१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

नयाँ वर्षका कवितामा ध्वन्यर्थ

 ज्ञाननिष्ठ ज्ञवाली

बोक्रा फेरिकन समयले घाउ सारा पुरिन्छन्
मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन्
कस्तूरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन् कैल्यै कुसुमवनमा प्रीतिका गीत बन्द

प्रस्तुत कवितांश २०७५ असोजमा सय वर्षमा पदार्पण गर्न लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित छन्दका १०१ कविता संग्रह पृ. ९१ को ‘वैशाख’ कविताबाट उद्धृत गरिएको हो । यस अंशमा नयाँ वर्षको वर्णन त छँदै छ । यसका अलावा दुःखपछिको सुख, अज्ञानका कारण आफैसँग भएको वस्तु पनि बाहिर खोज्दै भौतारिने मानिसको अवस्था नयाँ अर्थ (ध्वन्यर्थ)का रूपमा आएको छ।

नेपाली कविताको इतिहास केलाउँदा प्रायः कविहरूले नयाँ वर्षका कविता लेखेकै भेटिन्छ । खास गरी प्राथमिक कालदेखि हालसम्म पनि कविताका विविध रूप फुटकर, मझौला र बृहत् अर्थात् खण्डकाव्य र महाकाव्यहरूमा समेत कविहरूले नयाँ वर्ष, वसन्त ऋतु र प्रकृति चित्रणजस्ता विषय छुटाएका छैनन्।

प्रकृतिलाई आधारभूमि मानेर काव्य रचना गर्ने परम्परा वेद, पुराण, संस्कृत साहित्य हुँदै नेपाली साहित्यसम्म आइपुगेको छ । बाह्र महिनाभित्रका छ ऋतुहरूको वर्णनमा केन्द्रित काव्य÷कविताहरू प्रशस्त छन् । ऋग्वेदमा वर्षा ऋतुको महत्वलाई उजागर गरिएको छ । शुक्ल यजुर्वेद अध्याय २ श्लोक ३२ मा सबै ऋतुहरूलाई विभिन्न स्वरूप मानेर नमस्कार गर्दै मानव कल्याणका लागि अनुरोध गरेको पाइन्छ । स्कन्द पुराणमा ऋतुहरूलाई यसरी नमस्कार गरिएको छ :
    वसन्ताय नमस्तुभ्यं ग्रीष्माय च नमोनमः
    वर्षाभ्यश्च शरत्संज्ञ ऋतवेच नमोनमः
    हेमन्ताय नमस्तुभ्यं नमस्ते शिशिराय च
  संस्कृत साहित्यका आदिकवि बाल्मीकिले रामायण महाकाव्यमा वर्षा ऋतुलाई विशेष महत्व दिएका छन् । संस्कृत साहित्यकै महाकवि कालिदासले ‘ऋतुसंहार’ नामक प्रकृति काव्यको रचना गरेको पाइन्छ।

  नेपाली साहित्यमा कवि शिरोमणि लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्य निकै उत्कृष्ट प्रकृति काव्यकारूपमा चिनिएको छ । प्राकृतिक सौन्दर्यको वर्णन गरेर कविता लेख्ने कविहरू अहिले धेरै भइसकेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘ज्वर शमना प्रकृति’ र ‘झञ्झाप्रति’ प्रकृतिका शान्त रूप र उग्ररूपका उत्कृष्ट फुटकर कविताहरू हुन्।

नेपाली कविताको इतिहास केलाउँदा प्रायः कविहरूले नयाँ वर्षका कविता लेखेकै भेटिन्छ । खास गरी प्राथमिक कालदेखि हालसम्म पनि कविताका विविध रूप फुटकर, मझौला र बृहत् अर्थात् खण्डकाव्य र महाकाव्यहरूमा समेत कविहरूले नयाँ वर्ष, वसन्त ऋतु, प्रकृति चित्रणजस्ता विषय छुटाएका छैनन्।

 यसै मेसोमा कवि युवराज शर्मा गौतमको ऋतु दर्शन (२०६७) खण्डकाव्य, कवि सुनिलकुमार पौड्यालको वर्षका सन्तति (२०७२) प्रकृति काव्य ऋतुसम्बन्धी लेखिएका कृतिहरू हुन् । यी कृतिमा नयाँ वर्ष तथा वसन्त ऋतुका सम्बन्धमा कतै सोझैं र कतै ध्वन्यात्मक रूपबाट विचारहरू प्रस्तुत भएका छन्।

वर्षका सन्तति काव्यको पहिलो खण्ड ‘वैशाख’को पहिलो श्लोकमै कविले वैशाखलाई जवानी फुलेकी अप्सरासँग तुलना गरी यसो भनेका छन् :
    न हो त्यो गलेकी न ता त्यो पुरानी
    जवानी खुलेकी परी हो विरानी
    लगाएर राम्रो सफा देखिएको
    सिंगारै छ पूरा उजेली भएकी (पृ.१३)
    यस लेखमा नयाँ अर्थ भन्नाले कवितामा अन्तर्निहित ध्वन्यर्थ भन्नेतर्फ संकेत गर्न खोजिएको छ । यहाँ मूलतः पद्य कवितामा केन्द्रित रही केही प्रतिनिधि तथा केही हालसम्मका कविहरूद्वारा लिखित नयाँ वर्षसम्बन्धी कविताका अंशहरूमा ध्वन्यर्थ खोजी गरिएको छ।  कोशीय अर्थमा ध्वनिलाई विविध रूपबाट अथ्र्याइएको पाइन्छ ।

नेपाली बृहत् शब्दकोशको पृ.६६० मा लेखिएको विविध अर्थमध्ये ‘कुनै कथन वा उक्तिको वाच्यार्थ तथा लक्ष्यार्थलाई छाडेर अर्थभित्र पनि लुकेर रहने चमत्कारी अर्थ, गूढार्थ, व्यङ्ग्यार्थ, ध्वन्यर्थ’ यस सन्दर्भमा उपयुक्त छ।

यहाँ कवितामा अन्तर्निहित यही नयाँ अर्थ (ध्वन्यर्थ) खोज्ने प्रयास गरिएको छ । त्यसो त नयाँ अर्थ कवितामा मात्र नभएर साहित्यका अन्य विधा उखान टुक्काहरूमा अझ बढी पाउन सकिन्छ । ‘इन्द्रका अगाडि स्वर्गको बयान’ (जान्ने–बुझ्नेका अगाडि नजान्नेको धाक), ‘आँखा खुल्नु’ (ज्ञान हुनु) इत्यादि उदाहरण दिन सकिन्छ । लोकगीतहरूमा पनि नयाँ–नयाँ अर्थहरू प्रस्फुटन भएका पाइन्छन् ।‘ध्वनि नै काव्यको आत्मा हो’ भन्ने विचार प्रस्तुत गर्ने संस्कृत साहित्यचिन्तक आनन्दवर्द्धन ध्वनिवादका प्रवर्तक हुन् ।

यिनले काव्य वा साहित्यमा प्रतीयमान अर्थ, नयाँनयाँ अर्थ खोज्नुपर्ने तर्क गरेका छन् । यिनको ध्वन्यालोक ग्रन्थमा यससम्बन्धी व्यापक चर्चा पाइन्छ । साहित्य दर्पणका रचयिता विश्वनाथले ‘वाच्यभन्दा अधिक रमणीय अर्थ नै ध्वनि हो’ भनेका छन् । यसलाई व्यंग्य अर्थका रूपमा पनि अथ्र्याइएको छ।नेपाली साहित्यका क्षेत्रमा भानुभक्त, मोतीराम, शम्भुप्रसाद, लेखनाथ, सम, देवकोटा, माधव घिमिरे, भूपी, गोपालप्रसाद रिमाल, सिद्धिचरण, पारिजात लगायतका दर्जनौं स्रष्टाका कृतिहरूमा ध्वन्यर्थ पाइन्छ।

नेपाली साहित्यमा ध्वनि विषयक पहिलो विधावारिधि गर्ने शैलेन्दुप्रकाश नेपालले राष्ट्रकवि माधवप्रसाद घिमिरेका नौ खण्डकाव्यहरूको ध्वनितात्विक अध्ययन गरेका छन् । यिनले अन्य विविध विधामा पनि ध्वन्यार्थका कोणबाट अनुसन्धान गरेको पाइन्छ । यिनी कवि हुन् । २०६० सालमा प्रकाशित उनको ‘नयाँ वर्ष’ शीर्षकको प्रस्तुत कवितांशमा ध्वन्यर्थ यसरी खोज्न सकिन्छ :
    नयाँ वर्ष आयो नयाँ जोस आओस्
    विलासी सबैमा नयाँ होश आओस्
    नयाँ जादू छाओस् बनोस् फूल गोली
    नखेलौँ कसैले यहाँ रक्त होली
    यस पद्यमा भोगविलासमा लम्पट हुने भौतिकतातिर मरिमेट्नेमा सद्बुद्धि आओस् । फूलहरूका गोली बनून् भन्नाले हत्या हिंसा रोकियोस् भन्ने नयाँ अर्थ निकाल्न सकिन्छ ।
कविशिरोमणि लेखनाथ पौड्यालको पहिलोपटक १९७३ मा छापिएको ऋतुविचार १९ औं संस्करण २०५१ पृ. १३ ‘वसन्त विचार’ अन्तर्गतका यी दुई श्लोक ध्वन्यार्थका दृष्टिले बढी उदाहरणीय छन् ः
    तडागमा खडा फेरि भयो कमलको वन ।
    भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ?
    हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल स्थिति     
    स्थानले मात्र के गर्नु ? भिन्नै छ गुणको गति
    यहाँका माथिल्ला दुई हरफमा विषयवासना रहुन्जेल मुक्त हुन नसकिने स्थितिको प्रस्तुति छ भने तल्ला दुई हरफमा क्षमताअनुसार मूल्य निरूपण हुने कुरा आएको छ ।
    त्यसैगरी लेखनाथका प्रमुख कविता (२०४६) कृतिभित्रको ‘वसन्त कोकिल’ (१९७४) शीर्षकको कवितांशमा एकातिर नयाँ वर्षको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ भने यसका साथै दुःखपछि प्राप्त भएको सुखद वातावरणको मार्मिक प्रस्तुति यसरी आएको छ ः
    न शीत–बाधा, न त घामको डर
    न बाग नंगा, न त वृष्टिको पीर
    वसन्तका गौरवले गरीकन
    खुसी छ साह्रै कलकण्ठको मन
पण्डितराज सोमनाथ शर्मा सिग्द्यालको आदर्श राघव (२००५) महाकाव्यको अष्टम सर्ग नयाँ वर्ष, वसन्त ऋतुमा आधारित छ । यस सर्गका अधिकांश श्लोकहरूमा पनि ध्वन्यर्थ प्राप्त गर्न सकिन्छ (पाचौं संस्करण २०५० पृ. ९६–१०७ सम्म) । कवि बालकृष्ण समको चिसो चूल्हो
(२०१५) महाकाव्यको सर्ग ७ ‘वसन्त’ शीर्षकमा प्रस्तुत गरिएका विचारहरू निकै विचारणीय छन् । उदाहरणका लागि यी चार हरफ दिइएको छ :
    चरा ‘कपाल पाक्यो’ भन्छ, मानिस ‘काफल पाक्यो’ सुन्छ
    नववसन्तको मीठो बिहानमा परमानन्दको पूजालाई
    दुःखलाई नै सहन हुने गरी मीठो मूर्छा बनाईदिन्छ
    जीवन मृत्यु एकसाथ घोली बचाइराख्तछ, मर्न दिँदैन                    (चौथो संस्करण २०५० पृ. ५६)
    त्यस्तै छन्दका १०१ कविता संग्रहको पृ. ७९ मा रहेको ‘ऋतुको अनुकरण’ शीर्षकको कवितामा बालकृष्ण समले नयाँ वर्षको सुमधुर मिलनलाई मानव र मानवेतर प्राणीका माध्यमबाट यसरी प्रस्तुत गरेका छन् –
        गर्छन् क्याँक् क्याँक् पानीमा दुई  
        को हो को हो दुई वनमा
        कर्‍याङ कुरुङ गर्छन् दुई नभमा  
        खुसुखुसु दुई जन उपवनमा ।
युवाकवि मोतीराम भट्टद्वारा रचित पिकदूत (२०२९) खण्डकाव्यको श्लोक ११ मा विरहातुर नायिकाको वियोगजन्य पीडालाई वसन्त ऋतुका माध्यमबाट यसरी प्रस्तुत गरिएको छ ः
    कस्तो हेर वसन्त पक्षिहरूको प्यारो भएको छँदो
    पालूवा रुखलाई रस् फुलविषे छर्की बराबर दिँदो
    ऐले प्राण नभै मलाई बहुतै बाधा दियो के गरुँ
    एक् ता मो मबला अनी विरहिणी कस्का म भर्मा परुँ
                        (संस्करण २०५३, पृ. ५)
पण्डितराज जगन्नाथको संस्कृत भामिनीविलासको समश्लोकी समच्छन्दी नेपाली अनुवाद नेपाली भामिनीविलास (२०५५) अनुवादक यदुनाथ खनालद्वारा अनुवाद गरिएको कृति हो । यसको प्रास्ताविक विलासअन्तर्गत पृ. १५ श्लोक १०२ मा वसन्त ऋतु, नयाँ वर्ष, कोइली, भ्रमरा, आदिलाई माध्यम बनाएर एक प्रेमीको वियोगजन्य ध्वन्यर्थलाई यसरी प्रस्तुत गरिएको छ :
    गुन्जाइ भृङ्ग मृदु मञ्जुल आम्रबीच
    राता र कोमल मुनाहरूमा रमाई
    झुल्ने वसन्त ! तँविना पिकका अँध्यारा
    हुन्छन् दिशा, पवन अग्नि समान पोल्छ
    छन्दको छहरा पृ. ४४ मा रहेको कवि कृष्णप्रसाद पराजुलीको ‘वसन्त कामना’ कवि भुवनहरि सिग्देलको ‘वसन्त’ (पृ. १११) नयाँ वर्षलाई आह्वान गर्ने कविताहरू हुन् । कवि पीताम्बर शर्मा दाहालको फूल र अक्षता (२०६७) कविता – काव्य संग्रहका वसन्त प्रभाव – १, २, ३, ‘नयाँ वर्ष आयो’ (पृ. ३१) र ‘नव वर्ष’ (पृ. ३८) कविताहरूमा ध्वन्यर्थ पाइन्छ।

त्यस्तै कवि हरिविक्रम केसीको भावनाका भुल्काहरू (२०७३) प्रकृति चित्रणमा केन्द्रित कविता संग्रह हो । कवि हरि खनालको ‘सँघार’ (२०७३) कविता संग्रहको ‘बोल माधुरी’ (पृ. २८) कविता यस दृष्टिले उदाहरणीय छ । कवि हेमनाथ घिमिरेको देशको माटो (२०७४) कृतिभित्रको ‘नयाँ वर्ष’ (पृ. ४६) कवितामा जताततै हरियाली, सबै सुखी र खुसी, सबैको उन्नति र प्रगति, नयाँ सृष्टि र दृष्टि, सबैमा मेलमिलापजस्ता कुराहरू देख्ने चाहना रहेको पाइन्छ।


 कवि टीकाराम शर्मा पौडेलले रमाइलो रमाइलो नेपाली पुस्तक को पृ. ३५ को ‘बाह्र महिनाहरू’ शीर्षकको कवितामा नयाँ वर्षको वर्णन ध्वन्यर्थमा यसरी गरेका छन् :
    भुलेर सारा ननिका पछिल्तिर
    म हुन्छु वैशाख नयाँ अगिल्तिर
    म घाम ओढीकन जेठ ल्याउँछु
    परिश्रमी भई पसिना बगाउँछु
कवयित्री प्रभा भट्टराईको सरित्–संगम कविता–संग्रहमा संकलित ‘नयाँ वर्ष’ कविताको प्रस्तुत एक पद्यमा यसरी दिशानिर्देश गरिएको छ ;
    विस्तारै हे ! नदगुर कतै हुत्तिँदा ठेस लाग्ला
    काँडा बिझ्ला मृदु–पयरमा मार्ग छोडेर हिँड्दा
    पोको छुट्ला हडबड गरे स्वच्छ–सद्भावनाको
    छिन्ला माला विजन पथमा धैर्य औ चेतनाको
कवि रामप्रसाद ज्ञवालीले वैशाखको भानु (२०७३) साहित्यिक मासिक पत्रिकामा ‘नयाँ वर्ष’ शीर्षकको कविताका माध्यमबाट नयाँ नेपाल, सुखी नेपाल, समृद्ध नेपाल, विश्वसामु फैलने नेपाल र नेपालीको चाहना यसरी व्यक्त गर्छन् ः
    नयाँ वर्ष नेपाल नौलो म हेरुँ
    नयाँ जिन्दगीका नयाँ चित्र कोरुँ
    नयाँ मान सम्मान नेपाल पाओस्
    हिमाली धरा विश्वमा मुस्कुराओस्
यस पंक्तिकारका वन्दना साहित्यिक त्रैमासिक (वर्ष १९, अंक १, पूर्णांक ४४, २०५७ वैशाख–जेठ–असार, पृ. १) मा, ‘नव वर्ष’ र मधुपर्क (वर्ष ४५, अंक १२, पूर्णांक ५२७, वैशाख २०७०, पृ. ६) मा ‘नयाँ वर्ष’ शीर्षकका कविताहरू प्रकाशित भएका छन् । यीमध्ये दोस्रो कविताका यी हरफहरू यस सन्दर्भमा उदाहरणीय छन्
    नयाँ भावनाको नयाँ कामनाको
    नयाँ सिर्जनाको नयाँ कल्पनाको
    नयाँ वर्ष हाम्रो नयाँ होस् उमंग
    नयाँ फूल फक्री फिँजाओस् सुगन्ध
    सबै बन्धु हाम्रा सबै दाजुभाइ
    सबै साथमा छौँ जुटौँ साथ आई
    गलामा गला त्यो हिँडौं है मिलाई
    हिमाली, पहाडी, मधेशी, तराई
यसरी कविहरूले कामना गरेझैँ यो नयाँ वर्ष (२०७५) ले चह¥याइरहेको घाउमा मलम लगाओस् । सबैमा सद्बुद्धि पलाओस् । सुख, समृद्धि र सुस्वाथ्यले सबैतिर सद्बीज छरोस् ।   
    (लेखक त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)
 

प्रकाशित: ८ वैशाख २०७५ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App