२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम र बझाङमा आज मतदान

निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ (क) मा प्रदेशसभा सदस्य चयनका लागि शनिबार मतदान हुँदैछ। आयोगका अनुसार दुवै निर्वाचन क्षेत्रमा तोकिएका मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव रामदत्त पाण्डेयले शुक्रबार इलाम र बझाङमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ। मतदाताले आफ्नो कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न सक्नेछन्,’ उनले भने।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन भइसकेको उनले बताए।

‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ,’ उनले भने।

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने प्रबन्ध मिलाइएको छ। इलाम–२ मा १४९ र बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। इलाममा १ हजार ४३ र बझाङमा ६५१ कर्मचारी जनशक्ति परिचालन गरिएको छ। त्यस्तै सुरक्षातर्फ इलाम–२ र बझाङ (क) मा गरी दुई हजार ३८७ प्रहरी परिचालन गरेको छ।

इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ र बझाङ (क) मा ६१ हजार ७४८ मतदाता छन्। इलाम–२ मा १२ राजनीतिक दलका १२ र स्वतन्त्र सात गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङ (क) मा १२ राजनीतिक दलबाट १२ जना चुनावी प्रतिस्पर्धामा छन्।

आयोगले उपनिर्वाचनका दिन इलाम–२ र बझाङ (क) मा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। ‘यसअघि निर्वाचनमा अत्यावश्यक सेवा र आयोगबाट सवारी पास भएका गाडी मात्र सञ्चालन गर्न दिइने गरेकोमा यस उपनिर्वाचनमा मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्म निर्वाध रूपमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको छ,’ सहायक प्रवक्ता पाण्डेयले भने, ‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि एकजनाले मतदानको दिन चारपांग्रे, तीनपांग्रे वा दुईपांग्रेमध्ये एउटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने निर्णय आयोगले गरेको छ। कसैले निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिनेछन्।’

पाण्डेयका अनुसार एम्बुलेन्स, खानेपानीका ट्यांकर, दुध बोक्ने सवारीसाधन, दमकल, शव वाहन पनि र्निाध रूपमा सञ्चालन हुन पाउनेछन्।

इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सुवास नेम्वाङ र बझाङ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीसमेत रहेका सिंहको गत असार ५ गते सडक दुर्घटनामा परी निधन भएको थियो। त्यस्तै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो।

प्रकाशित: १५ वैशाख २०८१ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App