अमेरिकीको ‘स्याओ होंग सु विद्रोह’
१० माघ २०८१
•
७ मिनेट पाठ
अमेरिकीको ‘स्याओ होंग सु विद्रोह’
केही दिनयता विशेषतः चिनियाँ र अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताबीच ज्यादै लोकप्रिय बनेको शब्दावली हो, टिकटक रेफ्युजी अर्थात् टिकटक शरणार्थी। अमेरिकी सर्वोच्च अदालतले  जनवरी १९ सम्ममा बाइटडान्स कम्पनीले टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री नगरे टिकटकमाथि प्रतिबन्ध लगाउने फैसला गरेपछि करोडौं अमेरिकी टिकटक प्रयोगकर्ताहरू यसअघि चीनमा मात्र सीमित रहेको स्याओ होंग सु (सानो रातो पुस्तक) नामको चिनियाँ सामाजिक सञ्जालमा ओइरिए।




टिकटकमाथि अमेरिकीले प्रतिबन्धको अस्त्र प्रयोग गर्ने भएपछि शरणका लागि स्याओ होंग सुमा आएका टिकटक प्रयोगकर्ताले आफूलाई टिकटक शरणार्थी भनी परिचय दिने गरेका छन्। प्रयोगकर्ताहरूले यसबीच स्याओ होंग सुको अंग्रेजी न्वारनसमेत गरिसकेका छन्, रेडनोट।

यसअघि स्याओ होंग सुमा लगभग शतप्रतिशत चिनियाँ भाषाका श्रव्यदृश्य सामग्री मात्र हुन्थे। त्यसकारण प्रयोगकर्ताहरू पनि चिनियाँ, चिनियाँ भाषा जानेका विदेशी र विदेशमा बसेका चिनियाँ मात्र हुन्थे। तर, अहिले स्याओ होंग सुमा एक प्रकारको कुम्भमेला लागेको छ। लाखौं संख्यामा अमेरिकी प्रयोगकर्ताहरूले थरीथरीका लघु श्रव्यदृश्य त्यहाँ पोस्ट् गर्दा स्याओ होंग सुको परिधि केही दिनमै चिनियाँ भाषा र चिनियाँ प्रयोगकर्ताभन्दा निकै फराकिलो बनेको हो।

चिनियाँ भाषा जानेका अमेरिकी प्रयोगकर्ताहरूले चिनियाँ भाषामै, कनीकुथी चिनियाँ बोल्न जान्नेले जसोतसो चिनियाँ भाषा बोलेर, चिनियाँ भाषा नजानेकाले कृत्रिम बौद्धिकता (एआई) कै सहारामा भए पनि अंग्रेजीबाट आफ्नो परिचय चिनियाँ भाषामा अनुवाद गरेर अनि धेरैले अंग्रेजी भाषामै पनि बोलेर स्याओ होंग सुमा उपस्थिति देखाएका छन्।

चिनियाँ परिवेशमा मात्र रमाइरहेका स्याओ होंग सुका चिनियाँ प्रयोगकर्ताहरू पनि अनेक कलेवरका यस्ता श्रव्यदृश्य देखेर रोमाञ्चित छन्। अंग्रेजी राम्रो बोल्ने चिनियाँहरू अंग्रेजीमै अमेरिकी प्रयोगकर्ताहरूसँग संवाद गरिरहेका छन्, अंग्रेजी भाषा जसोतसो बोल्ने चिनियाँहरू पनि अमेरिकीहरूलाई अंग्रेजी सिकाइ मागिरहेका छन् । धेरै चिनियाँ कतिपय अमेरिकीहरूले आफ्नो भाषा स्पष्ट बोलेको सुन्दा मख्ख छन्। दुई देशका प्रयोगकर्ताहरू आपसमा चिनियाँ भाषामै पनि संवाद  गरिरहेका छन्।

चीनका केही टिप्पणीकार स्याओ होंग सुमा अहिले अमेरिकी र चिनियाँबीच भइरहेको अन्तरक्रियालाई इतिहासमै दुई देशका जनताबीच सबैभन्दा व्यापक तहमा भएको अन्तरक्रिया बताइरहेका छन्।

स्याओ होंग सु प्रयोग गर्न थालेको केही घण्टामा दसौं हजार चिनियाँ प्रयोगकर्ताले पछ्याउनुलाई अमेरिकी प्रयोगकर्ताहरूले आफूप्रति चिनियाँ हार्दिकताका रूपमा लिएका छन्। हामी बाँचिरहेको युगको सबैभन्दा प्रभावशाली सञ्चारमाध्यम सामाजिक सञ्जालमा संसारका दुई शक्तिशाली देशका जनताबीच भएको यो अन्तरक्रियाको प्रभाव केही दिनको रमाइलोमा मात्र सीमित नरहला।

अमेरिकी सरकारले धेरै अघिदेखि नै टिकटकमा चिनियाँ लगानी भएको र त्यसमार्फत् अमेरिकी सूचना र तथ्यांक (डेटा) चीन पुगेको भन्दै प्रतिबन्ध लगाउन खोजिरहेको थियो। तर, चीनको सांघाईमा मुख्यालय रहेको एवं पूर्णतः चिनियाँ लगानी र प्रकृतिको स्याओ होंग सुमा एकाएक स्वस्फुर्त करोडौं अमेरिकी टिकटक प्रयोगकर्ता ओइरहनुलाई टिकटकमाथि प्रतिबन्ध लगाउने उसको नीतिप्रति जनताको विरोध मान्नुपर्छ। टिकटक प्रयोगकर्ताहरूको यो विद्रोहले अमेरिकी सरकार ‘तावामाथिको माछो भुंग्रोमा’ भनेजस्तै भएको छ।

करोडौं मानिस यसरी प्रत्यक्ष चिनियाँ लगानीमा सञ्चालित अर्को सामाजिक सञ्जालको शरणमा पुग्नु अमेरिकी सरकारको निम्ति निल्नु न ओकल्नु भएको छ। अमेरिकी प्रयोगकर्ताहरूका निम्ति टिकटक मनोरञ्जनको माध्यम मात्र होइन, धेरै अमेरिकी जनताले यसलाई व्यापार प्रवर्धनको माध्यमसमेत बनाउँदै आएका छन्।

अमेरिकाका धेरै स्थानीय ससाना व्यापार व्यवसायको प्रवर्धनसँग टिकटक प्रत्यक्ष जोडिएको छ। त्यही भएर प्रतिबन्ध लगाउने अमेरिकी सरकारका यसअघिका प्रयास पटक पटक विफल हुँदै आएको थियो। अहिले सर्वोच्च अदालतले नै प्रतिबन्धको औजार प्रयोग गरे पछि भने टिकटक प्रयोगकर्ताहरू शरणार्थी बनेका हुन्।

अमेरिकी अधिकारीहरूले टिकटकमाथि सधैं चिनियाँ बिल्ला भिराउने गर्दै आएका छन्। तर, टिकटक आफैंले भने चीन सरकारसँग उसको कुनै सम्बन्ध नभएको स्पष्टीकरण दिँदैआएको छ। टिकटकका सिइओलाई अमेरिकी संसदीय सुनुवाइ समितिमा बोलाएर यस विषयमा स्पष्टीकरण पनि लिइएको थियो। तर, टिकटकका सिइओले चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारसँग टिकटकको कुनै सम्बन्ध नभएको बताएका थिए।

बाहिर यस्ता आरोप लगाए पनि खासमा अमेरिकी प्रशासकहरूको स्वार्थ भने अमेरिकीहरूबीच निकै लोकप्रिय टिकटक अमेरिकी व्यापारीकै स्वामित्वमा जाओस् भन्ने हो। बाइटडान्सले तत्काल त्यसो गर्न नमानेपछि अहिले प्रतिबन्धको प्रयास भइरहेको हो।

करोडौंको संख्यामा अमेरिकीहरू स्याओ होंग सुुको शरणमा जानुले आगामी दिनमा के कसो प्रभाव पार्ला त ? प्रथमतः सामाजिक सञ्जालमा आउने यस्ता उभार लामो समय टिक्छन् भन्ने छैन। कोभिडकालमा नेपालमै पनि क्लब हाउसले सामाजिक सञ्जाल प्रयोगकर्ताबीच ठुलै तरंग ल्याएको थियो। केही सामाजिक सञ्जाल एप तत्कालीन समयको आवश्यकता पूरा गरुन्जेल निकै लोकप्रिय भएर समयान्तरमा क्रमशः सुक्दै गएका छन्। प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसार आफूलाई नवीकरण गर्न नसक्ने सामाजिक सञ्जाल पनि स्मृतिमा थान्को लाग्दै जानु सामाजिक सञ्जालको बजारमा डार्बिनको सिद्धान्त लागु हुनु हो।

स्याओ होंग सुमा अहिले देखिएको उभार पनि त्यसकै सिलसिला हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। कदाचित टिकटकसँगको अलमल अमेरिकी सरकारले समीचीन व्यवस्थापन गरे अहिले अमेरिकी सरकारलाई रिस देखाउन स्याओ होंग सुमा हुरिएका प्रयोकर्ताहरू फेरि टिकटकमै फर्किन पनि सक्छन्। शरणार्थीहरू शरणमा आउँदा फर्किने आशाले नै आएका हुन्छन्। तर, सबै शरणार्थीहरूका त्यस्ता आशा भने पूरा हुँदैन।

तर, केही समयकै लागि मात्र भए पनि स्याओ होंग सुको कमाएको लोकप्रियता कोही धनाढ्यको लाभको निम्ति आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारी नीतिविरुद्ध अमेरिकी जनताको विद्रोह हो। उनीहरू कुनै पनि अवस्थामा आफ्नो अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्न तयार छैनन्। अर्कातिर सरकारी तहमा दुई देशबीच जस्तो सम्बन्ध भए पनि जनस्तरमा अमेरिकी र चिनियाँ जनता आपसमा हार्दिक सम्बन्ध राख्न इच्छुक रहेको यो घटनाले पुष्टि गरेको छ।

चीनविरुद्ध जस्तोसुकै प्रचारबाजी गरे पनि अमेरिकी जनता चीनसँग सिक्न उत्सुक छन् भने चिनियाँ पनि अमेरिकी जनतालाई हार्दिकतापूर्वक स्वागत गर्न तयार भएको यसले देखाएको छ। चिनियाँ जनता जसरी अमेरिकाबाट सिक्न चाहन्छन्, त्यसरी नै अमेरिकी जनता पनि चिनियाँ संस्कृति र सभ्यताबाट सिक्न चाहन्छन्। त्यसैले स्याओ होंग सुले प्रयोगकर्ताको माग र रुचिअनुसार आफ्ना विशेषतामा केही परिवर्तन गरी प्रयोगकर्तामैत्री बनाउने हो भने संसारभर चिनियाँ भाषा र संस्कृति प्रचार गर्ने यो सबभन्दा बलियो हतियार बन्नेछ। यसले संसारसँग चीनको सांस्कृतिक अन्तरक्रिया अझ व्यापक बनाउनेछ।

स्याओ होंग सुमा अमेरिकीहरूको शरणलाई सामाजिक सञ्जालको आजको युगमा जनविद्रोहको नयाँ उपायका रूपमा लिनुपर्छ। सामाजिक सञ्जालले पछिल्ला दुई दशकमा संसारको राजनीतिक उथलपुथल र अन्तर्राष्टिय सम्बन्धमा पारेको प्रभावलाई कसैले नकार्न सक्दैन।

अमेरिकामा चर्केका वाल स्ट्रिट आन्दोलन, ब्ल्याक लाइभ्स म्याटर्स आन्दोलन यसका पछिल्ला केही उदाहरण हुन्। स्याओ होंग सुमा ओइरिएका अमेरिकी शरणार्थीले फेरि पनि सामाजिक सञ्जाल सरकारी नीतिप्रति विपक्षमा मत अभिव्यक्त गर्ने आजको बलियो हतियार भएको पुष्टि गरेको छ। यसले राजनीतिक नेतृत्व, नीति निर्माता र समग्र राज्यलाई दबाब दिन सामाजिक सञ्जालको प्रयोगको नयाँ आयाम उजागर गरेको छ।

तथापि, सबै कुरा त्यति सरल र सहज पनि छैन। चीनसँग गोरु बेचेको साइनो भएको आरोपमा टिकटकमाथि प्रतिबन्धको डन्डा चलाउने अमेरिकी सरकारले प्रत्यक्ष चिनियाँ स्वामित्वको स्याओ होंग सुलाई कति दिन चल्न दिने हो ? के स्याओ होंग सु यो अन्तर्राष्ट्रिय शक्ति राजनीतिबाट जोगिएला ? विगतका अनुभव र दुई देशबीच आजको राजनीतिक सम्बन्धको आधारमा स्याओ होंग सुको अगाडिको यात्रा सरल हुने सम्भावना भने न्यून छ।

अमेरिकी प्रयोगकर्ताका सबै कलेवरका श्रव्यदृश्य चीनकै लागि पनि कतिको रुचीकर होला ? यसलाई चिनियाँ नेतृत्वले पनि सहजै स्विकार्ने अवस्था छ वा छैन ? यी प्रश्नका जवाफ तत्काल उति सकारात्मक भने छैनन्। त्यसकारण स्याओ होंग सुको आजको कुम्भमेला आजकै रूपमा धेरै दिन नरहला। तर, यसले नयाँ टम्प सरकारलाई केही महŒवपूर्ण सन्देश दिएको छ। पहिलो, अमेरिकी जनता चीनसँग वैमनस्यको सम्बन्ध राख्न चाहँदैनन्। बरु फराकिलो अन्तरक्रिया र आपसी सम्बन्ध बलियो बनाउन चाहन्छन्। कदाचित कुनै सीमित व्यक्तिको लाभका निम्ति सरकारले जनताको चाहनाविपरीत कदम चाले जनतासँग सरकारी निर्णय अवज्ञा गर्ने हजार बाटा छन्।

जे होस्, वसन्त पर्वको पूर्वसन्ध्यामा स्याओ होंग सुमा लागेको कुम्भमेला चिनियाँ प्रयोगकर्ताका लागि रमाइलो जात्रा भएको छ। दुई देशबीचको सम्बन्धमा यसले पार्ने प्रभाव भने आगामी दिनमा क्रमशः उजागर हुँदै जाला।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस