१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयका लागि राष्ट्रिय सहमति आवश्यक: खनाल

इलाममा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल ।

इलाम–   पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । उनले दुवै काम सम्पन्न गर्न प्रमुख दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको पनि औंल्याए ।

‘नेपाली कांग्रेस नेतृत्वमा सरकार भएका बेला नयाँ संविधान जारी भएको हो तर कांग्रेस नै सरकार बनाउने नाममा विभिन्न गठबन्धनमा लाग्दा संविधान कार्यान्वयन चुनौतिपूर्ण बनेको छ,’ उनले भने, ‘एमाले त्यही ९० प्रतिशतभन्दा बढीको समर्थन रहेको संविधान कार्यान्वयन गर्नुपर्छ भनेर अभियान चलाउँदैछ।’ खनालले एमालेले राखेको सहमतिको प्रस्ताव लत्याएर नेपाली कांग्रेस अर्काे सरकार बनाउनतिर लागेकाले दलहरूबीच अविश्वास बढिरहेको पनि बताए ।

 नेकपा एमालेले आयोजना गरेको ‘राष्ट्रिय एकता, समृद्धि र संविधान कार्यान्वयन, एमालेको अभियान’ नामक ४ महिने कार्यक्रम उद्घाटन गर्दै खनालले जनताका लागि अत्यावश्यक स्थानीय निकायको चुनाव सम्पन्न गर्न पनि संविधान कार्यान्वयनको कुनै विकल्प नभएको बताए। ‘१८ वर्षदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय निकायको चुनाव संविधानमा तोकिएकै अवधिमा सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधि नहुँदा जनता राज्यबाट पाउने सेवाबाट वञ्चित हुने अवस्था छ । त्यसको अन्त्यका लागि चुनाव अपरिहार्य छ ।’

उनले दलहरूबीच एकता कायम गरेर अघि बढ्ने बेला विभिन्न शक्तिले दलहरू फुटाउने खेल खेलिरहेको बताए । खनालले भर्खरै प्रधानमन्त्रीले भारत भ्रमणक्रममा निकालेको साझा विज्ञप्तिले राष्ट्रको शिर झुकाउने काम गरेको बताए । ‘यो सरकार १ सय दिन त सुतेरै बस्यो, भारत भ्रमणमा पनि देशको शिर झुकाउने विज्ञप्ति निकालेर फर्कियो ।’ प्रमुख दलसहित सबैको अहिलेको मुख्य जिम्मेवारी नयाँ संविधानको कार्यान्वयन नै भएको उनको भनाइ छ ।

खनालले तीनै तहका आउँदा चुनावमा नेकपा एमाले पहिलो पार्टी बन्नेगरी काम गर्न मातहतका कमिटीहरूलाई निर्देशनसमेत दिए। ‘अब हुने चुनावमा एमालेले वर्चस्व कायम गर्नेगरी तल्लो तहसम्मका कमिटी परिचालन गरिने छ,’ उनले भने, ‘प्रदेशको चुनाव पहिलो चोटी हुने भएकाले पहिलै चोटीको जितसँगै एमालेले दीर्घकालसम्म प्रभाव पर्नेगरी विजय हासिल गर्नुपर्छ ।’

 

प्रकाशित: १ मंसिर २०७३ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App