संसद् क्यान्टिन महँगिएकोमा सांसदको चिन्ता !
१९ असोज २०८३
•
६ मिनेट पाठ
संसद् क्यान्टिन महँगिएकोमा सांसदको चिन्ता !
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले क्यान्टिन महँगो भएको र आफ्नो भत्ताले खाजा धान्न पनि कठिन भएको सवाल जोडतोडले संसद्मा उठाए। संसद् भवनमा रहेको क्यान्टिनमा खाजा र चियाको मूल्य महँगिएको भन्दै क्यान्टिन बन्द गर्नुपर्ने माग सांसदहरूले उठाए। संसद् सचिवालयले पुरानै मूल्यदरमा खाजा खुवाएको बतायो। दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको विषयमा बोल्नु त ठिकै हो तर क्यान्टिन महँगो हुँदा जति पीडा हुन्छ, जनताको भान्सा महँगिँदा त्योभन्दा धेरै पीडा संसद्लाई हुनुपर्छ।  




दुई सय ७५ जना सांसद रहेको प्रतिनिधिसभामा जनजीविकाका सवालभन्दा पनि अन्य विषयमा दोहोरी चलाउने थलो बनाइँदै छ। संसदीय प्रणाली भएका अन्य मुलुकहरूमा पनि प्रायः सांसदहरूले आफूलाई केन्द्रमा राखेर बहसहरू गर्दैनन्। आफ्नै समस्यालाई प्रमुख बनाएर सामान्यतया बहस गर्दैनन् तर नेपालमा संसद्मा नयाँ अभ्यास हुँदै छ। सांसदले बोल्ने विषय सांसदकै समस्यामा केन्द्रित भएर बोलिन्छ भने त्यसले संसदीय पद्धतिको सुन्दरतालाई धमिलो बनाउँछ।

संसद्मा त जनताका समस्या उठाउनुपर्ने, जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सांसदले बोल्ने सवाल हुनुपर्ने हो, तर संसद्मा जनजीविकाका कुराभन्दा पनि सांसदले आफ्नै जीविकाका सवाललाई बहसको विषय बनाइनु अशोभनीय विषय मात्रै होइन, सांसद पदकै धज्जी उडाउनु हो। सांसदले सांसदको भूमिका र जिम्मेवारीभन्दा पर गएर संसद्मा प्रस्तुत हुनु निकै दुःखद पक्ष हो।

सांसदले कानुनका सवाल उठाउने हो। १९१० मा बनेका कानुन अहिले पनि तिनै कानुनको आधारमा काम भइरहेको छ। त्यतातिर ध्यान कहिले जान्छ ? १० वर्षभन्दा बढी भयो, नयाँ संविधान जारी भएको।

संविधानले ग्यारेन्टी गरेका अधिकार सुनिश्चित गर्न आवश्यक कानुन निर्माण भए कि भएनन्, यसमा ध्यान कहिले दिने? सबैभन्दा पेचिलो सवाल अहिले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। नुन, तेल, दाल, चामल, तरकारीलगायतका खाद्यान्न, तरकारी र फलफूलको मूल्य छोइनसक्नु छ। जनताको भान्सा महँगिएको पत्तै छैन। दिनभरि काम गरेको ज्यालाले बेलुका छाक टार्न निकै हम्मे पर्छ। कामको दाम उही छ तर उपभोग्य सामग्रीको मूल्य आकासिएको छ।

निमुखा, हुँदा खाने जनतालाई आकासिएको मूल्यवृद्धिले निकै समस्या पारेको हिसाब राज्यसँग हुनुपर्ने हो। हुँदा खाने जनताको जीविका सहज बनाउने ध्यान, त्यसमा पनि जनजीविकालाई सहज र सरल बनाउने नीति तथा कानुन निर्माणका सवालमा संसद्मा मूल सवालका रूपमा बहसको आवश्यकता किन बनाइएको छैन ? जनजीविकाको मुद्दालाई प्राथमिकतामा हुनुपर्छ, बनाइनुपर्छ भनेर नै जनताले प्रतिनिधि चुनेर पठाएको बिर्सनु सर्वथा गलत छ।

संसद्मा बोलिने मुद्दाले जनताको आवाज बोकेको हुनुपर्छ। संसद्मा उठाइने सवाल जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने हुनु पर्दछ, बनाइनुपर्छ। पात्र फेरिए, सत्ता फेरियो तर चलन फेरिएन, शैली फेरिएन, अभ्यास फेरिएन भने त्यसभित्रको सुशासनले जनतालाई सुशासनको महसुस नगराउने पक्का नै छ। चाडहरू सँघारमा छन्। निमुखा, हुँदा खाने जनतालाई यो आकाशिएको मूल्यवृद्धिले कस्तो समस्यामा पार्छ भन्ने कुराको लेखाजोखा किन हुँदैन? अहिले मुलुकमा एकल सरकार छ।

विगतमा गठबन्धन सरकार हुँदा एक्लैले चाहेर पनि जनमुखी सवालहरू ओझेलमा पर्छन् भन्ने भाष्य निर्माण गरिएको थियो तर अहिलेको एकल सरकारबाट जनताले निकै धेरै आशा र अपेक्षा गरेका थिए र छन् पनि तर सरकारको ध्यान कतातिर अलमलिएको छ? कानुन बनाउने थलो संसद्को ध्यान केमा छ? जनताको सवाल, जनताको सरोकार कतातिर थन्किएको छ? यी र यस्ता प्रश्नहरू अहिले केन्द्रमा छन्। संसद् एकअर्कालाई विरोध गर्ने, विरोधकै लागि विरोध गर्ने पहिलेकै अभ्यास निरन्तर छ।

जनताका मुद्दा संसद्को केन्द्रमा छैनन्। व्यक्तिको लुवाइ, खुवाइ, हिँडाइ, बसाइ, मन्त्रीका चालचलन, सामाजिक सञ्जालका भाइरल कन्टेन्ट, तथ्यगतभन्दा मिथ्यागत विषयमा सांसदका आवाज गुन्जिनु निकै लज्जास्पद विषय हो।

ठोस परिवर्तनले गलत अभ्यास भत्काउने हिम्मत नगरेसम्म सुशासन संस्थागत हुन सक्दैन। सुशासन संस्थागत नभएसम्म लोकतन्त्रलाई जीवन्तता दिन सकिन्न। लोकतन्त्र जीवित नभएको शासनमा निमुखा, हुँदा खाने जनताको अधिकार सुनिश्चित हुँदैन।

अहिले मूल्य आकासिनुमा बाटोको अवरोध, सडक भत्किएर आयात हुने सामग्री बजारको मागअनुसार नभएको भनिएको छ। यसको जिम्मा कसले लिने? ग्यास अभावको कहरमा जनता रुमल्लिएको कति भयो? व्यवसायी र उद्योगीले अभाव छैन भन्ने, बजारमा ग्यासको हाहाकार उस्तै छ। ग्यासको हाहाकार कम नहुँदा मन्त्रीले नै राजीनामा दिनुपर्‍यो। मन्त्री त फेरिए तर ग्यासको कहर अझै उस्तै छ।

यसमा कसको दोष? समस्याको जड कहाँ छ? देशमा करिब ५० वटाभन्दा बढी उद्योगले ग्यास भरेर बजारमा पठाउँछन् भन्ने रेकर्ड छ। तर पनि यतिका धेरै महिनासम्म किन ग्यास सहज छैन ? सरकार ‘ग्यास अभाव छैन, उद्योगीले मागअनुसार पठाएका छौं’ भन्ने, तर बजारमा ग्यास उपभोक्ताले नपाउने। सरकारको नियमन खोइ? सांसदको खबरदारी कता छ ? ग्यास लुकाएर कालोबजारी गर्नेहरू सजायको भागीदार कहिले हुन्छन् ? ग्यास सहज बनाउने गाँठो कता अड्किएको छ ? सरकारमा कि उद्योगीहरूमा ? यो अवस्था अब अझै कति रहन्छ भन्ने मुख्य चिन्ता जनतामा अझै छ। यस्ता सवाल संसद्मा प्रमुख अजेन्डा बन्नुपर्ने हो तर संसद्मा यस्ता विषयले ठाउँ पाउँदैनन्। सांसदका खाना, खाजा, सांसदले भोग्नुपरेको महँगी, मन्त्रीका चस्मा, कोट, जुत्ताजस्ता विषयलाई संसद्मा सांसदले बोल्ने विषय बनाउँदा संसद् अहिले एकअर्काको कटाक्षको रत्यौली बनिरहेको छ।

साना–सानाभन्दा पनि जनजीवनका मुख्य विषय, दैनिकीमा जोडिएका मुख्य विषय संसद्मा आवाज नबन्नु, नबनाइनु पुरानै ढर्राको नवीकरण मात्रै भएको छ। संसद्ले भएका, बनेका कानुनको समीक्षा गर्नुपर्छ। भएका कानुनको परिमार्जन कहाँ आवश्यक छ ? समयअनुसारको परिमार्जनमा कसरी कानुन निर्माण गर्ने ? नयाँ कानुनको आवश्यकता कति छ ? संविधानले ग्यारेन्टी गरेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक कानुनबारे सांसदको प्रमुख ध्यान र सवाल हुनुपर्ने हो।

एक पटक निर्वाचित सांसदको समय जम्मा पाँच वर्षको छ तर सांसदले महिनौंसम्म, वर्षौंसम्म अनावश्यक, मिथ्यागत, जनजीवनभन्दा परतिर गएर व्यक्तिकेन्द्रित विषयमा नै अलमलिएपछि जनताका मुद्दाले कहिले प्राथमिकता पाउने ? निमुखामैत्री आवाज सांसदले कहिले बोल्ने ? दैनिक ज्याला–मजदुरी गरेर परिवार धान्ने, छाक टार्ने सवाल संसद्को मुख्य बहसमा ल्याइनुपर्छ।

संसद्को क्यान्टिन महँगिएको भन्दा पनि जनताको भान्साको महँगीको मुद्दा प्रमुख हुनुपर्छ। दिनभरि काम गरेर पाँच सय ज्याला थाप्ने मजदुरको संख्या निकै धेरै छ। त्यस्ता मजदुरको परिवारलाई केन्द्रमा राखेर संसद्मा बहस हुनुपर्छ। संसद्को रेकर्डमा भएका जनजीविकाका सवालमा उठेका विषय, सवालहरू क्रमशः सरकारले कार्यान्वयन गर्दै जाने अभ्यास गर्नुपर्छ।

संसद्मा उठाइने विषय केवल रेकर्डका लागि मात्रै नभएर कार्यान्वयनको प्रक्रियामा पनि अनिवार्य गर्नुपर्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ। जनताका सवालमा सरकार सबैभन्दा धेरै संसद्प्रति नै जवाफदेही हुने, पारदर्शी हुने हो।

सरकारले संसद्प्रति जवाफदेहिता देखाएन भने त्यो सरकार जनमुखी छैन र सरकारको नियतमै प्रश्न गर्नुपर्ने हुन्छ। नियत सही भएको सरकारले जहिले पनि जनताको समस्यालाई केन्द्रमा राखेर शासनको अभ्यास गर्दछ। सवाल, मुद्दा व्यक्तिकेन्द्रित होइन, समस्याकेन्द्रित बन्नु र बनाइनु आजको प्राथमिकता हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२३ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस