न्याय परिषद्को यात्रा
०२ पौष २०७१
•
११ मिनेट पाठ
न्याय परिषद्को यात्रा
मेरा लागि न्याय परिषद्को यात्रा लक्षित थिएन। परिषद्को यात्रामा लाम लागेका यात्रीलाई छोडेर नेपाल बारको रोजाइमा पर्नु मेरा लागि अनपेक्षित थियो। नेपाल बारको निर्णयलाई स्वीकार गर्ने कि नगर्ने विकल्पमा मैले अग्रजका रूपमा आदर गरेका व्यक्तिहरूको सल्लाहमा बारको निर्णयलाई सम्मान गर्ने निर्णय गरेँ। तर आज फर्केर हेर्न मन लागिरहेको छ। कतै त्यो निर्णयलाई स्वीकार गर्दा मैले आफैँलाई त अस्वीकार गरिन? कतै स्वतन्त्रता रक्षालाई कर्तव्य ठान्दाठान्दै आफैँ स्वतन्त्रताबाट वञ्चित त भइन? सिक्न र जान्न खोज्दा खोज्दै कतै म बोल्न र लेख्न नजान्ने त भइन? सिद्धान्तको कुरा गर्दा गर्दै कतै सिद्धान्तसँग सम्झौता गर्ने त भइन?नेपाल बारद्वारा आयोजित मानवअधिकार दिवसको कार्यक्रममा एकजना पूर्व महासचिवले मलाई सचेत गराउँदै भने – ‘उपेन्द्रजी! तपाईको कामबाट न न्यायाधीश खुसी भए न कानुन व्यवसायी नै खुसी छन्। परिषद्को बाँकी बसाइबाट तपाईँले कानुन व्यवसायीका पक्षमा जे गर्न सक्नुहुन्छ गर्नुहोस्। तपाईँको बसाइ अब धेरै छैन।' यी पूर्व महासचिवले उठाएकै विषय वस्तुलाई अर्का पूर्व महासचिवले आफ्नो बोल्ने क्रममा मबाट जबाफ खोजेका थिए। यही परिवेशबाट परिषद्को यात्रा र बसाइको अर्थ खोज्दैछु। 
म पहिले कस्को हुने – न्याय परिषद्को, न्यायाधीशको वा कानुन व्यवसायीको वा अरू कसैको? न्याय परिषद्को हुन खोज्दा न्यायाधीश खुसी नभएका होलान्। परिषद्को पक्षमा उभिँदा कानुन व्यवसायीको पनि भइएन होला। न्यायाधीशको पदलाई आफ्नो वृत्ति विकास ठान्ने कर्मचारी त रिसाएकै होलान्। आफ्नै मान्छेलाई न्यायाधीश बनाउन खोज्ने कानुन व्यवसायी नेतृत्व र न्यायाधीश भई हाल्न पाउने कानुन व्यवसायी, न्यायाधीश हुन नपाउँदा खुसी हुने ठाउँ कहाँ रहला र? स्वार्थले घेरिएका कानुन व्यवसायी हुन् वा न्यायाधीश आआफ्नो स्वार्थपूर्ति नहुँदा खुसी हुन त कसरी सक्लान्? 
न्यायाधीशको नियुक्तिलाई अधिकार ठान्ने संस्कारमा हुर्केका व्यक्तिलाई नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिबीचको समान अवसरमात्र हो भन्ने बुझ्न मनै लाग्दैन। लोकसेवाको परीक्षा उत्तीर्ण भएदेखि जन्ममिति र तिथि केलाउने न्यायपालिकाभित्रको हल्ला बजारमा उमेर राजनीति निकै चर्चामा हुन्छ। आफ्नो वरीयता प्रमाणित गर्न बहालवाला पदको नियुक्तिले नपुगे अघिल्लो पदको वरिष्ठता देखाउँछन्। त्यो पनि नभए अधिकृत हुँदा म वरिष्ठ थिएँ भन्छन्। अधिकृतको वरिष्ठताले भेटेन भने कहिलेको कानुन स्नातक भनेर सोध्छन्। त्यतिले पनि भएन भने मेरो जन्म मिति पहिलेको भन्न पनि बेर मान्दैनन्। लोकसेवा उत्तीर्ण हुन नसकेर कानुन व्यवसायी भएकासँग हाम्रो कहाँ वरिष्ठताको हिसाब हुन्छ भनिदिए पनि पुग्दोरहेछ। कानुन व्यवसायको सेवालाई वरिष्ठताको क्रममा गणना गर्ने त चलनै हुँदो रहेनछ। अर्कोतर्फ न्यायाधीश पाए पुछारमा बस्न तयार हुने कानुन व्यवसायी पनि प्रसस्तै हुँदा रहेछन्। कहाँ खोज्ने औचित्य? कोसँग खोज्ने पद्धति र प्रणाली? यस्तै विषयमा पद्धति बसाल्न खोज्दा न्यायाधीश खुसी भएनन्। कानुन व्यवसायी पनि खुसी छैनन्। कर्मचारी त झन् खुसी हुने कुरै भएन। पूर्व महासचिव द्वयले उठाएको विषय ठीकै पो हो किजस्तो लाग्छ मलाई पनि। तर न्यायाधीश नियुक्तिसम्बन्धी प्रक्रियाका बारेमा सुसूचित हुने हक त नियुक्तिका लागि योग्यता पुगेकालाई मात्र हैन न्यायाधीशबाट न्याय पाउने जनताको पनि हुन्छ। सबैको सहभागिताको अधिकारलाई सम्मान गर्न खोज्दा त कतै यस्तो भएन! दरखास्त दिन अनिवार्य नहुने हो भने ‘मलाई त न्यायाधीश खान मन थिएन खा खा भने खानै पर्योब' भन्दै गफ छाट्न थाल्छन्। परीक्षणमा पनि बस्न नपर्ने, चरित्र र विगतको क्रियाकलाप पनि हेर्न नपर्ने र अदालतको अपहेलना गर्नेलाई समेत माननीय श्रीमान् भन्नपर्ने हाम्रो समाजमा परिस्कृत संस्कार र संस्कृतिको कुरा कहाँ खोज्ने? के रोज्ने? अनि कसरी हुर्काउने? यस्ता प्रश्नको जबाफ बारका मित्रहरूले खोजिदेलान् भनेर बस्नु कतै मेरो गल्ती त थिएन?
आज न्याय परिषद् आफैँ बोल्न सकिरहेको छैन। कसैले हप्काउला भन्ने डरले चुप लागेको पात्रको अवस्थामा न्याय परिषद् छ। बोल्नै नसक्ने रोग पो लाग्यो कि? कसैले खोज्दैन। नेपालका प्रयोगशाला –ल्याब) भरपर्दा पनि छैनन्। रोगीलाई डाक्टरले समयै दिँदैनन्। कतै उपचार खोजेको बिरामी त होइन न्याय परिषद्? न घर छ, न बास न औकात र हैसियतै छ। आफ्नै सन्तान पनि छैनन्। मोहीयानी लाग्ला भनेर हो कि अधियाँ रोप्न पनि पाइँदैन अचेल। के गरोस् न्याय परिषद्? गरिबी, अशिक्षा, कुपोषणग्रस्त निरीह व्यक्ति सडकमा दिशाहीन यात्रा गर्दा ‘काम्यो लुगलुग त्यो गरिब बिचरा त्यस्मा दया गर्छ को?' भन्ने कविवर भीमनिधि तिवारीका कविताको एउटा पंक्तिमा वर्णित पात्रजस्तै भएको छ, न्याय परिषद्। कविवर तिवारीको कविता मान्छेका बारेमा मात्रै हैन अरू प्रसंगमा पनि सटीक हुनेरहेछ। 
परिषद्का बारेमात्र हैन अदालत, न्यायाधीश, कानुन व्यवसायी र यिनका वरिपरी उपग्रह झैँ घुम्नेहरूका बारेमा पनि धेरै ज्ञान प्राप्त भएको छ। कति कुरा व्यक्त भए होलान्? सबै वर्णन गर्न पदीय सीमाले मिल्दैन। भविष्यमा त्यस्ता विषयले ठाउँ प्राप्त गर्लान्। कति मनमा अटेका छन्? थाहा नपाउनुपर्ने कुरा धेरै थाहा भयो। न जान्नुपर्ने विषय जान्न कर गरेको पनि देखेँ। सिद्धान्तप्रति प्रतिबद्ध नहुन पनि अभ्यास हुँदोरहेछ। धेरै जान्न खोज्दाखोज्दै मैले जानेका सुसंस्कृत विषय बिर्सन त लागिन? परिषद्भित्र मैले नयाँ केही सिक्न पाइन। सिकेका कुरा बरु बिर्से किँ?अभ्यास कम भयो कि? यह पीडाले मलाई अहिले अत्याइरहेको छ। 
राजनीतिक आवद्धता त्यागेर न्याय परिषद् सदस्यको शपथ लिएदेखि आजसम्म मैले तटस्थताको मर्यादा र सीमालाई सम्मान गरिरहेको छु। तर समाजमा जतिसुकै छुवाछुत छैन भने पनि घरघरमा विद्यमान छुवाछुत न्याय र कानुनको समाजमा चाहिँ छैन भन्दा सत्य हुँदैन भन्ने डर छ।
आफैले चित्र कोर्न र रंग भर्न गाह्रो रैछ। प्रष्ट हैन पानी रंग भर्नमात्र सकिने हुँदोरहेछ। सिद्धान्तसँग सम्झौता गर्नुपर्छ भन्नेमात्र हैन त्यसको अभ्यासै गर्नुपर्छ भन्ने हुँदोरहेछ। सिद्धान्त त व्यक्तिगत विषय बन्न पुग्ने रहेछ। अदालतकै फैसला कार्यान्वयन नगरे पनि कसैले औँला ठड्याउदो रहेनछ। एकातिर काम गर्न खोज्दा काम गर्न पर्दैैन भनिदोरहेछ भने अर्कोतिर ‘मियोविना दाइँ हाल्नुपर्छ' भनिदो रहेछ। स्वतन्त्र विचार हुर्कनसक्ने संस्कार भिन्दै हुँदोरहेछ। सेन्सरसिपका धेरै रुपरंग हुँदारहेछन्। नदेखिएपनि अनुभूति हुँदोरहेछ। राज्यको नोकर हुनखोज्दा मालिक हुने संस्कार सिकाइँदो रहेछ। मनभित्रका यस्ता तरंगलाई बाहिर ल्याउँदा मैले मेरा श्रद्धेय गुरु मुकुन्द रेग्मी र आदरणीय अग्रज शम्भुप्रसाद ज्ञवालीको पथ समात्नु नै उत्तम हुने हो कि भन्ने लागेको छ। त्यसैले, म कसैको हुनसकिन। न न्यायाधीशको भएँ न कानुन व्यवसायीको भएँ। मित्रहरूको भविष्य उज्ज्वल रहोस्!
सदस्य, न्याय परिषद्


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस