१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्य

नदी र साँघु

जुनेली नदी सानी र सफा भएकी थिइन् । मध्यदिनको टन्टलापुर घाममा नदी टलक्क टल्किएर मयुर गाउँको बीचबाट पश्चिमतिर सलल बग्थिन् । नदी सानो भएकाले भेडा र पाख्राहरु नदीपारि चर्न जाँदा पानीबाटै उफ्रेर पारि जान्थे । चराहरू बगरका ढुंगाहरूमा लुकामारी खेल्थे।

गाउँले र बटुवाहरू जुनेली नदीको साँघुबाट ओहोरदोहोर गर्न छाडे । हुँदाहुँदा जुत्ता–चप्पल हातमा बोकेर मयुर गाउँका केटाकेटीहरू रमाउँदै पानीबाटै विद्यालय आउजाउ गर्न थाले । उनीहरूले पनि साँघु तर्न चटक्कै छाडे।

शुक्रबारको दिन चाँडै स्कूल छुट्टी भयो । प्रभाकर, मनु, राजु, चुरा, विज्ञान, माइली, नरेश र मनोहर स्कूलबाट सरासर जुनेली नदीतिर लागे । बाटोमा प्रभाकरले साथीहरूलाई नदी सानो र सफा भएकाले धीत मरुञ्जेल पौडिने बताए । राजु, विज्ञान, नरेश र मनोहरले पनि प्रभाकरको कुरामा हुन्छमा हुन्छ मिलाए । तर, प्रभाकरकी बहिनी चुराले केही असहमति जनाइन् । भनिन्, ‘प्रभाकर दाजु, मनु, माइली र मलाई पौडिन आउँदैन, हामी के गर्ने?’

सिन्धुले प्रभाकरलाई गाली गरेझैं भनिन्, ‘साँघु हुँदाहुँदै किन नदीबाट आउजाउ गरेको ?’ प्रभाकरले डराउँदै भने, ‘नदी सानो र सफा थियो अनि ...।’ नरेशका बाले भने, ‘बहिनीले घर जाऔँ भन्दा किन अटेर गरेर नदीमै पौडिएर बसेको? असल कुरा सानाले भनेको पनि मान्नुपर्छ, बुझ्यौ?’

नरेशले भने, ‘तिमीहरू माछा समाऊ । कोही नदीमा पौडिने, कोही माछा समाउने ।’ आहा ! रमाईलो शुक्रबार, फुरुङ्ग हुँदै प्रभाकरका साथीहरू जुनेली नदी छेउ पुगे।

मध्यदिउँसो घाम चम्किलो लागेको थियो । जुनेली नदी टल्किएर कलल आवाजमा सलल बगिरहेकी थिइन् । भेंडा र गाईहरू नदीपारिको फाँटमा चरिरहेका थिए । चराहरू नदीको छालसँग खेलिरहेका थिए । प्राकृतिक सौन्दर्यको यो विचित्रता देखेर केटाकेटीहरू खुसीले गद्गद् भएका थिए।

एक छिनपछि प्रभाकर र उनका साथीहरू पौडिन थाले । अनि चुरा, मनु र माइली माछा समाउन लागे । उनीहरूले नदीमा निक्कै बेर रमाउँदै पौडिने र माछा समाउने खेल खेले । कसैले घर सम्झेनन् । अबेरसम्म खेलेपछि उनीहरूलाई निक्कै भोक लाग्यो । चुरा र उनका साथीहरूले गोजीभरि माछा जम्मा गरे । माइलीले भनिन्, ‘चुरा, भोक पनि लाग्यो । अब घर जाऔँ ।’ मनुले पनि माइलीको कुरामा हुन्छ मिलाइन् । चुराले पनि दाजु प्रभाकर र सबै साथीहरूलाई घर जाऔँ भनिन् । तर, प्रभाकरले  चुरालाई घर जान अनुमति दिए र उनी आफू भने राजु, विज्ञान, नरेश र मनोहरसँगै पौडिएर बगरको तातो ढुंगामा पल्टिन गए।

नदीमा पौडिएर बगरको तातो ढुंगामा पल्टिएका प्रभाकर र उनका साथीहरू त्यही भुसुक्क निदाए । नदीको बगरमै उनीहरूले अबेरसम्म गहिरो निन्द्रामा परेर केही थाहा पाएनन् । उता चुरा र उनका साथीहरू भने आ–आफ्नो घर पुगे । अनि दूध, चिउरा, भटमास, अचार र रोटी मज्जाले खाए । उनीहरूको भोक पनि मेटियो । नदीमा खेलेको कुरा बुवाआमाले थाहा पाएर गाली गर्ने डरले माछा पनि झोलामै राखे, कसैलाई देखाएनन्।

बेलुका भयो । सूर्य पश्चिमको क्षितिजमा अस्ताउन लाग्यो । नदीपारि चर्न गएका भेंडा, बाख्रा र गाई फर्केर आए । मेलापात जानेहरू पनि फर्केर आ–आफ्नो घर आए । तर प्रभाकर, राजु, विज्ञान, नरेश र मनोेहर घर आएनन् । जुनेली नदीमा अचानक बाढी आएको कुरा गाउँभरि फैलियो।

बेलुकासम्म प्रभाकर घर नआउँदा आमा सिन्धुले चुरालाई अतालिएर सोधिन्, ‘तिमी र दाजु सँगै विद्यालयबाट घर आउँथ्यौ तर, प्रभाकर खोई ?’ नदीमा खेलेको कुरा थाहा पाएर आमाले गाली गर्नुहुन्छ भन्ने डरले पहिला त चुराले ढाँटिन् । तर, उनले दाजुको खुबै पीर गरिन् र अन्ततः आमालाई सबै कुरा भनिन् । चुराका कुरा सुन्नासाथ सिन्धु घरभित्रबाट ठूलो स्वरमा कराउँदै निस्किन्, ‘लौ न चुराका बा, प्रभाकरलाई खोज्न नदीमा गइहाल्नुहोस् । ढिला भयो भने ऊ कहिल्यै घर आउने छैन।’

हतारहतार चुराका बाआमा जुनेली नदीतिर दौडिए । राजु, विज्ञान, नरेश र मनोहरका बुवाआमा पनि दौडिएर नदीतिर जाँदै थिए । अरू गाउँलेहरू पनि दौडिएर उतै जाँदै थिए । सबै जना जुनेली नदी छेउमा पुगे । नदीमा बाढी आएर केही मात्रामा घटिसकेछ । नदीबीचको ठूलो ढुंगामा प्रभाकर र उनका साथीहरू डराउँदै रोएर बसेका रहेछन् । यो दृश्य गाउँलेले देखे । हतारहतार उनीहरूले प्रभाकर र उनका साथीहरूलाई एकएक गर्दै जुनेली नदी तारे । प्रभाकर, राजु, विज्ञान, नरेश र मनोहरलाई सकुशल पाउँदा उनीहरूका बाआमा निक्कै खुसी भए।

सिन्धुले प्रभाकरलाई गाली गरेझैं भनिन्, ‘साँघु हुँदाहुँदै किन नदीबाट आउजाउ गरेको ?’ प्रभाकरले डराउँदै भने, ‘नदी सानो र सफा थियो अनि ...।’

नरेशका बाले भने, ‘बहिनीले घर जाऔँ भन्दा किन अटेर गरेर नदीमै पौडिएर बसेको? असल कुरा सानाले भनेको पनि मान्नुपर्छ, बुझ्यौ?’

मनोहरकी आमाले सम्झाउँदै भनिन्, ‘नदी सानो हुँदैमा केही हुँदैन भनेर पौडिएर बस्यौ, तर अचानक बाढी आइहाल्यो । त्यसैले आगो र पानीसँग कहिल्यै ख्यालठट्टा नगर्नू।’ मनोहरकी आमाले भनेको कुरा प्रभाकर र उनका साथीहरूलाई मनमा बिझ्यो । साँझ परिसकेको थियो । स्कूल पोसाक र किताबको झोला बाढीले बगाइसकेको थियो । कट्टु मात्र लगाएका प्रभाकर र उनका साथीहरू खाली हात अभिभावकसँग घर फर्के । बाटोमा उनीहरूलाई आफूले गल्ती गरेको महशुस भयो ।  यसप्रति उनीहरूलाई निक्कै लाज लाग्यो।

यता दाजुहरू कतिबेला घर आउलान् भनेर चुराको घरमा मनु, चुरा र माइली जम्मा भएर पीर मान्दै बसेका थिए । आफ्ना बावुआमासँग दाजुहरू टुप्लुक्क घर आउँदा चुरा, मनु र माइली पनि निक्कै खुसी भए । बहिनीको कुरा नमान्दा झण्डै ज्यानै गएको भन्दै प्रभाकरले बहिनी चुरासँग कान समातेर माफी मागे । मनु र माइली पनि खुसी हुँदै आमाबुबासँग आ–आफ्नो घरतिर लागे । भोलिपल्ट घटनाबारे गाउँभरि हल्ला फैलियो । विद्यालयमा पनि सबैले थाहा पाए । अनि त्यस दिनदेखि मयुर गाउँलेले नदी सानो भए पनि साँघुबाटै विद्यालय आउन–जान आफ्ना छोराछोरीलाई आदेश दिए । अनि केटाकेटीहरूले पनि आफ्ना बावुआमाको आदेशअनुसार नै साँघुबाट विद्यालय आवतजावत जाने गर्न थाले।

प्रकाशित: ५ जेष्ठ २०७५ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App