काठमाडौं-संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनपछि उत्पन्न विवादमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहमतिनजिक पुगेका छन्।
जनताका सुझाव समावेश गरेर परिमार्जित प्रतिवेदन तयार पार्ने जिम्मा पाएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले धेरै विषय मिलिसकेकाले बुधबारसम्म सबै विषय टुंग्याउने तयारी भएको बताए। 'हामीले धेरै विषय टुंगो लगाएका छौं,' भट्टराईले भने, 'हामी मस्यौदाको धारा–धारामा प्रवेश गरेर विवाद समाधान गर्दै अघि बढेका छौं। केही कुरा छाडेर धेरै टुंगो लगाउँदै अघि बढेका छौं।'
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि संविधानसभाले आइतबारसम्म मात्रै समय दिएको बताउँदै समितिलाई छिटो प्रतिवेदन तयार पार्न दबाब दिएका छन्। नेम्वाङले मंगलबार पनि समितिका सचिव मुकुन्द शर्मालाई बोलाएर प्रतिवेदन छिटो तयार पार्न दबाब दिएका थिए।
'संविधानसभाले तपार्इंहरूलाई दिएको समयसीमा पनि सकियो,' नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'मैले अब संविधानसभाको बैठक बोलाउनुपर्ने हुन्छ।'
विशेष समिति सदस्यका सहयोगीका रूपमा रहेका नेताहरूको मंगलबार पनि बिहानदेखि बेलुका अबेरसम्म बैठक बसेको थियो। विशेष समितिका सदस्य एवं प्रमुख दलका शीर्ष नेतासँग बेलुका बसेको बैठकमा धेरै विषय टुंगो लागेको स्रोतले जानकारी दिएको छ।
बेलुकाको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए।
बैठक प्रदेश संख्या घटाउने, सीमांकनमा अहिले कुरा नमिले संविधान नरोक्ने र छलफल चलाउँदै जाने, नागरिकतामा देखिएका समस्या समाधान गर्ने, धर्मनिरपेक्षताको ठाउँमा सबैलाई चित्तबु‰दो शब्द राख्नेमा सहमतिनजिक पुगेको नेताहरूले बताएका छन्।
नेताहरू प्रदेश संख्या सकेसम्म ६ भन्दा बढी बनाउन नहुने पक्षमा छन्। यस्तै, नागरिकताका विषयमा मस्यौदाको धारा १३ (३) मा रहेको व्यवस्था परिमार्जन र नेपाली मूलको स्पष्ट परिभाषा गर्नेमा पनि नेताहरू सहमतिनजिक छ। धारा १३ (३) मा 'नेपालमा जन्म भई' भन्ने शब्दमा 'नेपाल' शब्द निकालेर जहाँ जन्म भए पनि भन्ने उल्लेख गर्नेमा सहमति भएको नेताहरूले जनाएका छन्। संविधानमा धर्मनिरपेक्षताको सट्टामा राख्ने शब्द भने चयन हुन बाँकी छ।
संविधानको प्रस्तावनामा बहुलवाद भने नराखिने स्रोतले जनाएको छ। प्रदेशको संख्या घटाउने भए सीमांकन र नामांकन अहिले नै टुंगो लगाउनुपर्ने अडान एमाओवादीले फेरि पनि दोहोर्याकएको स्रोतले बतायो।
प्रदेश संख्या, सीमांकन, नागरिकता, प्रस्तावना, मौलिक हक, धर्म लगायतका विषयमा सहमतिनजिक पुगेको दाबी गर्दै बुधबार बेलुकासम्म विशेष समितिले टुंगो लगाउने संवाद समिति सभापति बाबुराम भट्टराईले जानकारी दिए।
'हामीले संविधानको पहिलो मस्यौदा तयार पार्न र छलफलका लागि भनेर ८ प्रदेश भनेका हौं,' एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, 'जनताले ६ प्रदेशभन्दा माथि जान हुँदैन भनेका छन्। अब कम गर्नुपर्छ भन्नेमा पनि छलफल भएको छ।'
उनका अनुसार ३, ४, ५ र ६ प्रदेशका बारेमा कुराकानी भइरहेको छ। तर, टुंगो लागिसकेको छैन।
ओलीले सीमांकनले संविधान नरोकिने स्पष्ट पारे। 'सीमांकनसहित संविधान जारी गर्ने कुरामा हामी प्रतिबद्ध छौं,' ओलीले भने, 'तर, सीमांकन कुनै हिसाबले टुंगो लागेन भने संविधान रोकिन्न। संविधान बन्छ। समयमै जारी हुन्छ।'
ओलीले दलहरूबीच रहेका केही मतभिन्नता नजिक्याउने र सहमति गर्ने प्रयास भइरहेको बताएका छन्। ओलीले बुधबारसम्म विशेष समितिले सबैजसो विवाद टुंगो लगाउने तयारी गरेको जानकारी दिए। जनताले दिएको सुझावका आधारमा प्रदेश संख्या तय हुनुपर्नेमा आफूहरू अडिग रहेको उनको भनाइ थियो।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि प्रदेश संख्या कम गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। 'हामी सबैजसो कुरामा सहमतिनजिक छौं,' पौडेलले पत्रकारहरूसँग भने, 'भोलि (बुधबार) बेलुकासम्म केही न केही निष्कर्षमा पुग्छौं। बिहीबार संवाद समितिको बैठक बोलाएर त्यही दिन संविधानसभा अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेका छौं।'
पौडेलले पनि ६ प्रदेशभन्दा कम गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको बताए। 'जनताको सुझाव पनि प्रदेश संख्या बढीमा ६ बनाऊ भन्ने नै हो,' पौडेलले भने, 'धर्मनिरपेक्षता शब्द सम्भवतः संविधानमा रहँदैन। सबैलाई स्वीकार्य हुने धार्मिक तटस्थता वा धार्मिक स्वतन्त्रता नै हुन सक्छ।'
पौडेलले वंशजको आधारमा नागरिकताको व्यवस्था अहिले कायम भएअनुसार नै हुने जनाउँदै धारा १३ (३) लाई परिमार्जन गर्ने तथा महिला र मधेसवादी दलमा देखिएको आशंका निवारण गरेर समस्या समाधान गर्ने तयारीमा रहेको बताए।
तर, एमाओवादीले वंशजका आधारमा नागरिकता दिँदा आमा र बाबु दुवै नेपाली नभई आमा वा बाबु उल्लेख गर्नुपर्ने अडान कायमै राखेको थियो। प्रदेशमा मूल भाषा के हुने भन्ने विषयमा पनि एमाले र एमाओवादी नेताबीच चर्काचर्की भएको थियो। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामान्य भनाभन भएको पुष्टि गरे। 'सामान्य विवाद हो,' उनले भने।
भट्टराईले बुधबारसम्म प्रदेश सीमांकनसहितको खाका ल्याउने प्रतिबद्धता जनाए। 'हामीले सकेसम्म सीमांकनसहितको खाका ल्याउने तयारी गरेका छौं,' भट्टराईले भने, 'भोलि (बुधबार) विशेष समितिले काम सकेर बिहीबारसम्म संविधानसभामा पठाउने तयारी गरेका छौं।' विशेष समिति र सहयोगी नेताको बैठक बुधबार पनि बिहानैदेखि बस्ने उनले जानकारी दिए।