मनोज–मीना ट्रयाजेडी

करोडको डिभोर्स

शनिबार, १३ माघ २०७४, १५ : ०६ अनिल यादव  | @aniljournalist


गत चैतमा भक्तपुरको बालकोटमा रहेको घरको कथा सुनाउँदै हास्य अभिनेता मनोज गजुरेलले भनेका थिए, ‘मेरी मैनाको दुःख मिसिएको हुनाले यो घर मलाई प्यारो लाग्छ ।’ उनले यसो भन्दा उनकी मैना अर्थात् मीना उनीसँगै थिइन् ।
मनोज अहिले त्यो घरमा एक्लै छन् । उनकी मैना बानेश्वरमा । यी दुवै जोडी तनले मात्रै हैन, मनले समेत छुट्टिइसकेका छन् । काठमाडौं जिल्ला अदालतले यी दुवैको मन विभाजित हुने सरकारी कागजातमा ल्याप्चे लगाइदिइसक्यो । यी दुवैको २२ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लाग्यो । 

मनोजकी ‘मैना’ अर्थात् मीना ढकाल गजुरेलको नाम छोट्टिएको करिब एक महिना भइसक्यो । उनी गजुरेल शब्दबाट कानुनी रुपमै मुक्त भइन् । गजुरेल र ढकालका अनुसार आपसी सहमतिमै डिभोर्स भएको हो । यी त बाँडिए नै, उनीहरूसँगै २२ वर्षे यात्राको २ नाशो समेत बाँडिए । २० वर्षका छोरा बालकोटमा गजुरेलका साथी भएका छन्  । १३ वर्षकी छोरी बानेश्वरमा आमाको साथी । 

डिभोर्सपछि आपसी समझदारीअनुसार मीनाले अंशबण्डाबापत मनोजबाट एक करोड २५ लाख रुपैयाँ पाएकी छन् । जसमध्ये ६० लाख छोरीको हो । जानकारका अनुसार अदालती प्रक्रियामा अंश बापतको रकम छोरीको मात्र उल्लेख गरिएको छ ।

डिभोर्सपछि आपसी समझदारीअनुसार मीनाले अंशबण्डाबापत मनोजबाट एक करोड २५ लाख रुपैयाँ पाएकी छन् । जसमध्ये ६० लाख छोरीको हो । जानकारका अनुसार अदालती प्रक्रियामा अंश बापतको रकम छोरीको मात्र उल्लेख गरिएको छ ।

प्रेम र विवाह मान्छेका नितान्त व्यक्तिगत मामिला भए पनि मनोज–मीनाको ‘ट्रयाजेडी’ बहसको विषय बनिरहेको छ । चिया पसलदेखि रक्सी भट्टीसम्म यी दुवैको दुखद् कहानीको खासखुस सुनिन्छ ।डिभोर्सको कारक र कारणबारे मीना आक्रामक रुपमा मिडियासँग खुलेकी छन् भने मनोज मौन नबसे पनि डिफेन्सिभ देखिन्छन् । 

ब्लफ–कलले जुराएको जोडी 
२२ वर्षअघि काठमाडौं, पुतलीसडकमा वारिपट्टि मनोजको स्टेसनरी पसल थियो, पारिपट्टि मीनाको अफिस । मनोजले मीनालाई देखे, मनपराए । साथीमार्फत् मीनाको अफिसको नम्बर लिए । त्यसपछि सुरु भयो ब्लफ कल । दुई महिनासम्म ब्लफ कल गरेपछि बल्लतल्ल विराटनगरमा जन्मिएकी मीना ताप्लेजुङका मनोजसँग भेट्न राजी भइन् । त्यतिबेला मीनालाई फकाउन मनोजले गर्ने ‘ब्लफ कल’लाई एक टिभी कार्यक्रम ‘लभ एन्ड लाइफ’मा ‘लभ कल’को संज्ञा दिएका थिए । 

भेटघाटपछि प्रेम टुसायो । फक्रिन ६ महिना लाग्यो । दुवैको प्रेममा बाधा नभएको हैन । मनोज उपाध्याय, मीना जैसी । मनोजकी आमा कट्टर । उनी मीनासँग छोराको सम्बन्धप्रति सकरात्मक भइनन् तापनि मनोजले बिहे गरिछाडे । 
बिहे गरेको २२ वर्षसम्म पनि जैसी भएकाले आफूले छोएको सासुआमाले कहिल्यै नखानु भएकोमा छुट्टीएपछि पनि उनको उस्तै दुखेसो रहेछ । ‘यो मामिलामा आफूलाई क्रान्तिकारी ठान्ने मनोज र उहाँका दाजुभाइले पनि आमालाई मनाउन सक्नुभएन,’ शुक्रबारसँग मीनाले भनिन् ।

कसरी चुँडियो सम्बन्धको डोरी
२२ वर्ष दुवैले एकै छतमुनि बिताए । कहिले आक्रोश, कहिले प्रेमपूर्ण सम्बन्ध रह्यो । उमेरसँगै व्यक्तिमा परिपक्वताको गणना हुन्छ तर सम्बन्धमा वर्ष महत्वहीन हुने रहेछ । यही पुष्टि ग¥यो मनोज–मीनाको टुटेको यात्राले । मनोजले सोमबार शुक्रबारसँगको कुराकानीमा भने, ‘हामीबीच पहिलेदेखि नै सामान्य ठाकठुक परिरहन्थ्यो । माइती, घरपरिवार र समाज हेरेर २२ वर्षसम्म यो सम्बन्धलाई जसोतसो टिकाइराख्यौँ तर अब त बच्चाबच्ची हुर्किसके । उनले पनि म अब ‘सेल्फ डिपेन्डेन्ट’ हुन्छु भनिन् । असन्तुष्टि बोकीबोकी बस्नुभन्दा डिभोर्स गर्नु नै ठीक भनेर सहमत भएँ ।’ मनोज यो ‘ट्रयाजिडी’लाई ‘डिभोर्स’ भन्न रुचाउँदैनन् । उनको परिभाषामा यो ‘ह्याप्पी इन्डिङ’ हो । 

मीनाले पनि मनोजसँगको सम्बन्धको अन्त्य आफ्नो जीवनको नयाँ यात्राको प्रारम्भको रुपमा लिएकी छन् । फेसन डिजाइनर मीनाले आफ्नो रुचिमा मनोज सधैँ बाधक रहेको गुनासो गर्दै भनिन्, ‘उहाँको सफलतामा मेरो ठूलो भूमिका छ, मैले उहाँका लागि धेरै गरेकी छु तर मैले भने उहाँको कहिल्यै साथ पाइनँ ।’ उनले भनिन्, ‘मलाई सधैँ उहाँले घरमै थन्किएर बसेको देख्न चाहनुभयो । एकपल्ट ब्युटीपार्लर र दुईपल्ट बुटिक खोलेँ तर असहयोगले चलाउन सकिनँ ।’

पुनःमिलनको सम्भावना ?
शारीरिकसँगै कानुनी रुपमा समेत यी दुवै अलग भइसके तर दुवैलाई जोड्ने दुई ज्यान अझै छन्, छोरा र छोरी । डिभोर्सपछि पुनः यात्रा जोडिने गरेका पनि छन् । मनोज–मीनाको हकमा के होला ? मनोजले सम्भावना देखाए तर मीनाले असम्भव ।

मनोजप्रति गुनासो गरिरहँदा पनि उनी यतिलाई नै डिभोर्सको खास कारण भएको बताउँदिनन् । आफूलाई झुक्याएर लामो समयसम्म मानसिक रोगको औषधि खुवाएर कमजोर बनाई बेडबाट उठ्नै नसक्ने अवस्थामा पु¥याएको उनको आरोप छ । ‘साथी डाक्टरकहाँ लगेर गलत औषधि खुवाएर मलाई कमजोर बनाएको पछि थाहा भयो,’ उनले स्पष्टीकरणको भाषामा भनिन्, ‘यत्रो वर्ष अन्यायमा परेको त थिएँ, तर नियोजितरुपमा औषधि खुवाएर जीवनमाथि खेलवाड गरिएको रहेछ भन्ने खुलेपछि सँगै बस्ने आँट गर्न सकिनँ ।’

मीनाको यो आरोपलाई भने मनोज निराधार भन्छन् । ‘निद्रा नलाग्ने, जिउ दुख्ने भएपछि चिनेजानेका साथीसँग सल्लाहअनुसार नसाको भिटामिन प्रयोग गर्दा निको हुन्छ भन्ने सुझावअनुसार केही औषधि प्रयोग गरेको हो तर उनले भनेजस्तो कमजोर बनाउन खोजेको होइन ।’

‘दुनियाँ हसाएँ, घरमा रुवाए’
कहिले प्रचण्ड, कहिले केपी ओलीको अवतार । कहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त कहिले लालबाबु पण्डित । दर्शक र स्रोतालाई हँसाउन दिनरात लागिरहे गजुरेल । मीना भने उनले दुनियालाई त हँसाए तर आफ्नै जीवनसंगीलाई हँसाउन नसकेको बताउँछिन् । उनले आइतबार यस सम्वाददातासँग भनिन्, ‘मनोजले दुनियाँलाई हँसाए तर आफ्नै श्रीमतीलाई हँसाउन सकेनन् ।’ ‘मिनाजीलाई सायद त्यस्तो लाग्यो होला,’ स्पष्टीकरणसँगै भावुक हुँदै मनोज भन्छन्, ‘तर  मैले क्षमता, योग्यता, बुद्धि र विवेकले भ्याएसम्म हँसाउनका लागि जोक नभने पनि परिवारमा चाहिने आधारभूत आवश्यकता र प्रेम सेयर गरेको थिएँ जस्तो लाग्छ ।’

बिहेलगत्तै खटपट  
शुक्रबारसँगको कुराकानीमा मनोज र मीना दुवैले २२ वर्षदेखि नै आफूहरुको सम्बन्धमा खटपट रहेको स्वीकारे । यत्रो वर्ष खटपटमै बसेको जोडी एक्कासि कसरी डिभोर्सको सहमतिमा पुग्यो? ‘खटपट त २२ वर्षदेखि नै थियो,’ मीनाले भनिन्, ‘झगडा हुन्थ्यो । २–४ वर्ष यता मैले फिजिकल टर्चर नपाए पनि मेन्टल टर्चर धेरै पाएँ ।’ मीना अलि आक्रामक देखिए पनि मनोज भने नरम देखिन्थे । ‘म जिन्दगीको यस क्षणमा मीनाजीका राम्रा–राम्रा कुरा मात्र सम्झन चाहन्छु, नराम्रा बिर्सन चाहन्छु,’ उनले भने ।

पुनःमिलनको सम्भावना ?
शारीरिकसँगै कानुनी रुपमा समेत यी दुवै अलग भइसके तर दुवैलाई जोड्ने दुई ज्यान अझै छन्, छोरा र छोरी । डिभोर्सपछि पुनः यात्रा जोडिने गरेका पनि छन् । मनोज–मीनाको हकमा के होला ? मनोजले सम्भावना देखाए तर मीनाले असम्भव । ‘२२ वर्ष उहाँलाई सपोर्ट गरेर बस्दा पनि मलाई असहयोग गर्नुभयो,’ उनले भनिन्, ‘अब पनि उहाँको घरमा बसेँ भने बाँचुञ्जेल मलाई आत्माले धिक्कारिरहन्छ ।’ ‘हामी २२ वर्षदेखिसँगै बसेका छौँ,’ मनोज आशावादी हुँदै भन्छन्, ‘स्वभावतः क्षणिक आवेशमा आए पनि माया त मनमा गढेर बसेको हुन्छ । अहिले आ–आफ्नो इगोका कुरा होलान्, इच्छाका कुरा होलान् तर भोलि मिलन हुन पनि सक्छ।’ 

 

निद्रा नपरेपछि औषधि खुवाएको हो, अन्य आरोप निराधार 
मनोज गजुरेल

निद्रा नलाग्ने, जिउ दुख्ने भएपछि चिनेजानेका साथीसँग सल्लाह गरेर नसाको भिटामिन प्रयोग ग¥यो भने निको हुन्छ भन्ने सल्लाहअनुसार केही औषधि प्रयोग गरेको हो।यसलाई डिभोर्सभन्दा पनि म ह्याप्पी इन्डिङ भन्न रुचाउँछु । डिभोर्सको निर्णय गर्नुभन्दा पहिला दुवै परिवारसँग सल्लाह गरेर सहमतिमै डिभोर्स भएको हो।

अब आ–आफ्नो गरिखाने, छोरी मिनासँग रहने, छोरा मसँग रहने गरी हामीले अलग हुने निर्णय ग¥यौं । विचारमा मेलमिलाप भएन, पहिलेदेखि नै सामान्य ठाकठुक परिरहने हो । हामी दुवैजनाले माइती, घरपरिवार समाज हेरेर २२ वर्षसम्म सम्बन्धलाई टिकाइराख्यौँ । 

अब बच्चाबच्ची हुर्किइसके । उनले पनि म अब सेल्फ डिपेन्ड हुन्छु भनिन् । त्यसो भए मैले पनि एकअर्कामा असन्तुष्टी बोकीबोकी किन बस्ने भन्ने हिसाबले डिभोर्स गर्न सहमत भएको हुँ । 

मेरो कामको प्रकृति, व्यस्तताको हिसाबले घरमा पर्याप्त समय दिन सकिन होला । उहाँले पर्याप्त समयको अपेक्षा राख्नु स्वाभाविक नै हो । तर मैले मेरो क्षमता, योग्यता, बुद्धि र विवेकले भ्याएसम्म एउटा परिवारमा आधारभूत आवश्यकता र प्रेम सेयर गरेको थिएँ । 

घरमा स–साना विषयमा झगडा भइरहन्थ्यो । सरसफाइका कुरामा, लवाइखुवाइका कुरामा, पारिवारिक सम्बन्धका विषयमा झगडा हुन्थ्यो । र, खोज्ने हो भने यो हरेक परिवारमा हुने समस्या नै हो । यसलाई मनमुटावभन्दा पनि एउटै खाटमा सुतेपछि लात्ती त लाग्छ भन्ने रूपमा लिनुपर्छ भन्ने लाग्छ । 

धार्मिक कुरा पनि हेर्नुपर्छ । परमात्माले यहीँसम्म सँगै जाऊँ भनेर भन्या थिए होलान् । त्यसैले कसैप्रति आरोप–प्रत्यारोप गर्नुभन्दा यसलाई यसरी नै बुझ्दा राम्रो होला । 

मैले मिनालाई एक्टिभ हुन नदिएको भन्ने मलाई लाग्दैन । हामी दुवैजनाले धेरै ग¥यौँ । बुटिक खोल्यौँ, पार्लर खोल्यौँ, सहकारी खोल्यौँ सबैमा हामी घाटामा गयौँ । एउटा कलाकारले दुःख गरेर कमाएको सबै त्यसरी नै सक्दा राम्रो हुँदैन । 

अर्को कुरा उनको स्वभाव एकदमै हाइपर हुने, रिस यति चाँडो उठ्ने कि त्यो शान्त हुन गाह्रो हुने । काममा असफल भएपछि उनलाई तनाव भयो होला, निद्रा लाग्न छोड्यो, जिउ दुख्ने त्यस्ता कुरा भए ।

त्यस्ता कुरा भएपछि चिनेजानेका साथीहरुसँग सल्लाह गरेर यो सामान्य हो, तनावका कारण पनि यस्तो हुन्छ, नसाको भिटामिन प्रयोग ग¥यो भने निको हुन्छ भन्ने सल्लाहअनुसार केही औषधि प्रयोग गरियो । त्यसले पनि ठीक नभएपछि हामी योगा–ध्यानमा गयौँ । त्यसले ठीक भयो । 

केही समय राम्रो भयो अनि फेरि अरू खालका तनाव जोडिए  परिवारमा । यी सबै जोडिएपछि सँगै बस्न सकिँदैन भन्ने लाग्यो । उनले पनि पहिल्यैदेखि डिभोर्स मागिरहेकी थिइन् । 

हरेक चिजमा झडङ्ग रिसाइहाल्ने, तोडफोडमा उत्रिहाल्ने मिनाको स्वभाव भएपछि हामी ग्रान्डी हस्पिटलमा काउन्सिलिङमा पनि गएका थियौँ । यो एडजस्मेन्ट डिसअर्डर हो । दोस्रो सामान्य औषधि प्रयोग गर्न सकिन्छ । तेस्रो अरू थेरापी पनि छन् भनेर डाक्टरले भनेका थिए । अलिअलि निद्रा नपरेपछि औषधि खुवाएको हो । अन्य आरोप निराधार हो । महिलाका आ–आफ्ना इच्छा÷आकांक्षा हुन्छन् । बिहे गरेपछि जसले पनि भोग्नैपर्छ । घरमा पत्नीका अपेक्षा के–के हुन्छन्, हामी कति पूरा गर्न सक्छौं त्यो बिहे गर्नेहरुलाई थाहा भएकै कुरा हो । 

परिवारमा बच्चाबच्ची सानै थिए । म हिँडिरहनुपर्छ । त्यसो हुनाले उनले घर पनि हेर्नुपर्ने थियो । घर सम्हाल्दासम्हाल्दै काम पनि गरिन् तर सकिनन् । लोड बढी भयो । पसल र घर दुवैतिर समय दिँदा असफल भइयो, थुप्रै घाटा खाइयो । मिनाले घर सम्हालिदिऊन भन्ने मेरो चाहनाभन्दा पनि त्यो आवश्यकता÷बाध्यता थियो । 

हामी दुवैले सहयात्राका क्रममा एकअर्कालाई सहयोग ग¥यांै भन्ने लाग्छ । मलेसिया, युके, हङकङलगायत देशविदेश हामी सँगै गएका छौं । लाउनेखाने कुरामा सबै पुराएकै जस्तो लाग्छ । जे होस्, एउटा आधारभूत आवश्यकता हामीले पूरा गर्यौ भन्ने लाग्छ । एउटा मध्यमस्तरको  आम्दानी भएको कलाकारले गर्न सक्ने हैसियत यही त हो नि।

डिभोर्सको खास कारण विचार मिलेन । पहिल्यैदेखि ठाकठुक परिरहन्थ्यो । उनी स्वतन्त्र हुन चाहन्थिन् । घरपरिवारमा प्रायः बाहिरै हुनुपर्ने । सबै उनले जिम्मा लिनुप¥यो । सायद उनलाई मैले पनि केही गर्नुपर्छ भन्ने लाग्यो होला । त्यो कारणले डिभोर्स मागिन् र मलाई पनि त्यस्तै–त्यस्तै लाग्यो, ठीक छ भनिदिएँ । 

विचार, वर्ग, संस्कार र धरातल मिल्यो भने सम्बन्ध बलियो हुने रहेछ । मिना विराटनगर हस्पिटलमा जन्मिइन् म दुर्गम ताप्लेजुङमा जन्मिएँ । म एउटा वर्गबाट आएँ, उनी अर्को वर्गबाट । कतिपय हाम्रा बेमेलहरु थिए । 
घरलाई टाइम दिँदा आफू सेलिब्रिटी भइँदैन, सेलिब्रिटी भइयो भने घरलाई टाइम दिन सकिँदैन । यी दुईटा चिज म्यानेज गर्न सक्नुपर्ने रहेछ । 

अबको सामाजिक सञ्जालको आगमनपछिको वैवाहिक सम्बन्धलाई पहिलाको जसरी र जस्तै होस् भनेर सोच्न थालियो भने, अलि ठूलो छाती बनाइएन भने त्यसले सम्बन्ध बिग्रिन सक्छ । 

म पैसा, यौन र रक्सी यी तीनवटा कुरामा क्लियर छु । यी तीनवटा कुराले घर परिवार बिगार्छ भन्ने थाहा छ । पहिला ड्रिक गर्ने गर्थेँ । त्यसपछि घरझगडा भएको हो कि भनेर दुई वर्ष भयो रक्सीचुरोट छोडियो ।

उनले डिभोर्स मागेपछि दिनु नै प¥यो । किनभने यतिञ्जेल त हामी दुवैजना असन्तुष्टी र दुःखी भयौं भने अझै पनि किन दुःखी बन्ने ? हामी तल्लो लेभलबाट आएर १ करोड २५ लाख रुपैयाँभन्दा माथि पैसा सेयर गर्ने हैसियतमा पुग्यौँ भने अरूको स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्छ भनेर डिभोर्स गरेको हो । 

मिनाले जे–जे भनिन् त्यो सबै पूरा गरिदिएको छु । उनले छोरी आफूसँग राख्न चाहिन्, मैले छोडिदिएँ । बाबु (ठूलो छोरा) अलि ठूलो छ । घर छोडेर कहीँ पनि जाँदैन भन्ने उसको कुरा आयो । 

छोराछोरीको चाहाना बाआमा मिल्दिए भन्ने नै त हुन्छ, सधैँ सँगै बसिदिए हुन्थ्यो भन्ने नै चाहन्छन् उनीहरु । 

२२ वर्षदेखि सँगै बसेका छौँ । स्वभावतः क्षणिक आवेशमा आए पनि माया मनमा गढेर रहेको हुन्छ । अहिले आ–आफ्नो इगोका कुरा होलान्, इच्छाका कुरा होलान् तर भोलि मिलन हुन पनि सक्छ, अहिले भन्न सकिँदैन । 

विवाह पूर्वको प्रेम, वैवाहिक जीवनको अनुभूति र सन्तान सुःखको अनुभव तीनवटै चिज मलाई उनले दिएको हो । भलै हाम्रो विचार मिल्न सकेन तर त्यसका लागि म उनलाई सधैँ सम्झिरहनेछु । मिनाले नयाँ उर्जाका साथ बुटिक खोलेकी छिन् । त्यसका लागि म शुभकामना दिन्छु । 

   ‘डाक्टरसँग मिलेर झुक्याई–झुक्याई मानसिक औषधि खुवाए’ 

    – मिना ढकाल

‘समस्या नभए पनि मानसिक रोगीले खाने औषधि खुवाएर अपाङ्ग बनाउने षडयन्त्र गरेपछि जीवनरक्षाका लागि डिभोर्स गरे।’

तीनवर्ष अघि बेलायत गएका थियौँ । त्यहाँबाट फर्किएर आएपछि मलाई आँखाको समस्या भई गंगालाल अस्पतालमा जँचाउन गएँ । डाक्टरले आँखामा मोतिबिन्दु भएको छ, अप्रेसन गर्नुपर्छ भने  । अप्रेसन भयो । यो उमेरमा मोतिबिन्दु भएछ, लाजमर्दो भनेर मैले मनोजलाई भनेँ । उहाँले मेन्टल समस्याका कारण भएको भन्नुभयो । आँखा र दिमागको कनेक्सन होला भनेर मैले पत्याएँ । जँचाउन कलंकीमा रहेको उहाँको साथीको क्लिनिक लिएर जानुभयो । क्लिनिकमा स–साना बच्चा चेकअप गर्न आउने रहेछन् । 

