राजनेता किसुनजी
११ माघ २०६६
•
११ मिनेट पाठ
राजनेता किसुनजी
उहाँको निवासमा आइतबार अपराह्न चार बजे पुग्दा कृष्णप्रसाद भट्टराई खाटमा आड लागेर भूईंमा बस्नुभएको थियो। विनयशीलताका प्रतिमूर्ति किसुनजीले प्रधानमन्त्री माधवकुमार नेपालले नमस्कार गर्नुभन्दा पहिला नै दुई हात जोडिसक्नुभएको थियो। प्रधानमन्त्रीले ल्याइदिएका सुन्तला, स्याउ, मेवा, काजु, किसमिस, सेबई र बुद्ध मूर्ति एक-एक गरी हेरेपछि उहाँले आफ्नो चिरपरिचित शैलीमा भन्नुभयो- 'बाफ रे, यति मेरा लागि यति धेरै सामान! धन्यवाद माधवबाबु।'
किसुनजीलाई बौद्धिक र विनोदी नेताका रूपमा चिनिन्छ। ओशो तपोवनमा आफ्ना शुभचिन्तक र नेपालका धेरै राजनीतिक नेताहरूको उपस्थितिमा आफ्नो ८६ औँ जन्म दिन मनाएका भट्टराईले प्रधानमन्त्रीको उमेर सोधिसकेपछि भन्नुभयो- 'म त भर्खर ६७ वर्षको भएँ। तपाईंभन्दा १० वर्ष मात्र जेठो!'

जनआन्दोलनबाट २०४६ सालमा पुनःस्थापित प्रजातन्त्रलाई संस्थागत गर्ने श्रेय किसुनजीलाई जान्छ। त्यसपछि ०४७ सालको संविधान निर्माण र ०४८ सालको आमनिर्वाचन पनि किसुनजीको नेतृत्वमा सम्पन्न भएको हो। त्यतिबेला आफूले तयार गरेको संविधान जारी गर्न दरबारले किसुनजीलाई निकै दबाब दिएको हल्लाले हङ्गामा मच्चाएको थियो। अहिले मरिसकेको राजतन्त्रका समेत शुभेच्छुक किसुनजीले त्यसलाई सीधै अस्वीकार गर्नु भएन। संविधान मस्यौदा आयोगका सदस्य रहेका प्रधानमन्त्री नेपालले त्यतिबेलाको प्रसङ्ग झिकेपछि किसुनजीले भन्नुभयो- 'हो, मैले तपाईंलाई कसरी सहयोग गरेको थिएँ?' भएको के रहेछ भने दरबारले दिएको संविधानको मस्यौदा किसुनजीले आफ्नो बिस्तरामा लुकाएर राख्नुभएको रहेछ। नेपालसँग कुरा भएपछि त्यो मस्यौदा निकालेर दिँदै किसुनजीले भन्नुभएछ- 'म दरबारको विरोध गर्न सक्दिन। तपाईंहरूले जे गर्नुपर्छ, गर्नुहोस्।' त्यतिबेलाको स्मरण गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो- 'त्यसपछि हामीले गोरखापत्रलाई बोलाएर कसैको नाम उल्लेख नगर्ने भनेर त्यो समाचार छाप्न भनेका थियौँ। त्यही समाचार आएपछि जनता फेरि सडकमा आए र दरबारको प्रयास असफल भयो।' उहाँको कुरा सुन्दा मुस्कुराइरहेका किसुनजीले भन्नुभयो- 'संविधान बनाउन गाह्रो हुन्छ, राम्ररी काम गर्नुहोला।'

षड्यन्त्र, छलछाम, दाउपेच, कूटनीति आदिलाई सम्भवतः राजनीति र राजनीतिक नेताबाट अलग राख्न सकिँदैन। तर, किसुनजीलाई यी सबैबाट अलग्गै रहनुभयो। उहाँ आफैँलाई पनि त्यस्तो लाग्दोरहेछ। आध्यात्मिक चिन्तनमा प्रवृत्त किसुनजीले प्रधानमन्त्रीलाई सुनाउनुभयोे- 'मैले आजसम्म कुनै मानिसलाई हानिनोक्सानी पुर्‍याएको छैन, कहिल्यै पनि कसैको कुभलो चिताएको छैन। त्यति मात्र होइन, मैले कुनै जनावरलाई पनि हानि पुर्‍याएको छैन। सायद त्यही भएर भगवान्ले मलाई यति लामो आयु दिनुभएको होला! तपाईं पनि लामो आयु बाँच्नुहोस्।'

किसुनजीले बोलीचालीमा प्रयोग गर्ने सामान्य शब्दभित्र पनि गहन अर्थ लुकेको हुन्छ। उहाँले प्रयोग गर्ने शब्द र वाक्यको वजन सम्भवतः नेपाली राजनीतिक नेतामध्ये सबैभन्दा उच्च छ। अहिले उहाँ थोरै बोल्नुहुन्छ, सुन्न पनि कम भएको रहेछ। बुढ्यौलीका कारण उहाँको स्मरणशक्ति पनि कम हुँदै गएको छ। उहाँलाई हिँडडुल गर्न सहयोगी चाहिन्छ तैपनि बिहानै नुहाउने, जनै धुने, दाह्री काट्ने र जप गर्ने आफ्नो नियमित दिनचर्यामा विशृङ्खलता आउन दिनुभएको छैन।

तत्कालीन अवस्थामा सत्ताधारी कांग्रेस र विपक्षी कम्युनिस्टहरूबीच सम्बन्ध कटु रहेका बेला पनि किसुनजीले त्यसलाई सहज पार्ने प्रयत्न गर्नुभएको थियो। गिरिजाप्रसाद कोइरालाको हठ र प्रतिपक्षको चर्को विरोधका कारण उत्पन्न तनावलाई कैयौँ पटक किसुनजीको मध्यस्थतामा साम्य पारिएको घटना पनि भेटमा दुवै नेताले स्मरण गर्नुभएको थियो।

किसुनजीले राजनीतिबाट सन्यास लिनुभयो वा लिन लगाइयो? यो अर्कै विषय छ। ०५६ सालमा गिरिजाप्रसाद कोइरालाले चतुरतापूर्वक कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जनतासँग मत माग्नुभयो। आफ्नो अलोकप्रियताबाट आफैँ तर्सिएका कोइरालाको कुटिल चाललाई किसुनजीको लोकप्रिय व्यक्तित्व र वामदेव गौतमको 'फुटबाट शक्ति आर्जन हुन्छ' भन्ने सिद्धान्तको सहयोगमा जनताबाट अनुमोदन प्राप्त भयो।

फलस्वरूप काङ्ग्रेसले बहुमत ल्यायो र लोकलाज बचाउन पनि किसुनजीलाई प्रधानमन्त्री बन्नबाट तत्काल रोकिएन। तर, सत्ता परिवर्तनको खेलमा रमाउने कोइरालाले उहाँलाई एक वर्ष पनि पदमा रहन दिनुभएन र आफैँ प्रधानमन्त्री हुनुभयो। सन्त स्वभावका किसुनजीमा त्यसयता व्यावहारिक राजनीतिप्रति वितृष्णा देखा परेकोछ। अहिले पनि उहाँ गिरिजाप्रसाद कोइरालाका बारेमा टिप्पणी गर्न चाहनु हुँदो रहेनछ। 'अहिले कत्तिको भेटघाट हुन्छ?' भन्ने जिज्ञासामा एकपटक 'खतरनाक मित्र' भनेर उपमा दिइएका कोइराला बारे किसुनजीले भन्नुभयो- 'अहिले त उहाँ पनि विरामी हुनुहुन्छ क्या रे!' किसुनजीको यस शब्दभित्र सायद धेरै अर्थ लुकेको छ।

किसुनजीमा आफ्ना साथीभाइहरूसँग ख्यालठट्ठा र मित्रवत् व्यवहार गर्ने गजबको क्षमता छ। साथीहरूलाई घरमा बोलाउने, खुवाउने पियाउने र गफ गर्ने उहाँको रहर अझ मरेको छैन। एक घन्टाको बसाइमा उहाँले प्रधानमन्त्री नेपाललाई पटकपटक आफ्नो घरमा खाना खाने गरी आउन आग्रह गर्नुभयो। अदम्य साहसका धनी किसुनजीले प्रधानमन्त्रीको हात समातेर भन्नुभयो- 'तपाईं श्रीमतीसहित मेरो घरमा आउनुहोस्। म आफैँ खाना पकाउँछु, भान्सामा बसेर खाउँला। मेरी एउटी दिदीको विवाह विराटनगरका नेपालसँग भएको थियो। त्यसैले नेपालहरूसँग मेरो सम्बन्ध छ।'

