सुरक्षा निकायमा जनशक्ति अभाव भैरहेको बेला संसदीय समितिका सबै सभापतिहरुलाई नेपाल प्रहरीले निजी सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर्स (पीएसओ) प्रहरी खटाउने गरेको छ । संसद्ले बनाएको विशिष्ट व्यक्तिको सुरक्षा निर्देशिका अनुसार सबै सभापतिलाई पिएसओ खटाउने गरेको हो । लामो समयदेखि प्रहरीमा जनशक्ति कम रहेको भन्दै सरकारसँग दरबन्दी माग गरिरहेको बेला प्रहरीबाटै पिएसओ खटाउने गरिएको हो ।
तर अहिले सुरक्षा पनि समितिका सभापतिहरुले सुरक्षाका लागि गृहमन्त्रालयमा आवेदन दिइरहेका छन् । बिहीबार मात्रै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षा गार्ड उपलब्ध गराइदिन माग गरेको टिप्पणी गृहमन्त्रालयमा पुगेको छ । ‘शिक्षा स्वास्थ्य समितिका सभापतिले सुरक्षाका लागि पिएसओ माग गर्नु भएको पत्र आएको छ’, गृहमन्त्रालयका उच्च अधिकारीले भने ।
संसदीय समितिमा रहेका सभापतिहरुलाई सुरक्षा दिनका लागि संसदले छुट्टै निर्देशिका बनाएको छ । सोही निर्दैशिकाको आधारमा मन्त्रालयसँग पिएसओ माग गरेको हो । उता प्रहरी प्रधानकार्यालयले पनि संसदीय समितिका सभापति, सांसद तथा अन्य केही व्यक्तिहरुले पिएसओ माग गरेपछि निर्दैशिका बनाएर पिएसओ पठाउने गरेको छ । ‘संसदीय समितिका सबै सभापतिहरुलाई पिएसओ दिने प्राब्धान छ’, प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले भने । उनका अनुसार विशष्टि व्यक्ति सुरक्षा निर्दैशिकाको आधारमा पिएसओ खटाउने गरिएको छ ।
केही दिन अघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ ९पर्सनल सेक्युरिटी अफिसर० एकैपटक फिर्ता गरिएको थियो । प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका थिए । उनीहरुले आफ्नो पिएसओ फिर्ता गरेकोमा संसदमा समेत आवाज उठाएका थिए । २०७७ साल पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीबाहेक अन्य नेताको सुरक्षा कटौती गरिएको थियो । अहिले खटिएका पिएसओ पनि गृहले त्यतिबेला बनाएको कार्यविधि विपरित रहेको छ । तर संसद र प्रहरीले तयार पारेको निर्शिकाको दुरुपयोग गरेर पिएसओ खटाउने क्रम जारी रहेको छ ।
२०७७ सालको पुसपछि बनेको कार्यविधिलाई लागु गर्दै केही पूर्वमन्त्री तथा नेताहरुको घरबाट सुरक्षाकर्मी फिर्ता गरिएलगत्तै आफूहरूलाई सुरक्षा जोखिम रहेको भन्दै नेताहरूले पुनः गृहमा निवेदन दिएर फिर्ता लगेका थिए । सोही निवेदनअनुसार गृह मन्त्रालयले केहीलाई फेरि पिएसओ पठाइदिएको थियो । गृहमन्त्रालय उच्च स्रोतका अनुसार कहिले संसदको पत्र र कहिले जिल्ला सुरक्षा समितिको पत्र, कहिले गृहमन्त्रीकै आदेशमा विशिष्ट व्यक्तिको नाममा सांसद, व्यापारी र केही नेताहरुलाई पिएसओ दिइएको मन्त्रालयका एक अधिकारीले बताए । ‘दबाब थेग्न नसक्नेगरी पत्र आउने, फोन आउने गर्छन, गृहले बनाएको कार्यविधि भन्दा संसद र प्रहरीले बनाएको निर्दैशिका देखाएर पिएसओ लैजानेहरु धेरै छन्’, गृहमन्त्रालयका एक उच्च अधिकारीले भने ।
०५ असार २०८२
•
२ मिनेट पाठ