१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पश्चिममा बढ्दो आगलागी: एक वर्ष ४९ जनाको मृत्यु, सबैभन्दा धेरै लुम्बिनीमा

पश्चिम नेपालमा पछिल्लो समय आगलागीका घटना बढ्न थालेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगलागीका घटना बर्सेनि बढ्दै गएका छन्। बर्सेनि आगलागीका घटना हुनुको प्रमुख कारण, ‘लापरबाही’ रहेको बताइएको छ। जानीनजानी मानवीय लापरबाहीका कारण पछिल्लो समय आगलागीबाट ठूलो जनधनको क्षति हुन थालेको विभिन्न तथ्यांकहरुले देखाएका छन्।

आगो ताप्दा, खाना पकाउने बेला र बिजुलीको तार सर्ट भएर आगलागीका घटना धेरै हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षमा पश्चिमका तीन प्रदेशमा मात्रै आगलागीजन्य घटनामा परी ४९ जनाको ज्यान गएको छ।

प्रदेश प्रहरी कार्यालयहरुका अनुसार लुम्बिनीमा २५, कर्णालीमा १७ र सुदूरपश्चिममा ७ जनाको ज्यान गएको हो।

लुम्बिनी प्रदेशका अर्घाखाँचीमा एक, गुल्मीमा चार, नवलपरासी (बसुप)मा एक, पाल्पामा एक, प्युठानमा एक, बर्दियामा सात, बाँकेमा एक, रुपन्देहीमा चार, रोल्पामा एक, कपिलवस्तुमा एक र दाङमा तीनजनाको मृत्यु भएको छ। यसमा आठजना पुरुष, ११ जना महिला र ६ जना बालबालिकाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै ३९ जना पुरुष, ३० जना महिला र २३ जना बालबालिका गरी ९२ जना घाइते भएका छन्।

चालु आर्थिक वर्षमा आगलागीबाट लुम्बिनीमा मात्रै ४० करोड ८२ लाख ६७ हजार नौ सय ८७ रुपैयाँको क्षति भएको छ भने ५६ घरधुरीका एक सय ८९ जना विस्थापित भएका छन्। बाँकेका १०, गुल्मीका चार, रुकुम पूर्व र दाङका एक÷एक गरी १६ वटा सरकारी कार्यालयसमेत आगलागीमा परेका छन्। विपदका घटना सात सयवटा घटना भएका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार अर्घाखाँचीमा ३७, गुल्मीमा एक सय ३८, नवलपरासी (बसुप) ४६, पाल्पा सात, प्युठान ६०, बर्दिया ५८, बाँके ७३, रुकुम पूर्व १५, रुपन्देही ७०, रोल्पा ६४, कपिलवस्तु ५५ र दाङ ७७ वटा विपदका घटना भएका छन्। उक्त आगलागीबाट दुई सय ३९ घर र एक सय ७४ गोठ जलेर नष्ट भएको प्रहरीको तथ्यांक छ।

यता पहाडी र हिमाली जिल्ला भएको कर्णालीमा आगलागीबाट १७ जनाले अकालमै ज्यान गुमाएका छन्। सुर्खेतमा एक, जाजरकोटमा एक, सल्यानमा दुई, कालीकोटमा तीन, मुगुमा दुई, डोल्पामा सात र हुम्लामा एकजनाको मृत्यु भएको छ। यसमा सातजना पुरुष, एकजना महिला, चारजना बालक र पाँचजना बालिकाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। उक्त आगलागीमा परी ११ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० जिल्लामा एक सय ७२ वटा विपदका घटना भएका छन्। सुर्खेतमा ३४, जाजरकोटमा २३, रुकुम पश्चिममा १२, सल्यानमा २५, दैलेखमा १५, कालीकोटमा १८, जुम्लामा २०, मुगुमा ६, डोल्पामा ११ र हुम्लामा आठवटा विपदका घटना भएका छन्। त्यस्तै गरी सुर्खेतमा २३, जाजरकोटमा २१, रुकुम पश्चिममा सात, सल्यानमा ३०, दैलेखमा १२, कालीकोटमा नौ, जुम्लामा १०, मुगुमा १०, डोल्पामा पाँच र हुम्लामा चार गरी एक सय ३१ वटा भौतिक संरचनामा क्षति पुगेको छ।

अन्य क्षति कम भए पनि डोल्पामा मानवीय क्षति भने बढी भएको छ। डोल्पामा मात्रै तीनजना नेपाली सेनासहित सातजनाको मृत्यु भएको छ। एक सय २९ वटा पशुचौपायाको मृत्यु भएको छ। यस वर्ष आगलागीबाट ११ करोड ३७ लाख ५१ हजार आठ सय १० रुपैयाँ बराबरको क्षति भएको प्रहरी तथ्यांक छ।

सुदूरपश्चिम प्रदेशमा आगलागीमा परी सातजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कैलाली एक, अछाम चार, दार्चुलामा दुईजनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए। उनका अनुसार कैलालीका चार र बाजुराका एकजना घाइते भएका थिए। ‘आगलागीबाट ५० घरमा पूर्ण क्षति, २३ घरमा आंशिक र ११ घरमा सामान्य क्षति पुगेको छ,’ उनले भने, ‘यसबाट १४ करोड ८६ लाख ५६ हजार एक सय ५० रुपैयाँ बराबरका धनमाल क्षति भएको छ।’

काल्ना, वन जंगल तथा घाँसे मैदानहरुमा आगो लगाउँदा हरियो घाँस पलाउने भन्ने लोभ, खाना पकाउने ग्यास बन्द नगर्नु, खाना पकाएपछि चुलोमा आगो राम्रोसँग ननिभाउनु, बिजुलीका स्वीचहरु बन्द नगर्नु र तारहरु बेलाबेला परीक्षण नगर्नुसँगै कहिलेकसो भवितव्य अवस्थामा पनि आगलागीका घटनाहरु हुने गरेका जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनाए।

‘पहाडतिरका घरमा तल्लो तलामा गाईभैंसी बाँध्ने र माथिल्लो तलामा मान्छे बस्ने चलन हुन्छ,’ उनले भने, ‘खरले छाएको गोठ÷घरमा खाना पकाउँदा आगोले छानो टिपेर आगलागी भएका घटना छन्। आगो नियन्त्रण गर्न नसक्दा घर/गोठमा रहेका सरसमानका साथै पशुपन्छीसमेत जलेर मर्ने गरेका छन्।’ आगो लाग्दा तत्काललै नियन्त्रण गर्न नसक्नुले पनि आगलागीबाट हुने क्षति पु¥याएको उनको भनाइ छ। ‘पानीका स्रोत घर नजिकै नहुँदा टाढाबाट गाग्री बाल्टीमा पानी ओसारेर आगो नियन्त्रणमा लिनुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा खानेपानीकै समस्या छ। आगो नियन्त्रण गर्ने पानीसमेत पाइँदैन।’

आगो निभाउने प्रविधि र जनशक्ति नहुँदा समयमै आगो निभाउन नसक्दा पनि यसबाट ठूलो क्षति हुने गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिकृष्ण केसीले बताए।

भीरमा लागेको आगो नियन्त्रण गर्न झन् ठूलो समस्या भएको भन्दै उनले भने, ‘माथिबाट आगो नियन्त्रण गर्न खोज्दा ज्यानै जोखिममा हुन्छ। तलबाट आगो नियन्त्रण गर्न सकिँदैन। आगो झनझन माथितिर लम्किन्छ।’

प्रकाशित: ४ वैशाख २०८१ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App