कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?
०७ माघ २०८०
•
५ मिनेट पाठ
कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?
कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ  सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स। सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन। समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन।




हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि चार हजारभन्दा बढी माग आउने गरेको स्वयं यातायात व्यवस्था विभागले जानकारी दिने गरेको छ। प्रतिक्षासूचीमा मात्रै १४ लाख ४० हजारभन्दा बढी छ । सवारी चालक अनुमतिपत्र छपाइ गर्ने उपकरण, कार्डको उपलब्धता गराउन नसकिएको, कार्डको काम गर्ने जिम्मा पाएको व्यवसायीले समयमा काम नगरेको अवस्था पनि छ।

नागरिकस्तरबाट गुनासो बढ्दो छ। सरकारी निकाय आफैँ जवाफ दिन सक्ने अवस्थामा छैन। पछिल्लो पटक छ लाख कार्डको जोहो भएको छ। यस्तै, छ लाख थान कार्ड आउने प्रक्रियामा छ। त्यसो हुँदासमेत दुई लाखले अझै सवारी चालक अनुमतिपत्र नपाउने अवस्था छ।

सवारी चालक अनुमतिपत्रको काम प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमतिपत्र कार्यालयले गरिरहेका छन्। यद्यपि, अधिकार बाँडफाँटमा अझै समस्या छ। कतिपयलाई त यो काम प्रदेश सरकार मातहतका निकायले गर्छ भन्ने थाहा छैन।

नक्कली सवारी चालक अनुमतिपत्रको बिगबिगी पनि उस्तै छ। सवारी चालक अनुमतिपत्र प्रदान गर्ने निकायको प्रणालीभित्र नै प्रवेश गरेर नक्कली चालक अनुमतिपत्र बनाएको गुनासो पनि यसबीचमा व्यापक मात्रामा आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसबारे छानबिन गरेको छ।

ती समस्या समाधानका लागि आज मन्त्रालयले प्रदेशका यातायात हेर्ने मन्त्री, सचिवसहित सरोकारवाला निकायबीच छलफलको आयोजना गरेको थियो। छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट ठोस पहल भइरहेको दाबी गरे।

'लामो समयदेखि गिजोलिएको समस्या समाधान गर्न लामो समय लाग्छ। त्यसका लागि हामीले योजनाबद्ध प्रयास थालेका छौँ। आशा गरौँ, समस्याको समाधान हुन्छ', मन्त्री ज्वालाले भने। प्रधानमन्त्री दाहालले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न, चालक अनुमति वितरण प्रणालीलाई थप सहज बनाउन स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै मन्त्री ज्वालाले अब सहज वातावरण बनाइने बताए।

सवारी चालक अनुमतिपत्र छपाइका लागि प्रदेश सरकारलाई नै जिम्मा दिनु उपयुक्त रहेको निष्कर्ष निकाल्दै उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशका मन्त्री र सचिवलाई आग्रह गरे।

वाग्मती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्सालले लामो समयसम्म सवारी चालक अनुमतिपत्र नै नपाउने अवस्थाका लागि अनेकन विकल्प खोज्नुपर्ने बताए। उनले अब धेरै समय नागरिक तहबाट आएको दबाब सहन नसक्ने अवस्थामा पुगेको भन्दै हाल परीक्षणकालीन रुपमा प्रदान गरिएको सवारी चालक अनुमतिपत्रलाई नै स्थायी गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। उनले वाग्मती प्रदेश सरकारले मास प्रिन्टर खरिद गरेर आफैँ सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरण गर्ने कार्ययोजना बनाएको र त्यसका लागि प्राविधिक सहयोग गर्न यातायात व्यवस्था विभागलाई आग्रह गरे।

कूल सवारी चालक अनुमतिपत्रको मागमध्ये ५० प्रतिशतभन्दा बढी वाग्मती प्रदेशमा छ। सरकारले यातायात क्षेत्रलाई नगद कारोबाररहित बनाउने उद्देश्य राखेको भए पनि गण्डकी प्रदेश कार्यालयले भन्दा अन्य प्रदेशले कार्यान्वयन गर्न अटेर गरेका छन्। विचौलिया हटाउने र सहज रुपमा सेवाग्राहीले काम लिन सक्ने वातावरण त्यस्तो व्यवस्था गरिएको भए पनि यातायात कार्यालयले विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन गर्न चासो देखाएका छैनन्।

गण्डकी प्रदेशका यातायातमन्त्री रेशमबहादुर जुम्जालीले आफ्नो प्रदेशमा विद्युतीय भुक्तानी प्रणालीको नतिजा असाध्यै राम्रो भएको जानकारी दिए। 'हामीले नगदरहित कारोबारलाई विशेष प्राथमिकतामा राखेर सुरु गरौँ, त्यसबाट राम्रो प्रतिक्रिया पाएका छौँ', उनले भने।

आजको छलफलमा लामो समयसम्म पनि सवारी चालक अनुमतिपत्र नपाउने अवस्था, इक्बोस्ड नम्बर प्लेट जडान तथा पछिल्ला दिनमा बढेको सवारी दुर्घटनाको निदानका लागि खोजिने उपाय केन्द्रमा थियो। छलफलमा प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्री, नेपाल प्रहरीका उच्च अधिकारी र ट्राफिक प्रहरीका उच्च अधिकारीले आ–आफ्नो धारणा राखेका थिए।

सवारी चालक अनुमतिको प्रतिक्षामा दुई वर्षभन्दा बढी समय प्रतीक्षा गर्दा सर्वसाधारणले पाउन सकेका छैनन्। सरकारको प्रणालीमा नै बिचौलियाले अनाधिकृत प्रवेश गरी झण्डै एक लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र नक्कली बनाएको पाइएको छ। सो विषयमा आवश्यक छानबिन भइरहेको भौतिक पूर्वाधार तथा यातायातामन्त्री ज्वालाको भनाइ छ। उनले दोषी देखिएका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार नक्कली सवारी चालक अनुमतिपत्र बनाउने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताए। उनले विभाग, अख्तियार दुरुपयोग अनुसनधान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यससम्बन्धमा छानबिन गरीरहेको जानकारी दिए। 'अहिले नै के कति मात्रामा नक्कली हो भन्न सकिने अवस्था छैन। यद्यपि, हामीले आवश्यक छानबिन गरिरहेका छौँ। त्यसमा दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउनैपर्छ',  महानिर्देशक रिजालले भने।

सवारी दुर्घटनामा पारेका चालकका नाममा रातारात नक्कली अनुमतिपत्र बनेर आएको पाइएको उनले जानकारी दिए। चालक अनुमतिपत्र नभएकाले गाडी चलाएर हिँड्दा मान्छे मारेको प्रणालीमा प्रवेश गरेर नवीकरण गरेको पाइएको छ।

'कुन कार्यालयबाट कसरी नक्कली अनुमतिपत्र बनेको छ भन्ने खुल्दै जानेछ। तथ्याङ्क कुनै एक ठाउँबाट हटाए पनि अर्को ठाउँमा गएर बस्ने गरेको छ। त्यो प्रहरी र आयोगले अनुसन्धान गरेर पत्ता लगाउनेछ। त्यसबाट को–को दोषी हुन भन्नेसमेत पत्ता लाग्नेछ', उनले भने। परीक्षा नै नदिई अनुमतिपत्र बनाएको, अरुकै नाममा लिएको पाइएको उनको भनाइ छ।

छलफलमा सरकारी सवारी साधनबाट नै भए पनि अभियानका रुपमा इक्बोस्ड नम्बर प्लेट राख्दै सबैलाई अनिवार्य गरेर लैजाने विषय उठेको थियो। सहभागीमध्येका अधिकांशले एकीकृत प्रणालीको व्यवस्थापन विभागले गरिदिए आफू यस क्षेत्रमा रहेको विकृति तथा विसङ्गतिलाई समाधान गर्न सक्ने बताएका थिए।

कतिपय प्रदेशका मन्त्रीले त प्राविधिक कर्मचारीको अभाव रहेको, सङ्घीय सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा समस्या भएको बताएका थिए। .प्राविधिक तयारी एवं अन्य सहयोग भएको खण्डमा जुनसुकै प्रणाली लागू गरी कार्यान्वयनमा ल्याउन तयार रहेको उनीहरुको भनाइ थियो। उनीहरुले त्यसका लागि आवश्यक सहयोग गर्न सङ्घीय मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

विद्युतीय सवारी दर्ताका सम्बन्धमा पनि आवश्यक प्रबन्ध गरिदिन उनीहरुले सरकारको ध्यानाकर्षण गराए। मन्त्री ज्वालाले सबै खालका समस्या समाधानका लागि आवश्यक छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुगिने स्पष्ट पारे। रमेश लम्साल/रासस
अर्को समाचार
भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
१५ माघ २०८०
•
५ मिनेट पाठ
भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।




अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै नाम, थर, ठेगाना नखुलाई लाइसेन्सको नम्बर मात्रै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा इन्ट्री गरिएको पाइएको हो। लाइसेन्स वितरणमा भएको अनियमितताका विषयमा यतिखेर अख्तियारले छानबिन गरिरहेको छ।

२०७२ भदौदेखि २०८० भदौसम्मको विवरण छानबिन गर्दा २८ हजारभन्दा बढी लाइसेन्सको नम्बर मात्रै फेला परेको अख्तियार स्रोतले बताएको छ। सो अवधिमा महानिर्देशक भएका १० जनाको पालामा १२ हजारभन्दा बढी नम्बर इन्ट्री हुँदा निमित्तका पालामा झनै बढी संख्यामा नम्बर इन्ट्री भएको पाइएको छ।

१० जना महानिर्र्देशकका पालामा १२ हजार ३८९ थान लाइसेन्स विनाविवरण इन्ट्री गरिएको  थियो। साथै सोही अवधिमा महानिर्देशकहरू सरुवा भई गएको र अर्को आएर जिम्मेवारी नसम्हालेको अवस्थामा १५ हजार ६ सय १५ थान लाइसेन्सको नम्बर इन्ट्री भएको रहेछ,’ अख्तियार उच्च स्रोतले भन्यो। स्रोतका अनुसार यसरी सफ्टवेयरमा इन्ट्री भएको लाइसेन्स नम्बर जोकोहीको नाममा जारी  गर्न सकिन्छ ।

‘२०७२ भदौदेखि अहिलेसम्म यातायात कार्यालयमा जिम्मेवारी लिएका महानिर्देशकहरूको पालामा १२ हजार बढी वटा नम्बर मात्रै इन्ट्री भएको देखियो, त्यसबाहेक पनि १५ हजार बढी नम्बर इन्ट्री भएका छन्,’ अख्तियार स्रोतले भन्यो।

सोही विवरण विभागका उपसचिव मुकेश रेग्मीको प्रतिवेदनमा पनि उल्लेख छ। ‘हामीले तयार गरेको प्रतिवेदनमा पनि नम्बर मात्रै सफ्टवेयरमा इन्ट्री भएको विवरण राखेका थियौं,’ विभागका एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार विभागले तयार पारेको प्रतिवेदन यतिबेला अख्तियारले छानबिनमा छ।

अख्तियारले अध्ययनका लागि विभागबाट प्रतिवेदनका अतिरिक्त अन्य कागजात मगाएको छ। नागरिक दैनिकलाई प्राप्त विवरणअनुसार चन्द्रमान श्रेष्ठ महानिर्देशक भएको बेला १० वटा नम्बर इन्ट्री भएको थियो। श्रेष्ठ २०७२ भदौ ७ देखि २०७३ फागुन २० सम्म यातायात व्यवस्था विभागको महानिर्देशक भएका थिए। त्यसपछि गएका रूपनारायण भट्टराईको कार्यकालमा ६८९ वटा नम्बर इन्ट्री भएका छन्। उनी २०७३ फागुन २१ बाट २०७५ जेठ ११ सम्म महानिर्देशकको जिम्मेवारीमा थिए।

२०७५ साउन १४ देखि २०७५ फागुन ११ सम्म विभागको जिम्मेवारी सम्हालेका लावण्य ढकालको पालामा ४०५ वटा नम्बर इन्ट्री भएका थिए। २०७५ फागुन २७ देखि २०७६ साउन २६ सम्म महानिर्देशक भएका कुमारप्रसाद घिमिरेको समयमा ३५५ वटा नम्बर इन्ट्री भएका थिए। २०७६ मंसिर ९ देखि २०७७ फागुन २० सम्म जिम्मेवारी सम्हालेका गोगनबहादुर हमालको कार्यकालमा १ हजार २५४ नम्बर इन्ट्री भएको देखिन्छ।

त्यसैगरी सबैभन्दा बढी ५ हजार ५५९ वटा नम्बरचाहिँ नवराज घिमिरे महानिर्देशक भएका बेला इन्ट्री भएको पाइएको छ। उनले २०७७ चैत २ देखि २०७९ असार १९ सम्म यातायात विभागको जिम्मेवारी सम्हालेका थिए। सुरेश राउत विभागको महानिर्देशक हुँदा १४३ वटा नम्बर इन्ट्री भएका थिए।

राउतले २०७९ असार २० देखि २०७९ भदौ १९ सम्म विभागको जिम्मेवारी लिएका थिए। त्यसैगरी टोकराज पाण्डेले जिम्मेवारी सम्हालेका बेला १ हजार ९०५ वटा नम्बर इन्ट्री भए। उनी २०७९ भदौ २० देखि २०७९ माघ २४ सम्म महानिर्देशकको जिम्मेवारीमा थिए।

यस्तै तुलसीनाथ गौतमले जिम्मेवारी सम्हालेको बेलामा १ हजार ९१६ नम्बर इन्ट्री भए। उनी ०७९ माघ २५ देखि २०७९ फागुन २४ सम्म मिहानिर्देशकको जम्मेवारीमा थिए। साथै नारायणप्रसाद भट्टराईले जिम्मेवारी लिएको बेलामा १५३ वटा नम्बर इन्ट्री भएका थिए। उनी २०७९ फागुन २६ देखि २०८० भदौ १० सम्म जिम्मेवारीमा थिए।

उनीहरूबाहेक निमित्तको जिम्मेवारीमा विभाग रहेको बेला १५ हजार ६१५ नम्बर इन्ट्री भएको अख्तियारको पछिल्लो छानबिनमा देखिएको स्रोतले जनाएको छ। यसरी इन्ट्री भएको लाइसेन्स भने अपराध कर्ममा समेत प्रयोग हुने गरेको बुझिएको छ।

‘नाम, थर, ठेगाना नखुलाई नम्बर मात्रै इन्ट्री भएका लाइसेन्स नम्बरहरू २ लाखदेखि ५ लाख रूपैयाँसम्म बिक्री हुने गरेका छन्,’ विभाग स्रोतले भन्यो। लाइसेन्स नभई दुर्घटनामा परेका, लामो समय विदेशमा अलपत्र परी नेपाल भित्रन कुनै न कुनै प्रमाण आवश्यक परेकालाई बिचौलियामार्फत लाइसेन्स बिक्री–वितरण गर्ने गरिएको स्रोतको दाबी छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले कसको पालामा के भयो भन्नेबारे सबै विवरण उल्लेख गरेको प्रतिवेदन नै अख्तियारमा दिइएकाले आफूलाई केही थाहा नभएको बताए। ‘हामीले छानबिन गरेर प्रतिवेदन उतै (अख्तियारमा) पठाएका छौं। सबै कुरा कण्ठ हुँदैन। त्यसकारण के–के थियो भन्नेबारे म केही बताउन सक्दिनँ,’ रिजालले भने।

विभागमा अझै पनि समस्या रहेको बताउँदै त्यसलाई सफा गर्न आफू लागिपरेको उनले बताए। ‘छानबिन यसै गरिएको होइन नतिजा आउन बाँकी छ। दोषीहरू कारबाहीको दायरामा आउँछन्। अहिले नै हतार नगरौं, काम हुँदैछ,’ रिजालले भने।

यसैगरी नक्कली र शंकास्पद सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सबैभन्दा बढी रूपनारायण भट्टराईको समयमा जारी भएको पाइएको छ। इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा शंकास्पद रूपमा भण्डारण भएका तथ्यांकहरूको छानबिन गर्न गठित समितिले यसको पुष्टि गरेको छ।

समितिले यस्ता लाइसेन्स जारी गर्ने १० पूर्वमहानिर्देशकको नामावलीसमेत आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार पूर्वमहानिर्देशक भट्टराईका पालामा नक्कली र शंकास्पद गरी ३१ हजार ६ सय ६२ वटा लाइसेन्स जारी भएको पाइएको हो। यसैगरी भट्टराईपछि यस्ता लाइसेन्स जारी गर्नेमा दोस्रो र तेस्रो स्थानमा क्रमशः गोगनबहादुर हमाल र नमराज घिमिरे छन्। यी महानिर्देशकका पालामा क्रमशः १० हजार ५३५ र ८ हजार २०० लाइसेन्स जारी भएका छन्।

यसैगरी पूर्वमहानिर्देशक लावण्यकुमार ढकालको कार्यकालमा ७ हजार ३९४ र कुमारप्रसाद दाहालका पालामा ३ हजार ५४९ वटा शंकास्पद र नक्कली लाइसेन्स जारी भएका छन्।

यसैगरी पूर्वमहानिर्देशकहरू चन्द्रमान श्रेष्ठ, तुलसीनाथ गौतम, टोकराज पाण्डे, नारायणप्रसाद भट्टराई र सुरेश राउतको कार्यकालमा क्रमशः १४५९, ११३६, १०८४, ६९७ र ३५० वटा शंकास्पद तथा नक्कली लाइसेन्स जारी भएको पाइएको छ। यी सबै विवरणबारे अख्तियारको छानबिन जारी छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस