३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

काठमाडौँ उपत्यका सम्झिँदा रुन मन लाग्छ

विकासका लागि बाटोघाटो चाहिन्छ तर बाटोघाटो निर्माण गर्नु अगाडि त्यस वरपरको वातावरण, हरियाली, जग्गा जमिन, खुला क्षेत्र, कृषियोग्य जमिन, आदिको सुरक्षा र संरक्षणमा पनि ध्यान पु-याउनु जरुरी छ। काठमाडौँको पहिलो चक्रपथले यी क्षेत्रहरूमा के कति विसंगति ल्याई क्षति पु-याई सहरलाई नै कुरूप बनाइदिए त्यो सबैले देखेको र भोगेको कुरा नै हो।

जबदेखि बाहिरी चक्रपथको हल्ला चल्यो र त्यसको खाका बाहिर आयो, त्यस बखतदेखि फेरि उपत्यकाका तिनै सहरहरूमा बाहिरी चक्रपथले छोएका जग्गा जमिनहरूको भाउ बढ्ने त स्वाभाविकै भयो। त्यसका अलावा भू–माफियाहरूको चलखेल पनि बढ्न थाल्यो। केही वर्ष अघिसम्म खेती गरिएको जमिन पनि धमाधम बाँझो हुन थाल्यो। किनभने, भूमाफियाका दलालहरूले ती क्षेत्रहरूमा गई जग्गाको मोलमोलाई गर्न थाले र किसानहरूले पनि दुःख गरी खेती कहाँ गरिरहनु बरू केही महँगोमा बेची त्यही पैसाबाट अर्को व्यवसाय र बन्दव्यापार गरी बस्ने विचार गर्न थाले।

भर्खरै एउटा दैनिक पत्रिकाले उपत्यकाभित्र करिब ३५० भन्दा बढी प्लटिङ कम्पनीहरू छन् भनी एउटा विस्तृत समाचार सम्प्रेषित गरेको थियो। यी प्लटिङ कम्पनीहरूले भीर, पाखा, डाँडा, काँडा, चौर गौचर, खेत, बारी केही नभनी जतासुकै डोजर चलाई सम्याई प्लटिङ गरी बजारमा राख्न उपत्यकाभित्र धमाधम काम अगाडि बढाइरहेका छन्। मेरो आफ्नै कुरा गर्ने हो भने मेरो पनि केही सानातिना जग्गा भक्तपुरको नङखेल, झौखेल आदि ठाउँमा छन्। ती सबै जग्गाहरू भूमाफियाका दलालहरूले मलाई बिक्री गर्न प्रलोभन दिइरहेका छन्।

उपत्यकाभित्र स्वच्छ हावा पाउन नै मुस्किल छ। स्वच्छ हावामा सास फेर्न कहाँ जाने हो? खुला ठाउँ र हरियाली खै?

यसरी उपत्यकाभित्र खेतीयोग्य जमिन, वन, पाखा, चौर सबै हराउँदै छन् र यसले गर्दा उपत्यकाको वतावरण त प्रदूषित हुने भइहाल्यो तर यसबारे कसलाई के चासो? नगरपालिका, गाउँपालिका, मालपोत कार्यालय, नापी कार्यालय आदिका कर्मचारीहरूका साथै भूमाफिया र बिचौलियाहरू भने यसबाट मोटाउने स्वाभाविकै हो।

अब काठमाडौँ सहरको कुरा गरौँ। यहाँ शताब्दीयौँदेखि वातावरणलाई स्वच्छ र सुन्दर बनाई बसेका टुँडिखेल र छाउनीको अवस्था हेरौँ। टुँडिखेलको चार भागमा तीन भागमा त रत्नपार्क (त्यो जे भए पनि वातावरणको हिसाबले केही राम्रै छ भनौँ), खुला मञ्च पछाडिको बसपार्क, सैनिक मञ्च, नेपाली सेनाका ब्यान्क्वयत हलहरू, सानो खेलकुद स्टेडियम र अन्य नयाँ संरचनाहरूले ओगटिसकेका छन् । जनतालाई यसो बिहान बेलुकी स्वच्छ हावा खान, घुम्न जाने ठाउँ धमाधम खुम्चँदै केही रोपनीमा सीमित भइसकेको छ । केही वर्ष अघिसम्म मात्र टुँडिखेल वरपर ठूलठूला रुखबिरुवा थिए। ती सबै आज हराइसकेका छन्।

अब धरहराको कुरा गरौँ । केही दिन अघिमात्र सञ्चार माध्यमहरूले सम्प्रेषण गरेका नयाँ धरहराको बनौटबारे हेरौँ। धरहराको यो नयाँ संरचनाहरूले त्यहाँको वातावरणलाई के कस्तो असर पार्छ भन्ने कसैले अध्ययन र मूल्यांकन गरेको छ ? पुरानो धरहरालाई पुनःनिर्माण गरी वरपर पार्क बनाए पुग्ने थियो । तर पुरानो धरहरालाई भूकम्प स्मारकको स्वरूपमा राखी अर्को निकै अग्लो धरहराको निर्माण गर्नु के कति उपयुक्त होला, त्यो पनि विचारणीय कुरो छ । त्यो त भइहाल्यो, अर्कोतिर टुँडिखेलकै पूर्वतर्फ पुरानो बसपार्कमा पनि निकै अग्लो भ्युटावरको निर्माण कार्य धमाधम हुँदै छ । यसरी एकातिर निकै अग्लो धरहरा र अर्कोतिर निकै अग्लो भ्यू टावर टुँडिखेल वरपर नै किन चाहिएको हो?

छाउनीको त्यो विशाल हरियो चौर सैनिक संग्रहालय, सैनिक स्मारक, सैनिक अस्पताल र ब्यारेकहरूले ढाकिसकेको छ। आज छाउनीमा कतै एक रोपनीसम्मको पनि खुला चौर छैन। उपत्यकावासीहरूलाई खुला क्षेत्र र हरियालीबाट सरकारले नै वञ्चित गरेको छ।

मूल कुरा के भने धरहरा र नयाँ भ्यू टावर दुवै नेपालको मुटु काठमाडौँको पनि मुटु टुँडिखेलमा पर्छ । ती दुवै ठाउँ व्यापारिक महत्वका ठाउँ हुन् । ती ठाउँहरूमा जुनसुकै व्यापार प्रयोजनका निर्माण कार्यहरू भए तापनि त्यसबाट प्रशस्त लाभ हुने स्वतः सिद्ध छ । अर्को कुरा जुनसुकै ठूलठूला निर्माण कार्यमा पनि नेता, प्रशासक, व्यापारी, निर्माण व्यवसायी आदिलाई चासो हुने त भइहाल्यो । किनभने त्यहाँबाट तिनीहरू सबैले आर्थिक लाभको अपेक्षा गरेकै हुन्छ।

अब काठमाडौँको अर्को ठूलो खुला ठाउँ छाउनीको कुरा गरौँ । एक दशक अघिसम्म वरपरका टोलका युवकहरूले फुटबलको अभ्यास गर्ने चौर छाउनीमा अब कतै छैन । त्यही चौरमा ड्राइभिङ सिक्नेहरूको बिहानदेखि भीड लाग्थ्यो । त्यो पनि अब सम्भव भएन । छाउनीको त्यो विशाल हरियो चौरमा सैनिक संग्रहालय, सैनिक स्मारक, सैनिक अस्पताल र ब्यारेकहरूले ढाकिसकेका छन् । आज छाउनीमा कतै एक रोपनीसम्मको पनि खुला चौर छैन । यस्तै उपत्यकाभर यस्ता धेरै कुरा छन् जसले गर्दा उपत्यकावासीहरूलाई खुला क्षेत्र र हरियालीबाट सरकारले नै वञ्चित गरेको छ।

अब सहरभित्रको केही कुरा गरौँ । पूर्वमध्यकालदेखि नै हाम्रा सहरहरूमा चोक वास्तुकलामा घरहरू बनिन्थ्यो । चारैतिर घर, बीचमा ठूलो चोक हुन्थ्यो । यस्ता चोकहरू अझै पनि धेरै देखिन्छन् । तर व्यापारिक दृष्टिकोणले फाइदा हुने केही ठाउँहरूमा भने यस्ता चोकहरू धमाधम हराउन थालेका छन् । केही दशक अगाडि मात्र मखनको सुरज आर्केडले चारवटा चोक वरपरका घरहरू किनी ती सबै चोकहरूले ओगेटेको जमिनमा समेत निर्माण कार्य गरी ठूलो सपिङ मल बनाइएको थियो । सुनिन्छ, यसरी नै मखन टोलमा अन्य ठूल ठूला घरहरू पनि बनेका छन् र अन्य ठाउँहरूमा पनि बनिँदै छन् । यस विषयमा काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाहरू सबै सजग हुनुपर्ने हो । नत्र उपत्यकाका प्राचीन बस्तीहरूमा खुला सास फेर्ने ठाउँ कतै बाँकी रहँदैन । काठमाडौँमा मात्र होइन, यसरी चोक मास्ने कुचेष्टा पाटनमा पनि धमाधम बढ्दै छ । एउटा अध्ययनले पाटनभित्र मात्र यस्ता १ हजारभन्दा बढी चोक छन् भनी देखाइएको छ।

भर्खरै सुनिनमा आएको छ, सरकारले काठमाडौँको उत्तरी भागमा करिब दश हजार रोपनी जमिनमा हरियाली सहरी क्षेत्र स्थापना गर्न कारबाही अगाडि बढाइएको छ । टोखा, काभ्रेस्थली, महादेवखोला र बुढानिलकण्ठको आसपास क्षेत्रहरूमा हरियाली खुला क्षेत्र राख्ने अवधारणा राखी अध्ययन गर्न विशेषज्ञ परामर्श दाता कम्पनीहरूसँग प्रस्ताव मागेको छ । यदि यो कुरा साँचो हो भने यस्ता परियोजनाहरू ल्याउन ढिलो भए तापनि उपत्यकाका अन्य क्षेत्रहरूमा पनि यस्तै खालका परियोजनाहरू ल्याउनु जरुरी भइसकेको छ । जुन जुन क्षेत्रहरूमा यस्ता परियोजनाहरू ल्याउने सोच राखिएको छ, ती क्षेत्रहरूमा जग्गा प्लटिङ गर्ने, बेचबिखन गर्ने आदि जस्ता वातावरणलाई प्रतिकूल असर पर्ने काममा तुरुन्त रोक लगाउनु पर्छ।

सारांशमा भन्ने हो भने, काठमाडौँ उपत्यकाभित्र अब खुला ठाउँ नै छैन । उपत्यकाको सिमाना क्षेत्र र कुना काप्चाका केही ठाउँहरूमा बाँकी होलान् तर व्यापारिक प्रयोजनले लाभ हुने कुनै पनि ठाउँमा यस्ता खुला ठाउँ, हरियाली चौर, पार्क, खेतबारी, बगैँचा, पोखरी, ढुङ्गेधारा, स्मारक क्षेत्र आदिमा समेत अतिक्रमण भई धमाधम नयाँ संरचना र कंक्रिटका अग्ला अग्ला घर बन्न थालेका छन् । अब धेरै दिन टाढा छैन, यो उपत्यका कंक्रिटको उपत्यका हुन । यो क्रम अब केही वर्ष जारी भएमा यस उपत्यकाभित्र स्वच्छ हावा पाउन नै मुस्किल हुनेछ । यस्तो अवस्थामा उपत्यकावासीहरू स्वच्छ हावामा सास फेर्न कहाँ जाने हो?

प्रकाशित: १४ श्रावण २०७५ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App