राष्ट्रपति कि नयाँ राजा?
०९ कार्तिक २०६७
•
१५ मिनेट पाठ
राष्ट्रपति कि नयाँ राजा?
कुनै जमानामा हठात् राजा बनेका ज्ञानेन्द्र शाह राष्ट्रको दुर्गति र जनताको सास्ती देखेर निकै पिरोलिन्थे। उनका चिन्ता र पीर नेता र प्रधानमन्त्रीसँगको सरसल्लाहमा, सेनापति र विदेशी राजदूतसँगको परामर्शमा पोखिन्थे। अनि 'बोलिने र सुनिने राजा' हुन क्रममा उनको सक्रियता छचल्किन्थ्यो नागरिक अभिनन्दन, भाषणबाजी र अन्तर्वार्तामा। संवैधानिक राजा राजनीतिक महत्वाकांक्षा बोकर सक्रिय राजामा फेरिएपछि तानाशाही शासनका कारण राजतन्त्रै समाप्त भयो।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई पनि थपिएको म्यादमा संविधान लेख्न नथालिएकोमा, बाह्रबाह्र पटकसम्मको चुनावमा पनि प्रधानमन्त्री नछानिएकोमा, सरकारले बजेट प्रस्तुत गर्न नसकेकोमा चिन्ता लाग्न थालेको छ। त्यसैले उनी सक्रिय हुँदैछन्, दुःख, चिन्ता र आक्रोश बोकेर। राष्ट्रिय संकट समाधानमा आफ्नो भूमिका र अधिकार खोजी गर्दै उनी निरन्तर भेटघाट र परामर्शमा व्यस्त छन्। शीतल निवासमै बोलाएर राजनीतिक गतिरोधको निकास तत्काल नदिइए मुलुकको अवस्था दलहरूको नियन्त्रणबाहिर पुग्नसक्ने जोखिम बढ्दो छ नेताहरूलाई चेताउँदै छन्!




सरकार नबनेकोमा, राजनीतिक गतिरोधको निकास ननिस्केकोमा राष्ट्रपतिको चिन्ता जायज हो तर त्यो चिन्ता पोख्ने कहाँ, राजनीतिक नेताहरूले जस्तै सडकसडकमा? संविधान निर्माणमा ढिलाइ भएकोमा राष्ट्रपतिको पीडा र आक्रोश पनि न्यायोचितै हो तर पीडा र आक्रोश पोख्ने कहाँ, गद्दीच्युत् पूर्वराजा र पूर्वयुवराजले जस्तै धार्मिक कार्यक्रममा? धर्मनिरपेक्ष राष्ट्रका प्रमुखले पनि राजाहरूले जस्तै हिन्दू मठमन्दिरमा पूजाआजा गर्दै, सभासदका लागि भगवान्सँग सद्बुद्धि माग्दै हिँडेर संविधान बन्छ? सरकार, संविधान र बजेटको चिन्ताले सक्रिय भएका राष्ट्रपतिले विश्वविद्यालयका विद्यार्थीमाझ सभासद र दलहरूविरुद्ध आक्रोश पोख्दा राजनीतिक गतिरोधको निकास निस्कन्छ? यस्ता भाषणबाजी र सक्रियता संविधान र कानुनसम्मत छन् त? यी नैतिक प्रश्नमात्रै होइनन्, राजनीतिक र संवैधानिक सबाल पनि हुन्।

राजनीतिक गत्यावरोध जटिल हुँदै गएको बेला केही समयअघिदेखि राष्ट्रपति परामर्शसँगै सुझाव देनदेनमा सक्रिय भएका छन्। अन्तरिम संविधानअनुसार आलंकारिक हैसियतमा रहेका राष्ट्रपति खोपीका देउता होइनन्। उनलाई पनि बोल्ने अधिकार छ, परामर्श गर्ने र सुझाव लिनेदिने हक छ। यही हकअधिकार उपभोग गर्ने क्रममा, सरकार, संविधान र बजेटको चिन्ता र पिरलो बोक्दै राष्ट्रपति सघन परामर्शमा क्रियाशील भएका हुन्। उनी सक्रिय भएका छन्, राजनीतिक दलका नेताहरूदेखि संविधानसभाका अध्यक्ष र महान्यायाधिवक्तासँग भेटघाटमा, कानुनी र आर्थिक क्षेत्रका एकसेएक ज्ञाता र नेतासँग सरसल्लाहमा। तर विडम्बना, राजनीतिक दलहरू बाहौं पटकका चुनावी दौडमा रहेका बेला राजनीतिक दल नै कर्ता हुन्, राष्ट्रपति होइनन् भनी उनलाई पटकपटक सचेत गराउने कसले? आफैं कर्ताजस्तै बन्दै कयौं सन्दर्भमा अनधिकृतरूपमा गरिएका भेटघाट र परामर्श राजनीतिक कार्य भयो भन्दै उनलाई सतर्क गराउने कसले?

राष्ट्रपतिको एकमात्र कानुनी, वैधानिक र जायज नेपाल सरकार सल्लाहकार हो। राष्ट्रपतिले सरकारकै सरसल्लाहअनुसार काम गर्ने हो। मन्त्रिपरिषद्कै सिफारिसअनुसारै राष्ट्रपतिले संविधानको संरक्षण र पालन गर्ने, नेपाली सेनाको सर्वाेच्च परमाधिपतिको हैसियतले प्रधानसेनापति नियुक्ति पनि गर्ने हो। अन्तरिम संविधानमा यतिमात्रै अधिकार दिइएका आलंकारिक राष्ट्रपतिलाई भने मन्त्रिपरिषद्को सल्लाह पनि नपुग भएको देखियो। त्यसैले उनले प्रधानमन्त्रीसरह सल्लाहकारको जम्बो टिम बनाए। उनका सल्लाहकार पत्रपत्रिकामा लेख लेख्दै राष्ट्रपतिका अधिकार वृद्धिको पक्षमा 'लबिङ' गर्दै हिँडे। अब राष्ट्रपतिको सल्लाहकार जम्बो टिम र ती सल्लाहकारका 'लबिङ' राजनीतिक सक्रियताकै अभिव्यक्ति हुन् भन्दै परामर्श दिने कसले?

त्यत्रात्यत्रा डाक्टर, वकिल र पत्रकार सल्लाहकारका ठूलठूला सल्लाहबाट पनि नपुगेर राष्ट्रपति सत्तासीन दलका नेतादेखि सत्ताधारी गठबन्धन पक्षधर वकिलसँग परामर्श माग्दै हिँडे। मन्त्रिपरिषद्को 'ब्रिफिङ' नपुग भएरै होला, सरकारलाई पनि 'बाइपास' गर्दै उनी योजना आयोगका उपाध्यक्ष, राष्ट्रबंैकका गभर्नर र अर्थसचिवको मुखैबाट सीधै सुन्दै हिँडे, देशको बिजोगको तथ्यांक। र, सत्ताधारी दलझैं निष्कर्षमा पुगे, ठूला दलहरूले तत्कालै सरकार बनाइहाल्न सकेनन् भने पनि बजेटको बाटो छेक्न मिल्दैन। उनको सरोकार जायज होला, तर कामचलाउ सरकारले बजेट ल्याउन पाइने नपाइने विषयमा राजनीतिक विवाद छ। यस्ता विवादबीच देखिएका उनका राजनीतिक व्यवहार र बोलाइ संवैधानिक कार्य होइनन्।
शीतलनिवासमा प्रत्येक दिनजसो हुने परामर्श बैठकमा राष्ट्रपतिले संविधान, सरकार र बजेट नबनेकोमा चिन्ता पोख्दै आएको सुनिन्छ। संविधान, सरकार र बजेट नबनेकोमा स्थितिमा आफू कसरी बढ्ने भन्ने प्रश्नमा उनले बेसी नै चासो लिँदै आएको पाइन्छ। राष्ट्रपति र राष्ट्रपतिका वैध र अवैध सल्लाहकारलाई थाहा छ, चिन्ता पोख्न पनि देशजनताका जल्दाबल्दा समस्या चाहिँदो रहेछ। तिनै समस्यामाथि टेकेर मात्रै राष्ट्रपतिका अधिकार र भूमिकालाई बढाउन सकिन्छ, त्यसलाई न्यायोचित ठहर्‍याउन सकिन्छ। त्यसैले राष्ट्रपतिले कानुनी सल्लाह र राजनीतिक परामर्शका क्रममा भन्ने गरे, 'विभिन्न किसिमका मान्छे आउँछन्, किन चूप लागेको भन्छन्, मैले गर्नसक्ने के छ? कसरी अगाडि बढ्न सकिन्छ?'
कानुनी सल्लाह र राजनीतिक परामर्शका क्रममा राष्ट्रपतिले मुख्यरूपमा आफ्नो अधिकार र भूमिकालाई नै केन्द्रमा राख्ने गरेको भेटघाट गर्नेहरूको भनाइ छ। देशको वर्तमान अवस्थाबाट चिन्तित भएर उनी केही गर्न चाहन्छन् भन्ने राष्ट्रपतिसँग परामर्श गरेका कानुन व्यवसायीको अनुभूति छ। संविधानले राष्ट्रपतिलाई दिएका अधिकार प्रयोग गर्ने निहुँमा, लोकतान्त्रिक गणतन्त्र बचाउने नाममा ठोस कारबाही गर्ने चाहना उनमा बलवान हुँदैछ। उनको 'बडी ल्याङ्गवेज'ले पनि भन्दैछ, यस्तो कामकारबाहीलाई कानुनसम्मत ठहर हुनसक्ने खालका सरहल्लाह तथा जनअनुमोदित हुनसक्ने सुझावको खोजीमा छन्, राष्ट्रपति र उनका सल्लाहकार। यस्तो खोजीका बेला राजा महेन्द्र र ज्ञानेन्द्रले पनि लामो परामर्शपछि देश-जनताको चिन्ता लिँदै कानुनसम्मत ठहर हुनसक्ने गरी शाही सैनिक शासन थोपरेका थिए। तर, ती राजनीतिक र सैनिक कारबाही जनताको आँखामा वैध र जायज नभएकाले राजतन्त्रै ढलेको थियो।

हुन त राष्ट्रपतिका महत्वाकांक्षालाई सक्रिय बनाएर राष्ट्रपति शासन वा सैनिक शासन थोपर्ने कसरत भइरहेको आशंकाबीच राष्ट्रपति स्वयम् भन्दैछन्, 'राष्ट्रपति शासन र सैनिक शासन सबै हल्लामात्रै हुन्, यसका पछाडि लाग्ने होइन।' तर राष्ट्रपति आफैंले संकेत गरेका छन्, देशीविदेशी विभिन्न शक्तिले कुनै न कुनै कदम चाल्न उनीमाथि दबाब सुझाब दिँदैछन्। इन्टरनेसनल क्राइसिस ग्रुपको रिपोर्ट 'नेपालको भविष्य कसको हातमा?' अनुसार पनि सेनापति प्रकरणमा निर्वाचित सरकारको निर्णयविरुद्ध दक्षिणी छिमेकीबाट उचालिएका थिए राष्ट्रपति। त्यसकै जगमा उभिएको 'वाम-प्रजातान्त्रिक गठबन्धन'को सरकारकै पक्षमा रहेका राष्ट्रपति फेरि उचालिँदैछन्, कुनै ठोस कदम चाल्न।

देशी अनुहारका केही व्यक्तिले संविधानसभा विघटन गरी चुनाव गर्न उल्क्याउँदैछन् र केही छोटे राजाले राष्ट्रपति शासन लागू गर्न उत्साहित पार्दैछन्। देशीविदेशी शक्तिलाई राम्ररी थाहा छ, राजनीतिक दल, तिनका नेता र तिनको सरकारको साख गुम्न थाले पनि राष्ट्रपति र नेपाली सेना दरिलो शक्तिका रूपमा रहेका छन्। ती दुवै पक्षको संयुक्त शक्ति र शासनले पूर्वसशस्त्र विद्रोही माओवादी शक्तिको प्रतिकार गर्नसक्छन्। देशीविदेशीबाट प्राप्त भरथेग र सुझावदबाबका कारण राष्ट्रपति अचेल सक्रिय र वाचाल भएका हुन्।

राजा ज्ञानेन्द्रजस्तै सुनिने र बोलिने राष्ट्रपति हुने क्रममा उनले पनि भन्दै हिँड्न थालेका छन्, 'नेपालमा हतियारको राजनीतिक संस्कारको विकास हुँदै गएको छ, जनतालाई शान्ति र अमनचयन प्रदान गर्न दलले हतियारको राजनीतिक संस्कार त्याग्नुपर्छ।' लोकतन्त्रमा हतियार लिएरै राजनीति गरेको भरमा कसैको एकाधिकार नहुने उद्घोष गरेका राष्ट्रपति अब पहिलेजति अन्योलग्रस्त छैनन्। विगतमा हतियार उठाएरै क्रान्ति गरेका, अचेल नेपाली सेनाको नेतृत्वको टेवा पाएका, सेनाका परमाधिपतिसमेत भएका राष्ट्रपतिबाट जुन विचार आयो, त्यसले देखाउँछ, अब उनी द्विविधाग्रस्त छैनन्। माओवादी सेना विशेष समितिअन्तर्गत आएकै बेला, तिनको हतियार तालाचाबी राखेर निगरानीमा राखिसकेको बेला आएको यस्तो विचारले गम्भीर राजनीतिक अर्थ राख्छ। माओवादीतिर लक्षित राष्ट्रपतिका शब्दमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री वा भावी कार्यकारी राष्ट्रपतिको अग्रिम सन्देशको गन्ध आउला-नआउला, हेर्न बाँकी छ। तर यस्ता शब्दको मर्म र महिमा भने गहिरो छ, जुन गहिराइमा लोकतान्त्रिक गणतन्त्रसमेत डुब्नसक्ने खतरा छ।

राजनीतिक निकास खोज्ने निहँुमा कार्यकारी हुने वा राजनीतिक कर्ता हुने राष्ट्रपतिका कुनै अकांक्षा वा प्रयास लोकतान्त्रिक गणतन्त्रको मृत्युको निम्तो हुनेछ।

धर्मनिरपेक्षताविपरीत हुनेगरी मठमन्दिर धाउँदै, पूजाअर्चना गर्दै, त्यही मौकामा सभासद र दलहरूविरुद्ध राजनीतिक भाषणबाजी पनि गर्दै हिँड्नु लोकतान्त्रिक गणतन्त्रको चिहान खन्नु नै हो। राजाछँदा ज्ञानेन्द्र शाहले जे जसो गर्थे त्यसैको सिको गर्नु धर्मनिरपेक्ष राष्ट्रका प्रमुखको लोकतान्त्रिक संस्कृति हुनसक्दैन। तर, ज्ञानेन्द्र शाहकै धार्मिक-सांस्कृतिक राजनीतिको पाइला पछ्याएका राष्ट्रपतिले थालेको 'नयाँ सांस्कृतिक राजा' हुने पश्चगामी क्रम रोकिएन भने लोकतान्त्रिक गणतन्त्रको चिहानमा 'नयाँ राजा'को गद्दीआरोहण धेरै टाढा नहुनसक्छ।
अर्को समाचार
पौडेललाई वधाई दिंदै थापाले भने: राजा,राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ
२६ फागुन २०७९
•
५ मिनेट पाठ
पौडेललाई वधाई दिंदै थापाले भने: राजा,राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई वधाई दिंदै राजा,राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा भएको बताएका छन्।




शुक्रबार सामाजिक सञ्जालमार्फत वधाई दिंदै थापाले पौडेललाई राजा,राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा भएको बताएका हुन्।

उनले पौडेललाई वधाईसंगै पाँचबुँदे सुझाव पनि दिएका छन्।  

यस्तो छ थापाको सुझाव  

हार्दिक वधाई तथा शुभकामना!

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा श्रद्धेय रामचन्द्र पौडेललाई हार्दिक वधाई तथा शुभकामना! छ दशक लामो आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएको छ, यो पदलाई तपाईंले न्याय गर्नुहुन्छ र यसको गरीमालाई थप उच्च बनाउन सक्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु। हामीले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउँदा भनेको र राखेको अपेक्षालाई अब कार्यान्वयनमा लैजानुपर्नेछ र यसमा तपाईंको महत्वपूर्ण भूमिका रहन्छ।

१.नेपालको संविधानले राष्ट्रपतिको पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ। संगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने  संवैधानिक अभिभारा पनि रहेको छ। हामीले संविधान निर्माण गर्दा राष्ट्रपतिलाई नेपालको लोकतन्त्रको एक अपरिहार्य र महत्वपूर्ण लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेका हौं। नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन। यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक(राष्ट्राध्यक्षको चाहना हो। रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ।

२. हाम्रो राष्ट्रपति संवैधानिक हो र संविधानले नै राष्ट्रपतिका कामलाई दिशा निर्देश गरेको छ। ‘The King can do no Wrong’ भनेको जस्तै हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो। किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो। अर्थात हरेक निर्णयको जवाफदेही सिफारिश गर्नेले नै लिनुपर्ने भएकाले राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने मान्यता राखिएको हो। संविधानको यो परिधिभित्र रहेर राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र आफ्नो दृष्टिकोण दिन सक्छन् । तर, प्रधानमन्त्रीको अधिकारमाथि कहिल्यै हस्तक्षेप गर्दैनन्। यो व्यवस्थाका निम्ति यति लामो संघर्ष गरेको व्यक्ति नै यो व्यवस्थाको सर्बोच्च पदमा पुग्दा यो संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउनुहुनेछ र संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ।  

३. तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसंग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो। तर, अब तपाईं मन, वचन र कर्मले योसंग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसंग पनि अतिरिक्त अनुराग रहनुहुँदैन। अब तपाईं हाम्रो दलको मात्र होइन सवैको अभिभावक हो। संगैमा दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनै पनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ।  

४.राष्ट्रपतिको  सम्मान, गरिमा र प्रतिष्ठा परम्परागत मान, अलंकार र सुरक्षा कवचमा होइन, संविधानसम्मत भूमिका, पारदर्शी कार्य सम्पादन, सरल जीवन शैली र नागरिक संस्कारमा अन्तर्निहित हुन्छ। विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने जुन परम्परा र अभ्यास छ यो तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको छ। तपाईंले यस्तो गर्दिन भन्नुभएको छ, सकारात्मक छ। त्यसैले राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक(भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्,देख्न सकुन्।

५. राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्वपूर्ण भुमिका छ। यो मौका हो नयाँ थालनी गर्न। अतस् केही नयाँ शुरुवात गरौं।  

पहिलो, राष्ट्रपतिको मुख्य सल्लाहकार भनेको प्रधानमन्त्री नै हो। त्यसैले राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु-सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास वसाल्नु आवश्यक छ।  

दोस्रो, विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली वदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको छ, तत्काल वदलेर सरल र नागरिकमैत्री अभ्यास गर्ने गराउने दायित्व सरकारको हो। प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् र राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस्।

अन्त्यमा, राष्ट्रपति पार्टीको जस्तो भएको भन्ने आलोचना गर्छौ तर दोष हाम्रो पनि त हो१ राष्ट्रपतिले म कुनै पार्टीमा थिंए भन्ने सोचेर व्यवहार गर्नुहुन्न भन्ने अपेक्षा राखेजस्तै पार्टीले पनि मेरो सदस्य, नेता भनेर त्यो  संस्थाको दुरुपयोग गर्ने चेष्टा गर्नुहुन्न भन्ने कुरा अपेक्षित हुन्छ। त्यसैले राष्ट्रपति संस्थालाई अनावश्यक दलीय दुरुपयोग नगर्न र राष्ट्रपतिलाई आफ्नो संवैधानकि भुमिका, मर्यादा र गरिमामा रहन दिन हामी पनि उत्तिकै प्रतिवद्ध हुनु जरूरी छ।

गगन थापा

२०७९ फागुन २६
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस