२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलामका उम्मेदवार सुहाङ, खड्का र लिम्बुले गरे मतदान

इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा नेकपा (एमाले) का उमेम्दवार सुहाङ नेम्वाङ र नेपाली कांंग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम मरब क्याम्पस केन्द्रबाट मतदान गरेका छन्।  

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार योङहाङ लिम्बुले माङ्सेबुङ २ स्थित जनता कल्याण आविबाट मतदान गरेका छन्।

यस क्षेत्रका ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रमा यतिबेला मतदाताले मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। यो उपनिर्वाचनमा सबै पुरुष उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन्।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलनकुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार छन्।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १५ वैशाख २०८१ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App