नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको बताएका छन्। पोखरेलले प्रवासी नेपाली मञ्च, बेलायतको नवौं महाधिवेशनलाई आइतबारर (आज) लेस्टरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
'आज धेरैले प्रश्न गर्छन्— पोखरा र भैरहवामा विमानस्थल किन बनाइयो ? पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि वार्षिक ४ लाख पर्यटक आउँथे, अहिले त्यो संख्या १२ लाख पुगेको छ। यसलाई प्रगति मानेन भने के मान्ने ?,' उनले भने।
उनले भूराजनीतिक स्वार्थ र प्रतिस्पर्धाका कारण नेपालमा बनेका विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जिकिर गरे। पोखरेलले युरोपेली सङ्घ (ईयू) द्वारा नेपाली विमानहरूलाई युरोपमा निषेध गरिएको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। 'नेपाली जहाजहरू अष्ट्रेलिया वा मध्यपूर्वमा सुरक्षित हुन्छन् भने तिनै जहाजहरू युरोप आउँदा असुरक्षित ठहरिनु न्यायोचित छैन,' उनले भने।
पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपाली जनताको प्रतिव्यक्ति आयमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै देशका आर्थिक सूचकहरू सकारात्मक दिशामा अगाडि बढिरहेको बताए। उनले नेपाल दक्षिण एशियामा सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको मुलुक भएको दाबी पनि गरे।
'हामी परराष्ट्र नीतिमा समान व्यवहारको पक्षमा छौं। फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध बनाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्छ भन्ने एमालेको स्पष्ट नीति हो,' उनले भने।
उनले देशभर ६७ हजार किलोमिटर सडक सञ्जाल विस्तार भएको, विद्यालय शिक्षामा लैंगिक असमानता अन्त्य भएको, मातृ मृत्युदरमा उल्लेखनीय गिरावट आएको जस्ता सूचकहरू देशमा प्रगति भइरहेको प्रमाण भएको बताए। जलविद्युत क्षेत्रमा एमाले नेतृत्वमा उल्लेखनीय काम भएको पनि उनले स्मरण गरे।
गैरआवासीय नेपालीहरूको सहभागिता बिना नेपालको समृद्धि सम्भव नभएको भन्दै पोखरेलले प्रवासी नेपालीका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेमराज शर्माले भने, 'गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै नागरिकताको विषयमा आवाज उठाउँदै आएको छ, तर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा आधारित नागरिकता अझै पनि दुई वर्षे भिसामा सीमित छ।'
डा. शर्माले विदेशमा रहेका नेपालीहरू र नेपालमा रहेका नेताहरूबीच दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए। उनले विदेशी विश्वविद्यालयहरूमा अध्ययनरत नयाँ पुस्तालाई राज्यसँग जोड्न विशेष नीतिहरू आवश्यक रहेको सुझाव दिए।
गैरआवासीय नेपाली संघका वर्तमान कार्यसमितिमा एमालेको प्रभाव रहेको भन्ने आरोपलाई खारेज गर्दै डा। हेमराज शर्माले भने, 'बद्री केसी नेतृत्वको कार्यसमितिमा ८० प्रतिशत लोकतन्त्रवादीहरू छन्। त्यसैले एमालेको भन्ने आरोप आधारहीन हो।'
कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाली दूतावासको सेवा स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसम्म विस्तार गर्नेतर्फ आफूहरू प्रयत्नशील रहेको जानकारी दिए। उनले एफडीआई ९प्रत्यक्ष वैदेशिक लगानी० वृद्धि गर्न र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रवासी नेपाली मञ्च वेलायतका अध्यक्ष टुंगा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा, राष्ट्रिय स्वतन्त्र पार्टी वेलायतका अध्यक्ष पवन शर्मा, सरस्वती केसीलगायतले शुभकामना मन्तव्य दिएका थिए।
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।
पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।
सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।
यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।
लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।
राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।
भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।
प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।
प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।
राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।
शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...