२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वसभासद् शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीपहरु’ अनुसन्धान गर्दै प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका पूर्वसभासद् आङटावा शेर्पा जोडिएको भनिएका ‘भिडियो क्लीप’हरु माथि पनि छानबिन गरिरहेको छ। पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नआएका शेर्पाले सोमबार साँझ मात्र प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए।

‘हामीले उहाँसँग जोडिएर बाहिर आएका सबै भिडियो क्लीपहरुको सत्यतथ्यबारे छानबिन र अनुसन्धान गरिरहेका छौं’, जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी दानबहादुर कार्कीले नागरिक न्यूजसँग भने। उनले छानबिन नसकिँदासम्म ती भिडियो यही प्रकरणसँग सम्बन्धित हो की होइन भन्नेबारे केही बताउन नसकिने जानकारी दिए।  

‘भिडियो क्लीपहरु सक्कली र नक्कली के हो भन्नेबारे अनुसन्धान पछि मात्र थाहा हुन्छ’, एसएसपी कार्कीले भने।

ती भिडियो क्लीप नागरिक न्यूजले समेत प्राप्त गरेको छ। ती क्लीपहरुमा आरोपित शेर्पाको उपस्थिती देखिन्छ। उनको उपस्थितीमा छुट्टाछुट्टै टेबलमा बसेर धेरै युवायुवतीले एक आपसमा छलफल गरिरहेको देखिन्छ। स्रोतले सार्वजनिक भिडियो क्लीपहरु एक बर्ष अघिको रहेको बताएको छ। ललितपुरको कुनै एक रेष्टुरेन्टमा भेला भएका यस्ता दुई वटा छोटा भिडियो क्लीपहरु नागरिक न्यूजले प्राप्त गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख कार्कीले यीनै भिडियो क्लीपहरुमा अनुसन्धान भइरहेको जानकारी दिएका हुन।

यसैबीच सोमबार साँझ मात्र आत्मसमर्पण गरेका पूर्व सभासद् शेर्पा परिसरको शौचालयमा लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको टाँउकोमा चोट लागेपछि प्रहरीले वीर अस्पतालमा उपचार गराएर पुनः परिसरमा लगेको छ। शेर्पाको टाउकोमा ७ वटा टाँका लगाइएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। यसको तीन दिनपछि मोरङका सागर राईलाई पनि पक्राउ गरियो।

पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेता रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन्।

बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरज लगायत अझै फरार छन्। प्रकरणमा प्रहरी अनुसन्धान निष्कर्षतर्फ उन्मुख छ।

प्रकाशित: २ जेष्ठ २०८० ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App