमा त्यो लेख उहाँले पहिल्यै सेमिनारमा प्रस्तुत गरिसक्नुभएको थियो । त्यसमा उहाँले शासन गर्नेले ‘बुके मात्र होइन, जुत्ता पनि पाउनसक्छ’ भन्ने भावार्थमा लेख्नुभएको थियो । यही निहुँमा तत्कालीन अञ्चलाधीशले ६ महिना पत्रिका बन्द गरिदिए । यस्तै, भारतीय प्रोफेसर एसएन बर्माले वीरेन्द्रको नयाँ शिक्षा प्रणालीबारे अलिकति क्रिटिकल्ली लेख्नुभएको थियो । दरबारमा शिक्षा हेर्ने नारायणबहादुर श्रेष्ठले मलाई भन्नुभएको के भने, शिक्षा मन्त्री कृष्णराज अर्यालले अब तपाईंलाई बाँकी राख्दैनन् । तर, म यस्ता धेरै कारबाहीबाट विचलित भइनँ, भनौँ न बाँकी भएँ । सूचनामन्त्री जोगमेहर श्रेष्ठको पालामा विज्ञापन रोकिइयो । यस्ता धेरै छन्।

यहाँहरूले कतै पत्रिका, कतै जर्नल, कतै पत्रिका/जर्नल भनेर लेख्नुभएको छ, जर्नल भन्ने चाहिँ दिमागमा घुस्यो कसरी ?
अनुसन्धानमूलक भनेर पूरै अनुसन्धान मात्रै पनि छाप्न सकिएन । ध्रुवकृष्ण दीपको अनुवादमा साहित्य पनि धेरै नै छापियो । पत्रिका हो कि जर्नल हो कि वा केही होइन कि, यो अब यहाँहरूले भन्ने कुरा होला।

वसुधामा त्यतिबेलाका स्वदेशी–विदेशी अंग्रेजीबाजहरू धेरैले लेखेको देखिन्छ । कसरी जुटाउनुहुन्थ्यो लेख ?
पछि हाम्रो पत्रिका अलि चर्चित नै भयो भन्नुपर्छ । दूतावासहरूमा जान थाल्यो । दार्जिलिङसम्म पुग्न थाल्यो । रोयल एयरलाइन्सको फ्लाइटमा राख्न थालियो । यदुनाथ खनाल, कमलप्रकाश मल्लजस्ताका दर्जनौँ गहकिला लेख पहिलोचोटि हामीले नै छाप्यौँ । कमलप्रकाशजी त प्रुफ पनि आफैँ हेर्नुहुन्थ्यो, प्रेसमा आएर । विदेशीहरू पनि लेख दिन्थे । एउटा कुरा भन्नैपर्छ अंग्रेजीमा लेख्ने, पढ्नेबीच हामी चिनियौँ । पछिपछि त वसुधामा म एक्लो हुँदै पनि गएँ । सबै आफैँ गर्न थालियो । वसुधा निरन्तर छाप्न पाउने सर्तमा म जर्मन दूतावासमा जागिरे भएँ । त्यहाँ गएपछि पनि मैले स्वतन्त्र रूपमा वसुधाको प्रकाशन जारी राखेँ ।

यहाँका उल्लेख्य, प्रिय या भनौँ न सम्झना भएका वसुधा–लेखक ?
यदुनाथ खनाल, हर्क गुरुङ, यादवप्रसाद पन्त, प्रचण्डमान प्रधान, देवेन्द्रराज पाण्डे, सूर्यबहादुर शाक्य, विन्दुनाथ प्याकुरेल, केशरबहादुर केसीजस्ता प्राज्ञिक÷प्रशासनिक जीवन बिताएका व्यक्ति । कृतिनिधि विष्ट, हृषीकेश शाह, मोहम्मद मोहसिन, रामहरि जोशी, प्रकाशचन्द्र लोहनी, बद्रीप्रसाद श्रेष्ठ, पशुपतिशमशेर जबराजस्ता पञ्चायत र पञ्चायतपछि राज्य सञ्चालनमा सक्रिय व्यक्ति । युगेश्वर बर्मा, डिपी भण्डारी, मोहन लोहनी, रामअवतार यादव, अभि सुवेदी । केशरलाल, मृगेन्द्रलाल, धुस्वाँ सायमी, धु्रवकृष्ण दीप, वासु शशि, माधवलाल कर्माचार्य, ग्रेटा राणा, मदन रेग्मी, प्रकाश ए राज र टिएन माली । लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, गोपालप्रसाद रिमाल, बिपी कोइराला ।

यीमध्ये कसैलाई कहिल्यै पारिश्रमिक पनि दिनुभयो कि ?
पारिश्रमिक ? हरे त्यो जमाना ! केको पारिश्रमिक दिन सक्नु, उहाँहरू कसरी चाहना राख्नु र !

किन बन्द भयो वसुधा ?
खै, किन भनूँ । म बूढो भएँ कि ! मलाई परिवार पाल्ने समस्या उमेरसँगै बढ्यो कि ! अरू टिम, नयाँ पुस्तालाई आकर्षित गर्न सकिएन कि ! खुसी र सोखलाई व्यवसाय बन्न–बनाउन सकिएन कि ! त्यसबेलाका नियमित लेखक, पाठक, ग्राहक अनि वसुधाका शुभचिन्तक कति जीवित हुनुहुन्छ, उहाँहरूले पनि भन्नुहोला यसबारे।

फेरि सुरु गर्ने कि ?
(हाँस्दै) गर्ने । १९ वर्ष नियमित भएर २३ वर्षको लाऊँलाऊँ खाऊँखाऊँ उमेरमै मार्नुपर्दा दुःख त छ । अब कोही इमानदार भएर, प्रतिबद्ध भएर, टिम बनाएर आउँछ भने म मरेर गएपछि पनि ‘वसुधा’ बाँच्ला कि!

वसुधा–जीवनका दुइटा रोचक प्रसंग सुनौँ न ?
अँ, एउटा भनिहालूँ । वसुधा ‘वान म्यान सो’जस्तै हो झन्नै । अहिले तपाईं फोटो खिच्ने साथी अर्कै लिएर आउनुभयो, तपाईंको पत्रिकामा पनि तोकिएको एउटा–एउटा मात्र काम गर्ने सयौँ होलान् । सम्पादकीय लेख्ने, लेख ल्याउने, टाइप, प्रेस, विज्ञापन सबैजसो गरियो । वसुधाको १२ औँ वार्षिकोत्सवमा हामीले सिंहदरबारको नाचघरमा सांस्कृतिक कार्यक्रम गरेका थियौँ । त्यो कार्यक्रम साथी बालाप्रसादको सुनको सिक्री बेचेर गरेका हौँ । त्यसमा भैरवबहादुर थापा, कुमार बस्नेत, नातिकाजी, शिवशंकरजस्ता धेरैको प्रस्तुति थियो । रमाइलो त के भने, त्यहाँ हामीले म्युजिक, डान्स, प्रहसन र ‘फेसन सो’ पनि गरायौँ । राजा महेन्द्रलाई मन परेछ क्यारे, ५०० रुपियाँ बक्सिस पनि दिएथे । मलाई लाग्छ, त्यो जमानामा त्यो फेसन सो सायद पहिलो हो कि ? नहुन पनि सक्छ, यहाँहरूको पुस्ताले अनुसन्धान गरेको होला, नगरेको भए गर्ला नै।

एउटा कम्पनीको विज्ञापनको पैसा उठाउन गएको थिएँ । उसले त मलाई विज्ञापनबापतको पैसाको हिसाब गरेर आफ्नो कम्पनीको गाडी नै दियो । पैसामा मैले धेरै कर गरेको पनि होइन तर उनीहरू प्रोफेसनल कम्पनीवाल रहेछन् । बडो सम्मानसहित सहर्ष गाडी दिए । साइकल चढ्ने म धेरै वर्ष त्यो गाडी चढेँ । त्यो गाडी थियो, होन्डा कम्पनीको।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

‘नेपाली साहित्य दलालीतर्फ जाँदैछ’

समालोचक तथा कवि नेत्र एटम (नेत्रमणि सुवेदी) पेसाले त्रिभुवन विश्वविद्यालयमा  प्राध्यापन  गर्छन्।  साहित्यको समालोचना गर्दै  आएका  एटमसँग नेपाली साहित्यमा  कविताको ...

करोड क्लवमा ओलीको ह्याट्रिक

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।

उमेर पचपन, पहिरन बचपन

उमेर पचपन, पहिरन बचपन

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६/१७...

नाटकमा निखारिए बालबालिका

नाटकमा निखारिए बालबालिका

मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन...