१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्पदा निर्माण रोकियो

ललितपुरको पाटन दरबार स्क्वायर मूलचोकस्थित तलेजु मन्दिर । पुरातात्विक सम्पदा पुनर्निर्माण मापदण्ड नबन्दा अहिले यसको पुनर्निर्माण रोकिएको छ । तस्बिरः शिवहरि घिमिरे

ललितपुर– पुरातत्व विभागले प्राचीन सम्पदा पुनर्निर्माण मापदण्ड तयार पार्न नसक्दा पुनर्निर्माण थालिएका पाटन दरबार क्षेत्रमा पुनर्निर्माण रोकिन पुगेको छ । भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानो मापदण्ड फेरबदल गर्नुपर्ने भन्दै पुरातत्व विभागले वैज्ञानिक मापदण्ड बनाउने जनाएको थियो ।

तर अहिलेसम्म विभागले मापदण्ड तयार पार्न नसक्दा सम्पदा पुनर्निर्माण बीचमै रोकिएको काठमाडौं उपत्यकामा संरक्षण कोष (केभिपिटी)का अध्यक्ष रोहित रञ्जितकारले जानकारी दिए । उनले भने, ‘पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न आवश्यक सामग्री जुटाइसकेका छौं । तर पुरातत्वले दुई महिनाअघि मौलिकता नमेटिने गरी नयाँ मापदण्ड ल्याउने जानकारी दिएपछि गर्दागर्दै काम रोक्नुपरेको हो ।’
रञ्जितकारका अनुसार भीमसेन मन्दिर, देगु तलेजु, कृष्ण मन्दिर, चारनारायण मन्दिर, मणिमण्डपका दुई वटा पाटी र ९० सालको भूकम्पमा भत्किएको भाइदेग मन्दिरलगायत सम्पदा पुनर्निर्माण भैरहेको थियो । यीमध्ये भाइदेग मन्दिरबाहेक अन्य सम्पदा पुनर्निर्माण गर्ने जिम्मा केभिपिटीले लिएको छ । निर्माणको जिम्मा पाएको केभिपिटीले काम थालेपछि विभागले मापदण्ड ल्याउने तयारी भएको जनाउँदै काम रोक्न निर्देशन दिएको थियो ।

विभागले पुराना सम्पदाको मौलिकता नमेटिने र भूकम्पमा नभत्कने गरी सम्पदा पुनर्निर्माणसम्बन्धी नयाँ मापदण्ड ल्याउने निर्णय गरेको थियो । नयाँ मापदण्डमा काठ, सिमेन्ट र माटोबीच तामाको पाता राख्ने, दलिनमा चुकुल राख्ने तथा काठ नकुहिने गरी पुनर्निर्माण गर्ने लगायत समावेश हुन कोषका अध्यक्ष रञ्जितकार बताउँछन् ।

९० सालको भूकम्पमा भत्केको भाइदेग मन्दिरको जगमा सिमेन्ट र बालुवा प्रयोग नगरिएको संस्कृति संरक्षण समितिका सचिव समेत रहेका रञ्जितकारले जानकारी दिए । उनले भने, ‘मापदण्ड बनेपछि कुन भागमा सिमेन्ट र कंक्रिट हाल्नुपर्ने हो त्यसै अनुरुप काम थाल्छौं ।’

सम्पदा पुनर्निर्माण मापदण्ड तयार हुने क्रममा रहेको विभागका प्रवक्ता ताराबहादुर कुँवरले बताए । ‘एक साताभित्र त्यसको टुंगो लगाउँछौं,’ प्रवक्ता कुवँरले भने, ‘नयाँ मापदण्ड बनाउँदा अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो ।’

केभिपिटीले काम थालेको ८ महिनामा पाटनमन तीन वटा तलेजु मन्दिरमध्ये एउटाको मर्मतसम्भार गरिसकेको जनाएको छ । त्यस्तै पुराना काठका सामग्री र कालीगढको अभाव भएकाले पनि पुनर्निर्माणमा कठिनाइ परेको छ । सम्पदा पुनर्निर्माण गर्दा मौलिकता नमेटिने गरी आधुनिक प्रविधिको समेत प्रयोग गरिने विभागका प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार सम्पदाको मौलिकतालाई प्राथमिकता दिएर बलियो बनाउने उपया अपनाइने छ ।


 

प्रकाशित: १० मंसिर २०७३ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App