इलाम- बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका चिसापानीका एक युवकलाई आज जिल्ला अदालत इलामले २० वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले चिसापानी-५ का जङ्गे भनिने बुद्धकुमार सेञ्चुरीलाई मुलुकी ऐन जबर्जस्ती महलको १ र २ नं बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम १० वर्ष कैद र मुलुकी ऐन हाडानाता करणीसम्बन्धी १ बमोजिम थप १० वर्ष कैद सजाय सुनाएको हो।
यसैगरी पीडितलाई रु २० हजार क्षतिपूर्ति भराइदिनेसमेत फैसला सुनाइएको छ। सेञ्चुरीले आफ्नै नाता पर्ने बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै गत जेठ १० गते जिल्ला प्रहरी कार्यालय इलाममा किटानी जाहेरी परेको थियो।
यसैबीच विद्युत् उपभोक्ताबाट महसुल उठाएर ठगी आरोपमा पक्राउ परेका चिसापानी-७ का टङ्कमणि लुइँटेललाई जिल्ला अदालतले छ महिना कैद र रु एक लाख ४८ हजार ८८५ जरिवानासहितको फैसला सुनाएको छ।
प्रतिवादी राम कार्कीलगायत उपभोक्ताका तर्फबाट माग दाबी भएबमोजिम लुइँटेललाई मुलुकी ऐन ठगी महलको १ र २ नं बमोजिम कसुर पुष्टि गरेकाले कैद र जरिवानासहितको फैसला सुनाइएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरण इलाममा मिटर रिडरका रुपमा कार्यरत लुइँटेलले उपभोक्ताबाट महसुल लिए पनि प्राधिकरणमा नतिर्ने गरेको पाइएकाले प्रहरीले एक महिनाअघि पक्राउ गरी ठगी मुद्दा दायर गरेको थियो। रासस