रूस जानुअघि डा. शर्माले भनेका थिए

‘यो नै अन्तिम देखाइ होला, अब भेट हुँदैन’

शुक्रबार, ०२ चैत २०७४, १० : १४ दीपक दाहाल  | @DeepakDahal1


काठमाडौं – नेपालका चर्चित शल्यचिकित्सकहरु डा. एसके भट्टाचार्य, डा. भोलाराज जोशी, डा. महेश खकुरेल, डा. प्रकाश सायमी, डा. उत्तम श्रेष्ठलगायत करिब २ दर्जन उपस्थित छन्।  अधिकांशका आँखामा आँसु देखिन्छ। कोही बलैपूर्वक आँसु लुकाउँदै आँखा नजुधाईकन बिदाइका हात हल्लाउँदै छन्। 

त्यतिकैमा डा. गोविन्द शर्माले डा. जोशी नजिकै गएर कानमा भने, ‘यो नै अन्तिम देखाइ होला, अब भेट हुँदैन।’ यति भनेर शर्मा साथीभाइतिर नफर्की चेकइन कक्षतिर बढे। बुधबार निधन भएका वरिष्ठ चिकित्सक डा. शर्मा रुस प्रस्थान गर्दाको दृश्य हो यो। डा. शर्मा र आफन्तका लागि त्यही बिदाइ नै अन्तिम भेट भयो। 

डा. शर्माको नेपाली समयअनुसार बुधबार राति ९ बजे रुसमा ७५ वर्षको उमेरमा निधन भयो। चर्चित कार्डियोथोरासिस सर्जन, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. शर्माको अन्तिम संस्कारसमेत रुसमै हुँदैछ। 

क्यान्सरबाट निकै गलिसकेका उनलाई यो संसारमा बसाइ अब लामो छैन भन्ने थाहा थियो। त्यसैले उनी जीवनका अन्तिम दिनहरु रुसमै चिकित्सकका रुपमा क्रियाशील छोरीसँगै बिताउन त्यतै गएका थिए। ‘सधैं हिम्मतसाथ प्रस्तुत हुने उहाँले बिदाइका बेला मेरो कानमा त्यसो भनिरहँदा आँखाभरि आँसु भयो, डा. जोशीले नागरिकसँग बिहीबार भने, ‘हामी चिकित्सक अनुमान लगाउन सक्थ्यौं। उहाँले कति पीडा भोगिरहनुभएको छ भन्ने।’ डा. जोशीले सम्झिए, ‘मुखले यसो नभन्नुस् भनें तर मनले कामना गरें– तपाईंको महाप्रस्थान सकेसम्म सहज र छिट्टो होस्।’ 

डा. शर्मा साथीभाइमाझ हसाउने र ठट्टा गरिहाल्ने मान्छेका रुपमा चिनेन्थे। ‘तर त्यो दिन सबैका आँखामा आँसुमात्रै थियो,’ जोशीले सम्झिए।

२०६८ सालमा क्यान्सर पहिचान भएपछि भारतको मेदान्त अस्पतालमा भान्जी शान्ता दाहालको ३० प्रतिशत कलेजो निकालेर डा. शर्मामा प्रत्यारोपण गरिएको थियो। ‘त्यतिबेला पनि चिकित्सकले प्रत्यारोपणपछि तीन वर्ष आयु लम्ब्याउन सकिन्छ भनेका थिए,’ दाहालले भनिन्, ‘तर ६ वर्ष तीन महिना बाँच्नुभयो।’ उनले डा. शर्माको निधनले निकै दुःख लागेको बताइन्। 

डा. शर्माले त्रिवि शिक्षण अस्पताल स्थापना र विकासदेखि नेपालमै शल्यचिकित्साको विधागत विशिष्टीकृत (स्पेसलाइजेसन) को विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।

त्रिविअन्तर्गत चिकित्सा शिक्षाका विभिन्न विषयमा पढाइ सुरु भइसके पनि एमबिबिएस कक्षा सुरु भएको थिएन्। चिकित्सक पाउनै धौधौ पर्ने समयमा शल्यचिकित्सामा पिएचडी गरेर फर्किएको मान्छे सबैको आँखामा पर्ने नै भए। उनी रसियाबाटै श्वासप्रश्वास तथा छातीसम्बन्धी शल्यक्रियामा पिएचडीसम्मको अध्ययन पूरा गरेर फर्केका थिए। रुसमै रहँदा शर्माको दन्त चिकित्सक डा. आलासँग बिहे भएको थियो। शर्माकी छोरी डा. तानियासमेत रुसमै चिकित्सक छिन् ।

२०३६ सालमा डा. जोशी भारतबाट सर्जरी पढेर फर्किंदासम्म अहिले त्रिवि शिक्षण अस्पताल भएको ठाउँमा हरियो खेत थियो । त्यतिबेला डा. अन्जनीकुमार शर्मा र डा.गोविन्द शर्मा चर्चित शल्यचिकित्सक थिए । त्रिविमा पढाइ हुन्थ्यो तर शिक्षण अस्पतालका रुपमा वीर थियो । त्रिवि शिक्षण अस्पतालका रुपमा महाराजगञ्जमा २०४२ सालदेखि सेवा सुरु भएको यो । यसमा डा. शर्माको महवत्त्वपूर्ण भूमिका रह्यो । पछि शर्माले जापानबाटसमेत श्वासप्रश्वाससम्बन्धी सर्जरीमा तालिम लिए । ‘निकै गतिशील र क्षमतावान हुनुहुन्थ्यो,’ डा. शर्मालाई यसरी सम्झिन्छन् अर्का शल्यचिकित्सक डा. महेश खकुरेल, ‘त्यतिबेला फोक्सोको शल्यक्रियामा त उहाँ निकै नामी हो।’  

नेपालमा सुरुमा शल्यचिकित्सा विभाग स्थापना र पछि विधागत शल्यचिकित्सा विस्तारमा शर्माको ठूलो योगदान रहेको जोशीको भनाइ छ । सुरुमा शल्यचिकित्सा विभागको नेतृत्व डा. अन्जनीकुमार शर्माले गरे भने पछि गोविन्दले। डा. गोविन्दले आफू विभागीय प्रमुख रहेकै समयमा एकदिन डा. भोलाराज जोशी, डा. महेश खकुरेललाई बोलाएर भनेका थिए, ‘अब हामी छुट्टिएनौं भने, नेपालमा अरु विधाको विकास हुन्न्,’ जोशी सम्झिन्छन्। त्यसपछि गोविन्दले मुटु, श्वासप्रश्वास, छाती र थाइराइडसम्बन्धी शल्यक्रिया विधा आफूले सम्हाल्ने प्रस्ताव गरे। डा. जोशीले युरोलोजी र डा. खकुरेलले ग्याष्ट्रोइन्टेरोलोजीसम्बन्धी शल्यक्रियामा विधागत विकासको नेतृत्व लिए। ‘हामी तीनजनालाई शिक्षण अस्पतालका त्रिमूर्ति भन्थे । पछि तीनवटै युनिट नै ख्यातिप्राप्त बने,’ डा. जोशी सम्झिन्छन्। 

खकुरेलका अनुसार तीनैजना डाक्टर पालैपालो निर्देशक पनि बने, तर जिम्मेवारीमा जो भए पनि सबैले उत्तिकै सहयोग गरे । गोविन्द २०५३ देखि ०५७ सम्म त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक र २०५९ देखि २०६३ सालसम्म त्रिविको उपकुलपतिसमेत बनेका थिए।  

गोविन्दले त्रिविअन्तर्गत झन्डै तीन दशक सेवा गर्दा शिक्षण अस्पतालको सेवा र शैक्षिक कार्यक्रममा उल्लेखनीय योगदान पु¥याएको खकुरेल बताउँछन् । त्यसबाहेक शर्माले झन्डै एक दशक बीर अस्पताल र केही वर्ष निजी क्षेत्रको काठमाडौं मेडिकल कलेजमा पनि प्रशासन र प्राज्ञिक दुवै क्षेत्रमा काम गरेका थिए। 

उनले थुप्रै शल्यचिकित्सक तयार पार्नसमेत महत्त्वपूर्ण योगदान पुर्याएको चिकित्सक बताउँछन् । डा. भगवान कोइराला डा. प्रकाश सायमीलाई कार्डियोथोरासिस विधामा ल्याउन गोविन्दकै योगदान छ। ‘उहाँ (गोविन्द) गतिशील, अग्रसरता लिने र भिजन पनि भएको मान्छे, फेरि बोली व्यवहारले सम्बन्ध गाँसिहाल्न र टिकाउन पनि सक्ने क्षमता उहाँमा थियो,’ डा. जोशी भन्छन्, ‘तर उहाँले आफ्ना सम्बन्धलाई जहिल्यै संस्थाको विकासमा लगाउनुभयो।’ 

एउटा तालिममा अमेरिका जाँदा भेटेका अमेरिकी न्युरोसर्जन डा. बेगनलाई नेपाल ल्याएर अस्पतालमा न्युरोसर्जरी विभाग सुरुवात गर्न गोविन्दले महŒवपूर्ण भूमिका निर्वाह गरेको चिकित्सकहरू सम्झन्छन् । दरबार हत्यकाण्डका समयमा राजपरिवारका सदस्यको शल्यक्रियाका लागि डा. जोशी, डा. खकुरेल र डा. गोविन्दलाई आर्मी अस्पतालमै राखिएको थियो । त्यतिबेला शल्यकक्ष खाली नभएपछि गोविन्दले कोमल शाहको छातीको शल्यक्रिया ट्रलीमै गरेको जोशी बताउँछन् । त्यसपछि राजपरिवारसँग पनि राम्रो सम्बन्ध बनेपछि उनलाई राजाको सक्रिय शासनकालमा त्रिवि उपकुलपति बनाइएको थियो । ‘धेरै प्रशासनिक जिम्मेवारीमा रहँदा पनि उहाँ कहिल्यै आर्थिक विवादमा मुछिनुभएन्, पैसाका लागि यस्तो गर्याे भन्ने कसैले आरोप लगाउने ठाउँ राख्नु भएन,’ खकुरेल सम्झिन्छन्, ‘उहाँ क्षमतावान्, नेतृत्वदायी क्षमता भएको र असल व्यक्ति हो।’

विभिन्न देशमा अवसर खोजेर चिकित्सकलाई पढ्न पठाउने र नेपाल फर्किएपछि संस्थागत संरचना विस्तार गराउने सोच गोविन्दकै नेतृत्वमै प्रयोगमा आयो । ‘नेपालमा सर्जरीका विभिन्न विधामा स्नातकोत्तर र पिएचडीसरहका पढाइ सुरु गर्न पनि उहाँको अग्रसरता र प्रयास अतुलनीय छ,’ डा. जोशीले भने । 

गोविन्दले रूसको लेलिनग्राद कलेजबाट एमबिबिएस गरेर नेपाल आएपछि वीर अस्पतालमा एक वर्ष काम गरे । त्यसपछि उनी पुनः रुस गएर एमडिएमएस र पिएचडीसम्मको पढाइ पूरा गरेर फर्किएका थिए । उनले जापानमा मुटु र फोक्सोको सर्जरीसम्बन्धी र अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्डियोथोरासिस विषयको तालिमसमेत लिएका थिए । उनी १९९९ सालमा रामेछापको मन्थलीमा जन्मिएका थिए। 

जसले कलेजो नै दान गरिन् 
२०६८ सालमा कलेजोको क्यान्सरले थलिएका डा. गोविन्द शर्मालाई २ महिनाको आयु दिएका थिए चिकित्सकले । कलेजो प्रत्यारोपण गरेमा बढीमा तीन वर्ष आयु लम्ब्याउन सकिने भनेपछि उनकी भान्जी शान्ता दाहाल (पोखरेल) ले शर्मालाई कलेजो दिएकी थिइन्। 

शर्माको भारतको मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया भएको थियो । दाहालको कलेजको ३० प्रतिशत भाग निकालेर शर्मामा प्रत्यारोपण गरिएको थियो । ‘त्यति सहयोगी, क्षमतावान् मान्छेको मृत्यु नजिक थियो’, दाहालले भनिन, ‘तर केही वर्ष जीवन लम्ब्याउन सकिन्छ भने थाहा पाएपछि मैले आफूलाई रोक्न सकिनँ । र, कलेजो दिएँ।’ 

कलेजो प्रत्यारोपणपछि चिकित्सकले तीन वर्ष आयु तोके पनि डा. शर्मा ६ वर्षभन्दा बढी बाँचे । अहिले दाहाल जीवित व्यक्तिले नै कलेजो दान गर्न मिल्छ भन्ने जनचेतना जगाउने कार्यमा सक्रिय छिन्। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

धेरै सफल, थोरै असफल

धेरै सफल, थोरै असफल

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा...

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को...

सर्वनाममा ‘परिवन्द’

सर्वनाममा ‘परिवन्द’

राजधानीको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा हाल नाटक ‘परिवन्द’ धमाधम मञ्चन भईरहेको छ । नेपालको पूर्वी पहाडको ग्रामीण भेगको कथा प्रस्तुत...

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

स्याङ्जामा जन्मिएर त्यही हुर्किएका अभिनेता खगेन्द्र लामिछानेले कक्षा ५ सम्म पढ्दा डण्डिबियो राम्रैसँग खेले । नेपालकै राष्ट्रिय खेलका रुपमा सरकारले...