१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राजनीति आशलाग्दो, न्यायिक क्षेत्र टिठलाग्दो

एउटै समय हरेक मानिसका लागि फरक अवस्था र दृष्टिकोण बोकेर आउँछ । एकै घटनालाई हेर्ने नजर पनि हरेक मानिसको फरक–फरक हुन्छ ।

२०७४ साल पनि हरेक नजरका लागि फरक–फरक दृष्टिकोण दिएर गएको छ, जसमा केही सकारात्मक घटना छन्, केही नकारात्मक । यो सालमा कतिपय काम जस्ताको तस्तै रहे । ती कुराहरु न अघिल्लो वर्ष सम्पन्न हुन सकेका थिए, न यो वर्ष नै सम्पन्न भए । २०७४ को विश्लेषण गर्दा राजनीतिक क्षेत्रका लागि निकै उपलब्धिपूर्ण रह्यो । यो नेपाली समाजका लागि खुसीको पाटो हो ।

हाम्रो समाज यति धेरै राजनीतिक विचारधाराको छ कि, सानो घटनाक्रमले पनि समाजमा उथलपुथल ल्याउँछ । जसको प्रत्यक्ष असर समाजमा पर्छ । उदाहरणका लागि एक समय यस्तो पनि थियो, गाउँघरमा जतिओटा पार्टी पुगेका थिए, त्यतिओटै बाटो पनि खनिएको थियो। प्राकृतिक विनाश भए पनि त्यसलाई वास्तै नगरी मानिसहरु आफ्नै पार्टीको बाटो हिँड्ने, आफ्नै पार्टीले बनाइदिएको धाराको पानी खानेसम्मको अवस्थामा पुगेका थिए ।

सकारात्मक प्रभाव
राजनीतिक क्षेत्रमा आशालाग्दो वर्ष यसकारण भयो कि, २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो, जुन लामो समयसम्म हुन सकेको थिएन । त्यसैगरी अपत्यारिलो पारामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भयो त्यो पनि शान्तिपूर्ण ।

त्यति मात्रै हैन, नेकपा एमाले र माओवादी केन्द्रको मिलापले समाजमा सकारात्मक प्रभाव पा¥यो । पहिले तँ त्यो पार्टीको, म यो पार्टीको भनेर झगडा गर्ने छिमेकी पार्टी एकीकरणका कुराले एक भए । यो हाम्रो समाजको सकारात्मक पक्ष हो ।

स्थानीय निर्वाचनमा वडा सदस्यमा एक महिलाले जित्नु पनि नेपाली समाजका लागि ठूलो उपलब्धि मान्न सकिन्छ । त्यसैमाथि कोटा सिस्टमले महिला, दलित र पछाडि परेको समुदायलार्ई स्थान दिँदा उनीहरु पनि निर्णय गर्ने ठाउँसम्म आइपुगेका छन् । भलै उनीहरु महत्वपूर्ण पोष्टमा कम मात्रामा आउन सके । तै पनि यो उत्साहजनक पक्ष हो ।
चुनाव हुनु राम्रो पक्ष भए पनि त्यसको व्यवस्थापन पक्ष सबल नहुनु दुःखद् हो  । मानवीय, सामाजिक तथा आर्थिक तयारी कम देखियो ।

अर्को राम्रो पक्ष देशको चौथो अंगको देखियो । यो वर्ष मिडियाले निकै राम्रो काम गरे । सञ्चारमाध्यमले यो साल निकै राम्रो कभरेज र राम्रो विषयकोे उठान तथा नराम्रो पक्षको विरोध गरे । यो भूमिका देश र समाजका लागि राम्रो रह्यो । लामो समयसम्म लम्बिएको मधेस र पहाडकोे समस्या पनि २०७४ सालमै टुंगियो । यसले आगामी दिनमा देशलाई सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

यो वर्ष हत्या हिंसा र बलात्कारका घटना धेरै बाहिर आए । यस्तो घटना घट्नु राम्रो भएन । घटनालाई हिंसाका मारबाट बचेकाहरु (पीडित शब्द त्यति उपयुक्त ठान्दिन) ले नै मिडियामा ल्याएर पीडकलाई कारबाहीको माग गर्नु निकै सकारात्मक कुरा हो । यसले हिंसाबाट बचेकाहरु अब लुकेर बस्दैनन्, उनीहरु पनि आफ्ना विचार, धारणा बाहिर ल्याउन डराउँदैनन् भनेर बुझ्नुपर्छ । यसले समाजमा सकारात्मक छाप पारेको देखिन्छ ।

नकारात्मक प्रभाव
२०७४ सालमा न्यायपालिका मारमा प¥यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा दर्ता हुनु र पछिल्लो प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाइएका अभियोगका कारण समाजमा नकारात्मक असर परेको देखिन्छ ।

जनताको एउटै आशाको केन्द्रबिन्दु न्यायपालिकाभित्रै यस्तो खिचलोले उनीहरुको विश्वास घटेको देखिन्छ । समाजमा न्यायपालिकाप्रति नकारात्मक छाप पर्नु दुःखलाग्दो पाटो हो । हुन त यसलाई कतिपयले व्यक्तिगत रूपमा लिए, तर यो संस्थागत कुरा हो, जनताले व्यक्तिगतरूपमा भन्दा संस्थागत रूपमा बुझ्ने हुँदा न्यायपालिकामाथि अविश्वासको वातावरण बन्नु सुखद हैन ।

यो साल नागरिक समाजको उपस्थिति जति मात्रामा हुनुपथ्र्यो, त्यो हुन सकेन । एउटा गोविन्द केसीको सत्याग्रहले मात्रै नागरिक समाजको दायित्व धानेको देखियो । धेरै महŒवपूर्ण गतिविधि भएको वर्ष नागरिक समाज मौन हुनु देशका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

पहिलेको निरन्तरता
सबैले अब होला, अब पक्कै निर्माण सम्पन्न होला भनेर निरन्तरता दिएका केही काम यो साल पनि बाँकी नै रहे । जसमा लामो समयदेखि प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजनालाई लिन सकिन्छ ।

गएको २ दशकदेखि प्रायः नेताहरुले मेलम्ची आइपुग्न लागेको कुरा काठमाडौंवासीलाई सुनाइरहे पनि त्यो आजको दिनसम्म पनि आएन । त्यस्तै अन्य विकास निर्माणका काम पनि तोकिएको समयमा सम्पन्न हुन सकेनन् । जसको उदाहरणमा सडक निर्माण र विस्तारका कामलाई लिन सकिन्छ ।

२०७२ को भूकम्पले घर भत्काएर टहरोमा पुगेका सर्वसाधारण टहरोमै अड्किए । अझैसम्म अनुदानको अभावका कारण पालै त्याग्न नसक्नेको संख्या बाक्लै छ । यसले जीवनमा नकारात्मक प्रभाव पार्ने नै भयो । जीवनमा नकारात्मक असर परेपछि त्यसको सकारात्मक प्रभाव समाजमा पर्न सक्दैन ।

सोसल मिडियामा आवाज
नेपालका लागि नयाँ मिडियाका रूपमा उदाएका सोसल मिडियाको भूमिका यो साल एकदमै सफल र राम्रो रह्यो । मनमा लागेका पीडा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालबाट पोख्न पाए र यसले सरकारमा रहेकालाई झक्झक्याउने काम ग¥यो । जनता र सरकारी अधिकारीबीचको सञ्चारका लागि सामाजिक सञ्जालको भूमिका प्रभावकारी रह्यो ।

महिलाको हिम्मत बढ्यो
अघिल्लो वर्षको तुलनामा सम्बन्धविच्छेदका घटना बढेका छन् । सम्बन्ध विच्छेदका घटना बढ्नु दुःखद् पाटो हो तर यसलाई महिला सबल भएको ठान्नुपर्छ । पहिले–पहिले महिला पुरुषको भरमा बस्नुपथ्र्यो, अरूमा निर्भर हुनुपथ्र्यो जसकारण जतिसुकै शारीरिक, मानसिक यातना सहेर पनि सँगै बस्नुपर्ने बाध्यता थियो ।

अहिले महिलामा आत्मनिर्भरता बढेकाले सम्बन्धविच्छेदका घटना बढेका हुन्, आगामी वर्षमा पनि यो बढ्दै जानेछ । यसलाई अनौठो घटनाका रूपमा लिनु पर्दैन । अहिले जति सम्बन्ध विच्छेदका घटना बाहिरिएका छन्, त्यसमा प्रेम विवाह गर्नेहरु छन् । यो भनेको आफ्नो निर्णय आफैँ लिन रुचाउनेको संख्या हो । यसले महिला आफैँले निर्णय लिन सक्षम भएछन् भन्ने देखाउँछ ।

यी सबै पाटो केलाउँदा समग्रमा २०७४ आशालाग्दो वर्षको रूपमा रह्यो । २०७५ मा जनताको आशा र भरोसा कार्यान्वयन होस् शुभकामना । (मानवशास्त्री ढकालसँग शुक्रवार साप्ताहिकका लागि पुष्पा थपलियाले गरेको कुराकानीमा आधारित)

प्रकाशित: २ वैशाख २०७५ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App