एकताका अमिता कपालीका बारेमा बजारमा सुजाता कोइराला वा आरजु देउवाको भन्दा बढी टिप्पणी सुनिन्थ्यो। तर, उनले किसुनजीलाई गरेको सेवा देख्दा आँखाबाट आँसु झर्न खोज्छ। शारीरिकरूपमा अशक्त किसुनजीको सम्पूर्ण सेवा अमिताले नै गरेकी छन्। एउटा मानिस कसरी अर्कोमा त्यसरी लीन हुन सक्छ। उनले प्रधानमन्त्रीसँग भनिन्- 'रातभर उहाँ सुत्नुहुन्न अनि म पनि खुट्टा थिचेर बस्छु। विहान छ बजेपछि एकछिन सुत्छु।' यसरी सेवा गर्ने दुनियाँमा कति जना होलान्?

किसुनजीका नाममा राज्यले ट्रस्ट खडा गरेको छ। किसुनजी ललितपुरको बाडेगाउँस्थित त्यही ट्रस्टको भवनमा बसिरहनुभएको छ। धर्मकर्म, अध्ययन र चिन्तनप्रतिको उहाँको लगाव घटेकोे छैन। केही समयअघि पाइलट बाबाको सुझाव अनुसार भातरको नैनीताल पुगेर फर्केका किसुनजी यही महिना हरिद्वार जाने तयारीमा हुनुहुँदो रहेछ। तालुमा नयाँ रौँ पलाउनुलाई समेत पाइलटबाबाको आशीर्वाद भन्ने किसुनजीका वरिपरि हिन्दू धर्मका ग्रन्थहरु छन्।

अहिले पनि किसुनजी नियमितरूपमा दैनिकी लेख्नुहुन्छ भन्दा आश्चर्य लाग्छ। उहाँले २०१४ सालदेखि लेखेका संस्मरणको सँगालो तयार भई पनि सकेको रहेछ। तर, दुःखको कुरा, त्यति महत्वपूर्ण ग्रन्थ उहाँकै छेउछाउबाट 'गायब' भएछ। त्यो दस्तावेज सायद उहाँकै कुनै 'घनिष्ट हितैषी' ले लिएको होला। किसुनजीको स्मरणशक्ति कमजोर छ, त्यसैले कसले लियो भन्ने उहाँलाई याद छैन। अमिता पनि नभएको बेला लिएको त्यस पाण्डुलिपि कसैले किसुनजीको शेषपछि प्रकाशित गर्ने योजना बनाएको हुन सक्छ। तर, यो बेइमानी हो। किनभने, कम्तीमा अहिले नै त्यो पुस्तक निकाल्ने हो भने त्यहाँ रहेका कतिपय अस्पष्टतालाई उहाँसँगै सोधेर समाधान गर्न सकिन्छ। यो भावि पुस्तालाई किसुनजीको अमूल्य उपहार हुनसक्छ।
अर्को समाचार
बन्नुपर्छ भट्टरार्इ संग्रहालय
०८ पौष २०७४
•
१९ मिनेट पाठ
बन्नुपर्छ भट्टरार्इ संग्रहालय
राजनेता स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) आजसम्म बाँचिरहनुभएको भए ९४ वर्षको हुनुहुन्थ्यो । उहाँ धर्तीमा रहुन्जेल तिथिको आधारमा जन्मदिन मनाउने गरिँदा गतेमा तल–माथि परिरहे पनि निधनपछि उहाँको जन्मदिनलाई जन्मजयन्ती मनाउने परम्पराले निरन्तरता पाउँदै आएको छ। 

सन्तनेता किसुनजीको आस्था र आदर्शलाई उहाँ संस्थापक रहेको पार्टी नेपाली कांग्रेस र नेपाली राजनीतिका निर्णायक व्यक्तिले अन्तमा अस्वीकार गरे पनि नेपालको राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारको प्राप्तिका लागि उहाँले गर्नुभएको कठोर तपस्याप्रति भने सबै नतमस्तक रहेकामा दुईमत छैन। 

संग्रहालयको गुरुयोजना बनाई भट्टराईका सामग्री नेपालका पुस्तौँ पुस्ताका लागि सुरक्षित राख्न ढिलाइ गरिनुहुन्न । यसो गर्न सकिएमा किसुनजी प्रति मात्र नभएर नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनका योद्धाप्रतिको सच्चा श्रद्धाञ्जली समेत ठहरिनेछ ।

सोही सम्मानकै खातिर नेपाल सरकारले पाँच रोपनी जग्गामा ललितपुर बाँडेगाउँमा निर्माण गरिदिएको सुन्दर आश्रममा उहाँले जीवनको पछिल्लो तीन वर्ष बिताउनुभयो। भट्टराई आश्रमले चिनिने त्यो स्थल बिस्तारै नेपालको राष्ट्रियता, मौलिकता, स्वाभिमान र प्रजातन्त्रको बलिदानीपूर्ण कठोर संघर्षको चित्र कोरिएको तीर्थस्थल मात्रै बन्दै छैन, सबै दलका नेता कार्यकर्ताले सहजता महसुस गर्ने राष्ट्रिय एकताको थलो बनेको छ। 

सामान्य नेपाली 

उहाँको पुस्तक ‘मेरो म’ पढ्दा जो–कोहीले थाहा पाउनेछ, उहाँ कति सामान्य, सरल र इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँको जीवन, परिवार र समकालीन अवस्थाबारे कतिपयले लुकाउन रुचाउने विषयलाई समेत उहाँले जस्ताको तस्तै उतारिनुदिनुभएको छ । १९०३ सालको कोतपर्वपछि शासन हातमा लिएका जंगबहादुर राणाले महाराज राजेन्द्रविक्रम र उनकी कान्छी महारानी राज्यलक्ष्मीलाई देश निकाला गरेपछि उनीहरूसँग पुरोहित पनि जानुपर्ने भएकाले किसुनजीको हजुरबुबा श्री विश्वनाथ भट्टराई, जो केही वर्षअगाडि बनारसबाट पढेर काठमाडौं फर्कनुभएको थियो, राजपरिवारका साथ सपरिवार बनारस जानुभयो। 

विश्वनाथका नाति, संकटाप्रसादको छोरा किसुनजीको बनारसमै १९८१ पुसमा जन्म भयो । एउटा नेपाली बाह्मण पुरोहित परिवारको जीवनशैली, आर्थिक अवस्था, रहनसहनको परिवेशमा किसुनजी हुर्कनुभएकाले सर्वसाधारण नेपालीको जीवनभन्दा कुनै फरक सुविधा वा अवसर उहाँलाई प्राप्त भएको देखिन्न । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले एक, दुई पैसाका लागि आफूले श्राद्ध वा सत्यनारायणको पूजा लगाउन सरिक भएको व्यहोरा पुस्तकमा सहजतासाथ उहाँले उल्लेख समेत गर्नुभएको छ। 

ब्राह्मण परिवारको पेसा नै पढ्ने भएकाले शिक्षाको ज्योतिले भने सानै उमेरबाट उहाँमा प्रभाव पारेकाले २२ वर्षको उमेरमै बनारस हिन्दूविश्वविद्यालयमा अर्थशास्त्रमा एमए प्रथम वर्षमा अध्ययन गर्दागर्दै आफ्नो मूलथलो मातृभूमि नेपाललाई राणाहरूको पारिवारिक मध्ययुगीन शासनबाट मुक्त गराउने क्रान्तिमा पूर्णरूपले समर्पित गर्दा पढाई पूरा हुन नपाएको चर्चा समेत उहाँले बारम्बार गर्नुहुन्थ्यो । त्यहाँबाट सुरु भएको आजीवन संघर्ष, सफलता, घात, प्रतिघातसँगै जीवनको अन्तमा आफ्नै आस्थाको अवसान भइरहेको राजनीति हेर्दै उहाँले शरीर छाड्नुभयो । आफ्नै अथक मेहनत, परिश्रम र सत्यनिष्ठाको राजनीतिका कारण उहाँ सबै नेपालीका बीच मात्र नभएर बिबिसीका दक्षिण एसियाको ब्युरो प्रमुख चर्चित पत्रकार मार्क टैलीका शब्दमा ‘एक मात्र जीवित सच्चा गान्धीवादी’को सम्मानबाट अभिभूत हुन पुग्नुभयो। 

