६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

अनुसन्धानको महत्व

सिन्धुपाल्चोकको मांखाको जुरे भन्ने ठाउन्मा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यहाँको भौगोलिक बनोटका बारेमा भूगर्भविद्बाट विभिन्न जानकारी प्रकाशमा आएका छन्।पहिले नै त्यस ठाउँको अध्ययन भएको र त्यसमा भित्र कमजोर तथा माथि गरुंगो चट्टान रहेको पाइएको अनि त्यस्तो भू बनोट पहिरोको जोखिममा हुने निष्कर्षसहित नक्सांकन भइसकेको बताइएको छ। त्यस्ता ठाउँमा बस्ती बीन नहुने हुनाले उपयुक्त कारबाहीका लागि सरकारलाई सिफारिससहित प्रतिवेदन बुझाइएको दाबी पनि विज्ञहरूले गरेका छन्। भूगर्भविद्को सिफारिसलाई सरकारले बेलैमा गम्भीरतापूर्वक लिएर त्यहाँको बस्ती अन्यत्र सार्ने प्रबन्ध गर्नसकेको भए त्यति ठूलो मानवीय क्षति हुने थिएन। 
तरकारीमा विषादीको मात्रा अत्यधिक भएको भन्ने अनुमानका (अनुसन्धान होइन, किनभने तरकारीमा प्रयोग भएको विषादीका बारेमा पछिल्लो समयमा खासै अनुसन्धान भएको छैन, धेरै पहिलेको अनुसन्धानलाई मान्ने हो भने नेपालमा विषादी प्रयोगको मात्रा १४२ ग्राम सक्रिय तत्व प्रतिहेक्टर छ। जुन असाध्यै न्यून हो) आधारमा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने मेसिन स्थापना गरियो। त्यसपछि हाल बजारमा विक्री भइरहेका ताजा तरकारीमा अत्यधिक मात्रामा हानिकारक विषादी प्रयोग भएको र त्यसले उपभोक्तालाइ क्षति पुर्या्एको जानाकारी प्रवाह गरियो। त्यसपछि सुरु भएको विषादी आतंक हाललाई केही घटेको छ। कृषक केही सचेत भएको समाचार आएका छन्। सरकारले परीक्षणको प्रक्रियालाई निरन्तरता दिएर अनुसन्धान अघि बढाएमा भविष्यमा यस्तो समस्या उत्पन्न नहुनसक्छ। यस्तै हवाइजहाज दुर्घटना हुँदा पटकैपिच्छे छानबिन तथा अनुसन्धान समिति गठन गरिएको र त्यसले सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको समाचार पनि प्रवाहित भइरहन्छन्। तर देशमा न त प्रत्येक बर्सेनि पहिरोमा परी बेपत्ता हुने क्रममा कमिआएको छ न त उपभोक्ताले विषरहित खाद्य पदार्थ उपभोग गर्नै पाएका छन्। न मानवीय कमजोरी वा यान्त्रिक गड्बढी वा मौसमको प्रतिकूलताले गर्दा हुने हवाई दुर्घटना कम भएको छ। यस्तो किन भइरहेको छ?उत्तर सहज छ – नेपालमा पहिलो त कुनै पनि क्षेत्रमा आवश्यक मात्रामा अनुसन्धान भएकै छैन र दोस्रो, जे जति भएका छन् ती अनुसन्धान प्रतिवेदन वा सुझाव पनि कार्यान्वयन गरिएका छैनन्। सबैजसो प्रतिवेदन कुनै दराजमा थन्किन्छन्। 
थाहा नभएको विषयमा जानकारी लिन अनुसन्धान गरिन्छ। सैद्धान्तिक र व्यावहारिक गरी दुई किसिमका अनुसन्धान हुन्छन्। तिनका आआफ्नै विशेषता हुन्छन्। सैद्धान्तिक अनुसन्धान अलि खर्चिला, दीर्घकालीन प्रभावका र प्रतिफल ढिलो प्राप्त हुने प्रकृतिका हुन्छन् भने व्यावहारिक अनुसन्धान तत्कालीन महत्वका, कम लगानीमै गर्न सकिने हुन्छन्। यद्यपि, तिनको पनि प्रभाव भने दीर्घकालीन नै हुन्छ। 
अनुसन्धानका मूलतः चारवटा पक्ष महत्वपूर्ण हुन्छन्। पहिलो, अनुसन्धानको विषय, दोस्रा, अनुसन्धानकर्ता, तेस्रो, अनुसन्धानको प्रकाशन एवं अभिलेखीकरण र चौथो, त्यसबाट प्राप्त नतिजाको उपयोग। अनुसन्धानकर्ताले आफ्नो विशेषज्ञता र देशको आवश्यकताअनुसार विषयको प्राथमिकता निर्धारण गर्छ। अनुसन्धानपश्चात प्रकाशन भएमा अनुसन्धानको वैधानिकता निर्धारण हुन्छ र अनुसन्धानमा दोहोरोपन हट्छ। साथै त्यसको परिणामबाट अन्य व्यक्ति, संस्था वा देश लाभान्वित हुन्छन्।
धेरै पहिलेदेखि सुन्दै र पढ्दै आएको विषय हो नेपालको जलविद्युत् क्षमता। सुरुमा चौरासी हजार मेगावाट बिजुली उत्पादन क्षमता भनियो तर त्यो कुन आधारमा भनियो, कस्ले अध्ययन गर्योा, प्रतिवेदन कहाँ छ, कुनै भररपर्दो आधार छैन। अहिले सम्भाव्य क्षमता बयालीस हजार मेगावाटमात्र हो पनि भन्न थालिएको छ। त्यसको पनि आधिकारिक र प्रामाणिक आधार छैन। फलस्वरूप, प्रयोगका लागि आवश्यक अनुसन्धान र दीर्घकालीन योजना पनि तयार हुनसकेकै छैन। 
नेपाललाई कृषि प्रधान देश भनियो। अधिकांश जनताको पेसा कृषि नै थियो। तर नेपालको कृषि प्रणालीका बारेमा आधिकारिक अनुसन्धान भएन। अनुसन्धानै नभएपछि सुधारको वैज्ञानिक प्रयास पनि हुने भएन। किसान परम्परागत कृषि प्रविधि र ज्ञानमा निर्भर हुन बाध्य भए। समय क्रमले स्वतः हुनेबाहेक अनुसन्धानमार्फत बाहिरी प्रयासबाट परिवर्तन हुन सकेन। जमिन भत्काएर चार पांग्रे गुडाउने कार्यलाई विकास त भनियो तर कुनै ठाउँमा गाडी पुग्दा जनताको जीवनस्तरमा आउने परिवर्तन, त्यहाँबाट निकासी गर्न सकिने कृिष वा अन्य उत्पादनका सम्बन्धमा कहिल्यै अध्ययन गरिएन। गाडी पुगेपछि उल्टै जनताको गुजारा झनै खर्चिलो र समाज विकृत बन्न पुग्यो। देखाउनका लागि वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) त गरियो तर न त्यो मूल्याङ्कनको नतिजा सार्वजनिक गरियो न त सडक निर्माणका क्रममा त्यसका सिफारिस नै कार्यान्वयन गरियो। 
कृषि अनुसन्धानकै लागि सिद्धान्ततः स्वतन्त्र कृषि अनुसन्धान परिषद् छ तर व्यावहारिकरूपमा सो संस्था कति जीर्ण र राजनीतिक हस्तक्षेपले थिलोथिलो छ भएको छ भने कुनै पनि अनुसन्धानकर्ताको मन त्यहाँ अडिनै सत्तै्कन। नेपालमा भएको जडीबुटी र त्यसको महत्व, यहाँ भएको अर्ग्यानिक कृषिको संभावना र संसारका साहसिक युवालाई रोमाञ्चित बनाउन सक्ने साहसी पर्यटनको सम्भावना बारे छिमेकी देशका प्रधानमन्त्रीबाट सुन्नु पर्दा ताली पिटेर गर्व गर्ने कि लाज मान्ने? 
स्वास्थ्य क्षेत्रमा सेवा प्रदान एवं अनुसन्धान गर्ने भनेर देशभरनै विभिन्न संस्था र अस्पताल खुलेका छन्। अनुसन्धानका नाममा सरकारबाट सहुलियतसमेत पाउने त्यस्ता संस्थाले के कस्ता अनुसन्धान गरेका छन्? पुस्तौंदेखि थारुहरूमा रहेको सिकल सेल एनिमियाका बारेमा किन अहिलेमात्र त्यो पनि दैनिक अखबारबाट बहस चलाउनु परेको हो? त्यसैका आधारमा सरकारले सो रोगको निदान र उपचारका लागि रकम विनियोजन गर्योा। 
सामाजिक सेवा र अनुसन्धानका नाममा हजारौँ सामजिक संस्था दर्ता भएका छन्। कतिपयले नामै अनुसन्धान केन्द्र राखेका छन्। कहाँ छन् त तिनका अनुसन्धान प्रतिवेदन? सरकारले कुन कुन प्रतिवेदनलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेको छ त योजना निर्माण गर्दा?
विश्व बैंकको तथ्याङ्कअनुसार नेपालले सन् २००५ देखि सन् २०११ सम्म औसतमा कुल गार्हस्थ्य उत्पादनको जम्मा ०.३० प्रतिशत अनुसन्धान र विकासमा लगानी गरेको छ। हाम्रो छिमेकी मुलुक भारतले०.७६ प्रतिशत अनुसन्धानमा लगानी गर्छ भने इजरायलले ४.३९ प्रतिशत खर्च गर्छ। तब न इजरायलले सधैँको युद्ध र अशान्तिका बीच पनि प्रगति गरिरहेको छ। विकसित मुलुकहरूमा कुल आयको फिनल्यान्डले ३.७८, स्विडेनले ३.३७, जापानले ३.२६, डेनमार्कले ३.०९, अमेरिकाले २.७७, अस्ट्रेलियाले २.३८ प्रतिशत अनुसन्धानमा लगानी गर्छन्। नेपालकै हाराहारीमा अनुसन्धानमा लगानी गर्ने अन्य देशसमेत नेपालभन्दा विकसित र सम्पन्न देखिन्छन्। तर नेपालले भने अनुसन्धान र त्यसको परिणामबाट खासै उपलब्धि हासिल गरेको पाइँदैन। यसबाट नेपालमा अनुसन्धानमा भएको लगानीको सदुपयोगका बारेमा प्रश्न उत्पन्न भएको छ। 
अनुसन्धानकै लागि त्रिभुवन विश्वविद्यालयमा सिनास, सेडा जस्तासंस्था स्थापना गरिए। तर हाल आएर ती संस्था बजेट, विद्वान् र व्यवस्थापनको अभावमा निष्कृय छन्। विज्ञान र वैज्ञानिकको माउ संस्थाका रूपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान कार्यरत छ। तर त्यो पनि बजेट, वैज्ञानिक, व्यवस्थापन र प्राज्ञ नियुक्तिमा हुने भागबन्डा एवं अनिमियतताका कारण उद्देश्यअनुरूप अघि बढ्नसकेको छैन। तथ्य, तथ्याङ्क र वास्तविकता हेर्दा नेपालमा अनुसन्धान उच्च प्राथमिकतामा परेजस्तो देखिँदैन। 
विकसित देशले अनुसन्धानको महत्व बुझेर त्यसमा प्रशस्त लगानी गरेका हुन्छन्। त्यसैअनुरूप विकास पनि गरेका छन्। त्यहाँ अनुसन्धानबाट प्राप्त नतिजालाई उच्च महत्व दिनुका साथै योजना निर्माण गर्दा पनि त्यसलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिन्छ। तर नेपालमा भने अनुसन्धानलाई न्यून महत्व दिइएको छ। भएका अनुसन्धानको सिफारिसलाई पनि योजना वा कार्यक्रम निर्माणका क्रममा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिँदैन। अनुसन्धानको महत्व स्वास्थ्य, कृषि, उद्योग, भौतिक पूर्वाधार, धर्म, संस्कृति, शिक्षा, विज्ञान, जल, जमिन, आकाश सबै क्षेत्रमा हुन्छ। नेपाल हरेक क्षेत्रमा कमजोर हुनुको मुख्यकारण अनुसन्धान नहुनु र भएकाको उपयोग, अभिलेखीकरण र प्रकाशन नहुनु नै हो भन्दा अतिशयोक्ति नहोला।

प्रकाशित: ३ भाद्र २०७१ २२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App