धरापमा शान्ति र संविधान
११ भदौ २०६८
•
१५ मिनेट पाठ
धरापमा शान्ति र संविधान
नेपाल जटिल मोडमा छ। जनताको नयाँ नेपालको कल्पना सपनामात्र हुने लक्षण देखिएको छ। सात सालदेखि त्रिसठ्ठी सालसम्म जनताले यस्तै सपना देखे र नेताहरूलाई सबै कठिन अवस्थामा बिनास्वार्थ साथ दिए। परिवर्तनपछि खै त जनविश्वासले मूर्तरूप पाएको? सत्ताको स्वाद चाख्नासाथ जनतालाई धोखा दिने शृंखला निरन्तर छ।

दोस्रो जनआन्दोलनले शान्ति र लोकतान्त्रिक नेपालको जानदेश दिएको थियो। जनताले गरी खाने वातावरण भएको, स्वतन्त्रता, समानता, समन्याय र कानुनको शासन भएको शान्ति जनताको चाहना थियो। तर, अहिले नेपालमा न त गरिखाने स्थिति नै छ न लोकतन्त्रका मूल्यहरूप्रति राजनीतिक नेतामा लगाव नै देखिएको छ। अमेरिकी संविधानका मस्यौदाकार थोमस जेफर्सनको ' पदमा आँखा गाड्न थालेपछि व्यक्तिको आचरण कुहिन सुरु हुन्छ'। भन्ने उक्ति सही सिद्ध भएको छ। अहिले नेताहरूको ध्यान मुलुकतिर हैन सत्ता प्राप्तिमा केन्द्रित देखिएको छ। तिनले सत्ताको झेली खेलमा सम्पूर्ण ऊर्जा लगाइरहेका छन्।
संविधानको दोस्रो पटक थपिएको म्याद पनि भाद्र १४ मा समाप्त हुँदैछ। नेताहरू शान्ति र संविधानमा ध्यान दिन आआफ्ना शास्त्रीय विचारधारा र स्वार्थको घेराबाट उम्कनै सकेका छैनन्। सबै दलको ध्यान कसरी सत्तामा पुग्ने भन्नेमै छ। यसका लागि उनीहरू हावादारी तर्कमा जनतालाई भ्रमित गराउन खोज्दैछन्। जनतालाई यस्ता कुतर्कमा रुचि हुँदैन। नेताका यस्ता क्रियाकलापले नै जनताले उनीहरूलाई भन्दा तिनका अनुकरण गर्ने हास्य कलाकारलाई बढी रुचाउन थालेका हुन्। नेता त उपहासको पात्र बनेका छन्। यस्तो परिस्थिति बन्नु राम्रो होइन र राजनीतिको यति धेरै उपहास गर्नु अन्याय हुन्छ। तर, राजनीतिमा विकसित विकृतिले त्यस्तै परिस्थिति निर्माण गरिदिएको छ। संविधान बनाउन निर्वाचित प्रतिनिधि संविधानको 'स' पनि भन्ने सामर्थ्य राख्दैनन्। उनीहरूको यो हक तीन दलका त्रिमूर्ति (वास्तवमा नौ मूर्ति?) ले खोसिदिएका छन् । आफू सत्तामा भए शान्ति र संविधान सबै प्राप्त हुन्छ र नभए मुलुक भँडेखालामा गए जाओस् भन्नेजस्ता कुतर्कलाई जनताले कसरी पचाउने? के उनीहरू आफैँलाई निर्वाचित गर्ने जनताप्रति उत्तरदायी हुनुपर्दैन? के जनताले तिनलाई आफूमाथि हैकम चलाउनमात्र चुनेका हुन् र? अब्राहम लिंकनले लोकतन्त्रबारे भनेका थिए ­ 'लोकतन्त्रमा म दास नभएजस्तै मालिक पनि हुन सक्तिन।' जनताले दिएको दुई वर्षको म्यान्डेट नाघेर पटक पटक म्याद थप गर्ने अधिकार दलका नेता र संविधान सभाले कसरी पाए? तर, यहाँ यस्तै अनर्थ स्वाभाविक हुनेगरेको छ। यस पटक पनि म्याद थप गर्न अन्ततः सबै दल सहमत हुनेछन् र त्यसका लागि जनमत वा प्रतिक्रियाको वास्ता गर्ने छैनन्। संविधान नेता वा दललाई भन्दा जनतालाई चाहिएको हो। उनीहरू जनप्रतिनिधिले जनताका तर्फबाट संविधान लेख्नेजस्तो इतिहासमा बिरलै प्राप्त हुने अवसर नगुमोस् भन्नेमा नेताभन्दा बढी सचेत पनि छन्। नेताहरूको गैरजिम्मेवार प्रवृत्ति बिर्सेर अब कति पटक म्याद थपको समर्थन गर्लान्? थपिने अवधिभित्र संविधान बन्छ भन्ने आधार खै? विगत हेर्दा थपिने समय सत्ता टिकाउने र गिराउने खेलमा बित्दैन भन्ने विश्वास गर्नसक्ने ठाउँ छैन। तैपनि, आफ्नो विफलताका लागि जनतासँग माफी माग्ने सामान्य औपचारिकतासमेत पुरा नगरी संविधान सभाको म्याद थपिनेमा शंका छैन। यो जनताको अपमान होइन?
यसअघि संविधान सभाको म्याद थप्दा गरिएका सम्झौता पनि पालना होला भनेर नागरिकतहमा पत्याइएको थिएन। तीन महिनासम्मको राजनीतिक कोलाहलको उपलब्धि प्रधानमन्त्रीको राजीनामामात्र देखिएको छ। पुरा गर्ने भनिएका शान्ति प्रत्रि्र्कयाका आधारभूत काम पनि हुन सकेन। राष्ट्रिय सहमतिको सरकार गठनका नाममा भएका नौटंकी जनताले राम्ररी नियालेकै हुन्। नेपालीका लागि 'सहमतिका लागि दलहरूबीचको छलफल' सबभन्दा अरुचिकर खबर भएको छ। यो समाचार आउनासाथ दर्शकले टेलिभिजन बन्द गर्न थालेको सायद राजनीतिक नेतृत्वलाई थाहा नै छैन। अझ दुःख त केमा छ भने यी सब जनतालाई देखाउनमात्र गरिन्छ। नत्र सहमतिको संवाद हुँदै गर्दा बहुमतको कोठे वार्ता किन चलाइन्थ्यो? नेताहरूको यस्तै क्रियाकलापले तिनको साख गिर्दैगएको छ। वार्ता र सहमति गर्ने सीप पनि कुनै नेतामा देखिएन। केही दिन र केही लिन वार्तामा बस्ने हो। आफ्नो अडानबाट टसमसै नगर्ने हो भने वार्ता औचित्यहीन हुन्छ। यसको एउटा कडा मोडेल छ­ 'जुजित्सु मोडेल'। जापानमा प्रचलित जुजित्सु एक किसिमको कुस्ती हो जसमा विपक्षीलाई थकाएर ढालेपछि मात्र जित्न सकिन्छ। वार्तामा बस्ने दलहरूले सबैले जितेको वा कमसेकम कसैले नहारेको महसुस गर्ने गरी सहमति गर्नु नै सफल वार्ता हुन सक्छ। तर, दलहरू कुस्ती मोडेलमै रमाएको देखिन्छ। नेतालाई 'नेगोसियसन स्किल' मा प्रशिक्षणको आवश्यकता देखिएको छ।
शान्ति र संविधानमा प्रगति नहुनुमा दलहरूबीचभन्दा तिनको आन्तरिक विवाद बढी दोषी देखिएको छ। हरेक दलभित्र फरक स्वार्थ र विचार बोकेको प्रतिपक्ष देखिएको छ। पार्टीको दायाँ हातलाई बायां हात के गर्दैछ भन्ने थाहै नभएको देखिएको छ। यिनको कामै पार्टी संस्थापनको विरोध गर्नु हुन्छ। यस्तो परिस्थितिले दलका नेताले समझदारी गरेका विषय पनि लागु हुँदैनन्। जसोतसो विभिन्न स्वार्थलाई मिलाएर लगे पनि मौका पर्नासाथ अप्ठेरोमा पार्ने काम भइहाल्छ। जोन एफ. केनेडीले राजनीतिमा अवलम्बन गरिने रणनीति बारे भनेका थिए ­'तिम्रा शत्रुलाई क्षमा देऊ तर तिनको नाम कहिल्यै नबिर्स'। ठिक त्यस्तै देखिएको छ दलहरूभित्रको आन्तरिक राजनीति। यस्तो स्थिति रहेसम्म दलहरूबीच हुने समझदारी व्यवहारमा लागु हुने अवस्था छैन। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले भनेका थिए ­ 'ह्वेन ही दिसाइडस् ही डिभाइडस्'। नेताले कुनै निर्णय गर्‍यो कि दल फुटको संघारमा पुग्ने गरेको देखिन्छ। शान्ति र संविधानसँग सम्बन्धित गहन र दूरगामी असर पर्ने विषय यस्तो आन्तरिक र अन्तरविरोधमा अल्झेको नेतृत्वबाट सल्टिनसक्ने आशा पनि गर्न सकिँदैन।
शान्त, समृद्ध र लोकतान्त्रिक नेपाल बनाउने जनआन्दोलनको भावना धरापमा पर्न लागेको सबैलाई थाहा छ। संघीयताको स्वरूपमा राजनीतिक तहमा अझ निश्चित धारणा बनेको छैन। लोकतन्त्रको परिभाषामै दलहरू नराम्ररी विभाजित देखिएका छन्। बहुलवादबारे देखिएको विवाद यसको उदाहरण हो। गणतन्त्र संस्थागत भइसकेको छैन। राष्ट्रपतिको निर्वाचन गरेर यसको गजुर त राखिएको छ तर जग नै बनेको छैन। यसलाई संस्थागत गर्न तदनुरूपका राजनीतिक संस्था बनाउनै बाँकी नै छ। अझ पनि सांस्कृतिक र धार्मिक क्षेत्रमा पुरानो राजतन्त्रको आकर्षण कायमै छ। यी सब परिस्थितिबाट सिर्जित चुनौती र बाधाको पहाडलाई नाघ्न नेतृत्व गर्नेमा ठुलो साहस र दूरदृष्टि हुनुपर्छ। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर र लोकतान्त्रिक संविधान निर्माण गरेर अहिलेको यो जटिल संत्र्र्कमणबाट देशलाई मुक्त गर्न सक्नुपर्छ। तर, अहिले त्यस्तो कार्यभार पुरा गर्नसक्ने नेता देखिएकै छैनन्। नेपालमा आफ्नो त्याग र सपर्पणको 'बोनस' नखोजेर मेलमिलापका लागि त्याग गर्ने कुनै नेल्सन मन्डेला देखिएनन्। ठूला चुनौतीहरूलाई आफ्नो अदभूत साहसद्वारा परास्त गर्नसक्ने केनेडी जन्मिएनन्। न त पदप्रति आशक्ति नराखेर राष्ट्रका लागि जीवन समर्पण गर्ने गान्धी नै जन्मिए। यहाँ त दलीय स्वार्थ र सत्ताको लागि जनताले सुम्पिएको मुख्य कार्यभार शान्ति र संविधानलाई नै गौण ठान्ने संकुचित सोचका नेताहरूको भिडमात्र देखिएको छ।
भारतको संविधान सभाले तीन वर्षमा नयाँ संविधान दिएको थियो। संविधान सभाका बैठकमा जवाहरलाल नेहरु, बल्लभभाई पटेल, आचार्य कृपालानीजस्ता वरिष्ठ नेता उपस्थित भई संविधान निर्माणलाई गति दिन्थे। त्यस्तै पाकिस्तानको संविधान सभामा जिन्नाको योगदान अतुलनीय मानिन्छ। संयुक्त राज्य अमेरिकाको संविधान निर्माणमा जेफर्सन, मैडिसन, हैमिल्टनजस्ता 'फेडरलिस्ट'को महत्वपूर्ण योगदान थियो। नेपालको संविधान सभामा यस्ता नेतृत्वको अभाव छ। यस्तो स्थितिमा अब थपिएको समयभित्र संविधान निर्माण होला भन्नु असंभव परिणामको आशा गर्नु हो। सरकार गठन, विघटन र भागबन्डाको झगडामै संविधान सभाको थपिएको अवधि समाप्त हुने निश्चित छ। यसअघि जस्तो देखियो त्यसका आधारमा यही पूर्वानुमान हुन्छ। नेता उनै हुन्, प्रबृित्त उही छ भने अबको छोटो अवधिमा चमत्कार हुने विश्वास कसरी गर्नु? महान नेताहरू इतिहासका भागमात्र हुँदैनन्, तिनले इतिहासै बनाउँछन्। ती त्याग, दूरदृष्टि, वुद्धि, संयम र साहसका उदाहरण बनेर आदरणीय बन्न पुग्छन। नेपालमा नेताहरूप्रति जनता बढी नै उदार देखिएका छन्। यहाँका जनता र नेताबीचको सम्बन्धमा घृणा र प्रेमको संमिश्रण छ। अहिलेसम्म पनि जनताले यिनै नेताबाट परिवर्तनको आशा गरिरहेका छन्। यसमाथि पुनः विश्वासघात भयो भने जनताले उत्पात गर्न बेर छैन। जनता निर्मम भएका उदाहरण पनि थुप्रै छन्। संविधान सभाको म्याद सकिन लाग्दा नेपाली जनताको मनस्थिति केही समय दिएर भए पनि शान्ति र संविधानका बाँकी काम भए हुन्थ्यो भन्ने देखिएको छ। गत जेठ १४ अघिको जति पनि विरोधका स्वर अहिले नसुनिनुले यस्तै संकत गर्छ। तर, नेताहरूले यसलाई असफल हुनेलाई दिइएको अन्तिम मौका परीक्षाका रूपमा लिनुपर्छ। जनताको यस संयमको सदुपयोग गरेर आफू अक्षम नभएको साबित गर्ने मौका उनीहरूसामु चुनौतीका रूपमा आएको छ। तर, यसमा सफल हुन सहज भने छैन। अहिलेसम्म शान्ति र संविधानका सबभन्दा विवादित विषयमा गंभीर छलफल भएकै छैन। यी विषयमा प्रवेश गरेपछि मात्र नेताहरूको वास्तविक क्षमता प्रदर्शित हुन्छ। हाम्रा नेताले देखाउने सीप र कलाको प्रतीक्षा गरौँ।
अर्को समाचार
शान्ति प्रक्रिया धरापमा : शान्ति मन्त्री
१३ चैत्र २०६६
•
१ मिनेट पाठ
शान्ति प्रक्रिया धरापमा : शान्ति मन्त्री
धनकुटा, चैत १३- शान्ति तथा पुनः निर्माण मन्त्री रकम चेम्जोङले दलबीच असमझदारी बढ्दै गएका कारण शान्ति प्रक्रिया धरापमा पर्न लागेको बताएका छन्। उनले संविधान निर्धारित मितिमै जारी गर्न तथा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका नेतालाई सहमति र सहकार्य गर्न आग्रह पनि गरे।
 
कुरुलेतेनुपामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले प्रमुख राजनीतिक दलबीच समझदारी नभए संविधान जारी गर्न र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कठिन हुने पनि बताए। 

मन्त्री चेम्जोङले  तोकिएको समयमा संविधान जारी नभए त्यसको सम्पूण दोष एकीकृत नेकपा (माओवादी) लाई जाने दाबी पनि गरे।

नेकपा (एमाले) धनकुटाका अध्यक्ष राजेन्द्र राई, सभासद् दुर्गा लिंखाराई र टीकाराम चेम्जोङले तोकिएको समयमा संविधान जारी गर्न आफ्नो दल क्रियाशील रहेको बताएका थिए।
- रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस