यसकारण पुनर्स्थापनामा बोल्दैन कांग्रेस
१८ पौष २०७७
•
५ मिनेट पाठ
यसकारण पुनर्स्थापनामा बोल्दैन कांग्रेस
पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्‍यो। उसले भन्यो– 'प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।'  




कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहोर्‍यायो। आन्तरिक बैठकपछि थप छलफल गरेर अघि बढ्ने दलीय सहमति भयो। यसबीचमा कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो। तर उसले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भनेर अहिलेसम्म बोलेको छैन।  

प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा उभिनुपर्ने भन्दै नेता रामचन्द्र पौडेलसहितका केही नेताले जारी केन्द्रीय समितिको बैठकमा आबाज उठाएका छन्। बाहिरबाट पनि सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब परिरहेको छ।  

तर सभापति देउवाले पुस १३ गते आयोजित विरोधसभामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भए पनि अब उक्त विषय अदालतमा पुगेकाले त्यहाँबाट आउने निर्णय मान्ने स्पष्ट पारे। ‘अहिले यो मुद्दा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो,’ देउवाले भक्तपुरमा आयोजित कार्यक्रममा भने, ‘अदालतले दिने निर्णय हामी स्वीकार गर्छौं। अदालतमा विचाराधिन कुरामा हामीले बोल्ने कुरा छैन, हामी न यता न उता। अदालतलाई धम्क्याउने, थर्काउने, प्रभावित पार्ने हाम्रो चलन छैन।’  

त्यसो भए के सभापति देउवाले भनेजस्तै कांग्रेसले अदालतमा विचाराधिन मुद्दा भएरै मात्र पुनर्स्थापनाको पक्षमा नबोलेको हो त ? नेता पौडेलसहित संस्थापन इतरपक्षका केही नेता त्यसलाई मान्न तयार छैनन्। उनीहरू सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारीलगायत साँठगाँठ गरेको हुन सक्ने आशंका गर्छन्। सत्तास्वार्थभन्दा संविधान र राजनीतिक प्रणालीको रक्षा पक्षमा कांग्रेसले आफूलाई उभ्याउनुपर्ने र अदालतलाई आफ्ना कुरा सुनाउनुपर्ने तर्क पुनर्स्थापना पक्षधरले गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि नै बलात्कार गरेको आरोप लगाउँदै आएका पौडेल मेरो पार्टीको भलो कसरी हुन्छ भन्नुभन्दा पहिला देश, जनताको भलो कसरी हुन्छ र संविधानको सुरक्षा कसरी गर्ने भन्ने कुरा सोच्नुपर्ने तर्क गर्छन्। ‘मेरो पार्टीलाई फाइदा भइहाल्यो भनेर हाम फाल्ने होइन,’ उनले भने, ‘खेत रह्यो भने न बाली आउँछ। खेतै गयो भने बाली कहाँ लगाउने हो ?’

देउवानिकट नेताहरूले भने प्रतिनिधिसभा पुनर्स्थापना अदालतबाहेक सडक आन्दोलनबाट सम्भव नरहेकाले फैसला कुर्नुबाहेक विकल्प नरहेको बताउँदै आएका छन्। विगतमा सडक अन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भयो भनेर अहिले त्यस्तै हुने अवस्था नरहेको बताउँदै उपसभापति विमलेन्द्र निधिले अदालतको निर्णय कुर्नुबाहेक विकल्प नभएको बताए। ‘सडक आन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने म देख्दिनँ,’ निधिले भने, ‘अदालतको निर्णय नआउँदासम्म प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको हामीले विरोध गर्नुपर्छ। सरकारको गलत कामको भण्डाफोर गर्नुपर्छ।’

सत्तारूढ नेकपा राजनीतिक रुपमा विभाजित भए पनि कानुनी रूपमा एउटै रहेकाले सत्तास्वार्थका लागि फेरि पनि मिल्न सक्ने कांग्रेस नेताहरूको बुझाइ छ। ‘हिजो पनि कुनै नीति, कार्यक्रम र सिद्धान्तका आधारमा एकीकरण भएको होइन, सत्तास्वार्थका लागि एक भएका हुन्,’ एक नेताले भने, ‘भोलि पनि उनीहरूबीच एकता वा सहकार्य हुन सक्छ।’  

शक्ति केन्द्रहरू नेकपालाई मिलाउन अहिले पनि सक्रिय रहेको बताउँदै ती नेताले प्रश्न गरे प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित कांग्रेस सडकमा उत्रिने तर अदालतले त्यसको विपक्षमा निर्णय गर्‍यो भने कांग्रेसको अवस्था के हुन्छ ? ‘देश र जनतालाई नै कांग्रेसले केन्द्रमा राख्नुपर्छ, राख्दै आएको छ तर पार्टीको हितमा सोच्नै हुन्न भन्ने तर्क जायज होइन,’ देउवानिकट ती नेताले भने, ‘हिजो निर्वाचन हार्दा नेतृत्व छाड्नुपर्‍यो भनेर उहाँहरू (रामचन्द्र पौडेल) ले भनेको होइन ? हिजो कम्युनिस्टसँग मिल्यो भनेर अलोचना गर्ने अहिले उनीहरूसँग मिल्नुपर्छ। सडकमा जाऔं भन्ने कुरा जायज होइन।’

तत्कालीन माओवादी केन्द्रले पहिलो संविधानसभा निर्वाचनका बेला कांग्रेसका त्यतिबेलाका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भनेर पछि धोका दिएको थियो। तत्कालीन नेकपा एमालेले कांग्रेसका तत्कालीन संसदीय दलका नेता पौडेललाई प्रधानमन्त्री निर्वाचनमा मतदान नगरेको, २०७४ को आमनिर्वाचनको मुखमा तत्कालीन माओवादी केन्द्रले कांग्रेससँगै सरकारमा बसेर विपक्षी दल एमालेसँग निर्वाचनमा गठबन्धन गरेका जस्ता घटनाले कम्युनिस्ट पार्टीलाई विश्वास गर्ने अवस्था नभएको कांग्रेस नेताहरूको विश्लेषण छ।

नेकपाका नेताहरूको सत्तालिप्सा, गैरजिम्मेवारीपनका कारण नेपाली जनताले पाँच वर्षका लागि दिएको जनमत बीचमै खण्डित भएको बताउँदै कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘कम्युनिस्टबाट फेरि धोका खाने सम्भावना छ। त्यतातिर हामी नलागौं।’ प्रतिनिधिसभा पुनर्स्थापना हुँदा कांग्रेसका लागि थप जटिलता आउन सक्ने बताउँदै साउदले भने, ‘जुन संसद् हाम्रो अनुकूलताको छैन, त्यसको पुनर्स्थापनामा लाग्नु राजनीतिक होइन।’

प्रतिनिधिसभा पुनर्स्थापना हुने र नेकपा पनि विभाजित भएको अवस्थामा कांग्रेस संसद्को तेस्रो दल हुने अवस्था पनि आउन सक्छ। त्यस्तो अवस्थामा नेकपाको दाहाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी मिलेर सरकार गठन हुन सक्ने कांग्रेस नेताहरूको बुझाइ छ। त्यस्तो अवस्थामा प्रमुख प्रतिपक्षीको भूमिकामा केपी ओली नेतृत्वको नेकपा हुने विश्लेषण सुनाउँदै देउवानिकट अर्का नेताले भने, ‘न सरकार न प्रमुख प्रतिपक्षी दुवै भूमिकामा नहुने र सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको प्रतिनिधिसभाप्रति हामीले धेरै मोह राख्नुपर्ने देखिँदैन।’ लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास राख्ने पार्टीले जनताबाट अनुमोदन हुने कुरालाई अस्वीकार गर्न नहुने तर्क ती नेताको छ।  

‘संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन,’ ती नेताले थपे, ‘तर सत्तारुढ दलसँग स्पष्ट बहुमत छ। नेकपाभित्रको विवाद पुस ५अघि संसद् सचिवालयमा रेकर्ड भएको छैन। कांग्रेससहितका विपक्षी दलले बहुमत जुटाएर सरकार गठन गर्न सक्छौं भन्ने दाबी कसरी गर्न सकिन्छ ?’
अर्को समाचार
एमिकस क्युरीको मिश्रित सुझाव
२२ असार २०७८
•
५ मिनेट पाठ
एमिकस क्युरीको मिश्रित सुझाव
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी) बाट मिश्रित सुझाव आएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा एमिकस क्युरीका रूपमा आएका चारजना कानुन व्यवसायीमध्ये दुईजनाले विघटनविरुद्ध, एकजनाले पक्षमा र एकजनाले दुवै पक्षसँग मिल्नेगरी आफ्ना तर्क प्रस्तुत गरेका छन्।




नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन्। त्यसैगरी सर्वोच्च बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले सुझाव दिए। वैद्य र घिमिरेले विघटनविरुद्ध सुझाव दिए भने मल्लले विघटनको पक्षमा राय दिइन्। केसीले दुवै पक्षलाई मिल्नेगरी सुझाव दिएका छन्।

वरिष्ठ अधिवक्ता केसीले विश्वासको मत लिनु प्रधानमन्त्रीको संवैधानिक बाध्यता भएको बताए। ‘संविधान पालना गर्नैपर्ने र धारा ७६ (३) अन्तर्गतको प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ श्रीमान्’, उनले भने। विश्वासको मत नलिई प्रधानमन्त्री हुन सक्ने कि नसक्ने भन्ने विषयमा उनले प्रधानमन्त्रीको संवैधानिक दायित्व र नैतिक दायित्व छुट्याउनुपर्ने बताए। ‘संवैधानिक वा नैतिक दायित्व अदालतले छुट्याउनुपर्छ। नैतिक दायित्व हो भने अदालत प्रवेश गर्न सक्दैन। संवैधानिक दायित्व हो भने संविधान छल्न मिल्दैन’, उनले भने।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको भएकोमा उनले समर्थन जनाए। आधार प्रस्तुत गरेमा नियुक्त गर्नसक्ने भनिए पनि आधार नखुलाइएको उनले बताए। ‘आधार राष्ट्रपतिले हेर्ने कुरा हो तर हाम्रो संविधानमा छैन। नियुक्ति गर्दा विश्वासको मत लिन्छ कि लिँदैन, हेर्नुपर्छ। विवादास्पद छ भने राष्ट्रपतिले हेर्नुपर्छ’, उनले भने।

राष्ट्रपतिलाई प्रधानमन्त्री स्वीकार र अस्वीकार गर्ने अधिकार हुने उनको तर्क छ। उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्न भने अदालतले नमिल्ने तर्क गरे। संविधानले दलीय व्यवस्था गरेकाले दलका सदस्यलाई ह्विप लाग्ने उनको भनाइ छ। ‘स्वतन्त्र सांसदलाई दलको ह्विप लाग्दैन। दलको व्यवस्था छ, राजनीतिक दलसम्बन्धी ऐन छ, त्यसैले ह्विप लाग्छ’, उनले भने। त्यसै क्रममा इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधे, ‘मलाई इजलास तोक्ने अधिकार छ तर तोक्दिनँ भन्न पाइन्छ त ?’ त्यसको जवाफमा वरिष्ठ अधिवक्ता केसीले त्यो अवशिष्ट अधिकार भएको र बेन्च तोक्दा मलाई नै तोक भन्न न्यायाधीशले नमिल्ने बताए। कुनै दुराशय नराखी स्वविवेक र न्यायपूर्ण ढंगले इजलास तोक्नुपर्ने जबाफ उनको थियो।  

त्यसैगरी वरिष्ठ अधिवक्ता वैद्यले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि नेतृत्व गर्न नमिल्ने बताए। ‘एकचोटि हारिसकेपछि नेतृत्व छोडेर राजीनामा गरी बाटो खाली गरिदिनुपथ्र्यो। फेरि प्रधानमन्त्रीमा नियुक्ति गरिनु गलत हो’, उनले भने। पूर्वमहान्याधिवक्तासमेत रहेका वैद्यले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरे। ‘जीवन्त संविधान बनोस्, भोलिका पुस्ताले गर्व गर्नेगरी फैसला आओस्’, यसो भन्दै उनले बहस टुंग्याए।

वरिष्ठ अधिवक्ता पाठकले भने रिट निवेदन खारेज हुनुपर्ने तर्क गरिन्। एमिकस क्युरीले स्वतन्त्र ढंगले आफ्ना सुझाव अदालतमा प्रस्तुत गर्ने भए पनि उनले विपक्षका वकिलले जस्तै गरी रिट खारेजीको माग गरिन्। अन्य एमिकस क्युरी भने रिट सदर र बदरको पक्षमा बोलेनन्।

वरिष्ठ अधिवक्ता पाठकले धारा संविधानको ७६ (५) बमोजिम राजनीतिक दलबाहिर गएर स्वतन्त्र सांसद हुने व्यवस्था संविधानमा कल्पना नगरिएको बताइन्। ‘दलभन्दा बाहिर गएर सांसद स्वतन्त्र हुन् भनेर व्याख्या गर्न मिल्दैन। सांसद दलभित्र पर्ने भएकाले स्वतन्त्र हैसियत दिइएको छैन’, उनले भनिन्, ‘राजनीतिक दलबाट निर्वाचित सांसद दलका कुनै व्यक्तिविरुद्ध जान सक्छन् तर आफ्नै दलको प्रधानमन्त्रीविरुद्व जान सक्दैनन्।’ स्वतन्त्र हैसियत भएका सांसदले मिलीजुली सरकार बनाउन सक्छन् भन्दै उनले थपिन्, ‘तर धारा ७६ (५) लाई अपव्याख्या गरिनुहुँदैन।’

आफ्नै दलको नेतृत्वमा भएको सरकारविरुद्व जानु भनेको जनादेशविरुद्ध गएको र आफ्नो दलभन्दा बाहिर गएर समर्थन गर्नु दलीय व्यवस्थाविरुद्ध भएको उनको तर्क थियो। एउटा दलबाट निर्वाचित सांसदले अर्का दलका नेतालाई समर्थन गर्न पाइन्न भन्दै उनले थपिन्, ‘निर्वाचन घोषणा गरेको बेला अब उचित र मनासिब निकास निर्वाचनले नै दिने हो। रिट निवेदकको मागबमोजिम रिट खारेज गर्नुपर्छ।’

वरिष्ठ अधिवक्ता घिमिरेले कुनै पनि प्रधानमन्त्री जनताले विश्वास नगरेको खण्डमा एक मिनेट पनि सत्तामा बस्न नहुने तर्क गरे। उनले निर्दलीय प्रधानमन्त्री हुँदैमा बहुदलीय सिद्धान्त नखल्बलिने बताए। विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने र मन्त्रीसम्म पनि हुन नपाइने उनको जिकिर थियो।

‘धारा ७६ (५) मा नियुक्ति हुनुपर्ने दलको समर्थन पनि भए राम्रो हो तर दलको सदस्यमात्रै हुनुपर्छ भन्ने होइन’, घिमिरेले भने, ‘पार्टीहरूलाई धारा ७६ (१), (२) र (३) मा प्रशस्त फाइदा दिइसकेको छ। फाइदा लिन नसकेपछि उपधारा (५) ले पार्टीभन्दा बाहिर गएर भए पनि सरकार बनाऊ भनेको हो’, उनले भने। ‘धारा ७६ (२) र (३) बमोजिमको सरकारले (४) अनुसार विश्वासको मत मागे पाइँदैन ? विश्वासको मत दिने जुन धाराबाट पनि प्रतिधिसभा सदस्य नै हुन्’, प्रधानन्यायाधीश जबराले सोधे।

जवाफमा वरिष्ठ अधिवक्ता घिमिरेले धारा ७६ (३) मा विश्वास गुमाएका प्रधानमन्त्री उपधारा (५) मा आउन नपाउने बताए। ‘विश्वासको मत गुमाएको व्यक्ति आउन पाइँदैन। टेस्ट भैसकेको होइन, नयाँ आउने हो। हावादारी मान्छे आउन मिल्दैन। उपधारा ३ को प्रधानमन्त्रीमा आउन ढोका लगाएकै हो’, उनले भने। सर्वोच्च अदालतले गम्भीर संवैधानिक मुद्दा भएकाले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट गरी ४ जना वरिष्ठ अधिवक्तालाई सुझावका लागि एमिकस क्युरी माग गरेको थियो। सोही मागअनुसार आएका चारजनाले सुझावस्वरूप बहस गरेका हुन्।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस