२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विज्ञ भन्छन्: वीरेन्द्रताल छचल्किदा बुढीगण्डकी नदीको बहाव ६० सेन्टिमिटर बढ्यो

आइतबार बिहान हिमपहिरो झरेको गोरखाको वीरेन्द्रताल। तस्बिर सौजन्यः एमक्याप

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को संरक्षित क्षेत्रमा पर्छ गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल। आइतबार बिहानै त्यही तालमा मिसिन मनास्लु हिमालबाट झरेको पहिरो आइपुग्यो। हिमपहिरो मिसिएसँगै तालको पानी ‘ओभरफ्लो’ भएर बग्न थाल्यो ।  

ताल ओभरफ्लो भएर बगेको पानीको आकार यति ठूलो थियो की केही तलको काठेपुल पनि बगायो। वीरेन्द्रतालबाट ओभरफ्लो भएको पानीले सामागाउँबाट साम्दो जाने काठे पुल बगाएको थियो। एमक्याप क्षेत्रको पदयात्रा गर्दै लार्केपास पार गरेर मनाङको धारापानी निस्कने बाटोमा पर्ने पुल बगेपछि त्यस क्षेत्रमा जाने पदयात्री समेत अप्ठ्यारोमा परे। पुल बगेपछि पर्यटकलाई सामागाउँमै होल्ड गरिएको थियो।  

त्यत्ति मात्र नभई तालबाट ओभरफ्लो भएको पानीले तल्लो तटीय क्षेत्रमा समेत क्षति गर्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय तहले सतर्कता अपनाउन भनेका थिए। स्थानीयका अनुसार करिब ३६ सय ५० मिटर उचाईमा वीरेन्द्र ताल रहेको छ। जहाँ शनिबार देखि नै माथिबाट झरेको गेग्रान मिसिन थालेको थियो। तर, आइतबार बिहान साढे ८ बजेतिर बढेमानको पहिरो नै मिसियो।

‘मानवीय क्षति त हुन पाएन। तर, करिब एकसय मिटर माथिबाट खसेको पहिरोले तालको पानीको ओभरफ्लो गरायो,’ एकजना स्थाथीयले भने, ‘पहिला तालमै आएर हिमपहिरो मिसियो, त्यसपछि पानी बग्न थालेको हो।’ हिमपहिरोले बोकेर ल्याएको हिउँ पानीमा घुल्दा ताल ओभरफ्लो हुन झनै सहज भएको उनले बताए। ‘तालको पानी ओभरफ्लो भएर बग्दा तल्लो तटमा रहेको काठेपुल बग्यो,’ उनले भने।  

उनका अनुसार निकै नै ठूलो आवाज आउने गरि आइतबार बिहान हिमपहिरो झरेको थियो। ‘अहिले नै स्थानीयलाई कुनै जोखिम त छैन। तर, यो सिरान क्षेत्रमा हिमाल भएकोले अरु पहिरो पनि झरेर तालमा मिसिए जोखिमपूर्ण हुनेछ,’ उनले भने।  

हिमनदी विज्ञ तथा काठमाडौं विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा.रिजनभक्त कायस्थका अनुसार वीरेन्द्रताल भन्दा करिब २२ किलोमिटर तल बुढीगण्डकीको ढाप र अझै तलको जगतमा राखिएको स्वचालित जल सतह मापन केन्द्रले आइतबार पानीको सतह करिब ६० सेन्टिमिटर बढेको देखाएको थियो।  

‘नियमित बगिरहेको पानीको सतहमा ६० सेन्टिमिटर बढेको देखियो,’ कायस्थले भने, ‘ताल फुटेको भए यो आकार झनै बढी हुन सक्थ्यो। तर, ताल फुटेको होईन। माथिबाट खसेको हिमपहिरो मिसिएपछि छचल्किएर बाढी आएको हो।’ २२ किलोमिटरको ढापमा आइपुग्दा त ६० सेन्टिमिटर सतह बढेको भएपनि सामागाउँमै त त्यो अकार अझै ठूलो भएको उनले बताए।  

उनका अनुसार यो पटक हिउँ नपरेपनि पुरानो हिउँ थुप्रिएर बसेको छ। अहिले तापक्रम बढिरहँदा त्यो हिउँ पग्लिने र हिमपहिरो आउनसक्ने जोखिम रहेको उनले बताए। ‘अहिलेका लागि क्षति टरेको हो। नत्र जोखिम भने छ। किनकी पहिलाको बरफ जमेर बसेको छ। तातोले त्यो बरफ पग्लेर बाढी आउन सक्छ,’ उनले भने, ‘बेलैमा सचेत नहुने हो भने भविश्यमा क्षति बढ्न सक्छ।’

चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष कर्मा छेवाङ लामाका अनुसार आइतबारको पहिरोले खासै जोखिम नमोलेपनि जलवायु परिवर्तनले गर्दा आगामि दिनमा अहिले भन्दा अझ बढी खतरा निम्तनसक्ने सम्भावना भने छ। ‘विश्वव्यापी तापक्रम बढिरहेको छ। यो पटक हिउँदमा हिउँ परेन। मनास्लु हिमालको फेँदमा रहेको तालमा माथिबाट अहिले भन्दा पनि झनै भीषण हिमपहिरो खस्न सक्छ,’ लामाले भने, ‘अहिले त तालमा मिसिएर मात्र हो। यो भन्दा भीषण हिमपहिरो खस्यो भने त तालै फुट्न पनि सक्छ। अहिले ताल फुटेको होइन, तालमा पहिरो मिसिँदा ओभरफ्लो भएको मात्र हो।’

प्रकाशित: ९ वैशाख २०८१ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App