सच्चा कर्मयोगी

निरन्तर गीता पाठ गर्ने गीतासाधक भएकाले किसुनजी जतिसुकै जटिल वा अप्ठेरा समयमा होस् वा सफल वा सजिला समयमा पनि समभावमा रहनुभयो । गीताको मूल सन्देश कर्मयोग हो । यसको अर्थ कर्म गर फलको आशा नगर किनकि कर्म मात्र तिम्रो हातमा छ । सबै सत्कर्मको फल राम्रो हुन्छ वा पुरस्काररूपी हुन्छ भन्ने छैन । यसको ज्वलन्त उदाहरण उहाँ स्वयं हुनुभयो । जस्तो, एकातिर ३० वर्ष एकछत्र शासन गरेका राजा र उनको संगठित शक्ति र अर्कातिर बढ्दो कम्युनिस्ट शक्तिलाई मिलाएर इतिहासमा पहिलोपटक नेपालको सार्वभौमसत्ता नेपाली जनतामा मात्र रहेको उद्घोषसहितको ०४७ सालको सर्वस्वीकार्य संविधान एक वर्षमा जारी गराई सबै पक्षका नेपालीको आमसहभागितामा आमनिर्वाचन सम्पन्न गरी आफ्नो पार्टी नेपाली कांग्रेसलाई बहुमत दिलाउन सफल भए पनि किसुनजी स्वयंले चुनाव हार्नुभयो। 

किसुनजीको बुझाइ थियो, कर्मबाहेक फलको आशाले पीडा जन्माउँछ, किनकि मैले राम्रो काम गरेँ तर किन फल पाइन भनेर मानिस सन्तापमा पर्छ । जब कि सत्कर्ममै खुसी भएको भए सत्कर्मले दिने मीठो आनन्द नै उसको फल हुन सक्छ । किसुनजीको मूलमन्त्र यही नै थियो । त्यसैले सत्कर्म उहाँले निरन्तर गर्दै जानुभयो । झुटो बोलेर कसैको अगाडि राम्रो देखिने नाटक पनि उहाँले गर्नुभएन किनकि कसैले नदेखे पनि आफूभित्र रहेको आत्मा वा ईश्वरबाट त्यो लुक्ने थिएन । कसैको चाकडी, कसैलाई फकाएर, फुलाएर वा झुटो बोलेर कसैको समर्थन वा सहयोग लिने इच्छा वा प्रयास पनि उहाँले गर्नुभएन । धमिलो वा कालो मनले सत्य वा ईश्वरको पुकारा गर्न सकिन्न । कालो खाए कालै निस्कन्छ भन्नेमा उहाँ दृढ निश्चयी हुनुहुन्थ्यो । यसबाट नेपालभित्र र बाहिरका धेरै शक्ति उहाँसँग सशंकित भए होलान्, जसको पीडादायक परिणाम उहाँले बारम्बार भोग्नुपरे पनि सत्यनिष्ठाको राजनीतिलाई उहाँले कहिल्यै छाड्नुभएन। 

राजनीति मुक्तिको मार्ग

आज अधिकांशले राजनीतिलाई सत्ता र शक्ति प्राप्तिको अचुक मार्गको रूपमा बुझेका, लिएका छन् । तर किसुनजीका लागि यो मुक्तिको मार्ग थियो । ३० वर्ष लामो पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष सफल भएर २०४७ सालमा राजाबाट प्रधानमन्त्री नियुक्त हुनुभएपछिको पहिलो अन्तर्वार्तामा कुपन्डोलस्थित उहाँले लामो समयदेखि निवास बनाउनुभएको भान्जाको घरको छिँडीमा पत्रकारले आज तपाईंको जीवनको सबैभन्दा खुसीको दिन होला, तपाईंहरूले घोषणा गरेको लक्ष्य प्राप्त गर्नुभयो नि भन्ने प्रश्नमा मेरो जीवनको लक्ष्य मुक्ति हो, जीवनमरणको दुश्चक्रबाट मुक्ति, त्यसका लागि राजनीतिक र वैयक्तिक स्वतन्त्र पहिलो सर्त भएकाले मैले त्यसको प्राप्तिका लागि राजनीतिक संघर्ष बाटो लिएको हुँ भन्नुभएको छ । प्रधानमन्त्री मेरो जीवनको लक्ष्य कहिल्यै थिएन भन्ने जवाफ सुन्दा प्रश्नकर्ता स्वयं अवाक् भएका दृश्य हामी धेरै नेपालीले देखेका थियौँ। 

गीतामा लेखिएजस्तै मानिसको सबैभन्दा ठूलो कर्म भनेको आत्मसाक्षात्कार हो । हामी आफू के हौँ ? किन आयौँ ? र, कहाँ जाँदै छौँ ? शरीर ढलेपछि केही बाँकी रहन्छ कि रहन्न ? के म मात्र फगत शरीर हुँ ? वा अरु केही ? मभित्र कहिल्यै गल्ती नगर्ने वा गल्तीलाई ठीक नमान्ने विवेक के हो ? भन्ने जस्ता प्रश्नको खोजीभन्दा ठूलो आविष्कार केही हुन सक्दैन । मान्छेको केही समय त्यता गएमा संसारबाट हिंसा, झै–झगडा, पीडा, दुःखकष्ट तेरो–मेरो सबै हटेर जानेतर्फ बहुत कमको ध्यान गएको छ । किसुनजीले यी सबैसँगै लिएर हिँड्नुभएको थियो। 

आफ्नोबारे मेरो ममा उहाँले लेख्नुभएको छ, ‘भगवान्को कृपाले मलाई अझै कुनै गम्भीर बिमारीले छोएको छैन । १–२ माइल प्रतिदिन हिँडडुल गर्दछु र नौ घन्टा सुत्छु । अहिले ८० वर्ष पुगिसक्दा पनि प्रतिदिन तीन–चार घन्टा धेरै नथाकी लेखपढको काम गर्न सक्छु । जीवनको परम उद्देश्य, आदर्श जीवन बिताउने उत्कट चाहना अझै मरेको छैन र अन्ततोगत्वा मानिसको अपरिहार्य अन्त्य वा मरणको अहिलेसम्म सुल्झिन नसकेका अनुत्तरित प्रश्नको समाधानको खोजमा पनि उत्तिकै लागेको छु।’ 

यसरी उहाँ मानिसले खोज्नैपर्ने सबैभन्दा अन्तिम तŒवको खोजीमा निरन्तर हुनुभएकाले उहाँको नजिक जाँदा जो–कोहीलाई अर्कै ऊर्जा, सुगन्ध र आनन्दको महसुस हुन्थ्यो । नेपालीको मुहारमा आफ्नो अनुहारमा रहेको जस्तो कहिल्यै नमुर्झाउने हाँसो छर्न लामो समय संघर्ष गर्नुभएका किसुनजी नेपाली राजनीतिमा बिरलै देखिने निर्मलजल रहनुभएकाले ०४८ देखि ०६७ सालसम्म नेपाली राजनीतिमा देखिएका कतिपय कालो राजनीति खेलका छिटा उहाँको सेतो कपडामा कहिल्यै नपर्नुलाई सानो उपलब्धि मान्न सकिन्न । 

आश्रमको विकास   

किसुनजी शरीरमै रहनुभएको समय उहाँको इच्छा र थाहा जानकारीमा किसुनजीका परमहितैषी अनुयायी पिएल सिंहको अध्यक्षतामा सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान, ०६६ श्रावणमा दर्ता गरियो । यसको मूल उद्देश्य अहिंसात्मक राजनीति, राष्ट्रियता र प्रजातन्त्रका प्रति किसुनजीको संघर्ष र निष्ठाको खोज अनुसन्धान, संरक्षण र प्रकाशन गर्दै यसको व्यापक प्रचार–प्रसार गरेर नयाँ पुस्तालाई सुसूचित गर्ने समेत रहेको छ । सरकारले किसनुजीका लागि स्थापना गरिदिएको बाँडेगाउँ आश्रम त्यसैका लागि प्रयोग होस् भन्ने उहाँको अभिलाषा समेत रहेको थियो। 

प्रतिष्ठान दर्तापछि माधवकुमार नेपाल प्रधानमन्त्री रहनुभएको एमाले–कांग्रेस सरकारले किसुनजीको आश्रमलाई किसुनजीको नामको ट्रस्टमा रूपान्तर गर्ने निर्णय गरेकाले छिटै सरकारले केही प्रबन्ध गरेर आश्रम व्यवस्थापन गर्नेछ भन्ने विश्वासमा प्रतिष्ठानको तदर्थ समितिलाई परिवर्तन गर्ने दिशातर्फ कसैले चासो नलिइरहेको अवस्थामै आश्रम आठ वर्षदेखि सञ्चालित छ । झलनाथ खनाल प्रधानमन्त्री हुनुभएको समयमा किसुनजी आश्रमको व्यवस्थापन कसरी गर्ने ? संसद्बाट ऐन पास गरेर ऐनबमोजिम सञ्चालन गर्ने वा विकास समिति ऐनअन्तर्गत विकास समिति बनाएर सञ्चालन गर्ने भन्ने सम्बन्धमा कानुन सचिवको संयोजकत्वमा कार्यदल बनाएर विधेयक र विकास समिति गठन आदेशको मस्यौदा समेत सरकारसँग रहेको अवस्थामा दीर्घकालीन सोचका साथ किसुनजीको इतिहासको संरक्षणमा सरकारले ठोस निर्णय लिन अब ढिलाइ गर्न नहुने देखिन्छ। 

विश्वका धेरै देशले आफ्ना जनताको मुक्तिका लागि संघर्ष गरेका नेताको इतिहासको संरक्षण राष्ट्रको गौरवको रूपमा गरेको भेटिन्छ र त्यस्ता स्थान भावी सन्ततिका लागि प्रेरणाको स्रोत मात्र नरही विश्वलाई देखाउने राष्ट्रिय गौरव बनेको भेटिन्छ । नेपालमा राष्ट्र र जनताका पक्षमा जीवनपर्यन्त अविचलित संघर्ष गरेका नेताहरूको कमी नभए पनि उनीहरूको इतिहासको संरक्षण भएको छैन र उनीहरूको नाममा कुनै संग्रहालय पनि छैन वा त्यसका लागि उनीहरूको सामग्रीको संरक्षण भएको छैन । सौभाग्यले किसुनजीको हकमा उहाँले आफैँले लेख्नुभएका दैनिक डायरी, उपनिषद्माथिको टीका, स्वलिखित लेख–रचना, उहाँको पुस्तकालय, प्रयोग गर्नुभएका धेरै सामग्री, उहाँको बहुचर्चित छाता, च्यातिएको ट्यांका र सुराही सबै बाँडेगाउँ आश्रममा उहाँको जीवनको पछिल्लो झन्डै २० वर्ष सेवा गर्ने अमिता कपालीका कारण जस्ताको तस्तै सुरक्षित छ । २००३ सालदेखि नेपाली राजनीतिमा सक्रिय रही मूलतः २००७ सालपछि २०५६ सम्मको समयमा सक्रिय रही नेपालको घात प्रतिघातको राजनीतिलाई आफैँले नियाल्नुभएका किसुनजीले ती सबै घटनाबारे के लेख्नुभएको छ ? उहाँका डायरी प्रकाशित गर्न सकिएमा सबै प्रस्ट हुनेछ । नेपालको राजनीतिमा जटिल रहेको नेपाल–भारत सम्बन्धका संवेदनशील पक्षबारे समेत त्यसमा पहिलो जानकारी रहेको हुनुपर्छ। 

बाँडेगाउँ आश्रमसँगै जोडिएको पश्चिम खाली जग्गामा किसुनजीका सामग्री राख्न भव्य संग्रहालय बनाउने लक्ष्य समेत अधुरै छ । त्यसलाई नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक संग्रहालयमा रूपान्तर गर्न सकिन्छ । आजको स्कुले वा युवा पुस्ताका लागि राजनीति भनेको ढाँट, छल र लुटको असम्मानित पेसा हो भन्ने भ्रम परिरहेका बेला किसुनजी जस्ता संघर्ष, योग्यता, क्षमता र मेहनतका निष्कलंक व्यक्तिहरूको आकर्षणको विषय समेत रहेछ भन्ने सन्देश दिन समेत भट्टराई संग्रहालयको गुरुयोजना बनाई उहाँका सामग्री नेपालका पुस्तौँ पुस्ताका लागि सुरक्षित राख्न ढिलाइ गरिनुहुन्न । यसो गर्न सकिएमा किसुनजी प्रति मात्र नभएर नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनका योद्धाप्रतिको सच्चा श्रद्धाञ्जली समेत ठहरिनेछ । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस