१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वाधार बढाउँदै कोलकाता बन्दरगाह

कोलकाता बन्दरगाहमा कन्टेनर लोड–अनलोडका लागि रेल्वे लिक विस्तार गरिँदै । तस्बिर : रितेश/नागरिक

वीरगन्ज – भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार बढाउन लागेको छ।

नेपालसँगै भुटान र पूर्वोत्तर भारतका प्रान्तले कोलकाता बन्दरगाह भएर तेस्रो मुलुकसँगको व्यापार गर्ने गरेका छन् । पछिल्लो समय उक्त बन्दरगाहको क्षमताको अधिकतम उपयोग हुने गरी कार्गोको आवागमन बढेपछि कोलकाता पोर्ट ट्रस्टले पूर्वाधार बढाउन थालेको हो।

त्यहाँ पूर्वाधार अपुग हुन थालेपछि असहजता बढ्दा कोलकाता आउने कन्टेनर आन्ध्र प्रदेशको बिशाखापट्नम र पश्चिम बंगालकै हल्दिया बन्दरगाहतिर जान थालेका छन् । त्यस्तै नजिकैको उडिसा प्रान्तमा रहेको धमरा बन्दरगाह पनि सेवा दिन तयार भएको छ । यस्तोमा प्रतिस्पर्धामा टिकिराख्न कोलकाता बन्दरगाहले पूर्वाधार सुधारका महत्वपूर्ण योजनाहरु घोषणा गरेको हो।

कोलकाता बन्दरगाहमा पूर्वाधार बढाउने अभियानको अगुवाइ कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष बिनित कुमार आफैले गरेका छन् ।‘यो एउटा पुरानो बन्नदरगाह हो, नदीको जलाधारमा बनेको बन्दरगाहका आफ्नै सीमाहरु छन्, तर यसका केही विशेषता पनि छन् । सबभन्दा ठूलो विशेषता हो यसको अवस्थिति । व्यापारका दृष्टिकोणले यो निकै महत्वपूर्ण ठाउँमा छ,’ पोर्ट ट्रस्टका अध्यक्ष कुमारले भने, ‘नेपालको कुरा गर्ने हो भने यो नेपालसँग सबभन्दा नजिकको बन्दरगाह भएकाले यसको तुलना अरु ठाउँले गर्न सक्दैन।

यसलाई राम्ररी उपयोग गर्नका लागि र सेवाग्राहीले बन्दरगाहको सेवामा भएको प्रगतिलाई राम्ररी अनुभव गर्न सक्नेगरी हामी भौतिक पूर्वाधार बढाउँदै छौं । र, सम्बन्धका आधारले पनि नेपाल हाम्रा लागि महत्वपूर्ण छ।’

बन्दरगाहमा आइपुगेका कन्टेनर रेल्वेमा हुने लोडिङका लागि चाहिने पूर्वाधार, सडकमार्गबाट ढुवानी हुने कन्टेनर लोडिङ हुने ठाउँ, यार्डको क्षेत्रफललगायत कुरामा कोलकाता बन्दरगाहले व्यापक सुधार गर्न लागेको उनले बताए

बन्दरगाहका टर्मिनल व्यवस्थापक हिमान्शु शेखरका अनुसार एक लाख वर्गमिटरमा रहेको बन्दरगाहको यार्डको क्षेत्रफल पूर्वाधार सुधारपछि एक लाख ३५ हजार वर्गमिटरको हुनेछ । त्यस्तै कन्टेनर रेलमा हाल्न पहिले रहेको आधा रेल्वे लाइन अब पूरा दुई लाइन बनाउन लागेको उनले बताए । अहिले प्रतिदिन एक सय ३५ वटा कन्टेनर रेलमा हाल्ने संरचना रहेकामा यो रेल लाइन बढाइएपछि प्रतिदिन तीन सय ६० कन्टेनर लोड गर्न सकिने उनले जनाए।

यसका लागि दई महिनाको समय लाग्न सक्ने बन्दरगाह ट्रस्टको अनुमान छ । उनका अनुसार कन्टेनर लोडिङ–अनलोडिङका लागि प्रयोगमा नरहेको खिदिरपुर २ नम्बर ‘डक’ (जहाज आउने ठाउँ) अब प्रयोग ल्याइदै छ । यी सुधारसँगै कोलकाता बन्दरगाह भएर हुने नेपालको व्यापारमा लागत र समय बचत हुने सरोकारवालाहरुको भनाइ छ।

पछिल्लो समय उक्त बन्दरगाहको क्षमताको अधिकतम उपयोग हुने गरी कार्गोको आवागमन बढेपछि कोलकाता पोर्ट ट्रस्टले पूर्वाधार बढाउन थालेको हो ।

तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने मालसमान बोकेका कन्टेनरहरु महिनौंसम्म अड्किने, ढिलो गरी चलान हुने, चर्को शुल्कहरु बेहोर्नुपर्ने जस्ता समस्या नेपाली आयातकर्ताले कोलकाता बन्दरगाहमा बेहोर्दै आएका थिए । पूर्वाधार अभावमा त्यहाँ कन्टेनर ओराल्ने, राख्ने लोड गर्ने र चलान गर्ने जस्ता कुरामा समस्या हुँदा समयसँगै पैसाको नोक्सानी रहदै आएको व्यापारी बताउँछन्।

कोलकाता बन्दरगाह भएर गत वर्ष ७२ हजार नेपाली कन्टेनर आएका छन् भने यो वर्ष उक्त संख्या ८० हजार नाघ्ने अनुमान गरिएको शेखरले बताए । कोलकाता पोर्ट ट्रस्टले नेपाली कार्गोलाई ध्यानमा राखेर पनि ती सुधारहरु गर्न थालेको भारतका लागि नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले बताए । यसबाट नेपालाई फाइदा पुग्ने उनको भनाइ छ ।नेपाली कन्टेनर बर्सेनि ७२ हजार आउने भएपनि भुटानका र भारतकै पाँचवटा प्रान्तका कन्टेनरले कोलकाता बन्दरगाहमा चाँप बढ्दो छ ।

भारतीय आर्थिक वर्ष २०१३÷१४ मा चार लाख ४९ हजार तीन सय कन्टेनर ओसारपसार भएको थियो भने २०१४-१५ मा त्यो संख्या पाँच लाख २८ हजार एक सय ६६ पुग्यो । २०१५- १६ मा त्यहाँ पाँच लाख ७७ हजार सात सय ४९ वटा कन्टेनर ओसारपसार भएको थियो भने यो संख्या गत आर्थिक वर्ष २०१६÷१७ मा ६ लाख ३५ हजार आठ सय ४८ पुग्यो ।प्रतिवर्ष आठ लाख कन्टेनर ओसारपसार क्षमताको बन्दरगाहको ८० प्रतिशत क्षमताको उपयोग गरिदाको परिणम स्वरुप त्यहाँ जाम र बिलम्बको समस्या नेपाली आयातकर्ताले बेहोरे ।

यो बर्ष पूर्वाधार सुधारपछि बन्दरगाहको क्षमता बर्सेनि १० लाख कन्टेनर ओसारपसारको हुने ट्रस्टका अध्यक्ष कुमारले दाबी गरे ।धेरै अगाडीदेखि नै डुंगामा सामान ओसार्न हुगली (गंगाको एउटा हाँगा) नदीमा बनेको उक्त बन्दरगाह प्रयोगमा रहेको थियो भने सन् १८७० मा कोलकाता बन्दरगाह इस्ट इन्डिया कम्पनीबाट बेलायत सरकारले आफ्नो स्वामित्वमा लियो । उतिबेला यो बन्दरगाहको थप स्तरोन्नति पनि भयो ।

नेपालको भारतसँग मैत्री तथा व्यापार सम्झौताअनुसार कोलकाता बन्दरगाह अहिलेसम्म नेपालले पनि तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोगमा ल्याउँदै आएको छ । नदीमा बनेको बन्दरगाहमा ठूला जहाज आउँदैनन्।

हङकङ र श्रीलांकाको बन्दरगाहमा ठूलोबाट सानो जहाजमा ‘ट्रान्ससिपमेन्ट’ (एकबाट अर्को जहाजमा हाल्ने काम) गरेर कन्टेनर कोलकाता ल्याइन्छ । निकटताका दृष्टिकोणले भने यो बन्दरगाह नेपालसँग सबैभन्दा नजिकको बन्दरगाह हो ।


 

प्रकाशित: १५ चैत्र २०७४ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App