१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा

बालकल्याण नमुना माध्यमिक विद्यालयका विद्यार्थी जसलाई असहज रुपमा कक्षा ८ पास गराएर कक्षा ९ मा पढाइँदै छ।

रोल्पा – रोल्पा नगरपालिकाभित्र रहेका २४ विद्यालयको गत वार्षिक परिक्षाको रिजल्ट सबैलाई चकित पार्ने गरि आएको छ । सामुदायिक विद्यालयतर्फका २१ विद्यालयमध्ये १५ विद्यालयको ८ कक्षाको नतिजा शुन्य रहेको छ भने निजी विद्यालयको नतिजा पनि लाजमर्दो देखिएको छ।

वार्षिक परीक्षा दिएका जम्मा ७ सय ७४ मध्य सामुदायिक विद्यालयका जम्मा २६ जना मात्र पास भएका हुन् । जिल्लाकै राम्रो विद्यालयको पहिचान बनाउन सफल सदरमुकामको बालकल्याण नमुना माध्यमिक विद्यालयमा १ सय ४१ जनाले परिक्षा दिएकोमा १० जना मात्र पास भएका छन्।

रोल्पा नगरपालिका श्रोत केन्द्रका अनुसार स्तरीय विद्यालय भनेर जिल्लामा नाम कमाएको अर्को नेपाल मा .वि कोटगाउँमा ४० विद्यार्थीले परीक्षा दिएकोमा १ जना मात्र पास भएका छन् । राष्ट्रिय मा .वि खुमेलमा ६५ जनामा ५, तारा मा.वि बामरुकमा ५८ जनामा ७, होमा नि.मा.विमा २१ मा २ र बागेश्वरी मा .वि लिउनमा २८ मा १ जना मात्र पास भएका छन । निजीतर्फ तुलसी मा .वि ३४ मा ७ जना, होलिभिजन २९ मा १२ जना र ब्राईट फ्युचर १६ मा ७ जना मात्र पास भएका छन् । कतिपय सदरमुकाम आसपास भित्रका विद्यालयको समेत नतिजा शुन्य रहेको छ।

पास हुनेहरुको पनि अंक भने अत्यन्तै कम आएको छ । प्राय विद्यार्थिहरु गणितमा फेल भएका छन् । ‘पास हुनेको अंक पनि कमजोर छ । गणितमा धेरै फेल भएका छन् । अरु विषयमा पनि अंक राम्रो छैन । धेरै बिद्यार्थीको एक दुई अंक मात्र छ ।  ’ रोल्पा नगरपालिकाका श्रोत व्यक्ति लोककुमार श्रेष्ठले भने । ‘खै के भन्नु छक्क छ । हाम्रोमा गणितका उत्कृष्ट शिक्षक पनि छन् । पहिले स्कुलले आफै परीक्षा गराउँथे, सबैलाई पास गराउँथे । अहिले नगरपालिकाले एकै पटक परीक्षा लियो । कापी पनि केन्द्र संङकलन गरेर जाँचियो । राम्रोसँंग हेर्ने हो भने ८ कक्षाको मात्र होईन सबै कक्षाको रिजल्ट यस्तै हो।’

यहि रिजल्ट अनुसार नयाँ शैक्षिक सत्रमा कक्षा ९ मा ‘कक्षाकोठा’ खाली हुने भएपछि नगरपालिकाले प्रति बिद्यार्थी ७० अंक सम्म थपेर सह उत्तीर्ण भन्दै कक्षा बढाईदिएको छ । ‘बढी गणितमा कमजोर देखिएका छन् । हाम्रोमा भने गणितभन्दा कम्प्युटर बिषयमा बढी समस्या देखियो । यस्तो नतिजा आउनुमा बिषयगत शिक्षकको अभाव हो।बिद्यार्थीको जग नै कमजोर छ । अब पठन पाठन सुधार गर्न जरुरी देखिन्छ । बिद्यार्थीले राम्रोसंँग नसिक्दै कक्षा चढाईन्छ अनि नतिजा खराब आउने नै भयो ।’ वालकल्याण नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्ररेलले भने। उनले आफ्नो बचाउँ गरे पनि यो बिद्यालयमा पनि प्राय सबै बिषयको नतिजा लाजमर्दो देखिएको छ।

सबै बिद्यार्थीको मार्कलेजर गहिरो सँग हेरेका श्रोत व्यक्ति लोककुमार श्रेष्ठ पनि रिजल्ट प्रति अचम्मित छन । ‘धेरै जसो बिद्यार्थिको नम्बर हेर्दा अत्यास लाग्दो छ । प्रति बिद्यार्थी ७० अंक थपेर पास गराउँदा पनि २ सय ८ बिद्यार्थी फेल भएका छन् ।’ रोल्पाकै अन्य गाउँपालिकाको अवस्था पनि उस्तै छ ।  जिल्लाको कक्षा ८ को वार्षिक परिक्षाको नतिजा हेर्ने हो भने ७ देखि ८ प्रतिशत भन्दा धेरै पास भएका छैनन । त्यसो त नगरपालिका कै अर्का श्रोत ब्यक्ति राजेश धिताल पनि आफ्नो एरियाको नतिजा प्रति असहज मानिरहेका छन । ‘शिक्षा त बरबाद भयो । शिक्षकले पढाउदैनन । कतै शिक्षक पनि छैनन । स्थानिय सरकारले शिक्षामा लगानि गर्ने जाँगर नै गर्दैन।’

गत वर्षहरुदेखि नै यस्तै नतिजा आउने गरेको भए पनि रोल्पा नगरपालिकाले शिक्षामा कुनै लगानी गरेको छैन ।‘शिक्षामा त केन्द्रबाटै अत्याधिक बजेट आईरहेको छ । हामीले ८ कक्षाको परीक्षा केन्द्रीकृत गरेर आफै गरेको हो । गत एसईईमा प्रत्येक मा .विका कक्षा १० का लागि टिउसन खर्च दिएका हौ । प्राविधिक पढाईका लागि छात्रवृतिको व्यवस्था गरेका छौ । त्यो बाहेक अन्य कुरामा बजेट व्यबस्थापन छैन ।’ रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले भने । ‘समग्र पढाई प्रणालीको दोष देखिन्छ । सुधारका लागि अर्को वर्ष कक्षा ५ र ८ को परीक्षा नगरपालिकास्तरीय गराउने सोच बनाएका छाैँ ।’

विद्यालयहरुमा यस्तो नतिजा आउँदा पनि स्थानीय तहले अब सुधार कसरी गर्ने भन्ने बारे खासै चासो दिएको छैन । प्राय सबै पालिकाहरुमा सडक र भबन निर्माण जस्ता कुराहरु प्राथमिकतामा परेका छन । बजेट विनियोजन गर्दा शिक्षा तर्फ कतै कोहि बोलेका छैनन् । अर्को तिर अनिवार्य र निशुल्क भनिएको शिक्षा रोल्पामा महँगो परिरहेको छ ।

दरबन्दी नभएका कारण अभिभावकहरुले मासिक रकम उठाएर शिक्षकलाई तलब खुवाउँदा झनै् महङ्गो परिरहेको हो।
रोल्पा नगरपालिका सभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री वर्षमान पुन, पुर्वसभामुख ओनसरी घर्ती, प्रदेश सांसद कुल प्रसाद केसी, दिपेन्द्र पुन सबैको गृह क्षेत्र रहेको यहाँको अवस्थाबारे सरोकारवालाले समयमै ध्यानदिनु पर्ने देखिन्छ ।

 

 

प्रकाशित: २९ वैशाख २०७५ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App