६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

दसैँ आयो तर...

नेपालमा रहेका कुनै पनि कुरा अपांगमैत्री छैनन्। मठ, मन्दिरलगायत प्रायः सबै कुरा अपांगको जीवनचर्यालाई ध्यानमा राखेर बनाइएका छैनन्।त्यसैगरी संस्कार, चाडपर्व आदि पनि योभन्दा पृथक छैनन्।खासमा मुलुक सबै जनताको हो। त्यसैले यहाँ जति पनि संरचना बन्छन्, जति पनि चाड पर्व मनाइन्छन् ती सबै जनता अनुकूल हुनेगरी निर्माण गरिनुपर्छ। अर्थात यसबाट हुने फाइदा, रमाइलो अनि सन्तुष्टि सबैले समानरूपले हासिल गर्न पाउनुपर्छ। तर विडम्बना नेपालको सन्दर्भमा भने यो हँसिमजाकको विषयमात्र बनिरहेको छ।

यतिबेला हिन्दु धर्मावलम्बीहरूको महान् चाडले सबैलाई छपक्कै छोपिसकेको छ। चोक, बजार, पसल, मन्दिर, खुला चौर सबैतिर दसैँकै चर्चा छ। शक्तिपीठहरू भक्तालुजनका कारण भरिभराउ छन्।आफ्नो परिवारलाई कमाएर, चोरेर, मागेर जसरी भए पनि एकाध छाक मीठो खुवाउने अनि आङ ढाक्ने व्यवस्था गर्ने दायित्व परिवारका मुलीमा छ। त्यही चुनौती सामना गर्न लागिपरेका पनि छन्। तर यो मुलुकमा एउटा यस्तो जमात पनि छ जो सधैँ चाड पर्व होस् वा अरू कुनै सुविधाका बेला, ‘आकासको फल, आँखा तरी मर’ को नियति भोग्न बाध्य छ।

अपांगता भएकाहरूमध्ये धेरै आफैँ कमाउन सक्दैनन्। खासगरी शारीरिक काम गर्न सक्दैनन् भने बौद्धिक काम गर्नका लागि वातावरण नै पाएका हुँदैनन्। यस्तो अवस्थामा अपांगता भएकाको चाड पर्व सधैँजसो खल्लो हुने गरेको छ। कर्जाका लागि साहूको पाउमा पर्नु, आफूसँग भएका गरगहना, भाँडाकुँडा आदि धितो राखेर वा बेचेर पैसामा परिणत गर्नु तथा आफन्तसँग हात पसार्नुबाहेक उनीहरूसँग अन्य विकल्प हुँदैन यतिबेला। त्यसैले दसैँ जस्ता पर्व अपांगता भएकाहरूका लागि हो कि होइन भन्ने प्रश्न खडा हुँदै आएको छ तर उत्तर भने कतै भेटिँदैन।

दसैँ नेपालमा मात्र हैन, जहाँ जहाँ हिन्दु धर्मावलम्बी छन्, ती सबै ठाउँमा धूमधामसँग मनाइन्छ। तर फेरि पनि कुरा भने उहीँ गएर जोडिन्छ अर्थात गरिब र अपांगता भएकाहरूले यसैगरी पर्व धूमधामसँग मनाउने कहिले त ? राज्यले त सामान्य चुरोट सुपारी खाने पैसा त दिन्छ तर त्यसले न पर्व मान्न पुग्छ न त स्वास्थ्योपचार गर्न नै। यस्तो अवस्थामा उसै त चरम अभावबाट गुज्रिरहेकाहरूले कसरी मान्ने पर्व ? कसरी बनाउने यसलाई धूमधाम ?कसरी लिने सन्तुष्टि ? अनि कसरी हासिल गर्ने मनोरञ्जन ?यसबारे सोच्ने कसले ? यस्तो सोचाइका लागि फुर्सद जुर्ने कहिले ?

गोजीमा सुको छैन। मन्दिर जाउँ अपांगमैत्री छैनन्। बाटोघाटो र सवारी साधनको पारा उस्तै छ। मनोरञ्जनस्थलहरू गइसक्नु छैनन्। पिङ खेल्ने, जुवाँ÷तास खेल्नेदेखि दसैँसँग सम्बन्धित कुनै पनि ठाउँ यस्तो छैन जहाँ अपांगता भएकाहरू सहजै जान सकून्। स्थानीय तहले कुनै आर्थिक सहयोग दिँदैन। न त अपांगता भएकाहरूका लागि कुनै सहुलियतकै व्यवस्था छ। यस्तो अवस्थामा सबैको दसैँ कसरी शुभ हुन सक्छ र ? अनि अपांगता भएकाहरूले पनि कसरी अरु जस्तै राम्रोसँग खानपिन गरेर, राम्रा जुत्ता, कपडा लगाएर दसैँ मनाउन सक्छन् ? यो विचारणीय हुँदाहुँदै पनि विचार भने कतैबाट नपु¥याइनु दुःखद छ।

प्रकाशित: १७ आश्विन २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App