पार्टी एकताको कुराले नेकपा एस छाड्ने बढे
२१ भदौ २०७९
•
४ मिनेट पाठ
पार्टी एकताको कुराले नेकपा एस छाड्ने बढे
स्थापनाको एक वर्ष पूरा भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले माओवादीसँग एकता गर्ने भएपछि पार्टीका नेता कार्यकर्ताहरू पार्टी छाड्न थालेका छन्। एमालेबाट छुट्टिएर एक वर्षअघि पार्टी गठन गरेका नेपालले नयाँ पार्टी बनाउनुपर्नेमा नेता कार्यकर्तालाई माओवादीमा मिलाउन लागेपछि एमालेमै फर्कन लागेका हुन्।  




मंसिर ४ गते संघीय संसदको निर्वाचनमा देशव्यापी रूपमा उम्मेदवार उठाउनुपर्ने माग गरिरहेका नेता कार्यकर्ताहले गठबन्धन दलबाट कम सिट पाउने र धेरै सिटमा अन्य दललाई सघाउनुपर्ने अवस्था आएपछि एसभित्र असन्तुष्टि बढेको थियो। सोही क्रममा एमालेबाटै विद्रोह गरेर माधव नेपाललाई साथ दिएका नेताहरू पुनः एमालेमा फर्कन थालेका छन्।  

सोमबार गुल्मी एसका जिल्ला अध्यक्ष, जिल्ला इन्चार्जलगायतका नेता एमालेमा फर्किएका छन्। उनीहरूले पनि पार्टीको संगठन विस्तार गर्नुको साटो अन्य पार्टीमा लगेर मिसाउन लागेको र संगठन विस्तारमा नलागी कसलाई हराउने कसलाई जिताउने भन्ने व्यक्तिगत स्वार्थमा लागेपछि पार्टी छोड्नु परेको बताए। गठबन्धन पार्टीहरूबीच सिट संख्यामा कुरा नमिलेकै अवस्थामा एस पार्टीका नेताहरू एमालेतिर फर्केका छन्। माओवादीले नेकपा एसलाई गठबन्धनभित्र निकै कम सिट दिनुपर्ने भनिरहेका बेला पार्टीका नेता कार्यकर्ताहरू एमालेमा फर्केपछि गठबन्धनले एस पार्टीलाई भाग लगाउने सिटको संख्या अझ कम हुने अवस्था देखिएको छ। एस पार्टीकै अध्यक्ष नेपालले कांग्रेस र माओवादी मिलेर कमजोर आँकेको भन्दै गुनासो गरेका थिए। त्यसक्रममा नेपालले प्रतिनिधीसभातर्फ एस पार्टीले ४० सिट दाबी गरेका थिए। तर एसलाई १७वा १८ सिट मात्रै दिनेगरी बाँडफाँटको प्रक्रिया अघि बढाउँदा नेपालले असन्तुष्टि प्रकट गरेका थिए। एसका नेताहरूले कम्तीमा २४ सिट पाउनु पर्ने माग गरिरहँदा उनीहरूको नेता कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेको हो। कांग्रेसलाई ७० सिट दिनुपर्ने सार्वजनिक रूपमा नै अभिव्यक्ति दिएका माधव नेपालले गठबन्धन दलहरूलाई होच्याउने, हेप्ने गरेमा भने नेकपा एकीकृत समाजवादी आवश्यक परे एक्लै चुनावमा जान सक्ने बताइरहेका छन्।

पार्टी केन्द्रीय सचिवसमेत रहेकी र आगामी चुनाव गुल्मीबाटै लड्ने तयारी गरिरहेकी रामकुमारी झाँक्रीलाई गृह जिल्लामा धक्का लागेको छ। सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरूलाई पार्टीमै फर्काएका थिए। यसरी एमालेमै फर्किनेमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता छन्। कार्यक्रममा नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने भन्दै भाषणसमेत गरेका थिए।  

केही दिन अघि एस पार्टीका सर्लाही जिल्ला अध्यक्षबाहेक सिंगो सर्लाही जिल्ला कमिटी नै एमालेमै समाहित भएको थियो। सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेतासहितका कार्यकर्ता एमालेमा फर्किएका छन्।  

नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा फर्किएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री समेत रहेका कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, पोलिटब्यूरो सदस्य एवम् प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरूले पनि माधव नेपालको साथ छोडेर पुरानै पार्टीमा फर्केका थिए। गत हप्ता एमाले अध्यक्ष ओली आफै कञ्चनपुर पुगेर उनीहरूलाई पार्टीमा ल्याएका थिए। त्यसअघि कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाहीलाई पनि ओलीले भक्तपुरको बालकोट स्थित आफ्नै निवासमा एमालेमा स्वागत गरेका थिए। डोल्पाका नेता शाहीसँगै किसान महासंघका कोषाध्यक्ष जीवनबहादुर शाहीलगायतका नेता कार्यकर्तालाई ओलीले एमालेमा ल्याएका थिए। एस पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले केही साथीहरू जानु भएको हो उहाँहरूलाई पार्टीले कारवाही गरिरहेको बताए। ‘पार्टीले कारबाही गरेका व्यक्ति जानु भएको हो अन्य साथीहरू पार्टीहरू मै प्रतिबद्ध हुनुहुन्छ,’ प्रचार विभाग प्रमुख खतिवडाले भने।  

नेकपा एसका नेताहरूले माओवादी केन्द्रसँग तत्काल एकीकरण नगर्न आग्रह गर्दै आएका छन्। माओवादीहरूले आफ्नो स्वार्थ अनुकूल पार्टी एकता गर्ने स्वार्थ मिलेपछि पेल्न अवस्था रहेका कारण एसका नेताहरू माओवादीसँग पार्टी एकता गर्न डराइरहेका छन्। पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल नै माओवादी केन्द्रसँग चुनावी सहकार्य मात्रै गर्ने पार्टी एकता गर्न नहुने पक्षमा रहेका छन्। उनले माओवादीभन्दा एमालेसँगै सहकार्य गर्न दबाब दिइरहेका छन्। खनालले स्थानीय तहको निर्वाचनको बेला आफ्नो जिल्लमा एमालेसँगै सहकार्य गरेका थिए। सोही सहकार्यपछि एमालेले इलाममा खनाललाई नरमनीति लिएको स्रोतको दावी छ। खनाल निकट रहेका नेता कार्यकर्ताले माओवादीसँगको एकता भन्दा यही पार्टी बनाएर जानु पर्ने वा विचार र सिद्धान्त मिल्ने एमालेसँगै सहकार्य गर्नुपर्ने सुझाव दिएका छन्।
अर्को समाचार
अन्ततः सोडारी नै सुदूरपश्चिमका मुख्यमन्त्री
०७ वैशाख २०८१
•
५ मिनेट पाठ
अन्ततः सोडारी नै सुदूरपश्चिमका मुख्यमन्त्री
नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। बिहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (कैलाश समूह) र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बिहीबार नै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन्।




शपथपछि पत्रकारसँग बोल्दै मुख्यमन्त्री सोडारीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने बताए। उनले भने, ‘कार्यदलको सिफारिसका आधारमा मन्त्रिपरिषद् विस्तार गरिनेछ।’ उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित हुन्।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन आह्वान गरेको समय सीमाको अन्तिम दिन यसअघि वैशाख २ गते प्रदेश प्रमुखको कार्यालयमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दुवैको दावी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले वैशाख ४ गते पुनः दुई दिनको म्याद राख्दै दाबी पेस गर्न आह्वान गरेका थिए। 

लामो समयदेखि पुरानो गठबन्धनमा समावेश हुने वा नयाँ गठबन्धनमा जाने भन्ने विषयमा विवाद रहँदै आएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू दुई खेमामा विभाजित भएपछि पुनः आह्वान गरिएको दाबी पेसमा नेकपा एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्रीको चिठ्ठा परेको हो।

सत्ता गठबन्धन दलले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले कांग्रेसले अघि सारेका नागरिक उन्मुक्ति पार्टीकै रेशम चौधरी पक्षीय लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए।

सुदूरपश्चिमको विषयले सत्ता गठबन्धनमै संकट उत्पन्न हुने देखिएपछि सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिन सहमत भएका थिए।

सुरुमा नेकपा एकीकृत समाजवादीका सोडारीलाई नेकपा एमालेले मुख्यमन्त्रीमा समर्थन गर्न मानेको थिएन। एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेपछि नेकपा एमालेले बिहीबार दिउँसो मात्र सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो। सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरे पनि नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले अहिले सरकारमा नजाने निर्णय गरेको छ।

अहिले नेकपा एमाले सरकार बाहिर बसेर मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गर्ने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताएका छन्।

यसैबीच, नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षिय पाँच सांसदले पार्टीको संसदीय दलको नेता घनश्याम चौधरी रहेको र मुख्यमन्त्रीमा सोडारीलाई नागरिक उन्मुक्तिका कैलाश चौधरी र टीका थापाले गरेको समर्थन गैर संवैधानिक, गैर कानुनी र संसदीय व्यवस्थाको मर्यादाविपरीत रहेको उल्लेख गर्दै सोडारीको समर्थन अमान्य हुने भन्दै पत्र प्रदेश प्रमुख मियाँलाई बुझाएका छन्।

यसअघि पनि पार्टीका संरक्षक रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले बेग्ला बेग्लै दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। लक्ष्मणकिशोरले कांग्रेस, समाजवादी र राप्रपाको समर्थन र कैलाशले एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका थिए। उन्मुक्ति पार्टीका रेशम पक्षधरमा पाँचजना र रञ्जिता पक्षमा दुई सांसद रहेका छन्।

सत्ता गठबन्धनले आफ्नो दललाई मुख्यमन्त्री दिने सहमतिपछि सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन मंगलबार फिर्ता लिएका थिए। यसअघि, चैत २२ गते मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका थिए।

चैत २३ गते संविधानको धारा १६८ (२) बमोजिम सरकार बनाउन १० दिनको समयसीमा तोकेर प्रदेश प्रमुख मियाँले राजनीतिक दलहरूलाई आह्वान गरेका थिए।

सोडारीलाई एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका २ (रञ्जिता पक्षका), एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्रको समर्थन रहेको छ। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता कैलाश चौधरी कि घनश्याम चौधरी भन्ने विवाद रहेको छ।

उन्मुक्तिमा पति–पत्नीसमेत रहेका रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवादले पार्टी नै दुई खेमामा विभाजित भएको छ। रेशम पक्ष पुरानै गठबन्धमा रहनुपर्ने अडानमा छ भने श्रेष्ठ पक्ष संघीय सरकारको गठबन्धन बमोजिम यहाँ पनि नयाँ गठबन्धनमा छ।

२०७९ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभामा कुनै पनि दलको एक्लै सरकार बनाउन बहुमत नपुगेपछि संविधानको धारा १६८ (२) बमोजिम २०७९ पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा हस्ताक्षर गरेको नागरिक उन्मुक्तिका ७ सांसदहरू विश्वासको मत दिने दिन अनुउपस्थित हुँदा मुख्यमन्त्री रावलको सरकार एक महिनामै ढल्न पुग्यो। मुख्यमन्त्री रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह २०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि शाहले सहजै विश्वासको मत पाए। पुनः केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि सरकारमा रहेका माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका थिए।

उनले उन्मुक्ति पार्टी पाँचजना सांसदलाई मन्त्री बनाएर सरकार टिकाउने प्रयत्न गरे पनि उन्मुक्ति पार्टीको आन्तरिक विवादका कारण विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका थिए। ५३ प्रदेशसभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका सात, नेकपा एसका चार, राप्रपा एक र स्वतन्त्र एक सांसद छन् भने एउटा सिट रिक्त छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस