अनिश्चितकालीन आन्दोलनको नाममा जुर्मुराएका राजावादी दल तथा सङ्घ-सङ्गठनहरू अहिले मौनप्राय: छन्। अहिले राजावादी आन्दोलन मात्रै होइन, आन्दोलनकारीसमेत देखिँदैनन्।
राजा फर्काउने उद्देश्यसहित २०८१ चैत ४ गते गठन भएको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति पनि गुमनाम छ, त्यसका संयोजक नवराज सुवेदी पनि बेकाम छन्। जेठ २१ गतेयता समितिले केही गतिविधि गरेको छैन।
समिति यसरी सुस्ताउनुको एक प्रमुख कारण हो- संयोजक सुवेदीको नेतृत्वसँग समितिका पहिलो र दोस्रो ठूलो घटक दलहरू राप्रपा र राप्रपा नेपाल सन्तुष्ट नहुनू। उनीहरूको सिधासिधी निष्कर्ष ८७ वर्षीय महेन्द्रकालीन नेताले अहिलेको आन्दोलन नेतृत्व गर्न सक्दैनन् भन्ने हो। सिधै शब्दमा यसो नभने पनि राप्रपा र राप्रपा नेपालका नेताहरूको अभिव्यक्तिमा त्यो झल्किन्छ।
त्यसो त जतिबेला समिति गठन भयो, त्यतिबेलै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट जनाएका थिए। यतिसम्म कि उनीहरूले सुवेदी नेतृत्वको समितिमा नबस्ने घोषणा नै गरेका थिए तर, त्यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ सक्रिय भएर सबै नेताहरूलाई सम्झाए। यसपछि लिङ्देन-थापा समितिमा रहन तयार भएका हुन्। तर, तीन महिना बित्दा-नबित्दै समितिभित्र ‘उखरमाउलो’ असन्तुष्टिहरू देखिन थाले। फलत: आन्दोलन निष्प्रभावी बन्यो।
यसबीचमा सुवेदी आफ्नै तवरले चल्न थालेको आरोप राप्रपा र राप्रपा नेपालको छ। हुन पनि यसबीचमा सुवेदीले कतिपय कार्यक्रमका ढाँचा तयार पार्ने काम, विज्ञप्ति निकाल्ने कामदेखि लिएर रणनीतिक बैठकहरू बोलाउने काम राप्रपाका दुई नेतासँगको समन्वयबेगर नै गरे। यसर्थ, लिङ्देन-थापा अहिले असन्तुष्ट बन्दै गएका छन्।
२०८२ जेठ १७ गते काठमाडौंमा प्रदर्शित राजावादी आन्दोलन।राप्रपाका एक नेता अब पनि समन्वय नहुने हो भने आन्दोलन थप अगाडि नजाने बताउँछन्। ‘उहाँहरूले हामीसँग समन्वय गर्न छाड्नुभएको छ। यो आन्दोलनका लागि राप्रपा अग्रमोर्चामा खटिन सक्छ तर, यही पात्र, प्रवृत्ति र कार्यशैलीबाट भने सम्भव हुँदैन भन्ने हाम्रो निष्कर्ष छ,’ ती नेता भन्छन्। समन्वय नै नगरीकन काम गर्दा आन्दोलन सफल हुन नसकेको पार्टीको निष्कर्ष रहेको राप्रपाका ती नेताको भनाइ छ।
राप्रपा नेपालका एक नेताको भनाइ पनि त्यस्तै छ। समितिमा समन्वयको अभाव भएको सुनाउँदै उनले भने, ‘हुन त व्यक्तिपिच्छेका फरक व्यवहार, कार्यशैली र तौरतरिका हुन्छन्। तर, आन्दोलनजस्तो कुरामा त्यसलाई कार्यशैलीगत त्रुटि मान्न सकिँदैन। समन्वयका हिसाबले एकदम कमी भयो।’
उसो त सुवेदी निकट नेताहरू अहिले आन्तरिक तयारीमा रहेको दाबी गर्छन्। अब फेरि आन्दोलन उठेपछि लक्ष्यमा पुग्नेगरी उठ्ने बताउँछन् समितिका प्रवक्ता स्वागत नेपाल। अन्डाको उदाहरण दिँदै उनले भने, ‘एउटा अन्डालाई आफ्नो तापक्रममा कन्सिस्टेन्सी मेन्टेन गरेर छोपिरहनुभयो भने मात्रै चल्ला निस्किन्छ। उगार्दै हेर्दै, उगार्दै हेर्दै गर्नुभयो भने त्यो कुहिन्छ। यसबाट एउटा चल्ला निस्किन लागेको छ, हामी पूर्ण रूपमा तयारीमा छौँ। र, यसलाई अहिले हामीले खोलेर फेरि हेर्यौँ भने चल्ला निस्किँदैन। खोलेर हेर्ने हतारभन्दा चल्ला निस्किन दिनुपर्छ। आन्दोलन अझ बेगका साथ आउँछ।’
अब आन्दोलन कति मात्रामा उठ्छ,देखिएला नै तर, सुरुमा भनिएको र पछि देखाइएको आन्दोलनको स्वरूप र आकार हेर्दा अब आन्दोलन राजा फर्काउने तहमा उठ्छ भनेर विश्वास गरिहाल्न सकिँदैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आइरहँदा केन्द्रीय सदस्य खुस्बु ओलीले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हालैका निर्णयहरूको बचाउ गरेकी छन्।
अध्यक्षले पार्टीको अनुशासन समितिको संयोजकमा रोशन कार्कीलाई नियुक्त गरेपछि असन्तुष्ट बनेको पक्ष निर्वाचन आयोग पुगेको विषयलाई उनले ‘गलत’ र पार्टीलाई कमजोर बनाउने कार्यको संज्ञा दिएकी हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष लिङ्देनका निर्णयहरू पार्टीको विधानअनुसार नै स्वाभाविक भएको तर्क गरेकी हुन्।
उनले अनुशासन विभागका तत्कालीन संयोजक नवराज सुवेदीले राजावादी आन्दोलनको नेतृत्व गर्नासाथ राप्रपाको सबै पदबाट राजीनामा दिएको घोषणा गरेकाले उक्त पद स्वतः रिक्त भएको बताइन्।
‘योसँगै उहाँले सम्हालेको अनुशासन विभाग नेतृत्वविहीन हुन पुग्यो। त्यही रिक्त पदमा अध्यक्षले पार्टीको विधान अनुसार कार्कीलाई नियुक्त गर्नु भएको हो,’ उनले भनिन्।
उनले पार्टी विधानको दफा ४९ लाई उद्धृत गर्दै कुनै पनि रिक्त पदमा मनोनयन वा सहवरणमार्फत पूर्ति गर्ने अधिकार अध्यक्षलाई रहेको स्पष्ट पारिन्। ‘आफैँले राप्रपाको सबै पद त्यागेको घोषणा गरेको नेताले फेरि त्यही पद कसरी दाबी गर्न मिल्छ ?’ उनले प्रश्न गरेकी छन्।
प्रवक्ता सगुन लावतीलाई पदमुक्त गरिएको विषयमा उनले त्यसलाई कारबाही नभई ‘जिम्मेवारी हेरफेर’ मात्र भएको बताइन्।
अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी मनोनित गरेको प्रवक्ता पदबाट मुक्त गर्नु कारबाही नभएको उनको जिकिर छ। ‘उहाँ (लावती) पार्टीमा नै हुनुहुन्छ। उहाँलाई कारबाही गरिएको होइन, पदमुक्त यानी कि जिम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले स्पष्ट पारिन्।
उनले पार्टीको निर्णयमा असहमति भए केन्द्रीय कार्यसमितिको बैठकमा कुरा राख्नुपर्नेमा सोझै निर्वाचन आयोग जानु अत्यन्तै गलत भएको टिप्पणी गरिन्।
‘अब भाद्रमा कार्यसमिति त बस्दै थियो, त्यो कुरालाई उहाँहरूले त्यहाँ राख्नुपर्नेमा आज निर्वाचन आयोग जानु अत्यन्तै गलत कुरा हो,’ उनले भनिन्।
उनले निर्वाचन आयोग पुग्ने पदाधिकारीहरू आफैँ संलग्न कार्यसम्पादन समितिले ‘राष्ट्रवादी विचार भएका अन्य दल वा अभियानमा संलग्न भए स्वतः पद नरहने’ निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णयमा किन ‘नोट अफ डिसेन्ट’ नलेखेको भनी प्रश्न गरिन्।
साथै, उनले पार्टीलाई कमजोर बनाउने र महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई काम गर्न नदिने कार्य स्वीकार्य नहुने बताइन्।
उनले भनिन्, ‘पार्टीभित्र कमजोरी होलान्, नेतृत्वसँग असहमति हुन सक्छन् तर त्यसलाई सम्बोधन गर्ने र समाधान गर्ने विधिहरू हुन्छन्। कुरा मान्छेको होइन, विधि, पद्धति र प्रणालीको हो।’
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...