१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

औद्योगिक क्षेत्रमा अघोषित ‘लोडसेडिङ’

हिउँदयाम सुरु भएसँगै देशभरका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ। सुक्खाका कारण नदीनालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादनमा पनि कमी आएपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भएको छ। औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भएपछि सरकारले भारतबाट थप बिजुली आयात गर्ने तयारी गरेको छ। नेपालले ५५४ मेगावाट बिजुली भारतबाट ल्याउन अनुमति पाएको छ।

अहिले कुल तीन हजार मेगावाटका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जडित छ। हिउँद लागेसँगै ती आयोजनाबाट १२०० मेगावाट मात्र बिजुली उत्पादन भएको छ।

विद्युत् उत्पादनमा आएको गिरावटसँगै औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ हुन थालेको हो। २०७५ वैशाख ३१ मा सरकारले औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि अहिलेसम्म उद्योगले गुणस्तरीय बिजुली पाउन सकेका छैनन्।

खासगरी विराटनगर, वीरगन्ज, बुटवल, भैरहवा र बर्दघाटक्षेत्र आसपासका औद्योगिक करिडोरमा विद्युत् आपूर्ति अनियमित हुँदै आएको छ। ती क्षेत्रका उद्योगमा दैनिक १० घण्टासम्म विद्युत् अवरुद्ध हुने गरेको उद्योगीले बताउँदै आएका छन्।

पछिल्लो १० दिनदेखि विराटनगर औद्योगिक करिडोरका उद्योगले दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नुपरेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए। ‘विराटनगर र कोसी प्रदेशका औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या छ। दैनिक विद्युत् लोडसेडिङ र छिनछिनमा बिजुली जाने (ट्रिपिङ) को समस्या छ,’ उनले भने।

विराटनगरदेखि सर्लाही क्षेत्रका उद्योगहरूले बिजुली नपाइरहेको उनले बताए। उद्योगहरूले एक त आवश्यक बिजुली पाएका छैनन्, त्यसमाथि पनि बेलाबेलामा विद्युत् अवरुद्ध हुँदा करोडौंको नोक्सानी भोग्नुपरेको सुरानाले बताए। उनका अनुसार ती क्षेत्रका उद्योगमा करिब डेढ मेगावाट बिजुली अपुग छ।

कोसी प्रदेशमा मात्र होइन, वीरगन्ज, हेटांैडा र भैरहवा क्षेत्रका उद्योगहरूले पनि पर्याप्त बिजुली पाउन नसकेको गुनासो गर्दै आएका छन्। भैरहवा र बुटवल क्षेत्रका उद्योगहरूले पनि गुणस्तरीय बिजुली पाउन नसकेको घराना फुड्स प्रालि भैरहवाका सञ्चालक विकास गोयन्का बताउँछन्। ‘भैरहवा, बुटवल क्षेका उद्योगहरू पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन्। मुख्य समस्या पर्याप्त बिजुली नपाउनु र ट्रिपिङ हुनु हो’, गोयन्काले भने, ‘यसैकारण्लउद्योगहरू करिब ३० प्रतिशत क्षमतामा मात्र चलिरहेका छन् ।’ कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ।

अहिले प्राधिकरणको कुल जडित क्षमता ३ हजार मेगावाट छ। सुक्खाका कारण झन्डै एक तिहाइले विद्युत् उत्पादनमा कमी आइरहेको नेपाल विद्युत् प्राधिकरणका निर्देशक तथा विद्युत् भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले बताए। ‘हिउँदयाम सुरु भइसकेकाले खोलानालामा पानीको बहाव घटेको छ। अहिले १२०० मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ,’ उनले भने ।

नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ दि रिभर (नदी प्रवाहमा आधारित) प्रकृतिका हुँदा वर्षा लागेसँगै विद्युत् उत्पादन बढ्ने गर्छ। त्यस्तै हिउँदयाममा खोलानालामा पानीको बहाव घट्दा विद्युत् उत्पादन पनि कमी आउँछ।

उद्योगहरूले बिजुलीको माग र खपत बढाउन नसक्दा वितरणमा समेत असर देखिएको प्राधिकरणका कर्मचारी स्विकार्छन्। सुक्खा हुँदा देशभर विद्युत् उत्पादन घटेकाले त्यसको प्रत्यक्ष मार उद्योगमा परेको भार प्रेषण केन्द्रका प्रमुख घोषले बताए।

‘उद्योगमा बिजुलीको माग र खपत बढ्न सकेको छैन। एकातिर विद्युत् उत्पादन घटिरहेको अवस्था छ,’ उनले भने, ‘पूर्वी औद्योगिक करिडोरमा दैनिक ८–१० घण्टा विद्युत् अवरुद्ध  हुन पुग्यो।’

उनका अनुसार हाल देशभरका उद्योग तथा कलकारखानाले ६५० मेगावाटसम्मको लोड खपत गरिरहेका छन्। अहिले पनि उद्योगका लागि डेढदेखि २०० मेगावाट बिजुलीको लोड दिन सकिने उनले बताए।

हाल ६५० मेगावाट बिजुली औद्योगिक क्षेत्रमा खपत भइरहेको उनले बताए। ‘उद्योगमा बिजुलीको माग र खपत बढ्न सकेको छैन। उद्योगहरू पूर्णक्षमतामा नचल्दा पनि लोडको खपत बढ्न सकेन,’ उनले भने।

प्राधिकरण औद्योगिक क्षेत्रमा अपुग बिजुली भारतबाट आयात गरेर भए पनि सम्भावित लोडसेडिङ टार्ने कसरतमा छ। प्राधिकरणले अहिले भारतबाट ६ सय मेगावाट बिजुली आयात गरिरहेको छ। भारतबाट थप ५५४ मेगावाट बिजुली आयात गर्न सम्झौता नवीकरण भइसकेको प्राधिकरणले जनाएको छ।

ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइन र टनकपुर क्षेत्रबाट थप बिजुली आयात गर्ने सम्झौता भइसकेको घोषले बताए। गुणस्तरीय बिजुली आपूर्तिका लागि प्राधिकरण प्रसारण लाइन तथा वितरण प्रणाली सुधार र सुदृढीकरणमा निरन्तर काम भइहेको छ।

प्राधिकरणले खासगरी ४०० र २२० केभी क्षमता प्रसारण लाइन निर्माण तथा स्तरोन्नतिमा बर्सेनि आठ देखि १० अर्ब रूपैयाँ खर्च गर्दै आएको छ। प्राधिकरणका अनुसार अहिले घरेलु गार्हस्थ्यमा झन्डै १२०० मेगावाट बिजुलीको लोड खपत भइरहेको छ। करिब २५० मेगावाट बिजुली भारत निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८० ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App