डाक्टर र उहाँको पहिल्यै के कुरा भएको थियो मलाई थाहा भएन । गएपछि डाक्टरले के भएको छ भनेर मलाई एक शब्द सोधेन । मनोजले भनेकै भरमा मलाई ल्याबमा जान रिफर ग¥यो । रिपोर्ट लिएर भोलिपल्ट गयौँ । 

डक्टरले ‘रोग सबैलाई लाग्छ । लागेपछि औषधि गर्नुपर्छ । गरेपछि निको हुन्छ’ मात्र भने । त्यो बाहेक मलाई मेरो समस्याबारे केही सोधेनन् । म चुप लागेँ । त्यस्तो केही सोचिनँ । औषधि चलाए त्यही दिनदेखि । औषधि खाएको पहिलो दिनदेखि नै म शिथिल भएँ । मलाई असर गरेको मनोजले थाहा पाउनुभयो । 

त्यतिबेला बागबजारमा मेरो बुटिक थियो । एकजना बहिनी (स्टाफ)  पसलमा बस्थिन् । भोलिपल्ट गएँ । ‘दिदी तपाईंको अनुहार एकदमै बिरामी, थकित जस्तो देखिएको छ’ भनिन् । त्यसको एक दुईदिनमै म बुटिक जान सकिनँ । औषधि खाएपछि ममा पसल कसरी चलाउने, कसरी भाडा तिर्ने भन्ने डर भयो । आँट नै आएन । उत्तिबेलै फोन गरेर मनोजलाई  भने, ‘बाबा मैले सकिनँ । अब पसल बेच्नुप¥यो ।’ उहाँ त खुसी हुनुभयो । म एक्टिभ भएको देख्नै नसक्ने ! घरमै मात्र राख्न खोज्ने । घरमा बस्दा ‘फेसबुक चलाइस्, फोन चलाइस्’ भन्ने । जो मान्छेसँग बोल्यो त्यँहीसँग आरोप लगाउने । पसल बिक्री भएन । सामान घरमा ल्याएर थन्काइयो । 

त्यो औषधि  खान थालेको दुई वर्षसम्म म रेगुलर २४ सै घण्टै बेडको बेडमै भएँ । रेगुलर खाएँ । खाँदै छोड्दै ग¥यो भने झन् असर गर्ला भन्ने डर भयो । औषधि घटाउने भन्दा पनि बढाउने काम मात्रै भयो । ओछ्यानमा पल्टिने तर निद्रा नलाग्ने । राति १ घण्टा पनि सुत्दिन थिएँ होला म । दिदीले फोन गरेर ‘नानी त्यो औषधि नखा, तलाई स्लो बनाउन खोजेको, मार्न आँटेको’ भन्थिन् । उनीहरुले बुझिसकेछन् तर मलाई थाहा भएन । औषधि नखाँदा पनि अपाङ्ग भएर बसुँला भन्ने पिरले डाक्टरले दिएअनुसार मैले औषधि खाइरहेँ । 

नुहाउन पनि नसक्ने । हिँड्न पनि नसक्ने । शरीर नै नउठ्ने । त्यति हुँदा पनि मेरो त कुरै छोडौं छोराछोरीलाई पनि एक छाक पकाएर खुवाउनु भएन । सधैँ बाहिरै व्यस्त । पछि उहाँले नै डाक्टरलाई एक्टिभ भएन, एक्टिभ बनाउन केही गर्नुप¥यो भन्नुभयो । थेरोपेटिक योगामा पठाउ न त भन्ने कुरा भयो । एक महिनादेखि तीन महिनाभित्रमा म एक्टिभ भएँ । नत्र त म बोल्दै नबोल्ने, हाँस्न पनि नजान्ने, रुन पनि नआउने भएकी थिएँ । त्यसपछि ‘त्यो डाक्टरकोमा जान्न ।  सक्छौ विदेश लग तर यता जान्न । लान्छौ नै भने ग्राण्डी जान्छु’ भने ।

म रिसाएरै गएको थिएँ । साइकेट्रिकले सोधे ‘के भयो ? भने ‘थाहा छैन’ । उनले ‘प्यासेन्ट तपार्इं होइन, नाम त लेडिजको लेखेको छ’ भने । मैले ‘नाम त मेरो छ तर समस्या उहाँको हो’ भनेर मनोजलाई देखाएँ । ‘उसलाई डिप्रेसन छ डाक्टर’ मनोजले मतिर देखाएर भन्नुभयो। डाक्टरले मलाई डिप्रेसनको सिम्टम्स सबै सोधे । डाक्टरले सोधेजस्तो मलाई न नैराश्य हुन्थ्यो, न जिन्दगीदेखि वाक्क लाग्थ्यो, न मर्न मन लाग्थ्यो, न डर लाग्थ्यो । मैले केही पनि हुँदैन भनेँ । डाक्टरले ‘उनलाई डिप्रेसनको सिम्टम्स छैन’ भने । त्यसपछि मनोजले २२ वर्षदेखि झगडा हुँदाका कुरा, रिस उठेका बेला भाँडा फ्याँक्नेदेखिका कुरा, यस्तो गर्छे, रुन्छे, झगडा गर्छे भन्नुभयो डाक्टरलाई । 

मलाई रुन मन लाग्यो । त्यत्रो समय उहाँसँग जिन्दगी बिताएर छोरा २० वर्ष र छोरी १३ वर्ष भइसके । अहिले आएर डाक्टरको अगाडि मेरो बेइज्जत गरे । चित्त दुख्यो । अनि मैले रुँदै डाक्टरलाई मनोजको पनि बानी भनिदिएँ । म रिसाहा टाइपको छु । झनक्क रिस उठ्छ । डाक्टरले मेरो रिस देखेपछि मनोजसँग ‘उहाँलाई मुड कुल बनाउने एउटा सिम्पल औषधि दिन्छु’ भन्नुभयो । ‘यो खानु ५–६ महिनासम्म भनेर दिए ।

मैले डाक्टरलाई औषधि खान्न भनेँ । पहिला औषधि खाएर यस्तो भएको, दुई वर्षसम्म बेडको बेडमा सुतेको बताएँ । डाक्टर छक्क पर्दै  ‘कुन औषधि, डाक्टरको नाम के हो’ सोध्नुभयो । साइक्रेटिक हो ? भनेर सोध्नुभयो । मजोजले हैन भन्दै जनस्वास्थ्यतिरको भएको बताउनुभयो । ‘स्टेक्याम’ भन्ने औषधि खुवाएको याद छ । औषधि तीन÷चारवटा थियो । 

‘तपाईंहरु कुन जमानामा हुनुहुन्छ, जुन पायो त्यही ठाउँमा गएर हुन्छ ? यो औषधि हामीले नेपालमा पहिल्यै ब्यान्ड गरेको, यस्तो पनि खुवाउने हो ? भनेर डाक्टर कराए । पहिला मलाई डिप्रेसन भएको भनेर गलत औषधि खुवाइएको रहेछ ।
‘यो अरूजस्तो औषधि होइन, केही हुन्न, केही भयो भने मलाई मुद्दा हाल्नुस्’ भनेर डाक्टरले अनुरोध गरेपछि म राजी भएँ । डाक्टरकोमा मन नलागीनलागी तीन महिना जति गएँ । तैपनि मलाई केही प्रभाव परेन । जस्ताको तस्तै । मनोजले फेरि काउन्सिलिङमा जाउ भन्नुभयो । मैले ‘जाने भए दुवैजना जाउ दुवैको समस्या हो’ भनेँ ।

उहाँले ‘काउन्सिलिङमा जाँदा पनि तिमी मिलेनाै भने कि म अमेरिका जान्छु कि तिमीलाई पठाइदिन्छु’ भन्नुभयो । त्यो बेला म खुसी भएँ । किनकि म उहाँबाट अलग हुन चाहेकै हो । अलग हुन खोज्नुको कारण धेरै थिए । कलाकार भएकाले मैले उसलाई पूरै स्वतन्त्र छोड्देको थिएँ । तर मलाई सधैं इन्टरफेयर गर्ने । कसैसँग बोल्न नदिने, काम गरेको देख्न नसक्ने । पसल खोले, बन्द गर्नुपर्ने । ब्यूटीपार्लर गर्यो बन्द गर्नुपर्ने । सहयोग केही छैन । सधैँ हतोत्साहित मात्र गर्ने । गर्न सक्दैनौ मात्र भन्ने । 

लौ त्यसो भए भनेर काउन्सिलिङमा पनि गएँ । उहाँलाई काउन्सिलिङ गरेर पाँच मिनेटमै छोडिदिए तर मलाई डाक्टरले लगातार डेढ घण्टा लेक्चर दिए । पाँचौंपटक काउन्सिलरकै अगाडि हामी झगडा गर्दै पुग्यौं । उनले अर्को डाक्टरकोमा रिफर गरे । 

१० पटकसम्म जाँदा पनि डाक्टरको काउन्सिलिङले मलाई केही असर गरेन । उहाँको बोली केही कामै लागेन । डेढ घण्टा खेर मात्र जान्थ्यो । एकपटक मैले दिदी लिएर गएँ । दिदीले भनिन्, ‘डाक्टर सा’ब ऊ बिरामी छैन, मेन्टल प्यासेन्ट होइन यदि हो भने मलाई पनि छ किनभने मेरो घरमा पनि श्रीमान्÷श्रीमतीको झगडा भइरहन्छ । यदि तपार्इंलाई ट्रिटमेन्ट गराउनु नै छ भने दुईजनासँगै राखेर गराउनु न । उसलाई मात्र किन टर्चर दिनुहुन्छ ।’ 

अब नजानु भनेर दिदीले मलाई गाली गर्नुभयो । शनिबारको दिन थियो क्यारे । ममीलाई भेट्न विराटनगर जानुप¥यो भन्दा चुनावको बेला भाडा महँगो हुन्छ भन्नुभयो, छोड्दिनु त्यसो भए भनेँ तर पछि टिकट ल्याइदिनुभयो अनि म गएँ ।

हाम्रै घरको तल्लो तलामा बस्ने एकजना भाइ कभर सङ बनाउँछन् । मलाई सानैदेखि नाच्नेगाउने सोख थियो, उहाँ अमेरिका गएको बेला मैले भाइमार्फत कभर सङ गरेँ । त्यो काम राम्रै भयो । उनले युट्युब च्यानल पनि बनाइदिए । साथीहरुले एकदमै राम्रो कमेन्ट गरे । मलाई खुसी लाग्यो । उहाँ आएपछि मैले कभरसङ देखाएँ, अनुहार कालो भयो ।
युट्युबमा हालेपछि मनोजकी श्रीमती अब गायिका भनेर समाचार पनि आयो । देवर खुसी तर उहाँ एकदमै स्याड । उता मेरा बुबा, भाइलाई फोन गरेर तिम्री दिदी बिरामी छे, औषधि फाली रे । अब दिल्ली लगेर करेन्ट लगाउनुपर्छ’ भन्ने रे त्यसपछि तँ दिल्ली जाँदैछेस् रे भनेर बुबाले सोध्नुभयो’ र ‘बरु छुटिएर बस्ने भए बस तर यस्तो टर्चर सहन सक्दिन’ भन्नुभयो । म त झसङ्ग भएँ । बुबाकै अगाडि मनोजलाई फोन लगाएर भने ‘तिमीले सकेको तिमी गर, मैले सकेको म गर्छु’ भने ।

उहाँले बुबालाई फोन गरेर ‘तपाईंकी छोरीले काट्छु, मार्छु भनी मेरो जीवनको सुरक्षा भएन, सम्झाइदिनु’ भन्नुभएछ । मैले त्यही दिन फोन गरे‌ं । झगडा प¥यो । ‘तैंले के खोजेको, म डिभोर्स दिन्छु’ भनेँ । फेरि मन पग्लिएला भनेर फोन, फेसबुक सबैतिर ब्लक गरेँ ।

निद्रा लागेन, पाँचै बजे उठेर फेसबुक खोलेँ अनि गलत औषधि खुवाउने डाक्टर रविन्द्र समिरलाई म्यासेज गरेँ— ‘डा. रविन्द्र समिर तपाईंको कारणले म बिरामी भएँ, दुई वर्षसम्म यस्तोे भएँ, म अब डिभोर्स दिँदैछु ।’

‘तपाईंले मलाई गैर कानुनी औषधि दिनुभयो, म तपाईंलाई मुद्दा हाल्न सक्थेँ’ भनेर म्यासेज पठाएँ । पे्रस्क्रिप्सन केही छैन । प्रमाण नपुग्ला तर अदालतमा कुरा उठाउँछु’ भनेँ । उनी एकदमै डराए र फकाउन थाले । 

म काठमाडौं फर्किएँ । भाइसँग अरू कुरा पनि भएछ । ‘अहिलेसम्म दिदीलाई जे गर्नुभयो गर्नुभयो, औषधि खुवाएर स्लो बनाउनुभयो त्यति हुँदा पनि हामीले केही बोलेनांै ।  अब चाहिँ करेन्ट लगाउने नगर्नु, त्यो गर्नु अपराध हो’ भाइले भने । 

ब्लिडिङ भइरहेको थियो । बिरामी थिएँ । ग्रान्डीमा नाम लेखाएछन् । दिदीलाई ‘मिना बिरामी छ, मैले नाम लेखाएको छु ग्रान्डीमा लिएर जानु’ भन्नुभएछ । ‘गाइनोक्लोजिस्ट र साइक्रेटिक मिलेर औषधि दिन्छन्’ भने रे ।

दिदीले ‘ग्रान्डी नजाउ ज्वाइँले अर्कै सेटिङ गरिरहनुभाको छ’ भनिन् । मैले ‘यत्रो इन्टरनेसनल हस्पिटलमा एकजना कलाकारले भनेको भरमा सेटिङ मिलाएर इमेज खराब गर्न चाहन्छन् त भनेर उल्टै दिदीलाई सम्झाउन खोजेँ ।
उहाँले उल्टै ‘तँ बुझ्दैनस्, तँलाई सबै कुरा भन्न मिल्दैन अहिले’ भन्नुभयो । मनोजले नाम लेखाएको दिन गएनौं । भोलिपल्ट अर्कै डाक्टरकोमा नाम लेखाएर जाने भयौँ । हामी गयौँ, चेकअप गरायौँ । दिदीलाई फोन आयो चेकअप गराएको बेलामा । दिदीले फोन उठाउनुभएन । 

पछि उहाँले ‘मिनाले अर्को डाक्टरलाई नाम लेखाएर चेकअप भइसक्यो’ भनेपछि आधा घण्टासम्म फोनमा झगडा प¥यो । त्यसको एकमहिनापछि डिभोर्स भयो । कुनै समस्या नभए पनि मलाई मानसिक रोगी बनाउने षड्यन्त्र गर्नुभयो । विश्वास गर्नसक्ने अवस्था रहेन । मैले आफ्नो जीवनको रक्षा चाहेँ, बाँच्न चाहँे, सेल्फ डिपेन्ड हुन चाहेँ अनि छुट्टै बस्ने निर्णय गरेँ । 
डिभोर्स नगरेको भए अपाङ्ग भएर बस्नुपर्ने हुनसक्थ्यो । मैले आफ्नो जीवनको रक्षाका लागि डिभोर्स गर्न बाध्य भएँ । 

  श्रीमान्–श्रीमतीको सम्बन्ध खुकुरीको धारमा हिँडिरहेको हुन्छ

   –डा. मीना उप्रेती, समाजशास्त्री 

मेरो एकजना सेलिब्रिटी साथीकै डिभोर्सको कथाबाट प्रसंग सुरु गर्छु । नाम उल्लेख गर्दिनँ । श्रीमान्–श्रीमती नै सेलिब्रिटी । एक दिन केटीकी आमा बिरामी हुनुभयो । केटीले श्रीमान्लाई गंगालाल हस्पिटल भेट्न जाऊँ भन्दा श्रीमान्ले ‘म मिटिङमा बिजी छु, तिमी गइराख’ भने तर गएनन् । त्यसको तीन दिनमा आमा बित्नुभयो । त्यसपछि त्यही कारणले मेरो साथीले ऊसँग डिभोर्स गरिन् । मेरो ममी बिरामी हुँदा हेर्न नजाने श्रीमान्ले म बिरामी हुँदा कसरी हेर्छ ? उनले डिभोर्स गर्नुको तर्क यत्ति थियो । 

सलिब्रिटी उसै पनि रंगमञ्चमा रमाउने पेसा । उनीहरुका आसपास भेटिने फ्यान र साथी सर्कलले गर्दा परिवारमा अविश्वास जन्माइरहेको हुन्छ । त्यसैले पनि डिभोर्स बढी भइरहेको छ । बिहे भनेको एक शब्दले तोडिने र एक शब्दले जोडिने सम्बन्ध हो । खासमा श्रीमान्–श्रीमतीको सम्बन्ध खुकुरीको धारमा हिँडेको सम्बन्ध हो । 

पछिल्लो समय व्यस्त मान्छे, बराबरी सक्षम मान्छेहरुमा बढी डिभोर्स रेट देखिएको छ । उनीहरु आफ्नो जिन्दगीलाई आफ्नो श्रीमान्–श्रीमतीसँगको पेसा, जीवनसँग तुलना गर्न थाल्छन् । जब तुलना हुन थाल्छ, त्यसपछि समस्या हुने नै भयो । झन् कतिपयको हकमा केटा मान्छेको ‘म हस्बेन्ड हुँ, श्रीमतीभन्दा म माथि हुनुपर्छ’ भन्ने सोचले पनि सम्बन्ध टुक्राइरहेको छ ।  

संसारमै बाहिरबाट हेर्दा महिलाका कारणले बढी डिभोर्स भएको जस्तो देखिन्छ तर गहिरिएर भित्र जाने हो भने त्यहाँ परिवार, श्रीमान्, सामाजिक परिवेश मुख्य कारण भइरहेको हुन्छ । 

संसारमै सेलिब्रिटी भनेको तलमाथि हुने वर्ग हो । उसको करिअर र जिन्दगी जसरी तलमाथि हुन्छ, त्यसकै प्रभाव सम्बन्धमा पर्न थाल्छ । नेपालमा अझै पनि ‘बिहे भनेकै जीवन हो’ भन्ने ट्याग भिराइएको छ । 

समाजको डरले, आज नभए भोलि राम्रो होला कि भन्ने आश, बालबच्चाको भविष्य हेरेर जतिसुकै अप्ठेरो अवस्थामा पनि सम्बन्धहरु टिकिरहेका हुन्छन् । मनोज गजुरेल र उनकी पत्नीको हकमा पनि खटपटका बीच २२ वर्षसम्म सम्बन्ध लम्बिएर पूर्णविराम हुनुमा यस्तै कारणहरु हुन सक्छन् ।  

कतिपय अवस्थामा अवसर हेरेर पनि डिभोर्स भइरहेको हुन्छ । फकाएर जग्गा आफ्नो नाम लिन्छु अर्थात् अल्टरनेटिभ अप्सन बिल्डअप भयो भने मात्र डिभोर्स गर्छु भन्ने सोच पनि हुनसक्छ । 

अहिले एक्स्ट्रा म्यारिटल अफेयर पनि डिभोर्सको अर्को खतरनाक कारण हो । झन् सेलिब्रिटीहरु त धेरै खाले मान्छेहरुसँग ठोक्किनुपर्छ । जबसम्म सम्बन्धमा विश्वास, विवेक, केयर र टाइम म्यानेज गरिँदैन त्यो सम्बन्ध लामो समय टिक्न सक्दैन । बिरामी हुँदा तातो पानी मात्रै दिँदा पनि हुन्छ भन्ने कुरा विवेक अर्थात् केयरिङभित्र पर्छ । 

मनोज र मीनाको डिभोर्सको केसमा पनि मीनाको इन्टरभ्यु हेर्दा उनले मनोजलाई सफल बनाउन धेरै गरेको तर मनोजले आफू र आफ्नो चाहनालाई सम्मान नगरेको आशय देखियो । पश्चिमी मुलुकतिर श्रीमतीले कमाएको पतिलाई र पतिले कमाएको पत्नीलाई केही थाहा नै नहुने अवस्था भइसक्यो । नेपालमा पतिले कमाएको पत्नीका लागि पत्नीले कमाएको पतिका लागि भन्ने सोच हावी छ ।

डिभोर्स ठूलो कारणले हुँदैन । सानो कुरा नै ठूलो हुँदै डिभोर्सको कारण बन्ने हो । यस्तोमा सधैँ महिला मात्र अन्यायमा पर्दैनन्, पुरुष पनि पर्न सक्छन् । 

बिहे र डिभोर्स हामीकहाँ एकदमै क्लिष्ट (कम्पिलकेटेड) भइरहेको छ । हामीकहाँ डिभोर्स पर्सनल तहमा भन्दा पनि सामाजिक तहमा भइरहेको छ । जबसम्म हाम्रो सामाजिक संरचना, मूल्य मान्यता र पुरुष–महिलाको हाइरार्की परिवर्तन हुँदैन डिभोर्स रेट घट्दैन, झन् बढ्नेछ । (शुक्रवार साप्ताहिकबाट)

... ...

अन्त्यमा यी दृश्य पनि

मनोज मिनाको घरबार बाहिरबाट देख्दा निकै राम्रो देखिन्थ्यो । अब यी दृश्य अहिलेका लागि सम्झनामा रुपान्तरित भएका छन् ।   









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

जापानी फिल्म कान्समा उत्कृष्ट

जापानी फिल्म कान्समा उत्कृष्ट

गरिबीको चेपटामा जीवनयापन गर्दै आएको एक परिवारको कथा समेटिएको जापानी फिल्म ‘सपलिफ्टर्स’ले कान्सको ७१ औं संस्करणमा उत्कृष्ट फिल्मले पाउने ‘पाम...

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित खुला लोकगीत गायन प्रतियोगीतामा पर्शुराम गजमेर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको...

ज्योतिमा कवितावाचन

ज्योति साहित्य प्रतिष्ठानको १ सय ४१ औं कविता वाचन श्रृंखला राजधानीमा सम्पन्न भएको छ । डा. रामदयाल राकेशको प्रमुख आतिथ्यतामा...

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।