६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बझाङ उपनिर्वाचनः १२ जनाको उम्मेदवारी दर्ता

बुवाको मृत्यु पछि सेतो लुगामा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह।

आगामी वैशाख १५ गते हुने उप-निर्वाचनका लागि बझाङ प्रदेशसभा (क) मा १२ दलले मनोनयन दर्ता गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नारा जुलुस सहित १२ वटै दलले प्रदेश सभा सदस्यका लागी मनोनयन दर्ता गराएका हुन्।

संसद्को सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमन भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनक बुढा र नेकपा एकीकृत समाजवादीबाट दिल बहादुर सिंहले नारा जुलुस सहित मनोनयन दर्ता गरे।

त्यस्तै राप्रपाबाट किशोर खड्का, जनता समाजवादीबाट राम बहादुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक पार्टीबाट कमल धर्ती मगर, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद बहादुर थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट दीपक खड्का, जनमतबाट सुशीला देबी विष्टले र नेपाली जनता दलबाट अशोक सुनारले उम्मेदवारको मनोनयन दर्ता गराएको सूचना अधिकारी प्रकाश बहादुर सिंहले जानकारी दिए।

नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको गत असार ५ गते धनगढीबाट बझाङ आउने क्रममा सवारी दुर्घटनामा परि मृत्यु भए पछि यस निर्वाचन क्षेत्र रिक्त रहेको थियो।

सोही पदका लागी नेपाली कांग्रेसबाट स्वर्गीय मन्त्रीका छोरा अभिषेक बहादुर सिंह उम्मेदवार बनेका छन्। 

यस पटकको उपनिर्वाचन रोचक हुने आशंका गरिएको छ। जिल्लामा राम्रो प्रभाव राख्ने स्वार्गिय सिंहका छोरा अभिषेक सिंह युवाहरू माझ निकै लोकप्रिय छन् भने यता नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका दमन भण्डारी समेत एमालेको यो क्षेत्रमा संगठन राम्रो भएका कारण बाजी मार्ने दाउमा छन्।

त्यस्तै संविधान सभा सदस्य तथा माओवादी नेता जनक बुढा समेत जिल्लाका प्रभावशाली नेता हुन्। माओवादीको संगठन कमजोर भएपछि व्यवहारिक मत पाउने आसामा उनी छन्। नेकपा एमालेका पूर्वपाटी अध्यक्ष समेत रहेका नेकपा समाजवादीका उम्मेदवार दिल बहादुर सिंह समेत आफूले चुनाव जित्ने दाउमा छन्।

गत निर्वाचनमा गठबन्धनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहले १७ हजार ११२ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए।

निर्वाचनमा एक्ला एक्लै भिड्दा गठबन्धनको मत विभाजन हुने देखिन्छ। उता एमालेको केही मत समाजवादीका नेता दिल बहादुर सिंहले घटाउन सक्ने अनुमान गरिएको छ। 

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले भन्छन् ‘मन्त्री भएको एक महिना नपुग्दै बुवा आमा गुमाए, मेरा बुवाले बझाङको विकासका लागी देख्नु भएका सबै सपनाहरू अधुरै छन्। ती सपनाहरू पुरा गर्नका लागी यो पटक बझाङका जनताले यो पाटी त्यो पाटी नभनीकन आफूलाई सहयोग गर्ने विश्वास लिएको छु।’

त्यस्तै नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले समेत गत निर्वाचनको मतलाई मात्र सुरक्षित राख्न सकेको खण्डमा आफ्नो विजय सुनिश्चित भएको दाबी गरे। उनले बझाङको समृद्धि र विकासका लागी आफूले उम्मेदवारी दिएकाे सुनाए।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले आफू संविधान सभाको सदस्य भएका बखत जिल्लाका लागी केही काम गरेको र अहिले जनताबाट अनुमोदन भई सकेपछि यहाँको समग्र विकासका लागी काम गर्ने बताए।

एकीकृत समाजवादीका पार्टी उम्मेदवार दिन बहादुर सिंहले जिल्लाको विकास र सुशासनका लागी आफ्नो उम्मेदवारी रहेको सुनाए।

त्यस्तै राप्रपाका उम्मेदवार तथा पर्यटन व्यवसायी किशोर खड्काले आफूले जिल्लाको पर्यटन क्षेत्रको विकासका लागी केही काम गरिरहेको बताउँदै अझ काम गर्ने ऊर्जाका साथ आफ्नो उम्मेदवारी रहेको जनाए।

प्रकाशित: २४ चैत्र २०८० १९:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App