बालबालिकाको कलेजो सिध्याउने दिवाखाजा
१७ माघ २०७९
•
५ मिनेट पाठ
बालबालिकाको कलेजो सिध्याउने दिवाखाजा
शिक्षा मन्त्रालयले धूमधामसँग प्रचारप्रसार गर्छ–हामीले विद्यार्थीलाई छ कक्षासम्म दिवाखाजा दिएका छौँ, सरकारी विद्यालयमा। यसले गर्दा विद्यार्थी भोकै बस्नु पर्दैन। उनीहरूको पोषणको अवस्था राम्रो हुन्छ।




१५ रूपैयाँ दिवाखाजाका लागि प्रत्येक विद्यार्थीका नाममा पैसा दिएर सरकारले गर्व गर्दा बिस्र्यो कि अहिलेकै १५ रूपैयाँले आधा कप चिया मात्र आउँछ। आधा कप चिया दिवा खाजा दिएर पोषण राम्रो भयो भने स्वास्थ्य, शिक्षामन्त्री र त्यस मन्त्रालयका कर्मचारीको वैज्ञानिक अनुसन्धान गरेरै भनेका होलान्। म नतमस्तक छु। तर शिक्षा मन्त्रालयका कुन कर्मचारी, मन्त्री, सचिवका छोराछोरी, नातिनातिना, भतिजाभतिजी, भदैभदाहाले १५ रूपैयाँमा दिवाखाजा खान्छन् होला ? यो प्रश्न मैले विभिन्न ठाउँमा गरेकी छु। कतैबाट उत्तर आएको छैन।

केही दिनअघि मलाई भक्तपुरको एक किताब प्रदर्शनीमा स्वास्थ्य र भोजनबारे बोल्न आग्रह गरिएको थियो। त्यहाँ मैलै कसरी हाम्रो भोजनले शारीरिक र मानासिक स्वास्थ्यमा असर पर्छ भनेरै वैज्ञानिकले गरेका अनुसन्धानबारे बोलेकी थिएँ। साथै मैले नेपाली बालबालिकामा हुने कुपोषण र त्यसका कारणबारे पनि छलफल गरेकी थिएँ। त्यहाँ मैले कसरी पत्रु खानाले बालबालिकाको हाड, मुटु, मस्तिष्कलाई खराब गर्छ र भविष्यमा अनेक समस्या गराएर देश विकासमा अवरोध गर्छ भनेकी थिएँ। त्यहीबेला मैले सरकारले धाक लगाएर हामीले स्कुलका विद्यार्थीलाई दिवाखाजा दिने भनेर स्कुलमा प्रतिविद्यार्थी १५ रूपैयाँ दिएको छ तर स्कुलका शिक्षकले के दिन्छन् भनेर अनुगमन छैन पनि भनेकी थिएँ।

त्यो १५ रूपैयाँले केही नआउने हुनाले स्कुल व्यवस्थापनले पत्रु खाना बिस्कुट दिन्छ र बच्चालाई बिरामी बनाउँछ। पत्रु खानामा भएको ढुसीले बच्चाको कलेजो नष्ट पार्छ र वयस्क नहुँदै कति मर्छन्, कति बिरामी पर्छन्, कति मधुमेह र कति उच्च रक्तचापको सिकार बन्छन्। अनि स्वास्थ्य मन्त्रालयले उनीहरूको उपचारमा धेरै खर्च गर्छ भन्ने बताएँ।  

यस विषयमा केहीबेरको छलफलपछि भक्तपुरको एक स्कुलका शिक्षकले भने– तपाईँको कुरा सुनेर म त अपराधी हुँ जस्तो लाग्यो। म पनि मेरो सरकारी स्कुलमा बच्चालाई कहिले बिस्कुट, कहिले चाउचाउ दिन्छु। सरकारले १५ रूपैयाँ त दिन्छ तर खाना पकाउने भाँडा, मान्छे केहीका लागि पनि पैसा दिँदैन। स्कुलसँग मान्छे राख्ने पैसा छैन अनि विवश भएर हामीले बजारबाट १५ रूपैयाँमा विद्यार्थीलाई दिने खाजा त चाउचाउको पोको नै हो। त्यो खराब वस्तु हो। यसले स्वास्थ्यमा हानि पुर्‍याउँछ भन्ने त थाहा थियो। तर मुटु, कलेजो, मस्तिष्कमा दीर्घकालीन असर पर्ने कुराचाहिँ अवगत थिएन। लौ न मैले भोलिदेखि के गर्ने होला ?  

संवेदनशील शिक्षक भएको हुनाले उनलाई अपराधबोध भएको रहेछ तर के गरुन् उनी र उनी जस्ता हजारौँ शिक्षक जसलाई पत्रु खाना दिनुहुन्न भन्ने जान्दाजान्दै शिक्षा मन्त्रालयले ‘खाए खा नखाए घिच’ भनेर १५ रूपैयाँ विद्यार्थीको दिवाखाजाका रूपमा दिन्छ।  

शिक्षा मन्त्रालय भन्छ होला यो सरकारी स्कुलमा पढ्न आउने विद्यार्थीको गरिबी पूर्वजन्मको फल हो। उनीहरू गरिबीमै जन्मे, ग्रामीण आमा-बाले निजी स्कुलमा पढाउन सकेनन् त यसमा सरकारको के दोष ? हो भने त ती ग्रामीण बच्चाहरू वयस्क भएर अनेक शारीरिक, मानसिक समस्या भएर औषधोपचार नपाएर भौतारिएलान्, कतै भिरबाट खसेर मर्लान् वा मानसिक समस्या भएपछि आफैँ आत्महत्या गर्लान्। कसले भन्न सक्छ ? यसमा शिक्षा मन्त्रालयको कुनै दोष छैन। मानसिक रोग त स्वास्थ्य मन्त्रालयले हेर्नेछ भनेर शिक्षा मन्त्रालयका कर्मचारीले भन्लान्।

म जुनसुकै जिल्लामा जे काममा गए पनि त्यहाँको एक दुइवटा स्कुल त जान्छु नै। त्यहाँ मैले विधार्थीले के पढ्छन्, कस्तो पढ्छन् भनेर सोध्ने काम गर्दिन। किनभने ९० प्रतिशत सामुदायिक विद्यालयमा स्तरहीन पढाइ हुन्छ भन्ने थाहा छ। हलेदो भनेपछि किन कोट्याउनु पर्‍यो र ? भन्ने लाग्छ

म सामुदायिक स्कुलमा पढ्दाको अवस्था र अहिलेको सामुदायिक स्कुलको अवस्थामा आकाश–जमिनको फरक छ भन्ने पनि थाहा छ। त्यसैले म सबै ठाउँमा सोध्ने गर्छु– दिवाखाजाको पैसाले विद्यार्थीलाई के खान दिनुहुन्छ ? प्रायः शिक्षकको उत्तर आउँछ– के दिनु नि, उही तयारी चाउचाउ र बिस्कुटबाहेक। अर्थमन्त्री, मन्त्रालय, शिक्षामन्त्री मन्त्रालयले आफ्ना सन्तानलाई कुहिएको बिस्कुट र कुहिएको चाउचाउ दिएर १५ रूपैयाँमा गर्व गर्लान् ? मेरा मन्त्रालयकाले त १५ रूपैयाँमा खाजा खान्छन् भनेर ?

“गरिबहरूले घरमा राम्रोसँग खान पाउँदैनन्। चाउचाउ त खाउन् नि” भनेर शिक्षा मन्त्रालयले शायद अघोषित नीति बनाएको छ। उसै त कुपोषित बालबालिका झन यस्तो पत्रु खाना ‘दिवाखाजा’ खाएर जब उनीहरूको पेट दुख्छ, स्वास्थ्यचौकी लैजाँदा पेट दुख्न कम हुने औषधि पाएर फर्कन्छ। केही दिनपछि अशक्त भएर स्वास्थ्यचौकी वा अस्पताल लैजाँदा मृत्यु भएपछि कसैले वास्ता गर्दैनन्।

मृत्यु र रोग त स्वास्थ्य मन्त्रलायको जिम्मा हो भनेर शिक्षा मन्त्रालयले ‘१५ रूपैयाँको खाजा खाउ, खुसी भएर दाँत देखाऊ’ को नीति लिएको छ।  

उसलाई सरकारी स्कुलमा पीडा शिक्षकहरूको अपराधबोध र बालबालिकाको स्वास्थ्यसँग कुनै सरोकार छैन। शिक्षा मन्त्रालयका कर्मचारी र नेताहरू के तपाईँले आफ्ना छोराछोरीलाई “लौ नानी मसँग १५ रूपैयाँ छ। स्कुलमा खाजा खाउ है” भनेर दिनुहुन्छ ? वा घरमा “रु. १५ को खाजा बनाएर पुग्छ” भनेर भन्नुहुन्छ ? वा तपाईँ आफैँले रु. १५ को के ख्वाउन सकिन्छ भनेर स्कुलमा हेर्नुभएको छ ?

शिक्षा मन्त्रालयमा मन्त्री त आउँछन्-जान्छन्। तर केही कर्मचारी र सचिव, उपसचिव त शिक्षा मन्त्रालयमा लामो समयसम्म काम गरेका होलान्। के उनीहरूले कहिल्यै “१५ रूपैयाँको के खाजा आउँछ” भनेर सोचे होलान् ?

अर्थमन्त्रीले बजेट भाषण गर्दा “रु. १५ प्रतिविद्यार्थी खाजा” दिने भनेर भाषण पढ्दा के अर्थमन्त्रीले बझाङ र बाजुराका कुपोषित बालबालिकामाथि विचार गरे होलान् ? “रु. १५ को” दिवाखाजा दिएर शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा तिमीहरू गरिब छौँ, तिमीहरूको हैसियत १५ रूपैयाँको खाजा (आधा कप चिया र एक खिल्ली चुरोट) बराबर छ। चूपचाप लागेर हामीले दया गरेर दिएको खाजा खाऊ, रमाऊ, भाग्यमा भए बाँच, नभए चितामा जाउ भनेको हो ?  

सुन्दा र पढ्दा अप्रिय लाग्ने यी शब्दले स्कुल व्यवस्थापन, शिक्षा मन्त्रालय अनि अर्थ मन्त्रालयलाई अपराधबोध भएर लौ न के गर्ने होला हाम्रा बालबालिका त खत्तम हुने भए भनी जागरुक गराउन सके राम्रै होला।
अर्को समाचार
दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत
२९ भदौ २०८०
•
७ मिनेट पाठ
दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत
काठमाडौंको कालिमाटीकी पविता श्रेष्ठ आफ्ना नानीबाबु ‘जंकफुड’को लतमा पर्दा निकै चिन्तित थिइन्। छोराछोरीमा जंकफुडको बानी कसरी छुटाउने होला भनेर उनी अत्तालिएकी थिइन्। स्कुल जानेबेला छोराछोरी चाउचाउ, चिप्स, चकलेट, बिस्कुट लान ढिपी गर्थे। छोरा आयुषलाई चिप्स नभई हुन्नथ्यो भने छोरी आयुष्मा पनि चाउचाउ नकिनिदिएसम्म स्कुलै जान मान्दिनथिन्। तर अहिले आयुषा र आयुष्मामा जंकफुडको लत छुटेको छ। कालीमाटीस्थित नीलबाराही माध्यमिक विद्यालयले विद्यार्थीलाई दिवाखाजा दिन थालेपछि बिस्तारै उनीहरू ‘जंकफुड’को लतबाट बाहिर निस्किएका हुन्। आयुष सोही विद्यालयको कक्षा ४ र आयुष्मा कक्षा ३ मा पढ्छन्।




विद्यालयमा उपलब्ध स्वस्थकर र पोसिलो खाजाका कारण छोराछोरीमा जंकफुडको लत छुटेको हुँदा पवितालाई ठुलो सन्तोष मिलेको छ। ‘घरमा पकाएको खानेकुरा खानै नमान्ने मेरा बच्चाहरू अहिले स्कुलमा खाजा दिन थालेपछि साथीभाइको संगतमा रमाएर पकाएको खाना खान सिकेका छन्,’ उनले भनिन्, ‘स्कुलको दिवाखाजामा अन्डा, फलफूल, हलुवा, पुरी, तरकारी, जाउलो, समोसालगायत परिकार दिइने रहेछ। छोराछोरीले जंकफुड चटक्कै छाडेको देख्दा मनै फुरुंग भएको छ। पोसिलो र स्वस्थकर खाजा खान पाइने भएपछि खानेकुरा केही नबोकी छोराछोरी खुसी भएर स्कुल जान्छन्। त्यस्तो नभएको भए चाउचाउ, चिप्स नकिनी सुखै पाइन्नथ्यो।’ घरायसी काम गर्दै आएकी पविताले विद्यालयले उपलब्ध गराएको खाजाका कारण छोरा आयुष र छोरी आयुष्माले जंकफुड खान छाडेको सुनाइन्।

विद्यालयमा सरकार र स्थानीय तहको सहकार्यमा पछिल्लो समय दिवाखाजा उपलब्ध गराउने व्यवस्थाले कामकाजी अभिभावकलाई आफ्ना बच्चालाई स्कुलमा के खाजा पठाउने भन्ने चिन्ताबाट मुक्त बनाइदिएको छ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका अभिभावक राजेन्द्रप्रसाद कँडेलका अनुसार आमाबुवा दुवै कामकाजी हुँदा बच्चालाई खाजाका रूपमा जंकफुड पठाउनुपर्ने बाध्यता थियो। तर विद्यालयले उलब्ध गराउने खाजाकै कारण आफ्ना छोरामा जंकफुड खाने बानी छुटेको भन्दै उनले खुसी साटे। छोरा अजित कँडेल कक्षा ६ देखि विश्वनिकेतनमा पढ्न थालेका हुन्। उनी अहिले कक्षा १० मा पुगेका छन्।

‘विगतमा मैले छोरालाई खाजाका लागि पैसा दिन्थें। उसले मन लागेको बजारु खाजा किनेर खान्थ्यो। स्कुलले पोसिलो खानेकुरा पकाएर दिन थालेपछि अहिले छोरा अजित जंकफुड खानुपर्ने बाध्यताबाट बचेका छन्,’ राजेन्द्रले भने, ‘अहिले बाबुले जंकफुड रुचाउँदैन पनि। साथीसँगै बसेर खाजा खाने स्कुलको बानीले अब घरमा पनि परिवारसँगै बाने खाने बानी परेको देख्दा म हर्षित छु। दिवाखाजा कार्यक्रमले सँगै बसेर मिलीजुली खाने संस्कारसमेत सिकाएको अनुभव हुन थालेको छ।’

डिल्लीराम पौडेल पेसाले शिक्षक हुन्। कीर्तिपुरका स्थायी बासिन्दा उनले छोरी अदिती पौडेललाई विश्वनिकेतन माविमा पढाएका छन्। खाजा कार्यक्रमले विद्यार्थी उत्साहित भएर विद्यालय गएको र अभिभावकलाई समेत आर्थिक भार कम भएको आभास भएको उनी सुनाउँछन्। अदिती कक्षा ९ मा पढ्छिन्। ‘स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा १० सम्मका बालबालिकालाई खाजा दिन थालेपछि अभिभावकमा आर्थिक बोझ कम भएको छ,’ शिक्षक पौडेलले भने, ‘साताभरिको तालिका नै बनाएर दिइने पोसिलो खानेकुराका कारण मेरी छोरीको स्वास्थ्य पनि राम्रो भएको छ। अब प्याकेटको खानेकुरा खान उनी रुचाउँदिनन्।’ उनले सरकारले ल्याएको खाजा कार्यक्रमले बालबलिका विद्यालय जान हौसिने गरेको सुनाए। खाजा कार्यक्रमले आमाबुवाले ढुक्क भएर कामकाजमा पनि लाग्न पाएका छन्। ‘उनी आफू पनि शिक्षक भएकाले जनताकै करबाट चलेका सरकारी स्कुलमै बच्चा पढाउन रुचाएको समेत सुनाए।

सरकारले गत वर्षसम्म कक्षा ६ सम्मको बालबालिकाका लागि मात्र खाजा कार्यक्रम राख्दै आएको थियो। उक्त कार्यक्रमले गर्दा सार्वजनिक शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीले कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिएकाले सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरेको हो। ३२ लाख विद्यार्थीको खाजाका लागि सरकारले ८ अर्ब ४५ करोड रकम छुट्याएको छ। 

तर खाजाको रकम अपुग भएको भन्दै धेरै पालिकाले कार्यक्रम सञ्चाल गर्न नसकेको बताइरहेका बेला काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित केन्द्र सरकारको रकममा आफ्नो बजेट थपेर कक्षा १० सम्मका बालबालिकालाई विद्यालयभित्रै निःशुल्क दिवाखाजा पकाएर दिने प्रबन्ध मिलाएको छ। यसले महानगरभित्रका ८९ सार्वजनिक विद्यालयका कुल ४५ हजार विद्यार्थी लाभान्वित भएका छन्। नानीबाबुलाई खाजाकै लागि व्यवस्थापनको चिन्तामा दिनहुँ पिल्सिनुपर्ने अभिभावकमा आर्थिक बोझ पनि कम भएको छ।

स्वस्थ दिमागले बालबलिकामा पढेको विषयवस्तु छिटो सिक्ने र लामो समयसम्म सम्झिन सक्ने क्षमता बलियो भएको नीलबाराही स्कुलकी प्रधानाध्यापक डा. जानुका नेपाल बताउँछिन्। उनको स्कुलमा हाल कक्षा १० सम्म ७५० विद्यार्थी अध्ययनरत छन्। उनका अनुसार विद्यालयमा खाजाको व्यवस्था नहुँदा अभिभावकले चाउचाउ, बिस्कुट, भुजिया, चिप्सलगायत प्याकेटका जंकफुड नै बढी पठाउने गरेका थिए। तर हाल स्कुलमा अनिवार्य कक्षा १० सम्म महानगरपालिकाले दिवाखाजाको व्यवस्था गरेपछि जंकफुडले स्कुलभित्र प्रवेश गर्न स्वतः बन्द भएको छ।

‘संघीय सरकारले प्रतिविद्यार्थी १५ रूपैयाँका दरले खाजा रकम वितरण गरेको थियो। यति रकमले विद्यालयमा खाजा पकाएर खुवाउन मुस्किल परेको थियो,’ प्रअ नेपालले भनिन्, ‘तर महानगरपालिकाले यसमा पनि १० रूपैयाँ थपेर २५ रूपैयाँ पुर्‍याएपछि बालबालिकालाई दिवाखाजा पुगेको छ। भदौदेखि कक्षा १० सम्मका लागि दिवाखाजाको व्यवस्था गरेर महानगरले प्रतिविद्यार्थी ३० रूपैयाँ दिने छुट्टै व्यवस्था गरिदिएको छ। अब सार्वजनिक विद्यालयमा बालबालिका भोको पेटमा पढ्नसपर्ने अवस्था छैन। स्वस्थकर खाजाले बालबालिकाको स्वास्थ्य र मस्तिष्क स्वस्थ बनाउँदै गएको महसुस भएको छ। रमाएर खुसी भएर बालबालिका नियमित कक्षा आउने गरेका छन्।’

