बारा–२ को उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको केही बुथलाई कब्जा गरिएको आरोप जनमतका अध्यक्ष सिके राउतले लगाउँदा सुरक्षाकर्मी र कर्मचारीहरुमा तनाव परेको छ।
आइतबार बिहान ९ बजेतिर बरियापुरमा सन्चारकर्मीसँग कुरा गर्दै राउतले पचरौताको बेल्दारी, देवतालको झिटकैया लगायतको बुथहरुलाई जसपाको कार्यकर्ताले कब्जा गरेको र प्रहरी, प्रशासनले सहयोग गरेको भनि बताएका थिए।
बुथ कब्जा गरेको खबर सार्वजनिक भए पछि हेलिकप्टरबाट नेपाली सेनाका अधिकारीहरु त्यसको केही समय पछि बेल्दारी र देवतालको निरीक्षक गर्न पुगे। निरीक्षणको क्रममा अवस्था सामान्य देखे पछि सेनाका अधिकारीहरु हेरेर फर्के।
सेनाका अधिकारीहरु फर्के पछि सडक मार्ग हुँदै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू बेल्दारी र झिटकैया मतदान स्थलमा पुगेर मतदान कार्यमा खटिएका उम्मेदवारहरुको पोलिङ्ग एजेन्ट र सुरक्षाकर्मीहरूसँग घटनाको बारेमा बुझदा बुथ कब्जा गरिएको आरोप भ्रामक रहेको भेटे।
सिके राउतले बेल्दारी र झिटकैयाको मतदान स्थल जसपा कार्यकर्ताले कब्जामा लिएको घटना भ्रामक रहेको र भ्रामक कुराले निर्वाचन आयोग देखि सुरक्षाकर्मीहरुलाई नै अनावश्यक तनाव दिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।
मतदान स्थालहरुमा जाँदा मतदाता भन्दा बढी संख्यामा सुरक्षाकर्मी र कर्मचारीहरुले रहेको अवस्थामा बुथ कब्जा गर्न कुनै व्यक्ति वा पार्टीले आटै गर्न नसकिने बोगटीले बताए।
पौने ४ बजेसम्म ४७ प्रतिशत मतदान
बारा–२ मा उपनिर्वाचन अन्तर्गत बिहान ७ बजे देखि जारी रहेको मतदानमा पौने ४ बजेसम्ममा ४७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका छन्।
निर्वाचन क्षेत्रमा रहेको ८२ वटा मतदान स्थलहरुबाट शान्तिपूर्ण मतदान भइरहेको र सबै मतदान स्थालहरुबाट आएको तथ्याङ्क अनुसार समग्रमा ४७ प्रतिशत अर्थात् ४७ हजारको हाराहारीमा मत खसेको उपाध्यायले बताए।
६ वटा स्थानीय तहहरुको ४४ वटा वडाहरुमा रहेको बारा –२ को निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ जना मतदाताको संख्या रहेका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बारा–२ को उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपुर सम्पन्न गर्नको लागि नेपाली सेनाका चार सय, सशस्त्र प्रहरी बलका सात सय र नेपाल १८ गरेर २९ सय सुरक्षाकर्मीहरुलाई फिल्डमै खटाइएको बताएका छन्।
बारा २ बाट निर्वाचित राम सहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश प्रसाद खरेल र अम जनता पार्टीका अरुण कुमार ज्ञवाली लगायत ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
१० वैशाख २०८०
•
२ मिनेट पाठ