१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भक्तपुर–नगरकोट सडकमा जहिल्यै जाम

भक्तपुरको नगरकोट सडक खण्डमा जहिल्यै हुने सवारी जामले हैरान बनाउने गरेको छ। अरनिको राजमार्गअन्तर्गत सल्लाघारीदेखि कमलविनायकसम्मको नगरकोट जाने सडकमा हुने जामले यात्रुलाई हैरानी थपेको हो।

सल्लाघारीदेखि व्यासी, महाकाली, देकोचो कमलविनायकको छोटो दुरी सडकमा हुने जामले हैरानी थपिएको छ। झन्डै डेढ किलोमिटर सडकमध्ये पनि व्यासीदेखि महाकाली, देकोचा, कमलविनायकको झन्डै एक किलोमिटर सडकखण्डमा जाम बढेको हो।

अघिपछि पनि प्रायः जहिल्यै जाम हुने दुई लेनमा सीमित यो सडकखण्डमा तार भूमिगत गर्ने कार्यले जाम बढाएको छ। तार भूमिगत हुने क्रम जारी रही एक लेनमा खाल्डो भएकाले दुई लेन सडक राम्ररी नचल्दा यहाँ अत्यधिक जाम हुने गरेको हो।

‘दुई लेनबाट कहिल्यै नबढाउने अनि सवारीसाधन भने प्रत्येक वर्ष थपिँदै जाने गरेकाले यसअघि पनि यहाँ प्रायः जाम हुने गर्दथ्यो,’ स्थानीय भन्छन्, ‘अहिले तार भूमिगत गर्न सडकछेउमा खाडल खन्न थालेदेखि त दिनभरि नै जाम हुन्छ।’ 

पछिल्लो १० वर्षयता यी सडकमा चल्ने सवारीसाधनको संख्या अत्यधिक बढेको छ। तर सडक भने जस्ताको तस्तै दुई लेनमै सीमित छ। यही नै जामको मुख्य कारण हो।

यो सडकखण्डमा कमलविनायकबाट काठमाडौं, ललितपुरलगायत ठाउँमा मिनिबस मात्रै नभई मोटरसाइकल, ट्रक, टिपर, निजी सवारीसाधन अत्यधिक मात्रामा बढेका छन्। तर सडक भने अहिलेसम्म दुई लेनको दुई लेनमै सीमित छ। भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष दिनेश प्रधान उहिलेदेखि अहिलेसम्म सडक जस्ताको तस्तै अनि सवारीचाहिँ अत्यधिक भएपछि जाम हुनु स्वाभाविक भएको बताउँछन्।

जामकै कारण कमलविनायकबाट च्याम्हासिंह, जगाती पुग्ने दुई किलोमिटर सडकमा पनि जहिल्यै जाम हुने गरेको छ। कमलविनायकबाट सवारी पास हुन नसकेर जाम हुने भएपछि जगातीसम्मै जाम हुने गरेको हो। भक्तपुर मिनिबस सेवा समितिअन्तर्गत मात्रै ३२० वटा मिनिबस यी सडकमा सञ्चालित छन्।

समितिको मात्रै दूधपाटी र कमलविनायकमा बसपार्क छन्। दुई लेनमा सीमित सडकछेउछाउमै पहिलेदेखि रहेका घरहरूका कारण पनि बाटो विस्तार हुन सकेको छैन।

महानगरीय ट्राफिक प्रहरीपरिसर सल्लाघारी भक्तपुरले जाम बढेपछि यी सडकमा पनि ट्राफिक खटाउन थालेको छ। तर सडक नै साँघुरो भएपछि ट्राफिक राखेर पनि खासै सकारात्मक प्रभाव देखिएको छैन।

भक्तपुर जान सूर्यविनायकसम्मको ६ लेनमा जति गाडी चल्छन् उति नै संख्यामा जगाती, च्याम्हासिंह, कमलविनायक, व्यासी, सल्लाघारी सडकमा पनि चल्छन्। तर बाटो भने दुई लेनमा सीमित छ। यही कारण जाम भएको स्थानीय राकेश दुवाल बताउँछन्।

जहिल्यै हुने जामले यात्रु मात्रै नभई स्थानीय, चालकहरूसमेत वाक्कदिक्क भएको रुट भएर चल्ने एकजना चालक टीकाराम सिमाछ्वा बताउँछन्। भक्तपुर क्षेत्रमा यसबाहेक काठमाडौंको कोटेश्वरवारि जडिबुटीमा पनि दैनिक उत्तिकै सवारी जाम हुने गरेको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App