महानगरले विद्यालयमा कक्षा १० सम्म अनिवार्य रूपमा विद्यालयमै साप्ताहिक रूपमा तालिकाअनुसार पकाएर पोसिलो दिवाखाजा खुवाउने व्यवस्थाले विद्यालयहरूले साप्ताहिक रूपमा तालिका नै बनाएर दिवाखाजा खुवाउन थालेका छन्। दिवाखाजा कार्यक्रमले विद्यार्थीहरू कक्षाकोठामा नियमित हुन थालेको बौद्धमा रहेको जनकल्याण माविका प्रअ कुमारी कमला राईले बताइन्। हाल यो विद्यालयमा बालकक्षादेखि कक्षा १० सम्म १४ सय विद्यार्थी अध्ययनरत छन्। ‘हाम्रा विद्यालयमा १४ सय विद्यार्थी एकसाथ एकैखाले खाजा ख्वाउँछन्। यसले बालबालिकाबिचको विभेद दूर गरेको छ भने मिलेर खाने राम्रा बानीको विकास भएको छ,’ प्रअ राईले भनिन्, ‘स्कुलमा साप्ताहिक रूपमै खाजाको तालिका तयार छ। त्यहीअनुसार पोसिलो र स्वस्थकर खाजा तयार हुन्छ। कक्षा छाड्ने दर शून्य छ अहिले। बालबालिका खुसी भएर विद्यालय आउँछन्।’

विश्वनिकेतन माविका प्रअ हेरम्बराज कँडेलले विद्यालयभित्र दिवाखाजा कार्यक्रमले बालबालिकाको कक्षाकोठाभित्रको शिक्षण सिकाइमा सुधार भएको बताए। उनका स्कुलमा १ हजार ७०० विद्यार्थीले दिवाखाजा खाने गरेका छन्। ‘गरिब दुखीको विद्यालय सार्वजनिक विद्यालय हो। ज्यालामजदुरी गर्ने अभिभावकका नानीबाबु नै हाम्रा विद्यालयमा अध्ययन गर्छन्,’ प्रअ कँडेलले नागरिकसँग भने, ‘गरिब, हुने र नहुने सबै विद्यार्थी एकैसाथ बसेर खाजा खान्छन्। यसले वास्तविक रूपमा समाजवाद शिक्षाको सुरुवात भएको छ। प्रअको संयोजकमा खाजा व्यवस्थापन समितिले खाजाको अनुगमन गरेर मात्र खाजा खुवाउने व्यवस्थाले स्वास्थ्यकर खाजा बालबालिकाले पाएका छन्। यसले समग्र शिक्षण सिकाइमा नै सुधार भएको छ।’ यस स्कुलमा कार्यरत ९० प्रतिशत शिक्षकका बालबालिका विश्वनिकेतनमै अध्ययनरत छन्।  

महानगरपालिकाका अधिकृत मोती भट्टराईका अनुसार महानगरले नगरपालिकाभित्रका ८९ सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित नै कक्षा १० सम्म दिवाखाजाको व्यवस्थापन गरेको हो। यसका लागि महानगरले यस वर्ष ९ करोड रकम छुटाएको उनको भनाइ छ। ‘काठमाडौं महानगरभित्रका बालबालिका भर्ना हुने तर हराउने दर बढी थियो। महानगरले खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएपछि विशेष गरी तराई मूलका बालबालिका हराउने कम भएको छ भने कक्षामा टिक्ने संख्या बढेको छ,’ अधिकृत भट्टराईले भने, ‘दैनिक ज्यालादारीमा काम गर्ने अभिभावकका नानीबाबु अब ढुक्कसँग पोसिलो खाजा खाएर पढ्न पाउने अवस्था बन्यो। मुख्य रूपमा बालबालिकाले खाने गरेका हानिकारक जंकफुड न्यूनीकरण हुन्छ।’ यति मात्र होइन महानगरले एसइईको नतिजा राम्रो पार्न परीक्षाअगावै तीन महिनाका लागि गणित, अंग्रेजी र विज्ञानमा थप शिक्षको व्यवस्था गरेको थियो। यसले सार्वजनिक शिक्षाको नतिजामा समेत सुधार भएको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस