२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन आचार संहिताविपरीत कार्य गर्नेलाई तत्काल कारबाही

निर्वाचन आयोगले वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ र बझाङ जिल्ला निर्वाचन क्षेत्र नं. १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिताविपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

बिहीबार आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव रामदत्त पाण्डेयले निर्वाचन आचार संहिताविपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी दिए।

‘निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था देखिएमा सम्बन्धित सुरक्षा निकायले अनुगमन तथा निगरानी गरी त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आयोगले तीन बुँदे निर्देशन दिएको छ,’ उनले भने, ‘उपनिर्वाचन २०८१ का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते बुधबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ।’

उनका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बाहेक अन्य विभिन्न कार्य नगर्न भन्दै आयोगले सम्बन्धित सबै सरोकारवालालाई तीन बुँदे निर्देशन दिएको हो।

आयोगले तीन बुँदे निर्देशनमा निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध गर्ने, थुनछेक गर्ने, डर, धाक, धम्की वा त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा  गराउने कार्य नगर्न र नगराउन भनेको छ।

त्यस्तै, निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनको काममा संलग्न कर्मचारी, पदाधिकारी, अनुगमनकर्ता वा सुरक्षाकर्मी वा आयोगले खटाएको पर्यवेक्षक वा सञ्चारकर्मी वा कुनै संस्थाले निर्वाचनको कुनै काम गर्दा कानुन बमोजिम कुनै उम्मेदवारलाई आफ्नो मत दिनबाहेक कुनै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको काम नगर्न र नगराउन पनि भनेको छ।

‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न र नगराउन र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी नहुन आयोगले निर्देशन दिएको छ,’ उनले भने।

यस अवधिमा निर्वाचन ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध गरेको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App