६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

धरापमा प्राज्ञिक मर्यादा

प्रजातन्त्रको पुनसर्थापनाभन्दा पहिले एकमात्र त्रिभुवन विश्वविद्यालयले सबै प्रकारको उच्च शिक्षाको भार बहन गर्थ्यो। त्यसैकारण उच्च शिक्षा सहरीया र कुलीनको पेवाजस्तो हुनपुगेको थियो।आधुनिक संचारको विकास भइनसकेको हुँदा समुद्रपारको शिक्षामा पहुँच सजिलो थिएन। ग्रामीण भेगका मानिसका लागि त्यो ‘आकाशको फल आँखा तरी मर' जस्तै थियो। हुनेखाने तर समुद्रपारसम्म पहुँच पुर्यााउन नसक्नेका लागि गन्तव्य थियो, भारतको धार्मिक सहर वाराणासी। धर्म, शिक्षा र राजनीतिसमेत हुने त्यहाँ ‘थोडा खाना बनारस में रहना' भन्दै सन्तानलाई पढ्न पठाउँथे कुलीनहरू। अन्य दक्षिण एसियाली देशको तुलनामा अहिले पनि नेपालमा विश्वविद्यालयको संख्या कमै छ। भारतमा छ सय पचासभन्दा बढी, बंगलादेश र पाकिस्तान झन्डै एक सय पचास, श्रीलंका, म्यानमार र अफगानिस्तानमा तीसभन्दा बढी विश्वविद्यालय छन्। नेपालमा नौ र भुटानमा भने एउटामात्र विश्वविद्यालय छ।
प्रथम जनआन्दोलनबाट देशमा प्रजातन्त्रको पुनर्स्थापनापछि सुरुका दिनमा देशमा संचार, शिक्षा, स्वास्थ र केही पूर्वाधारका कामले अपेक्षित गति लिँदै थिए। तर, नेतृत्वको अपरिपक्वता र अदूरदर्शिताका कारण राजनीति आफैँ स्थायी र स्थिर हुन सकेन। एक दशकसम्म त देश झन्डैझन्डै गृहयुद्धको स्थितिबाट गुजि्रयो। समय र चेतनाको विकाससँगै बढेको उच्च शिक्षाको मागलाई देशभित्रका अवसरले धान्न नसक्नु र प्रविधिले विश्वलाई नजिक ल्याउँदा सक्षम युवा अध्ययनार्थ विदेशिने क्रम बढ्यो। 
मन, धन, अवसर, मेहनत, लगनशीलता र क्षमताका सबै दृष्टिकोणले विश्वविद्यालय शिक्षा आर्जन सजिलो र सुलभ छैन। त्यसैले त उच्च शिक्षा प्राप्त व्यक्तिको योग्यता, दक्षता, क्षमता र व्यवहारमाथि सबैले निसंकोच आदर, सम्मान र विश्वास गर्छन्। न जात, न भूगोल, न रंग, न रूप, न धन कुनै पनि बन्धन र सीमा हुँदैन प्राज्ञिक मर्यादामा। 
तर दुर्भाग्य, यही प्राज्ञिक मर्यादामा लाजमर्दो स्थिति देखिन थालेको छ। गणतन्त्र स्थापनापछि ढिलै भए पनि देशमा केही विश्वविद्यालयको स्थापना भयो। नवस्थापित विश्वविद्यालयमा लामो समयसम्म पदाधिकारी नियुक्ति हुन सकेन। ढिलो गरेर राजनीतिक भागबन्डामा पदाधिकारीहरूको नियुक्ति भयो। त्यसपछि विश्वविद्यालयको भौतिक निर्माण एवं शैक्षिक कार्यक्रम संचालन हुन थाल्यो। तर दुर्भाग्य, नवनियुक्त पदाधिकारीले काम थालेको छोटो समयमै धमाधम अख्तियारले विश्वविद्यालयमा छापा मार्न र पदाधिकारी गिरफ्तार गर्न थालेको छ। साथै अदालतमा मुद्दा दायर हुनथाल्यो। देश एवं प्राज्ञिक क्षेत्रमा यसभन्दा ठूलो लज्जाको विषय के होला? 
विश्वविद्यालयमा आर्थिक अनियमितताको आरोपमा उपकुलपतिसहितको गिरफ्तारी क्षम्य विषय होइन। यसको जिम्मेवारी आरोपितलेे मात्र होइन तिनलाई रोज्ने कुलपतिले लिनुपर्छ। अनि आरोप प्रमाणित नभए अख्तियार प्रमुखले त्यसको जिम्मेवारी लिनुपर्छ। प्राज्ञिक मर्यादा र त्यसको स्खलन राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय विषय हो। यो पुस्तामात्र नभएर भावि पुस्ताको समेत सरोकार र प्रतिष्ठाको विषय हो।
विश्वविद्यालयदेखि प्राज्ञिक प्रतिष्ठान, संवैधानिक निकायमा राजनीतिक र नस्लजन्य भागबन्डामा प्राज्ञ नियुक्त गरिन्छ। भर्खरै प्रज्ञा प्रतिष्ठानहरूमा गरिएको प्राज्ञ नियुक्तिमा आफ्नो समूहको प्रतिनिधित्व नभएको भन्दै प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको छ। भागबन्डामा गरिने नियुक्तिले ल्याएको विकृति र त्यसले प्राज्ञिक एवं सार्वजनिक प्रशासनमा पारेका असरको फेहरिस्त लामै छ। डेढ वर्षपहिले राजनीतिक र नसलका आधारमा लोकसेवा आयोगका सदस्य सिफारिस भए। सेवानिवृत्त सचिवले लोकसेवाका प्रतिस्पर्धामा छोरीको उत्तर पुस्तिका जाँच गरी सर्वोत्कृष्ट अंक दिए। पछि त्योे परीक्षा रद्द भयो भने उनका विज्ञ पितालाई विज्ञताको सूचीबाट हटाइयो। 
प्राज्ञ र प्राज्ञिक सम्पत्ति कुनै एउटा देश, समाज वा वर्गको मात्र होइन, मानव जातिकै हुन्। यिनको उपयोगितालाई भौगोलिक सीमामा कैद गर्न सकिँदैन। प्राज्ञिक क्षेत्र वा समुदायमा देश वा भूगोल हुँदैन। एक ठाउँको प्राज्ञलाई अर्को ठाउँको प्राज्ञले चिन्ने भनेकोे उसका अन्तर्राष्ट्रिय मान्यता प्राप्त जर्नलमा प्रकाशित लेखले नै हो। अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार र कार्यशालामा व्यक्त विचारले चिनाउने हो भने त्यसलाई मान्ने आधार उसले प्राप्त गरेको प्राज्ञिक पदविले हो। यस विशाल संसारमा व्यक्तिगतरूपमा सबैले सबैलाई चिन्न सम्भव छैन। बेलायतको प्राध्यापकले आफ्नो प्रयोगशालामा अनुसन्धान गर्न पश्चिम अफ्रिकी मुलुकको अपरिचित विद्यार्थी छनोट गर्छ। छनोटको मुख्य आधार विद्यार्थीको शैक्षिक क्षमता हो। यस्ता विद्यार्थीलाई नजिकबाट चिनेको अर्को प्राध्यापकले सिफारिस गर्छ। विद्यार्थीले पेशस गर्ने शैक्षिक योग्यताका प्रमाणपत्र औपचारिक नियमका लागि हुन् र प्रमुख सिफारिसै हो। 
नेपालको प्रयोगशालामा प्राज्ञको प्रत्यक्ष निगरानीमा गरिएको अनुसन्धानको परिणाम अमेरिकाको प्रतिष्ठित जर्नल प्रकाशित गर्ने संस्थाका सम्पादकले विनासंकोच प्रकाशित गर्छ। त्यसको आधार के? न त्यो सम्पादकले नेपाली प्राध्यापकलाई चिनेको वा देखेको छ, न उसले अनुसन्धान गर्ने प्रयोगशाला नै हेरेको छ। यसको एउटैमात्र आधार भनेको प्राज्ञिक मर्यादा हो। अमेरिकामा बस्ने सम्पादक नेपालबाट आएको अनुसन्धानात्मक लेख पठाउने प्राध्यापकको ‘प्राध्यापक डाक्टर' भन्ने पदविसँग विश्वस्त हुन्छ। मेहनतद्वारा प्राप्त यस पदविधारीले जानेर र नियतवश गल्ती गर्दैन भन्नेमा ऊ ढुक्क रहन्छ। नेपालका विश्वविद्यालयका पदाधीकारी तथा प्राज्ञ आर्थिक हिनामिनामा संलग्नताको आरोपमा गिरफ्तार भएको खबर विश्वका प्राज्ञिक समुदायबीच फैलियो भने नेपाली प्राध्यापक डाक्टरहरूको विश्वसनीयता यत्तिकै कायम रहला त? 
‘गुरु देवो भवः' भनेर गुरुलाई देवतासमान मान्ने र गुरुबाट गल्ती हुँदैन भन्ने विश्वासका साथ शिक्षा र आशीर्वाद लिने चलन संसारभर छ। तर, दुर्भाग्य यस्तो महत्व र उच्च सम्मानयुक्त पदवीधारण गरेका गुरु आर्थिक अनियमिततामा सार्वजनिक हुँदा सम्पूर्ण वौद्धिक जगतको मुहारमा कालो पोतिएको छ। भनिन्छ ‘जुन औंलामा विष लाग्यो त्यही झर्ने हो'। तर, हाम्रा बौद्धिक प्राज्ञमा आएको यस विचलनले नेपालमा प्राज्ञ छनौट र विभूषणको प्रक्रिया अनि जिम्मेवारी दिइने प्रक्रियामा पनि ठूलो प्रश्न चिन्ह उठाएको छ। 
सिद्धान्ततः एउटा व्यक्ति प्राज्ञ बन्न धेरै लामो साधना र कठोर परीक्षण उत्तीर्ण हुनुपर्छ। सामान्यतयाः त्यसमा खरो उत्रिएका व्यक्तिबाट कुनै किसिमका अनैतिक क्रियाकलाप हुँदैनन् भन्ने विश्वास छ। तर, नेपालका हालैका घटनाक्रम हेर्दा लगभग सबै विश्वविद्यालयमा अनियमितताका घटना बाहिर आएका छन्। यसले प्राज्ञिक मर्यादामा चोट त पुर्याशएकै छ, ती विश्वविद्यालयबाट प्रदान गरिने योग्यता(डिग्री)को कद उचो रहिरहने सम्भावनासमेत घटाएको छ। 
प्राज्ञ आफैँमा विशिष्टकृत शब्दावली हो। यही ओज र गरिमामाथि विश्वास गरेर नै विश्व प्राज्ञ एवं अन्य समुदाय संचालित छ। हरेक देशको राज्यभार संचालनमा प्राज्ञको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता, सल्लाह, सुझाव र दक्षताको प्रयोग भएको हुन्छ। सबै विकसित र सम्पन्न मुलुकका राजनीतिक सल्लाहकार प्राज्ञ छन् र तिनको सल्लाह र सुझावले महत्वपूर्ण अर्थ राख्छ। सरकारमा जुनसुकै दल पुगोस्, उनीहरू सबै विधाका प्राज्ञसँग छलफल गर्न र सल्लाह लिन छुटाउँदैनन्। प्राज्ञ पनि भेदभावविना सल्लाह र सुझाव दिन हिच्किचाउँदैनन्। प्राज्ञ राजनीतिभन्दा आफ्नै प्राज्ञिक कार्यमा रमाउँछ। देशको आवश्यकताअनुसार थोरै समयको लागि राजनीति र सरकारमा गए पनि आफ्नो अवधि पूरा गरेपछि प्राज्ञिक पेसामै फर्कन्छ। तर, दुर्भाग्य हाम्रो देशका अधिकांश प्राज्ञ आफ्नो प्राज्ञिक क्षमताभन्दा राजनीतिमा बढी चासो राख्छन् र कुनै दलसँगको सन्निकटतामा भविष्य देख्छन्। 
विश्वविद्यालयमा अनियमितताका घटनाहरू हुनुमा सही ठाउँमा सही मान्छे छान्नसक्ने छनोट प्रणाली नहुनु पनि हो। हरेक कुरामा राजनीतिक र नस्लका आधारमा भागबन्डाले राम्राभन्दा हाम्रा मान्छे छान्न तयार हुनेे नेता र सरकार पनि कम जिम्मेवार छैनन्। अहिलेका घटनाबाट पाठ सिकेर प्राज्ञिक मर्यादाको गम्भीरता बुझेर नेतृत्वले भविष्यमा सुधार नगर्ने हो भने नेपालको अन्तर्राष्ट्रिय छवि र विश्वास गुम्दै जानेछ। मेहनत गरे पैसा कमाउन त सकिएला तर अन्तर्राष्ट्रिय क्षेत्रमा प्राज्ञिक छवि गुम्यो भने भावि पुस्ताले समेत त्यसको मूल्य चुकाउनुपर्ने हुन्छ।

प्रकाशित: ७ आश्विन २०७१ २२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App