रास्वपाको प्रदेशसभा खारेजी प्रस्ताव: अधिकारसम्पन्न बनाउनुपर्छ
१८ असार २०८३
•
५ मिनेट पाठ
रास्वपाको प्रदेशसभा खारेजी प्रस्ताव:
अधिकारसम्पन्न बनाउनुपर्छ
रास्वपा महाधिवेशनबाट पारित ‘प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना’ प्रस्तावप्रति बाँकेमा क्रियाशील अन्य दलका नेता र नागरिक समाजका अगुवाले आपत्ति प्रकट गरेका छन्।




रास्वपा बाँकेका सभापति विवेककुमार श्रेष्ठ प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना पार्टीको मूल नीति भएको बताउँछन्।

उनी भन्छन्, ‘अहिलेको प्रादेशिक संरचनाले देशको आर्थिक भार पक्कै बढाएको छ, देशलाई भार नपर्ने गरी संरचनामा परिवर्तन गर्नुपर्छ भन्ने हो, जनस्तरबाट उठेको आवाज पनि यही हो।’

महाधिवेशनबाट पारित उक्त प्रस्ताव आफूले विस्तृत रुपमा अध्ययन गर्न भने नपाएको उनले बताए।

संघीय संरचनाबारे रास्वपाको निर्णयप्रति अन्य दलले भने आपति जनाएका छन्। नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी रास्वपाको प्रस्ताव बिलकुलै असान्दर्भिक रहेको बताउँछन्। ‘प्रदेश तहबाट कार्यकर्तालाई महाधिवेशनमा सहभागी गराउने, त्यही महाधिवेशनमा प्रदेशसभा खारेजीको प्रस्ताव पारित गराउने। यो त रास्वपाको दोहोरो चरित्र भयो’, उनले भने, ‘संविधानमा भएको व्यवस्थाविपरीतको त्यो प्रस्ताव कार्यान्वयन सम्भव छैन। दुई तिहाइको सरकारले मात्र प्रदेशसभाको व्यवस्था खारेज गर्न सक्दैन।’

एमाले बाँकेका अध्यक्ष निरक गुरुङ रास्वपाको उक्त प्रस्ताव जनता झुक्याउने ‘फण्डा’ मात्रै भएको तर्क गर्छन्। ‘रास्वपाले हिजो जे कुरा बोलेको थियो त्यो पूरा गर्न सकेको छैन। त्यसैले अनावश्यक रुपमा प्रदेशसभा खारेजीको फण्डा ल्याएको हो। यो जनतालाई झुक्याउने उसको दाउ मात्र हो, जुन कार्यान्वयन सम्भव छैन’, उनले भने।

दुई तिहाईको दम्भमा रास्वपाले संघीयता फाल्न नसक्ने गुरुङ बताउँछन्। जनताको भावनाविपरीत प्रदेश खारेज गरेमा आन्दोलनमा जानुको विकल्प नहुने उनी ठान्छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाँके इन्चार्ज अकलबहादुर बम संघीयता कमजोर पार्ने रास्वपाको चाहना पूरा नहुने बताउँछन्। ‘सानो दुःखले यो प्रदेश संरचना ल्याइएको होइन, सबै भाषा, जाति, धर्म, वर्ग समुदायको भावना समेटेर ल्याएको हो। संघीयता ल्याउनुमा रास्वपाको कुनै योगदान छैन’, उनले भने, ‘संघीयता जोगाउन जनताले सडकबाट प्रतिकार गर्छन्।’

संघीयतालाई मधेसकेन्द्रित दलले पनि आफ्नो प्रमुख अजेण्डाका रुपमा प्रस्तुत गर्दै आएका छन्। जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना गर्ने रास्वपाको प्रस्तावको विरोध गरेको छ। जसपा नेपाल केन्द्रीय समन्वय समिति सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले प्रदेशसभा खारेजीको निहुँमा संघीयतालाई नै समाप्त पार्ने रास्वपाको दाउ आत्मघाती भएको ठान्छिन्। ‘संघीयता कसैको उपहार वा दाइँजो होइन, राज्यको स्रोत, साधन र अधिकारबाट वञ्चित समुदायको लागि ल्याइएको संवैधानिक व्यवस्था हो। संघीयताका कारणले प्रदेशसभा स्थापना भएको हो। संघीयताले हिमाल, पहाड र तराईबासीलाई समान अधिकार दिएको छ’, उनले भनिन्, ‘प्रदेशसभा खारेजी होइन, बरु यसलाई अधिकारसम्पन्न बनाउनु पर्छ।’

बाँके नागरिक समाजका अगुवा एवं राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य संघीयताबारे रास्वपाले गरेको निर्णयलाई नेपाली उखान ‘मही माग्ने, ढुंग्रो लुकाउने’ सँग तुलना गर्छन्। ‘यो उखान नेपाली राजनीतिक दलमा चरितार्थ हुन्छ, संघीयतालाई नेपालका राजनीतिक दलले आवश्यकता छ भन्ने कुराको अनुभुति नै गर्न सकेका छैनन्’, उनले भने, ‘संघीयता भनेको राजनीतिक दलका कार्यकर्तालाई व्यवस्थापन गर्ने थलो हो भन्ने आम बुझाइ भयो, संघीयताबारे जनस्तरमा बदलिएको धारणाअनुसार रास्वपाले प्रदेशसभा खारेजीको प्रस्ताव ल्याएको हुन सक्छ। ’ संघीय संरचनामा त्रुटि भए सच्याउन सकिने तर यसलाई मास्न नसकिने आचार्य बताउँछन्।

उच्च अदालत बार नेपालगन्जका पूर्वअध्यक्ष बलबहादुर चन्द संघीयताको मर्मअनुसार प्रदेशसभाले काम गर्न नसक्दा जनतामा गलत बुझाइ भएको बताउँछन्। ‘संविधानको भावनाअनुसार प्रदेशसभालाई अधिकारसम्पन्न गराउनुपर्ने हो, प्रदेशसभालाई थप बलियो बनाउनुपर्नेमा उल्टो खारेज गर्न खोज्नु आमजनताको भावनाविपरित हो’, चन्दले भने, ‘प्रदेशसभा खारेज गर्न आवश्यक छैन, संविधानको मर्म र जनताको भावनाअनुसार काम भयो भने संघीयता सफल हुन्छ।’

‘खारेजी होइन, सुधार गर्नुपर्छ’

गोविन्द केसी, वीरेन्द्रनगर,

केही विकृतिबाहेक प्रदेश सरकारका गतिविधिबाट नागरिक खुसी नै छन्।  प्रदेशसभा र सरकारको आकार घटाएर खर्च कटौतीसँगै घरदैलोमा पुग्ने गरी प्रदेश सरकारमार्फत विकास गतिविधिलाई थप बढाउनुपर्ने पक्षमा कर्णालीका नागरिक छन्।  प्रदेश संरचना खारेजीभन्दा पनि यसमा देखिएका केही कमजोरी र विकृति हटाएर व्यापक सुधारसँगै अघि बढ्नुपर्ने कर्णालीवासीको राय छ।

विकासका अवसर समान रूपमा वितरण हुन नसेकेको पहाडी मुलुक नेपालमा प्रदेशसहितको संघीयता फाइदाजनक हुने धारणा सुर्खेतका व्यवसायी भद्र भण्डारीको छ।

उनले कर्णालीलाई विशेष प्रदेश र क्षेत्रका रुपमा मान्यता दिएर प्रदेश संरचना खारेजी भएमा पनि आफ्ना गुनासो नरहने बताए।  ‘सबैभन्दा बढी कर्णाली विकासमा पछाडि परेकाले प्रदेश हाम्रा लागि ठिक छ’, भण्डारी भन्छन्, ‘प्रदेश नै नहुने हो भने पनि कर्णालीलाई विशेष क्षेत्रका रुपमा  मान्यता दिनुपर्छ।

दैलेखका समाजसेवी अभिषेक अनुराग सांस्कृतिक, सामाजिक र भौगोलिक अवस्थाका आधारमा नेपालमा प्रदेशसहितको संघीयता आवश्यक भएको ठान्छन्।  उनी भन्छन्, ‘विकृतिहरू हटाउने हो, प्रदेश संरचना हटाउने होइन, संघीयता मास्ने होइन।  खर्चिलो र बोझिलो प्रदेश सरकारको आकार घटाउने हो, अव्यवस्थित कर्मचारी प्रणालीमा सुधार गर्ने हो, मन्त्री र उनका सचिवालयका सेवासुविधा हटाउने हो।  सरकारी निकायमा हुने दलाली, कमिसनखोरी र बिचौलियालाई अन्त्य गर्ने हो। ’

उनले विगतमा सिंहदरबारले कर्णालीलाई उपेक्षा गरेको तर संघीयतामा गएपछि यहाँका समस्या सुनुवाइ हुन थालेको बताए।

वीरेन्द्रनगर नगरपालिकाका पूर्वप्रमुख देवकुमार सुवेदी प्रदेशसभा र संरचना खारेजीको कुरा संविधानको मूल भावनाविपरीत रहेको बताउँछन्।  ‘अहिलेको आवश्यकता प्रदेशसभा हटाउने होइन, यसको कार्यशैलीमा सुधार गर्ने हो’, सुवेदीले भने, ‘अधिकारको स्पष्ट बाँडफाँट, सुशासन, मितव्ययी प्रशासन र प्रभावकारी सेवा प्रवाहमार्फत प्रदेश सरकारलाई जनमुखी बनाउन सकिने विषयमा काम गर्न जरुरी छ। ’

प्रदेश संरचनासहितको संघीयताले स्थानीय आवश्यकताअनुसार योजना निर्माण र विकास गर्ने आधार दिएको बुझाइ कर्णालीका अधिकांश अगुवा र सर्वसाधारणमा छ।  संघीयता कार्यान्वयन र अभ्यासमा केही कमाजोरी र समस्या देखिएका छन्।  समस्या समाधान गर्ने हो, संघीयता समाप्त गर्ने होइन।  कमीकमजोरी सुधार गर्दै प्रदेशसहितको संघीय संरचनालाई थप प्रभावकारी बनाउनुपर्ने कालीकोटका सामाजिक अगुवा आनन्द शाही बताउँछन्।  उनी भन्छन्, ‘सुधारिएको संघीयताले नै समावेशी र सन्तुलित विकासको लक्ष्य पूरा गर्न सक्छ।’

वर्तमान अवस्थामा प्रदेशसहितको संघीयताको विकल्प खोज्न नसकिने नेपाली कांग्रेस दैलेखका नेता गणेशप्रसाद उपाध्याय बताउँछन्।  उनका अनुसार संघीय संरचनालाई कम खर्चिलो बनाउनुपर्ने उपाय खोजिनुपर्छ, परिमार्जन गरिनुपर्छ तर प्रदेशसभा हटाउने कुरा सही छैन।  
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
३३ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस