वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकोमा उपप्रमुख सुनिता डंगोललाई काठमाडौं महानगरको नगरसभा बैठकले बधाई दिएको छ।
बुधबार महानगरको १७ औँ अधिवेशनको दोस्रो बैठकमा नगरसभा सदस्य सर्मिला परियारले सम्बोधनका क्रममा उपप्रमुख डंगोल छनोट भएको भन्दै सबै नगरसभा सदस्यलाई उठेर बधाई दिन आग्रह गरेकी थिइन्।
उनले ‘सबैतिरबाट बधाई र शुभकामना आइरहेका बेला यो नगर सभाबाट किन बधाई नभन्ने’ भन्दै यस सभाले हार्दिक बधाई ज्ञापन गदर्छ भनिन्। उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरू उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे। सुरुमा बसेरै ताली बजाएका मेयर साहले उठेर ताली बजाए।
त्यसपछि फेरि परियाले उपप्रमुखले पाएको सम्मानले सबैलाई प्रेरणा थपेको भन्दै खुसी व्यक्त गरिन्। संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएको थिइन्।
डंगोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक छिन्। डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन्।
३२ असार २०८२
•
१ मिनेट पाठ