काठमाडौं/सोलुखुम्बु-सर्वोच्च शिखर सगरमाथामा भयानक हिमपहिरोमा जाँदा १२ नेपाली आरोहीको मृत्यु भएको छ। १८ वर्षयताकै ठूलो पहिरोमा चारजना बेपत्ता छन्।दुर्घटनामा बाँच्न सफल ६ मध्ये तीनको अवस्था गम्भीर छ। उनीहरूको अहिले राजधानीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। तीनजना सामान्य घाइते छन्।
यसअघि सन् १९९६ को हिमपहिरोमा आठ विदेशी आरोहीले ज्यान गुमाएका थिए। त्यसयता पहिलोपटक ठूलो दुर्घटना भएको हो। सगरमाथा आरोहण मौसम सुरु भएलगत्तै हिमपहिरोमा सहकर्मी गुमाउँदा शिखर चुम्न बाँकी आरोही ‘त्रसित' छन्।
‘सगरमाथाको पहिलो क्याम्पनजिक बिहान साढे ६ बजे हिमपहिरो जाँदा आरोहण सहयोगी र गाइड गरी १२ नेपालीको मृत्यु भएको छ,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा पर्यटन उद्योग महाशाखा प्रमुख मधुसुदन बुर्लाकोटीले शुक्रबार नागरिकसँग भने, ‘चारजना अझै बेपत्ता छन्। ६ जनाको उद्धार गरिएको छ।'
उनका अनुसार मृत्यु हुनेमा १० जना सोलुखुम्बु, एकजना ताप्लेजुङ र एकजना संखुवासभाका छन्। विभिन्न आरोहण दलमार्फत गएका उनीहरू शुक्रबार बिहान पहिलो क्याम्पमा पाल टाङ्न, बाटो बनाउन र डोरी टाङ्न आधारशिविरबाट उक्लेका थिए। पहिलो क्याम्प ५ हजार ९ सय मिटर उचाइमा पर्छ। २२ जनाका समूहमा रहेका उनीहरूमध्ये ६ जनाको जीवितै उद्धार गरिएको छ।
‘हिमपहिरो गएलगत्तै आधारशिविरमा रहेको हाम्रो सम्पर्क कार्यालयबाट घटनाको जानकारी आयो,' सहसचिव बुर्लाकोटीले भने, ‘त्यसपछि नेपाली सेनाको एक र निजी कम्पनीका तीनवटा हेलिकोप्टर तत्काल घटनास्थलतर्फ परिचालन गर्र्यौं। तुरुन्त उद्धार कार्य हुन पाउँदा ६ जनालाई जोगाउन सकियो।'
उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, सम्पर्क अधिकृतको टोली, सगरमाथा प्रदुषण नियन्त्रण समितिका आइसफल डाक्टर, हिमालयन उद्धार संघका मेडिकल डाक्टर, आरोहण अभियान सञ्चालन गर्ने विभिन्न ट्रेकिङ कम्पनी, घटनास्थलमा रहेका आरोही तथा गाइडहरूको प्रयासबाट तुरुन्त उद्धार कार्य गर्न सकिएको थियो। ‘अझै चारजनालाई भेट्टाउन सकिएको छैन,' उनले भने, ‘शनिबार फेरि खोजी गर्छौं।'
पर्यटन मन्त्रालयका अनुसार सोलुखुम्बु नाम्चे–४ का मिङ्मानुरु शेर्पा, ७ का आङछिरी शेर्पा तथा ९ का दोर्जी शेर्पा र निमा शेर्पाको मृत्यु भएको हो। त्यसैगरी सोलुखम्बु खुम्जुङ–२ का ल्हाक्पा शेर्पा र छिरिङओङ्छु शेर्पा तथा ७ का फूर्वाओङ्ग्याल शेर्पा र थेनदोर्जी शेर्पाको मृत्यु भएको हो।
त्यस्तै ताप्लेजुङ लेलेप–९ का दोर्जी खत्री, संखुवासभा याफु–९ का फूरतेम्बा शेर्पा, सोलुखुम्बु जुभिङ–५ का पासाङकर्मा शेर्पा र सोताङ–९ का आशमान तामाङको पनि मृत्यु भएको हो।
हिमपहिरोमा बेपत्ता हुनेमा सोलुखुम्बु नाम्चे–९का तेन्जिङछोत्तर शेर्पा, संखुवासभा मकालु–९ का आङकाजी शेर्पा, सोलुखुम्बु चोस्काम–२ का पेमतेन्जी शेर्पा र गोरखा लाप्राक–७ का आशबहादुर गुरुङ रहेको मन्त्रालयले जनाएको छ।
मृत्यु र बेपत्ता भएकाहरू चारवटा ट्रेकिङ कम्पनीले व्यवस्थापन गरेका सातवटा दलका आरोहण सहयोगी र गाइडका रूपमा सगरमाथा गएका थिए। मृत्यु भएका मिङ्मानुरु र दोर्जी सांग्रिला नेपाल प्रालिले व्यवस्थापन गरेको एनबिसी एभरेस्ट एक्सपिडिसन–एस२०१४ दल तथा आङछिरी र निमा एएआई–एभरेस्ट एक्सपिडिसन्स–एस२०१४ दलमा आबद्ध थिए।
हिमालइन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिले व्यवस्थापन गरेको एसी एभरेस्ट एक्सपिडिसन २०१४ आरोहण दलमा आबद्ध फूर्वाओङ्ग्याल, ल्हाक्पातेन्जिङ र छिरिङओङ्छु, एड्भेन्चरिस्ट एभरेस्ट एक्सपिडिसन २०१४ दलका खत्री, थेनदोर्जी र फूरतेम्बाले ज्यान गुमाए।
खत्रीले यसअघि नौ पटक सगरमाथाको सफल आरोहण गरेका थिए। यसपालि १० औं आरोहण गर्ने तयारीमा थिए। उनी नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्िटङ एयरलाइन्स मजदुर युनियनका केन्द्रीय उपाध्यक्ष थिए।
त्यसैगरी समिट नेपाल ट्रेकिङ प्रालिको व्यवस्थापनमा गएको ज्याग्ड ग्लोब एभरेस्ट एक्सपिडिसन २०१४ का पासाङकर्मा र हिमालयन एक्सटेसी ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएको हिमालयन एक्सटेसी ल्होत्से एक्सपिडिसन २०१४ दलका आशमानले ज्यान गुमाएका हुन्।
बेपत्ता भएका तेन्जिङछोत्तर एएआई–एभरेस्ट एक्सपिडिसन्स–एस २०१४ दल तथा आङकाजी, पेमतेन्जी र आशबहादुर सभेन समिट ट्रेक्स प्रालिको एभरेस्ट चाइनिज ड्रिम एक्सपिडिसन २०१४ दलमार्फत सगरमाथा गएका थिए।
‘पहिलो र दोस्रो क्याम्पको बीचमा बेलाबेला हिमपहिरो गइरहन्छ, तर दिउँसो र साँझ बढी हिमपहिरो जान्थ्यो,' सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले भने शुक्रबार नागरिकसँग भने, ‘तर, दुर्भाग्य नै भन्नुपर्छ, यसपालि बिहानै हिमपहिरो गयो र त्यत्रा साथी गुमाउनुपर्यो।'
हिमपहिरो गएको ठाउँ सगरमाथाकै सबैभन्दा खतरनाक ठाउँ रहेको उनले बताए। ‘यो घटनाका कारण आधारशिविरमा रहेका सयौं आरोही थप त्रसित छन्,' उनले भने, ‘अब तुरुन्तै अगाडि बढ्न उनीहरूलाई आँट आएको छैन। हाम्रो पर्वतारोहण क्षेत्रका लागि असाध्यै दुःखद घटना हुन पुग्यो।'
उनका अनुसार सन् १९९६ मा सगरमाथाको ८ हजार मिटर उचाइमा रहेको साउथकोलमा हिमपहिरो जाँदा आठ विदेशी आरोहीले ज्यान गुमाएका थिए। त्यसअघि १९७४ मा त्यस्तै हिमपहिरोमा परेर २० जना शेर्पाले ज्यान गुमाएका थिए।
घटनालगत्तै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको अध्यक्षतामा बसेको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले मृतकका परिवारलाई जनही ४० हजार रुपैयाँका दरले किरिया खर्च दिने निर्णय गरेको छ।
सहसचिव बुर्लाकोटीका अनुसार यसपालि वसन्त ऋतुमा ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा शिखर आरोहणका लागि ३१ वटा विदेशी दल र एक नेपाली दलले अनुमति लिएका छन्। विदेशी दलमा ३ सय ३४ आरोही छन्। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन्। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही छन्। नेपाली दलमा भने एकजना पुरुष आरोहीमात्र छन्।
अनुमति पाएका सबै आरोहीले सामान्य रुट (दक्षिण–पूर्वी मोहोडा) बाट शिखर पुग्नुपर्छ। आरोहण अनुमति पाएको ७५ दिनभित्र शिखर पुगिसक्नुपर्ने नियम छ।
०५ वैशाख २०७१
•
९ मिनेट पाठ