२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वाग्मती प्रदेशसभा बैठक रोक्न माग

वाग्मती प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरू। तस्बिरः नागरिक

मकवानपुर, – वाग्मती प्रदेश सदस्यहरूले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले संसद् बैठक रोक्न माग गरेका छन्। तर मुख्यमन्त्री डोरमणी पौडेलले सरकार तयारी अवस्थामा रहेका बैठक रोक्नुपर्ने अवस्था नरहेको बताए। कोरोना भाइरसको संक्रमण रोक्न प्रदेश सरकारको पूर्वतयारी पर्याप्त नभएको भन्दै प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदले सरकारको आलोचना समेत गरे। प्रदेश सरकारले कोरोना संक्रमण विरुद्ध पूर्वतयारी र सचेतना फैलाउनुपर्नेमा भ्रम सिर्जना गरेको भन्दै नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भंडेलले सरकारले जनताको ज्यानसँग खेलवाड गरेको आरोप लगाए।

‘हाम्रो भाग्य भन्नुपर्छ अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन,’ उनले भने, ‘प्रदेश सरकारको तयारीअनुसार कोरोना भाइरसको संक्रमण भए धेरै नागरिकले अकालमै ज्यान गुमाउन सक्छन्।’ कांग्रेसकै सिन्धुपाल्चोकका सांसद निमा लामाले प्रदेश सरकारकै कारण कोरोना भाइरसको संक्रमण बढ्न सक्नेबताए। ‘प्रदेश सरकारसँग एकै पटक दुई सय जना कोरोना संक्रमित बिरामीको उपचार गर्ने क्षमता छैन, कुरा मात्रै गरेर हुँदेन्,’ उनले भने, ‘एकैपटक धेरै नागरिकलाई कोरोना संक्रमण भए कसरी उपचार गर्ने ? यसबारे प्रदेश सरकारले ध्यान दिनुपर्दैन ?’

कोरोना भाइरसको संक्रमण र जोखिम रोक्न सरकार गम्भिर भएर काम गरिरहेको मुख्यमन्त्री पौडेलको दाबी छ। प्रदेशसभा बैठकको विशेष र शुन्य समयमा उठेका सवालको बुधबार जवाफ दिँदै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको प्रकोप र यसले निम्त्याउन सक्ने विपदका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए। ‘कोरोना भाइरसको विषयमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘कोरोना भाइरसको जोखिम सम्भावित स्थलहरूमा हेल्प डेस्कको स्थापना पनि गरिएको छ।’

कोरोना भाइरस संक्रमणबाट हुनसक्ने क्षतिलाई ध्यान दिएर आपतकालिन स्थितिमा परिचालन गर्नको लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको भन्दै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमण देखिएमा उपचारका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक सामग्रीसहित प्रदेशस्थित अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको जनाए।

‘प्रदेश सरकारले सशस्त्र प्रहरीसँग सहकार्य गरेर ४० श्याको आइसोलेसन कक्ष तयार गर्ने योजना अनुसार काम भइरहेको छ, मुख्यमन्त्री पौडेलले भने, ‘जोखिम भएका प्रदेश नाकाहरूमा जाँचको व्यवस्था गर्ने तयारी रहेको छ।’ प्रदेश सरकारले संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गरि कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ–आफ्नो कार्यक्षेत्रबाट काम गर्ने तयारी गरेका उनले बताए।

सत्तारुढ नेकपाका सांसद राजेन्द्रप्रसाद पाण्डेले विश्वका सम्पन्न देशहरूमासमेत कोरोना भाइरसबाट व्यक्तिको मृत्यु भइरहेकाले प्रदेश सरकारले विशेष पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिए। विवेकशील नेपाली पार्टीका सांसद बिराजभक्त श्रेष्ठले कोरोना भाइरसका कारण होटल तथा पर्यटन व्यवसायीहरूको लगानी गुम्दै गएकाले सरकारले सहुलियत दिनुपर्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रीता माझीले कोरोनाको नाममा व्यापारीले बजारमा कालोबजारी गर्न थालेको भन्दै नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताएइन।

प्रकाशित: ६ चैत्र २०७६ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App