दुर्गा प्रसाईं पक्राउ: १२ घण्टाको दुरी छिचोल्न प्रहरीलाई १४ दिन
२९ चैत्र २०८१
•
५ मिनेट पाठ
दुर्गा प्रसाईं पक्राउ: १२ घण्टाको दुरी छिचोल्न प्रहरीलाई १४ दिन
भारतको आसामस्थित तामुलपुर बास्कामा रहेको घर, जहाँ दुर्गा प्रसाईं लुकेर बसेका थिए। तस्बिर स्रोत: नेपाल प्रहरी
झापाको भद्रपुरमा शुक्रबार पक्राउ परेको भनिएका दुर्गा प्रसाईं नेपालबाट सडकमार्ग हुँदै करिब १२ घण्टा टाढाको दुरीमा थिए। त्यही दुरी पार गरेर प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती क्षेत्रमा ल्याउन नेपाल प्रहरी सफल भएको थियो। भारतीय प्रहरीले बुधबारबाटै उनको ‘रेकी’ सुरु गरेको थियो। ‘स्थानीय प्रहरीले रेकी सुरु गरिसकेको थियो तर प्राविधिक कारणले ढिलो भयो।




बिहीबार बिहानै उनलाई नियन्त्रणमा लिन गरिएको प्रयास लम्बिन पुगेको थियो तर दिउँसोतिर उनी भने नियन्त्रणमा आइसकेका थिए,’ अनुसन्धान खटिएका एक अधिकारीले भने। व्यवस्थाविरोधी आन्दोलनमा लागेर हिंसा मच्चाएका प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई दुई साता कुर्नुपरेको थियो। नेपालमै रहेको भन्दै राज्यलाई चुनौती दिइरहेका उनी अन्नतः भारतमा भेटिएका हुन्।

नेपाल प्रहरीले भने शुक्रबार बिहान भद्रपुर ल्याएपछि मात्रै प्रसाईं पक्राउ परेको जानकारी दिएको थियो। खासगरी नेपाल–भारतबिच अपराधीहरू गुपचुपमै लेनदेन गरिन्छ। प्रसाईंका हकमा पनि त्यसै गरिएको थियो। तर बिहीबार साँझ हल्लीखल्ली भएपछि प्रहरीले ढाकछोपको प्रयास गरेको थियो।

एक साताभन्दा लामो समय बिताएको टोलीले भारतको आसामस्थित तामलपुर बास्कामा रहेको एक घरबाट प्रसाईंलाई नियन्त्रणमा लिएर नेपालबाटै गएको प्रदेश नं. १–०१–००२ च ३७९३ नम्बरको स्कोर्पियोमा राखेर ल्याइएको थियो। उक्त घर नेपालीभाषी अभिचन्द्र पाठकको हो। उनी एक हिन्दुवादी नेता भएको बताइएको छ। ‘भारतीय र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो,’ स्रोतले भन्यो।

नेपाल प्रहरीको विशेष ब्युरो र उपत्यका अपराध महाशाखाको टोलीले मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा प्रसाईं बसेको घर पहिचान गरिसकेको थियो। सुरुमा भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेको विशेष ब्युरोको टोली प्रर्सांलाई नभेटेपछि आसाम पुगेको थियो। तर प्रहरीका अनुसार उनी दिल्ली, लखनउ हुँदै राजस्थान पनि पुगेका थिए।

लखनउमा योगी आदित्यनाथलाई भेट्न खोज्दा सम्भव नभएपछि सुरक्षित स्थान खोज्दै प्रसाईं आसाम पुगेका हुन्। भुटानी सीमानजिकको बास्कामा उनलाई झापातिरकै एक आफन्तले बस्न उक्त घर खोजिदिएका थिए। उनी सुरुदेखि नै त्यही घरमा बस्दै आएका थिए। त्यहीँबाट पक्राउ गरेपछि उनको सचिवालयले बिहीबार आसाम प्रहरीसमक्ष आत्ममसर्पण गरेको जनाएको थियो।

नेपाल र भारतबिच एकअर्काको देशमा पक्राउ परेका आरोपितलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ। अर्को देशमा पक्राउ परे त्यहाँको प्रहरीले सीमा क्षेत्रमा ल्याएर छाड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने गरिन्छ। यो क्रम गुपचुपमै हुने गरेको छ।

नेपाल र भारतका सुरक्षा अधिकारीहरूले यो विषयमा औपचारिक धारणा राख्ने गरेका छैनन्। दुर्गा प्रसाईंका हकमा पनि दुवै देशका अधिकारीहरूले यही विधि अपनाउन खोजेका थिए। तर नेपालतर्फ सूचना चुहिएपछि प्रहरी अप्ठेरोमा परेको थियो। त्यस्तो अवस्थामा भारतीय प्रहरीले जिम्मा लगाउन आनाकानी गर्ने सम्भावना देखेपछि प्रहरीले विज्ञप्ति जारी गरेर प्रसाईं पक्राउ नपरेको बताएको थियो।

काठमाडौंको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका प्रसाईं चैत १५ देखि फरार थिए। उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ले चैत १५ मा काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गर्दा हिंसा भड्किएको थियो।

उक्त प्रदर्शन हिंसात्मक बनेसँगै तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियो चढेर उनी सीमापार भएका थिए। प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको स्कोर्पियो यसअघि नै झापाबाट काठमाडौं ल्याइएको थियो। स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएन्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए।

भारत पुगेपछि प्रसाईं चुप बसेनन्। भिडियो बनाएर सार्वजनिक गर्ने र राज्यलाई चुनौती दिने काम उनले गरिरहे। त्यसकारण पनि नेपाल प्रहरीलाई उनको लोकेसन ट्र्याक गर्न सहज भएको थियो।

पहिलो र दोस्रो भिडियो बनाएको मन्दिरमा पुगेर नेपाली सुरक्षाकर्मीले लोकेसन ट्र्याक गरेका थिए। त्यसपछि भारतीय प्रहरीसमक्ष प्रसाईंलाई पक्रन अनुरोध गरिएको थियो। आसाममा उनी बसेको घरको तस्बिरसहितको ‘लोकेसन’ दिएपछि भारतीय प्रहरीले नेपाली सुरक्षाकर्मीलाई सहयोग गरेको थियो।

बिहीबार साँझ आसाममा पक्राउ परेपछि प्रसाईं निकटहरूले ‘समर्पण’ गरेको दाबी गरे। तर उनले आत्मसमर्पण गरेको भन्ने सत्य नभएको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रसाईंको खोजीमा विशेष ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली निरन्तर लागेको थियो। हाल विशेष ब्युरोको कमान्ड डिआइजी सिद्धविक्रम शाहले गरेका छन्। उपत्यका अपराध महाशाखामा एसएसपी रमेश बस्नेत छन्। प्रसाईं पक्राउमा उनीहरू दुवैको पहलकदमी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर प्रसाईं पक्षधरहरूले सुरक्षाका लागि आफैं प्रहरीमा गएको दाबी गर्दै आएका छन्। प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ।

अनुसन्धान गर्न १२ दिनको समय

चैत १५ गतेको हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको समय दिएको छ। भद्रपुरबाट ल्याएपछि काठमाडौं प्रहरी परिसरले अदालतसँग अनुसन्धानका लागि समय मागेको थियो।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। उनीसँगै रहेका अंगरक्षक दीपक खड्काको अनुसन्धानका लागि पनि १२ दिनको समय दिइएको छ।

खड्कालाई पनि प्रहरीले भारतबाटै ल्याएको थियो। प्रसाईंले नै आन्दोलनको कमान्डर बनेर सुरक्षा निकायलाई नै गाडीले किच्ने र मिच्ने गरी भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन उच्छृंखल बनेको बनेको थियो। प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो।
अर्को समाचार
दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी
२८ चैत्र २०८१
•
४ मिनेट पाठ
दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी
काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी गरिएको छ। एक सातादेखि भारतको आसाममा तन्ना र चटपटे बेच्दै प्रसाईंको खोजी गरिरहेका नेपाली सुरक्षाकर्मीले फेला पारेपछि भारतीय प्रहरीले उनलाई बिहीबार आसामबाट नियन्त्रणमा लिएको दाबी गरिएको हो। भारतीय प्रहरीले नेपाल–भारत सीमामा ल्याएर छाडेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने बताइएको छ।




तर  नेपाल प्रहरीले भने प्रसाईं पक्राउ नपरेको बताएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार राति एक विज्ञप्ति जारी गरेर ‘दुर्गा  प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनेको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म उनी पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्छाैं।’

तर प्रहरीकै एक उच्च स्रोतले भने प्रसाई पक्राउ परेको दाबी गरेको हो । ‘दुर्गा प्रसाईंको खोजीमा गएको नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो। भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।

प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा परेपछि गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, विशेष ब्युरो प्रमुख डिआइजी सिद्धिविक्रम शाहबिच आकस्मिक बैठक बसेको बताइएको छ।

प्रसाईंको खोजीमा गएको विशेष ब्युरोको टोलीमा रहेकाहरू चटपटे र तन्ना बेचेर बसिरहेका थिए। साथै केही सुरक्षाकर्मी मन्दिरमा साधुको भेषमा थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध महाशाखाको टोली भारतका विभिन्न भागमा खटिएका थिए।

‘दुर्गा प्रसाईंको पहिचान चैत २७ मा भएको थियो तर विविध कारणले भारतीय प्रहरीको पहुँच पुगेन। दोस्रो दिन मात्रै भारतीय प्रहरीले घेरा हालेर नेपाल–भारत सीमा क्षेत्रमा पठाएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। तर प्रसाईंको सचिवालयले आफैं आत्मसर्मपण गरेको जनाएको छ। ‘अहिले दुई घण्टाअगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाका लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजो (बुधबार) मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं ! (दुर्गा प्रसाईं) जय देश जय रास्ट्रवाद,’ उनको सचिवालयले बिहीबार साँझ उल्लेख गरेको छ।

प्रसाईंको परिवारले पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफैं आसाम प्रहरीको सम्पर्कमा पुगेको दाबी गरेको छ। प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएका थिए। उनको पछिल्लो भिडियो सार्वजनिक हुनुपूर्व नै आसाममा रहेका नेपाल प्रहरीका अधिकारीहरूले ट्र्याक गरिसकेका थिए। सोही क्रममा पछिल्लो भिडियो सार्वजनिक भएपछि प्रसाईंलाई खोज्न सहज भएको थियो। त्यही क्रममा भारतीय प्रहरीले उनको खोजी गर्दै आसामका नेपाली बस्ती र मन्दिरहरूमा छापा मारेको थियो।

चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो। त्यसक्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो । सुरक्षाकर्मीहरूलाई गाडी लिएर किच्न खोजेका प्रसाईं त्यही दिन फरार भएका थिए। फरार रहेकै अवस्थामा प्रसाईंले बुधबार मात्रै आफ्नो जीवनरक्षाको सुनिश्चित भए प्रहरीसमक्ष उपस्थित हुने बताएका थिए।

सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईंले आफ्नो जीवनको रक्षाको सुनिश्चितता भए २४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने जनााएका थिए। ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा. सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा. भीमार्जुन आचार्य र मानव अधिकार आयोगको रोहबरमा हो भने म भोलि (बिहीबार) २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नुपर्दैन। भारत भागेको भनिएको छ। म कतै भागेको छैन। नेपालमै छु नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु,’ उनले भनेका थिए। तर उनले आफू नेपाल रहेर भनेर ढाट्दै आएको स्पष्ट भएको छ।

बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दुर्गा प्रसाईंलाई राज्यले पक्राउ गर्ने बताएका थिए। बुधबार साँझ नागरिक न्युजको ‘फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले प्रसाईंले राज्यविरुद्ध अराजकता फैलाएकाले सुरक्षा नदिएर पक्राउ गर्ने बताएका थिए। ‘ऊ आओस् वा नआओस्, हामीलाई मतलब छैन। राज्यसँग बार्गेनिङ गर्ने? आगजनी, लुटपाट र अराजकता फैलाउनेलाई राज्यले सुरक्षा दिन्छ कि पक्राउ गर्छ ? पक्राउ नपरुन्जेल उनलाई छोडिँदैन,’ सञ्चारमन्त्री गुरुङले भनेका थिए। चैत १५ मा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले शान्तिसुरक्षामा खलल पुर्‍याएको र संविधानमाथि आक्रमण गरेको उनको भनाइ थियो।’ यो राज्यविप्लव हो, चाहे पूर्वराजा ज्ञानेन्द्र शाहले गरोस् वा अरू कसैले, संविधानको रक्षा राज्यले गर्छ,’ उनले भनेका थिए।

प्रहरीका अनुसार प्रसाईंकै बडीगार्ड दीपक खड्का, रामकुमार धिताल र सहयोगी दुरेन राईलाई पनि प्रसाईंसरह खोजी भइरहेको थियो। उनीहरूमध्ये केही बुधबार नै नेपाल आइसकेको स्रोतको दाबी छ। यसअघि व्यवसायीलाई भारतीय कुख्यात ग्याङस्टर लरेन्स विस्नोई समूह पनि प्रसाईको कनेक्सनमा देखिएको थियो।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस