१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सर्वनाममा मिथिला चित्र

काठमाडौं – दुई वर्षदेखि मिथिला चित्रकलामा क्रियाशील कलाकार पुनमकुमारी दासको एकल कला प्रदर्शनी ‘द स्टोरी अफ मिथिला पेन्टिङ’ शुक्रबारदेखि सर्वनाम आर्ट ग्यालरी, कालिकास्थानमा सुरु भएको छ । प्रदर्शनीको चित्रकार तथा प्राज्ञ एससी सुमनले उद्घाटन गरेका थिए।

सर्वनामका संस्थापक तथा वरिष्ठ रंगकर्मी अशेष मल्लले आफूले सर्वनाम भवनलाई नाटक गर्ने थलो मात्र नभइ कलाको हरेक विधालाई प्रोत्साहित गर्ने अनि दर्शकका लागि नेपालभरिको कला हेर्न र बुझ्न सक्ने स्थानको रूपमा परिकल्पना गरेको बताए । कलाका सम्पूर्ण विधाहरुलाई एकसाथ एकैथलोमा जमघट गराउने आफ्नो सपना पूरा भएको उनले बताए।

प्राज्ञ एससी सुमनले आफूले दासको कलाकर्म विगतदेखि नियाल्दै आएको र उनको सिर्जनशीलता र प्रस्तुतीकरण अझ परिष्कृत हुँदै आएको बताए। उनले भने, ‘मैथिल समुदायमा चित्रकला, गायन र नृत्यलाई विशेष महत्व दिइन्छ। मिथिलामा हरेक छोरी कलाकार हुन् ।’

कलाकार रमेश खनालले पनि मिथिलाका कलाकार एकदमै सक्रिय रहेको बताए।  ‘कलाको यो विधा अन्तर्राष्ट्रियकरण हुनुमा उहाँहरूकै क्रियाशीलताले भूमिका खेलेको छ,’ उनले थपे।

प्रदेश नं २ की सांसद डा. रीना यादवले परम्परागत शैलीभन्दा पृथक रङको प्रयोग अनि संयोजन गरी चित्रकलालाई अझ आकर्षक बनाउनमा दासले गरेको मेहनत प्रशंसनीय रहेको बताइन्।

क्यानभास/कागजमा फ्याब्रिकको प्रयोगबाट बनाइएका सो चित्रकलामा मिथिलाको इतिहास र संस्कृतिको मिठास भने कायम छ  वरिष्ठ रंगकर्मी अशेष मल्ल, वरिष्ठ चित्रकार तथा कला समीक्षक रमेश खनाल, वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, प्राज्ञ तथा रंगकर्मी रमेश रञ्जन झा, लगायतको उपस्थिती रहेको थियो। पुनमका २२ वटा पेन्टिङ अहिले राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरको सर्वनाम आर्ट ग्यालरीमा प्रदर्शनीमा छन्। प्रदर्शनी एक महिनासम्म चल्नेछ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App