६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

म्याम तपाईँ सक्नुहुन्छ ?

केही समयअघि एकजना दिदी अधिकृत तहमा बढुवा हुनुभयो। बढुवा भएपछि स्वाभाविकरूपमा एउटा फाँटको जिम्मा पाउने हकदार हुनुहुन्थ्यो उहाँ। दिदी भन्दा एक दुई दिनपछि बढुवा भएका पुरुष कर्मचारीहरू जिम्मेवारी लिएर सम्बन्धित फाँटको जिम्मेवारी सम्हाल्न गइसकेका थिए। दिदीलाई भने राम्रो ठाउँ हेर्दैछौँ, जहाँ पायो त्यहीँ पठाएर पनि भएन नि भन्दै हाकिमले रोकिराखेका थिए। एक सातासम्म पनि दिदीलाई बढुवाको पत्र मात्रै थमाइयो जिम्मेवारी तोकेको जानकारी गराइएन। दोस्रो साता हुनै लाग्दा पनि जिम्मेवारी नतोकिएपछि पुरानै ठाउँमा आउने/बस्ने, हाजिर गर्ने, साथीभाइसँग गफ गर्ने अनि घर जाने दिनचर्या बन्यो दिदीको। तीन सातापछि फेरि हाकिमलाई भेट्न जानुभयो र सोध्नुभयो– खै त सर मेरो पदस्थापन भएको ? बढुवा भएर एउटा बधाईको पत्रबाहेक केही पाएकी छैन, तीन साता भइसक्यो म पहिलेकै कुर्सीमा कतिञ्जेल बस्ने ? मेरो ठाउँमा अर्को कर्मचारी आएपछि त्यो ठाउँ पनि छाडिदिनुपर्छ।  

दिदीको कुरा एकोहोरो सुनिरहेका हााकिम केही पनि बोलेनन रे। एकैछिन सोचेर “हेर्नुस् न तपाईँलाई सेटल गर्नेबारे नसोचेको होइन, जहाँ पायो त्यहीँ पठाएर पनि भएनन् नि, लेडिजलाई सबैतिर सहज हुँदैन। त्यो पाटो पनि हेर्नुपर्छ हामीले। भोलि तपाईँ गुनासो गर्न आउने ठाउँ यही हो नि, काम गर्न सक्ने÷नसक्ने कुरा पनि हेर्नुपर्‍यो नि...। जिम्मा मात्रै दिएर कहाँ हुन्छ र ? त्यो जिम्मा तपाईँले सजिलै बहन गर्न सक्नुहुन्छ कि हुँदैन ?”  

यति भनिसकेर हाकिमले पुलुक्क दिदीको मुखमा हेरेछन्। दिदी केही बोल्नुभएन रे। आजको जमानामा पनि तपाईँलाई महिला कर्मचारीप्रति विश्वास अझै छैन हैन सर ? महिलाले सिंगो अफिस चलाएका छन्, सहकारी, फाइनान्स चलाएका छन्, सिंगो मिडिया हाउस चलाएका छन्, स्कुल÷कलेज चलाएका छन्। ठूलाठूला कम्पनीसमेत सञ्चालन गरिरहेका छन्। म अफिसर लेबलको कर्मचारी जो यो अफिसमा काम गरेको सात आठ वर्ष भयो। यत्रो वर्षको अनुभव, पढाइमा पुरुष भन्दा पछि छैन। म पहिले पनि आफूलाई तोकेको काम कुनै दिन बाँकी राखिन, जिम्मेवारीअनुसार समयमै काम सकाएकै हो। त्यो कुरा सरलाई जानकारी छैन र ? झोक चलेको बेलामा यति कुराचाहिँ हाकिमलाइ भनेँ, कुरैकुरामा दिदीले सुनाउनुभएको थियो।  

दिदी एकोहोरो बोलेपछि हाकिम उल्टै दिदीलाई थामथुम पार्नतिर लागेछन्। मेरो आशय त्यस्तो होइन, अहिले त महिलालाई बोल्नै हुँदैन अनेक अर्थ लाग्छन्। तपाईँ कुरालाइ सही तरिकाले बुझ्नूस् न...। तपाईँ काम गर्न सक्नुहुन्छ तर सहज नहोला कि भन्ने मात्र हो। हाकिमले के कुरालाई सहज र असहज भनेका हुन् त्यो कुरा दिदीले बुझ्न सक्नुभएनछ।  

यति मेरोबारेमा चिन्तित भएका हाकिमको फेरिएको शैली देखेर आफैँलाई उदेक लाग्यो। गर्भवती बेलामा मलाई धेरै गाह्रो भयो, डाक्टरले धेरै तनाव नलिनू भनेका थिए। हाकिमलाई धेरैपटक विन्ती बिसाएँ तर पनि कुनै सुनुवाइ भएन। मेरो कामको चाप अलि बढी भयो सर, एकजना कर्मचारी खटाइदिनूस् भन्दा उतिबेला अवाक बने। दरबन्दी नै एउटा हो, कसरी अर्को कर्मचारी ल्याउने ? हाकिमको यही बोली थियो त्यो बेलामा। मलाई संकट परेको बेला मेरो स्वास्थ्य ठीक नभएको बेलामा म आफैँ पटक–पटक सहयोग माग्दा सहयोग नगर्ने हाकिम अहिले म सहीसलामत छु, एक तह बढुवा भइसकेँ तर पनि मेरोबारेमा यतिविधि दयालु बनेको देख्दाचाहिँ अचम्मै लागेको छ।  

कुरैकुरामा दिदीले सुनाउनुभएको थियो, हेर बैनी म यत्तिको बोल्ने मान्छेलाई त अफिसमा यस्तो दबाएर राख्न खोज्छन् भने नबोल्ने सोझा महिला कर्मचारीको अवस्था के होला ? कति पीडित होलान् महिला कर्मचारी ? मेरो अफिसमा हाकिमसँग शिर उठाएर कुरा गर्ने थोरै महिला कर्मचारीमध्येकी म हुँ। मलाइ झुकेर कुरा गर्न आउँदैन। जब मबाट गल्ती कमजोरी भएको छैन भने हाकिम भन्दैमा धनुष्टंकार नै गर्नुपर्छ भन्ने मान्यताको विरोधी हुँ म। हो, पदअनुसारको मर्यादा राख्नुपर्छ तर विन्तीभाउ नै बिसाउने भन्ने कदापि मान्दिन, यो काम मेरो वशमा छैन। मेरो यही हक्की स्वभावले पनि होला, हाकिम मसँग बोल्दा निकै होसियार हुन्छन्।  

पढाइको कुरा गर्ने हो भने मास्टर्स गरेकी छु। कामको अनुभवको कुरा गर्ने हो सात आठ वर्ष यही अफिसमा काम गरेँ। कार्यक्षमताले अब आफैँ जिम्मा लिएर एउटा फाँट चलाउन सक्छु भन्ने प्रमाण मेरो बढुवाको नतिजा हो। मेरो क्षमता थियो तर चारजना पुरुषभन्दा अगाडि नै नाम निस्कियो तर पनि मेरो क्षमतामा विश्वस्त छैनन् मेरा हाकिम साब। जबकि उमेरमा म भन्दा साना भाइहरूलाई सजिलै विश्वास गरेर काम तोकिदिन्छन्। भलै पुरुष कर्मचारीले यो काम गर्न सक्दिन भन्दा पनि हाकिमले जोरजबर्जस्ती गर्छन्, तपाईँले पनि यस्तो भन्न सुहाउँछ ? भोलि बढुवा हुने मान्छे, भोलिका दिनमा सिंगै फाँटको प्रमुख हुने मान्छे अहिले नै काम सक्दिन भन्न मिल्छ ? जन्मँदै कसले जानेको हुन्छ र ? नजानेको काम सिक्नुपर्छ, म आफैँ गाइड गरौँला तपाईँले हुन्न, सक्दिन, के होला भन्न पाउनुहुन्न। यसबाट के देखिन्छ भने पुरुष कर्मचारी भएकै कारण उनीहरू अब्बल छन्, उनीहरूले म जिम्मा लिन्न, काम गर्न सक्दिन कि भन्न पाउँदैनन्।  

कर्मचारी वर्गमा मात्रै होइन, जहाँ पनि महिलाको काम हेर्नु भन्दा पहिले, महिलाले गरेको कामको प्रतिफल हेर्नु भन्दा पहिले नै उसको क्षमतामाथि नै प्रश्न उठाउने गरिन्छ। भर्खर सम्पन्न भएको चुनावलाई नै हेरौँ न, पहिलो पटक उम्मेदवार भएका महिला नयाँ अनुहारलाई लिएर बौद्धिक सर्कलमै बहस भएका सुनिन्थे, भर्खरका केटीहरू च्ुनावमा उठेका छन्, उनीहरूले कसरी जित्लान् ? न जनाधार छ ? यी नानीहरूका कुरा कसले, कसरी पत्याउने ? कुरा पत्याउने आधार के हो ? यी नानीहरूको अनुहार हेरेर कसरी भोट आउला र ? चिया गफमा समेत यस्ता कुरा सुनिन्थे तर ती भर्खरका नानीहरूले फराकिलो मतान्तरले संसदीय चुनाव पहिलो पटक उठेर पनि शानदार तरिकाले जितिसके। चुनाव जितिसकेपछि पनि उनीहरूमाथि थप शंका जीवितै छ– चुनाव त जसोतसो जिते यिनीहरूले कसरी काम गर्लान् ? जब संसद् भवनमा उनीहरू गएकै छैनन्, शपथ खाएकै छैनन्, उनीहरूको क्षमताको मूल्यांकन अहिलेदेखि नै गरिन्छ। पाँच वर्षको अवधि उनीहरूको हातमा छ तर पाँच दिनमै उनीहरूको क्षमताको लेखाजोखा गरेर भ्याइसके जान्नेसुन्नेहरूले। स्थापित दलहरूले पनि महिला नेतृको क्षमता, उनीहरूले संसदीय चुनाव जित्न सक्ने कुरामा विश्वस्त हुन नसकेकै कारण धेरै स्थानमा महिलालाई टिकट दिइएन। जहाँ महिलाले टिकट पाए, त्यहाँ महिलाले राम्रै मत ल्याएर विजयी भए। सबै क्षेत्र सुधार्ने राजनीतिमै वर्षौँदेखि लडेका, खारिएका महिला नेतृको क्षमतामा प्रश्नचिह्न उठाइन्छ।  

हरेक क्षेत्रमा महिलाको क्षमतामाथि संशय खडा गरिन्छ, गरिन्थ्यो र गरिरहिन्छ। कतिपय जिल्लाको सिंगो बागडोर सम्हालेका छन् महिलाले। चुनावताका सुनिन्थ्यो, महिला सिडियो छन्, ती जिल्लाको च्ुनाव कसरी सम्पन्न होला र खै ? कसरी शान्तिसुरक्षा कायम गराउलान् महिलाले ? महिलालाई कसले टेर्छ ? यस्तै यस्तै... काम महिला वा पुरुषले गर्ने होइन, उसको विवेक र क्षमताले गर्ने हो नि होइन र ? सुखद कुरा के हो भने कतिपय जिल्लामा सम्पूर्ण कर्मचारी महिला मात्रैले शान्तिपूर्णतवरले चुनाव सम्पन्न गराएर देखाए।  

महिलालाई लैंगिकरूपमा होइन, उनीहरूको विवेक र क्षमतालाई सही मूल्यांकन कसरी गर्ने ? कहिले गर्ने ? अझ कतिपय कार्यालयमा प्रमुख भएका महिलाहरूलाई नै सेवाग्राही प्रश्न गर्छन्– ए नानी, हाकिम साब हुनुहुन्न ? भनेर। आमसेवाग्राहीलाइ पनि विश्वास छैन कि यत्रो कार्यालयको प्रमुख महिला हुन्छन्, हाकिम महिला हुन्छन् भन्ने कुरा। यो संशयको अन्त्य कसरी गर्ने ? कहिले गर्ने ? कसले गर्ने ? किन गर्ने ? यी प्रश्नको जवाफ पत्ता लागेपछि महिलाको क्षमतामाथिको संशय पनि दूर भएर जान्छ। महिला आमा, श्रीमती, बुहारी मात्रै होइनन्, सफल कर्मचारी, सफल व्यापारी, उद्यमी, राजनीतिज्ञ जो पनि बन्न सक्छन्, उनीहरूले काम गर्न सक्छन्, केवल उनीहरूको क्षमता र आँटमा विश्वस्त हुन सिकौँ, विश्वस्त हुन सकौँ। महिलाको क्षमतामा प्र्रश्नचिह्न उठाउने होइन, उनीहरूको कार्यक्षमता हेरेर पूर्णविराम लगाउनतिर सोचौँ। अवसर पाए महिलाले जस्तोसुकै चुनौती पनि बहन गर्न सक्छन्।

प्रकाशित: १ पुस २०७९ ००:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App